सांस्कृतिक मेला सम्पन्न

काठमाडौं । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मुल नारासहित भएको १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला सम्पन्न भएको छ । फागुन १८ गतेदेखि २७ गतेसम्म देशका विभिन्न भागमा आयोजित मेला फागुन १९ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा उद्घाटन समारोहबाट मेलाको सुरुवात भएको थियो । कार्यक्रममा ११ देशका ३५० भन्दा बढी कलाकारको सहभागी रहेको थियो ।

उद्घाटनपछि मेला दाङको घोराही, पोखराको लेकसाइड हुँदै काठमाडौं फर्किएका ११ देशका कलाकारले वसन्तपुर दरबारक्षेत्र तथा मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमीमा आफ्नो प्रस्तुति दिएका थिए । दाङको घोराही, काठमाडौंको असन इन्द्रचोक हुँदै वसन्तपुर दरबारक्षेत्र, पोखराको लेकसाइड तथा मनमैजुक्षेत्रमा अस्ट्रिया, बेल्जियम, बोत्सवाना, इस्टोनिया, जर्मनी, नेपाल, भारत, इन्डोनेसिया, मलेसिया, पोल्याण्ड र दक्षिण अफ्रिकाका सहभागी कलाकारले आ–आफ्नो देशको संस्कृति झल्काउँदै संगीत र नृत्यप्रतिको साझा प्रेम झल्किने झाँकी प्रदर्शन गरेका थिए । विगत दुई दशकदेखि प्रत्येक दुई वर्षमा विश्वका विभिन्न देशलाई निमन्त्रन्णा गरी आयोजना गरिने यो मेला एभरेस्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा भएको हो ।

ग्रुपका संस्थापक अध्यक्ष तथा १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला साथमा नेपाल टेलिकमका संयोजक डा. आरसी कोइराला ‘रामचन्द्र’ ले संस्कृतिले मानव जातिलाई एकठाउँमा जोड्ने बताए । उनले भने, ‘हामी सबै फरक पृष्ठभूमिबाट आएका छौं, तर नृत्य र संगीतमा हाम्रो साझा लगावले आज हामीलाई यहाँ जोडेको छ । यस्ता सांस्कृतिक आदानप्रदान कार्यक्रमले विभिन्न देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने, हामी विश्वास लिएका छौं ।’ १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको स्थानीय आयोजक दाङ उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, बज्र कला कुञ्ज, लालीगुराँस नेसनल एकेडेमीलाई एभरेस्ट नेपाल कल्चरल ग्रुप हृदयदेखि धन्यवाद दिन चाहन्छ साथै नेपाल टेलिकमलगायत बुढानिलकण्ठ नगरपालिका, पोखरा महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल संगीत तथा नाट्य एकेडेमी साथै विभिन्न अन्तर्राष्ट्रिय संघसस्था रहेका थिए ।

प्रतिक्रिया