चलचित्र महोत्सव सुरु

काठमाडौं । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने लक्ष्यका साथ महोत्सव सुरु भएको छ । बिहीबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सातौं संस्करणको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी बजेटमा चलचित्र क्षेत्रलाई सम्बोधन गर्ने बताइन् । उनले नेपाली चलचित्र क्षेत्रलाई विकास गर्न र अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन महोत्सव सफल हुने विश्वास व्यक्त गरिन् । उनले नेपाली चलचित्रको प्रवर्धन, विकास र सामाजिक रुपान्तरणका लागि आवश्यक योजना बजेटमा समेट्न सकिने जनाइन् । उनले चलचित्र क्षेत्रको विकाससम्बन्धी खाका पेश गर्न चलचित्र विकास बोर्डलाई निर्देशनसमेत दिइन् । मन्त्री शर्माले भनिन्, ‘नयाँ चलचित्र ऐन ल्याउने गृहकार्य अन्तिम चरणमा पुगेको छ । विधेयकको मस्यौदा छलफलका लागि चाँडै मन्त्रालयको वेबसाइटमा राखिने छ ।’ उनले चलचित्रकर्मीको सुझावको आधारमा मात्र विधेयक बन्ने जिकिर गरिन् । मन्त्री शर्माले सेन्सर बोर्डको नयाँ कार्यविधिमा मन्त्रालयले एकलौटी गरेको भन्ने विरोध भइरहँदा चलचित्रकर्मीलाई समेटिने बताएकी हुन् । उनले चलचित्रकर्मीको विरोध र असन्तुष्टिलाई सम्बोधन गरिने जनाइन् । मन्त्री शर्माले भनिन्, ‘समर्थन र विरोधको कोणबाट होइन, कसरी सिर्जनात्मक बनाउने भन्नेबारे सोच्नुपर्छ ।’

उनले नेपाल चलचित्र छायांकनका लागि महत्वपूर्ण स्थल भएकाले सोहीअनुसार विकास गर्नुपर्ने बताइन् । सो अवसरमा निर्देशक तथा अभिनेता नीर शाहले नेपाली चलचित्रमा वित्त व्यवस्थापन र बजार विस्तार अहिलेको प्रमुख कार्यभार भएको बताए । उनले अहिलेका ‘मेनस्ट्रिम’ चलचित्रप्रति आक्रोश व्यक्त गर्दै त्यस्ता निर्माताले सरकारले सहयोग गरेन भनेर गुनासो गर्ने गरेको तर चलचित्रको विकास र अन्तर्राष्ट्रिय प्रवर्धनमा योगदान नदिएको जिकिर गरे । उनले भने, ‘चलचित्रलाई लिएर चलचित्रकर्मीले धारणा बदल्नुपर्दछ ।’ महोत्सवका प्रमुख निर्णायक रहेका चिनियाँ चलचित्र निर्माता तथा प्राध्यापक सिए फेईले नेपाली चलचित्रले पछिल्लो समय राम्रो काम गरेको धारणा व्यक्त गरे । उनले दुईपटक बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जितेका छन् भने निफमा लेखन तथा निर्देशनसम्बन्धी मास्टरक्लास पनि दिने जनाइएको छ ।

महोत्सवको शुभारम्भमा हङकङका निर्देशकद्वय जेनिफर लिन र सान बाईले संयुक्तरुपमा निर्देशन गरेको ९६ मिनेट लामो चलचित्र ‘आनी बन्ड ः छोइङ डोल्मा’ देखाइएको थियो । यस चलचित्रले नेपाली गायिका आनी छोइङ डोल्माको बौद्ध भिक्षुणी, संगीतकर्मी, अधिकारवादी र जीवनयात्राको आरोहअवरोहलाई प्रस्तुत गरेको छ । बिहीबारै कमल एक्चै मगरको १२८ मिनेट लामो चलचित्र ‘डेसान’ र जापानी निर्देशक यू क्योहाराको ‘रिमेम्बरिङ एभ्री नाइट’ चलचित्रसमेत देखाइयो । ‘विश्वभरका कथाहरुको उत्सव’ नारासहित सुरु महोत्सव पाँच दिनसम्म काठमाडौंस्थित क्युएफएक्सका विभिन्न हलमा आयोजना हुने महोत्सव संयोजक केपी पाठकले जानकारी दिए । महोत्सवको क्रममा विभिन्न छलफल सत्र पनि आयोजना गरिएका छन् । पाठकका अनुसार यस संस्करणमा ४० देशका ८८ लामा, छोटा चलचित्र र वृत्तचित्र देखाइने छन् ।

प्रतिक्रिया