प्रचण्डको चुरीफुरी अन्त्य जरुरी

मुलुकको तेस्रो दलले यो देशको राजनीतिलाई घुमाइरहेको छ । देशको प्रमुख दल नेपाली कांग्रेस र दोस्रो दल एमाले आलोपालो प्रचण्डको वरिपरि घुमिरहेका छन् । यो तरिकाले राजनीति गरेर देशको भविष्य बन्न सक्छ ? देउवा र ओलीमाथि जनताले प्रश्न गर्न थालेका छन् । मुलुकको पहिलो दल र दोस्रो दल मिलेर माओवादीलाई सत्ताबाट बाहिर फालेको भए हुने थिएन ? प्रचण्डको चुरीफुरी लामो समयसम्म चलिरह्यो भने देशको राजनीति अस्थिरतामै रहने निश्चित छ ।

डा.डिआर उपाध्याय

संघको सत्ता गठबन्धनमा फेरबदली हुँदा त्यसको असर प्रदेशहरूसम्म पुगेको छ । अस्थिर राजनीतिमा हुने यस्तै हो । अस्थिर राजनीतिले मुलुकको भविष्य बनाउन सक्दैन । आज देशमा जे भइरहेको छ, ठिक भइरहेको छैन । सत्ता बनाउने र गिराउने यस्ता खेलले जनताको मुहारमा खुसी आएको छैन । सत्ता परिवर्तनले जुन देशमा जनताको मुहारमा खुसी आउँदैन त्यसको कुनै अर्थ रहँदैन । देश बर्बाद गर्ने खेल हो यो भन्ने जनताले बुझिसकेका छन् ।

जनतामा कतै उत्साह देखिँदैन । हाम्रो देशका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू बाँचुन्जेल देशमा राजनीतिक उथल–पुथल भइरहन्छ भन्ने अभिव्यक्ति दिन्छन् । यो के भन्न खोजेको हो ? यसले जनतामा के सन्देश दिन्छ ? हामी अचम्म परिरहेका छौँ । देशका प्रधानमन्त्रीले जनतामा आशाको दियो बाल्नुपर्नेमा निभाउँदै छन् । यसरी देश र जनताको भविष्य बन्दैन । काम गरेर देखाउन नसके पनि कमसेकम जनतामा आशाको दियो त बालेर देखाउने हिम्मत गर्नुपर्छ । राजनीतिक उथलपुथलले देशमा केही हुनेवाला छैन । यस्ता उथलपुथलले देशको भविष्य बिगार्ने मात्र हो । भविष्य बनाउने कुनै संकेत देखिँदैन । प्रचण्ड बाँचुन्जेल आफ्ना नाता–पाता आसेपासेको भविष्य राम्रै बनेको छ, तर देश र जनताको भविष्य बनेको छैन । यो कुरा धेरै जनताले बुझिसकेका छन् ।

कुरा मात्र गरेर देश र जनताको भविष्य बनाउन सकिँदैन । देशको भविष्य बनाउन त स्पस्ट मार्गचित्र कोर्न सक्नुपर्छ । देश बनाउने मार्गचित्र अझै कोरिएको छैन । ठुल्ठूला र चर्का कुरा गरेर देश बन्ने भए धेरै पहिले बनिसक्थ्यो । यस्ता गफ गर्न थालेको धेरै दशक बितिसक्यो । प्रचण्ड बाँचुन्जेल उथल–पुथल मात्र गर्ने हो कि देशको विकास पनि गर्ने हो ? यो जवाफ जनताले खोजिरहेका छन् । मुलुकको तेस्रो दलले यो देशको राजनीतिलाई घुमाइरहेको छ । देशको प्रमुख दल नेपाली कांग्रेस र दोस्रो दल एमाले आलो–पालो प्रचण्डको वरिपरि घुमिरहेका छन् । यो तरिकाले राजनीति गरेर देशको भविष्य बन्न सक्छ ? देउवा र ओलीमाथि जनताले प्रश्न गर्न थालेका छन् । मुलुकको पहिलो दल र दोस्रो दल मिलेर माओवादीलाई सत्ताबाट बाहिर फालेको भए हुने थिएन ? प्रचण्डको चुरीफुरी लामो समयसम्म चलिरह्यो भने देशको राजनीति अस्थिरतामै रहने निश्चित छ ।

प्रचण्डले कहिले कांग्रेससँग मिलेर सरकारको नेतृत्व गरिरहेका छन् कहिले एमालेसँग मिलेर नेतृत्व गरेका छन् । आलो–पालो कांग्रेस र एमालेलाई उनले फनफन्ती नचाइरहेका छन् । पटकपटक धोका पाउँदा पनि होस र सोच नआउने कांग्रेस र एमाले कस्ता पार्टी हुन् ? यो राजनीतिक तरिकाले देशमा प्रचण्ड राज नै चलिरहने संकेत देखियो । नेपाली कांग्रेस र एमाले मिल्ने हो भने प्रचण्ड राज समाप्त हुन सक्छ । आमनेपाली जनताको चाहना पनि यही छ । जनताले भोट दिएर जिताएको पनि त्यही हो । अब यी दुई पार्टी कार्यगत एकता गरेर अघि बढ्ने हो भने माओवादी सकिन्छ । माओवादीले देश र जनतालाई जुन आशा र भरोसा देखाएर मर्न र मार्न उक्सायो त्यो अनुसार सरकारमा गएपछि के प्रगति भयो ?

हजारौँको संख्यामा ज्यान गयो । घर–बास धेरैका भत्के । भौतिक क्षति भयो । जुन सपना देखाएर माओवादीले जनयुद्ध गरेको थियो आज सरकारमा भएर त्यो सपना किन पूरा गर्न सक्दैन ? जनतालाई छलछाम र चर्को कुरा गरेर मात्र हुने भए यो मुलुकको भविष्य धेरै पहिले बन्थ्यो । त्यसरी नबन्दो रहेछ । माओवादी शक्तिमा रहेसम्म यो देश बन्दैन । ऊ रहेसम्म राजनीतिक उथल–पुथल मात्र हुने हो अरू केही हँुदैन । अहिले एमाले लगायतदलहरूसँग गठबन्धन गरेर प्रचण्डले सरकारको नेतृत्व गरिरहेका छन् । यो गठबन्धन पनि लामो समयसम्म टिक्लाजस्तो देखिँदैन । किनभने गठबन्धनभित्र किच–किच सुरु हुन थालिसकेको छ । अब यो मुलुकको भविष्य निर्माण गर्ने हो भने कांग्रेस र एमाले मिलेर अघि बढनुपर्ने जरुरी छ ।

माओवादीसँग गठबन्धन गर्नु भनेको देशमा राजनीतिक अस्थिरतालाई निरन्तरता दिनु हो । राजनीतिक स्थिरताका लागि यी कांग्रेस र एमाले पार्टीबीच संवाद, सहमति र सहकार्यको जरुरी छ । यो देशले माओवादीको चुरीफुरी र अहमता कति सहेर बसिरहने ? नयाँ गठबन्धनमा रास्वपा सामेल हुनाले केही सुधारका काम हुन्छन् कि, भन्ने जनतामा आश पलाएको छ । तर राम्रो काम गर्दा गर्दै फाल्न कुनै बेर छैन । गृहमन्त्री रबि लामिछानेले मन्त्री भएको सात दिनभित्रै पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन र माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन तस्करको आरोपमा प्रहरीको खोरमा थुनेर देखाए । यो आँट र साहसलाई सबैले वाह–वाह भनिरहेका छन् । मन्त्रिपरिषद्मा लामिछाने सबैभन्दा चर्चित बनेर देखिएका छन् । उनको काम गर्ने हुटहुटी सेलाएको छैन । उनको कामप्रति विरोधीहरूले खुट्टा तान्ने खेल अहिलेदेखि नै सुरु गरिसकेका छन् ।

मन्त्रिपरिषद्मा गृहमन्त्री रबिबाहेक अरू सबै निदाएका छन् । देश बर्बाद बनाउनेहरूलाई अब ठेगान लगाउने काम गृहमन्त्रीले गर्दै छन् । राम्रो काम गर्नेहरूलाई सबैले सहयोग गर्नुपर्छ । खुट्टा तान्ने होइन, हात समाउन सिक्नुपर्छ । आज देशमा राजनीतिक उथलपुथल हुँदा सबैतिर काम बिग्रेको अवस्था छ । संघमै एक जना मन्त्रीले वर्ष दिन पनि काम गर्न नपाउँदा नीति तथा कार्यक्रम कार्यान्वयनमा अवरोध देखिनु स्वभाविक भएको छ । प्रदेशहरूमा पनि वर्ष दिन पूरा हुँदानहुँदै सत्ता फेरिँदै छन् । यो भने राम्रो काम हुँदै होइन । सरकारले कुनै पनि योजना भनेअनुसार पूरा गर्न पाएका छैनन् । र, अघिल्लो सरकारका योजना अलपत्र छन् । सधैँ यस्तै भइरहने हो भने देशको भविष्य बर्बाद हुन्छ । आज सबैभन्दा बढी चिन्ता देश र जनताको हुनुपर्नेमा नेताहरूलाई सत्ताको चिन्ता बढी भयो । यसरी देशको भविष्य कसरी निर्माण हुन सक्छ ?

आमजनतालाई सरकार बन्नु र भत्कनुमा कुनै मतलव छैन । आखिर यो किन भइरहेको छ ? यो जनतामा देखिएको निराशापन हो । जनता निराश भएपछि देश बन्न सक्दैन । यो दुनियाको इतिहासले पुष्टि गरेको कुरा हो । जनता निराशमा कति दिन बाँच्ने ? सरकारले राम्रो काम गर्न नसकेपछि जनता निराश हुनु स्वभाविक कुरा हो । एउटा रविले सरकारमा बसेर तरंग ल्याएका छन् । अरू कानमा तेल राखेर आनन्दले निदाइरहेको भान गरिरहेका छन् । जनतामा विश्वास दिलाउने नीति, कार्यक्रम नहुँदा सधैँभरी यस्तै भइरहन्छ । सत्तामा बस्न मात्र जनताले पठाएका होइनन् देश र जनताको भाग्य र भविष्य कोर्न पठाएका हुन् । जनताले चुनेर संसद्मा पठाएपछि जनताका प्रतिनिधिले इमानदारीका साथ काम गरेर देखाउनुपर्छ । तीनै तहका सरकारले जनतामा आशा जगाउन सकेनन् । सबैतिर बेथितिले जरा फैलाउँदै गएको छ ।

आज दुःखका साथ भन्नुपर्छ, यो देश बन्न नसक्नुको मूल कारण के हो ? राजनीति दल र तिनका नेतामा इमानदारी भएन । नेतृत्वमा राजनीतिक इमानदारी र ढृढ इच्छाशक्ति नभएसम्म देश बनाउन सकिँदैन । जतिसुकै राम्रा कुरा गरे पनि व्यवहारमा कार्यान्वयन गर्न सकिँदैन भने त्यसको कुनै अर्थ रहँदैन । सरकार आलोपालो चलाउने जुन खेल सुरु हुन्छ त्यस दिनदेखि देशको भविष्य डामाडोल हुँदै छ भनेर सोचेर बसे हुन्छ । देश बनाउन राजनीति स्थिरता चाहिन्छ राजनीति स्थिरता नभए केही हुँदैन । आज जसरी राजनीतिक घटनाक्रम अघि बढिरहेका छन्, ती सही बाटोमा गइरहेका छैनन् । यो तौरतरिका ठिक भएन । जनताप्रति बेइमानी गर्ने काम भइरहेको छ । प्रमुख दुई दल कांग्रेस र एमाले जनताप्रति गैरजिम्मेवार बन्दा देश बर्बादीको दिशातर्फ उन्मुख भइरहेको छ । माओवादी विनाको कांग्रेस, एमाले, रास्वपालगायत मिलेर सरकार बनाएको भए राम्रो हुने थियो ।

प्रतिक्रिया