चलचित्रको नयाँ बजारको खोजी

काठमाडौं । चलचित्रको नयाँ बजार र अवसरबारेमा संवाद कार्यक्रम सम्पन्न भएको छ । चैत १ गतेदेखि काठमाडौंमा जारी सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उक्त संवाद कार्यक्रम गरिएको हो । चलचित्र पत्रकार संघ नेपालको संयोजनमा महासचिव रघुनाथ सापकोटाले सहजीकरण गरेको कार्यक्रममा नेपाली चलचित्रको नयाँ सम्भावना र बजार विस्तारका विषयमा बहस गरिएको हो ।

सो बहसमा फोटो पत्रकार तथा चलचित्र निर्माता श्रीधर पौडेल, कलाकार जीतु नेपाल, हाइलाट्स नेपालका प्रबन्धक जनक तामाङ, सिनेपेवलका पुष्पलता न्यौपान सहभागी थिए । निर्माता पौडेलले नेपालमा देशभर ३५ जिल्लामा रहेको चलचित्र हल बढ्नुका सट्टा घट्दै गइरहेको दुःखेसो पोखे । उनले चलचित्र प्रदर्शन गरेर भन्दा पार्टी प्यालेस, होटल वा रेस्टुरेन्टमा धेरै नाफा कमाउने देखेपछि हल सञ्चालक निरुत्साहित भएको जिकिर गरे । उनले भने, ‘डिजिटल बजारको रुपमा संसारभर स्थापित ओटिटी प्लेटफर्मसमेत नेपालमा विस्तार हुन सकेको छैन ।’ पौडेलले चलचित्र किनेर ओटिटीमा सञ्चालकहरुले नराख्नाले बजार विस्तार नभएको गुनासो पोखे । उनले भने, ‘कमिसन खानका लागि ओटिटी चलाएको जस्तो देखियो । यसले न त बजार बढ्छ न दिगो नै हुन्छ ।’ उनले ओटिटी कम्पनीले चलचित्रको प्रचार प्रसारमा समेत ध्यान नदिएको सुनाए । पौडेलले ओटिटीमा चलचित्र प्रदर्शन भएपछि प्रचार प्रसारमा निर्माता निर्देशकले दौडधुप गर्नुपर्ने अनि कलाकार प्रमोसनमा प्रयोग हुनुपर्ने अवस्था रहेको बताए । उनका अनुसार ओटिटी कम्पनीले कुनै दायित्व लिइरहेको छैन, मात्रै कमिसन खान ओटिटी चलाएको अवस्था छ ।

हाइलाट्स नेपालका प्रबन्धक जनक तामाङ डिजिटल प्लेटफर्मका सञ्चालकहरु नै विभाजित भएका कारण बजार विस्तारमा बाधा पुगिरहेको बताए । उनले एउटा पक्षले बनाएको ओटिटीमा अरुले चलचित्र नदिने सिण्डिकेट चलचित्र क्षेत्रमा रहेको अवस्थामा दर्शकले सबै सबक्राइभ गर्न नसक्ने हुँदा बजार विस्तार नभएको जिकिर गरे । उनले भने, ‘नेपालजस्तो सानो र नयाँ बजार भएको ठाउँमा सबै मिलेर एउटा राम्रो ओटिटी सञ्चालन गर्नसके बजार विस्तारमा सघाउ पुग्छ ।’

कार्यक्रममा कलाकार जीतु नेपाल ओटिटीमा खर्च गरेर दर्शकले चलचित्र नहेर्ने गरेको गुनासो गरे । उनले भने, ‘हलमा चलचित्र चलिरहेका छैनन् । केही ओटिटी सञ्चालनमा छन् । तर कमाइरहेका छैनन ।’ कोरोना संकटको बेला खुलेका केही ओटिटी बन्द भएको उनी बताउँछन् । उनका अनुसार सामाजिक सञ्जाललगायत डिजिटल प्लेटफर्म आएपछि चलचित्रको बजार खुम्चेको छ । नेपालले धेरैले फेसबुक र युट्युबमा चलचित्र हेर्न थालेका छन् तर, पहिले यी माध्यम नहुँदा चलचित्र भवनहरुमा ५१ दिन मनाउने गरेको अहिले यस्तो अवस्था नरहेको सुनाए । सिने पेवलकी पुष्पलता न्यौपाने ओटिटी प्लेटफर्मको सम्भावना रहेको दाबी गरिन् । अन्तर्राष्ट्रिय स्तरबाट चलेकामा नेपाली चलचित्रहरु दर्शकले हेर्ने गरेको उनी बताउँछिन् । उनका अनुसार दार्जिलिङ, सिक्किममा नेपाली भाषाको चलचित्र बनाएर अन्तर्राष्ट्रिय ओटिटी नेटफ्क्सिलगायतमा बिक्री गरिरहेका छन् । संसारभर रहेका करिब ७ करोड नेपालीभाषीले ओटिटीबाट पैसा तिरेर नेपाली चलचित्र हेर्न चाहेको तर नेपाली चलचित्रकर्मीले यसक्षेत्रमा काम गरिरहेका छैनन् ।

कलाकार जितु नेपाल भने दर्शकले पछिल्लो समय पैसा नतिरी युट्युबमा निःशुल्क चलचित्र हेर्न चाहेको बताउँछन् । धेरै दर्शक युट्युबमा चलचित्र खोज्ने गरेको उनको बुझाई छ । पछिल्लो समय आफूले बनाएको चलचित्रको कपिराइट अधिकार आफैले राख्नु पर्ने ज्ञान आर्जन गरेको कलाकार नेपालले बताए । उनले भने, ‘मैले धेरै टेलिचलचित्र बनाए । टेलिभिजनहरुलाई दिए । अहिले लाखौं भ्युज कमाएको छ । हामी पछि परेका छौं ।’ पछिल्लो समय युट्युब केन्द्रित कार्यक्रम बनाउने कि टेलिभिजन वा ओटिटीका लागि बनाउने भन्नेमा आफू दोधारमा रहेको बताउँछन् ।

प्रतिक्रिया