लेनिनकी श्रीमती क्रुप्स्कायालाई सम्झँदा

स्केटिङ अर्थात बरफमा चिप्लेटी खेल्ने खेलमा भाग लिनु, तीव्र गतिमा साइकल हाक्नु, पर्वतारोहण गर्नु र सिकार खेल्नु लेनिनको सोख थियो । संगीतप्रति पनि उनको असीम लगाव थियो । सम्पूर्ण इन्द्रधनुषी सौन्दर्यका साथ जीवनसँग उनी प्रेम गर्दथे, आफ्ना साथीहरूसँग प्रेम गर्दथे । उनको सादगीपना, प्रसन्नतापूर्ण उनको संक्रामक हाँसोसँग हरेक परिचित छन् । तर उनीसँग सम्बन्धित प्रत्येक चिज एउटा मुख्य लक्ष्यका अधिनस्थ थिए ।

लोकनारायण सुबेदी

त्यतिबेला नादेज्दा क्रुप्स्काया रुसको महान अक्टोबर समाजवादी क्रान्तिका नेता लेनिनकी जीवनसाथी मात्रै थिइनन् त्यसभन्दा अझ बढी उनी सही अर्थमा सच्चा बोल्शेभिक क्रान्तिकारी महिला नेतृ थिइन् । उनी १९१७ को बोल्शेभिक क्रान्तिका अग्रणी सेनानीहरूमा त्यतिबेलै सामेल भएकी थिइन् जतिबेला लेनिन र उनको पिढीका युवा क्रान्तिकारीहरू समूह–समूह बनाएर मजदुर र विद्यार्थीहरूका बीच काम गर्ने गर्दथे ।

क्रुप्स्काया त्यतिबेलै लेनिनको सम्पर्कमा आएकी थिइन् र १८९७ मा लेनिनको गिरफ्तारीको केही समयपछि उनलाई पनि गिरफ्तार गरिएको थियो । अनि जार शासकले केही समयपछि लेनिनलाई साइबेरिया निष्काशन गर्ने सजाय सुनायो । त्यतिबेलै लेनिनले क्रुप्स्कायालाई एउटा पत्र लेखेर विवाहको प्रस्ताव गरेका थिए । जारकालीन नियमअन्तर्गत लेनिनकी पत्नी बनिसकेपछि क्रुप्स्कायालाई पनि साइबेरिया पठाइएको थियो ।

रुसको १९०५ को असफल क्रान्तिपछि जार पुलिसको दमनबाट बच्नका लागि लेनिन विदेश लागे । नादेज्दा क्रुप्स्काया पनि उनीसँगै गइन् । त्यहाँ नेतृत्वका कामरेडहरूसँग पार्टी निर्माण र क्रान्तिको योजनाका लागि पनि सहभागी बन्नुकासाथ क्रुप्स्काया युरोपको महिला आन्दोलनमा पनि सक्रिय रहिन् । अनि रोजा लग्जेम्बर्ग, क्लारा जेटकिन, अलेक्सान्द्रा कोलोन्ताई, इमेसा आर्माजस्ता अग्रणी समाजवादी महिला नेताहरूसँग मिलेर रुसको मात्रै होइन पूरै युरोपको महिला आन्दोलनका लागिसमेत महत्वपूर्ण योगदान दिइन् ।

महान अक्टोबर समाजवादी क्रान्तिपछिका निकै कठिन दिनहरूमा हर राजनीतिक संघर्षमा क्रुप्स्कायाले सही अडान लिँदै संघर्षमा सहभागी भइरहिन् । कृषिको सामुहिकीकरणको प्रश्नलाई लिएर ट्रट्स्की, बुखारिन, जिनोभिए आदि नेताहरूको गलत लाइनको उनले डटेर विरोध गरिन् र स्तालिनका सही नीतिहरूको समर्थन गरिन् ।

त्यतिबेला रुसमा आनातोली लुनाचास्र्की शिक्षा विभागको कमिसार थिए भने क्रुप्स्काया शिक्षा विभागको उपकमिसार थिइन् । त्यसबेला क्रुप्स्काया समाजवादी समाजमा प्रारम्भिक शिक्षा के कस्तो हुुनु पर्दछ र पोलिटेक्निकल(बहु–प्राविधिक) शिक्षाको स्वरूप के कस्तो हुनुुपर्दछ, अनि महिला मुक्तिका सवालमा लगातार सक्रिय रहिन् र लेनिनवादी नीतिहरू लागू गर्ने पक्षमा दृढ रहिन् । लेनिन र क्रान्तिकारी दिनहरूका बारेमा जति पनि संस्मरणहरू लेखिएका छन् ती मध्येमा क्रुप्स्कायाका संस्मरणहरूमा हामीलाई बोल्शेभिक क्रान्तिकारीहरूको फलामे दृढ चरित्रको निर्माणका सबैभन्दा जीवन्त अभिव्यक्ति मिल्दछन् ।

क्रुप्स्कायाको १४४औँ जन्म तिथि २७ फेबु्रअरीमा तथा ७४आँै स्मृति दिवसमा २७ फेब्रुअरी १९३९ को अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै भारतको एउटा प्रगतिशील पत्रिका ‘मजदुर बिगुल’ले त्यसका पाठकहरूका लागि उनकै लेखनीबाट ‘कम्युनिस्ट नैतिकताका सम्बन्धमा लेनिनका बिचार’ आफ्ना पाठहरूलाई केही अंश प्रस्तुत गरेको थियो ।

त्यसमा भनिएको छ, ‘लेनिनको सम्बन्ध त्यस पिढीसँग थियो जो पेशारेभ शेड्रिन, नेक्रासोभ, दोब्रोल्यूबोभ तथा चेर्नीशेब्स्कीको प्रभावमा १९औँ शताब्दीका सातौँ दशकका क्रान्तिकारी जनवादी कविहरूको प्रभावमा पालिएको वा परेको थियो । ‘ईस्क्रा’ (सेन्टपिट्सबर्गबाट १८५९ देखि लिएर १८७३ सम्म प्रकाशित हुने गरेको ब्यंग पत्रिका)का पुराना अर्धदास व्यवस्थाका अवशेषका निर्माताहरूसँग ठट्टा गर्ने गर्दथे, दुराचारिता, दासवृत्ति, चाकडी, धोकाधडी, सतहीपना तथा हाकिमगिरीको तौरतरिकामाथि कठोर ब्यंग प्रहार गर्दथे । १९औँ शताब्दीका साताँै दशकका लेखक भन्ने गर्दथे कि जीवनको अझ बढी निकटबाट अध्ययन गरिनुपर्दछ र पुरानो सामन्ती व्यवस्थाका अवशेषहरूलाई खोलेर सामुमा राखिदिनु पर्दछ । लेनिन आफ्नो प्रारम्भिक जीवनदेखि नै सतही, गफ लडाउने कुरालाई समयको व्यर्थ बर्बादी, सामाजिक हितबाट पारिवारिक जीवनलाई अलग्गै राख्ने जस्ता कुरालाई मन पराउँदैनथे ।’

वास्तवमा महिलाहरूलाई खेलबाडको बस्तु सरह या मनोरञ्जनको बस्तु मान्ने, या आज्ञाकारिणी दासकोरूपमा प्रस्तुत गर्नेजस्ता कुराहरूप्रति लेनिन धेरै घृणा गर्दथे । त्यस प्रकारको जीवनसँग उनलाई घृणा लाग्दथ्यो जसमा कुटीलता र अवसरवादिता रहेको हुन्थ्यो । चेर्नीशेब्स्कीको उपन्यास ‘के गर्ने’सँग इलिचलाई विशेष प्रेम थियो, शेड्रिनको तीव्र ब्यंग उनलाई धेरै मन पर्दथ्यो, ‘इस्क्रा’ का कविहरूलाई उनले धेरै चाहन्थे । तिनका विभिन्न कविताहरू उनलाई यादै पनि रहेको हुन्थ्यो । नेक्रासोभसँग त उनी प्रेम नै गर्दथे ।

धेरै वर्षसम्म भ्लादिमिर इलिचले जर्मनी, स्विटजरल्यान्ड, इंगल्यान्ड र फ्रान्समा प्रवासी भएर बस्नुपरेको थियो । उनी मजदुरहरूको सभामा जाने गर्दथे र मजदुरहरूको जीवन कसरी चलिरहेको छ त्यसबारे गहिरो गरी अध्ययन अनुसन्धान गर्ने गर्दथे र के बुभ्mन कोसिस गर्दथे भने आफ्ना घरपरिवारमा उनीहरू के कसरी बसोबास गर्ने गर्दछन् । उनीहरूले छुट्टीको समय घुमघाम गरेर वा कसरी बिताउँदछन् भन्ने कुरा पनि हेर्दथे ।

त्यो लेखमा क्रुप्स्कायाले भनेकी छन्, ‘परदेशमा हामीहरू बडो कठिन र गरिबीको स्थितिमा रहने गर्दथ्यौँ । धेरैजसो हामीहरू सस्तो कोठामा बस्ने गर्दथ्यौँ जहाँ विभिन्न किसिमका मानिसहरू रहने गर्दथे । हामी विभिन्न किसिमका घरमालिकहरूकोमा बस्थ्यौँ र सस्ता होटेलहरूमा खाना खाने गर्दथ्यौँ । लेनिनलाई पेरिस(फ्रान्स)का त्यस्ता मनोरञ्जन चल्ने घर(कहवाघर) धेरै मन पर्दथ्यो । त्यहाँ गाना गाउनेहरूले आफ्ना जनवादी गीतहरूबाट पुँजीवादी प्रजातन्त्र तथा दैनिक दिनचर्यालगायत जीन्दगीका विभिन्न पक्षको तीव्र आलोचना गर्ने गर्दथे । मोण्टेगसका गीतहरू लेनिनलाई विशेषरूपमा मन पर्दथ्यो । ती गायक एक जना कम्युनार्ड(पेरिस कम्युनमा भाग लिएका व्यक्ति)का छोरा थिए । मूल सहरी क्षेत्रको बाहिरी किनारामा रहने गरेका मानिसहरूको जीन्दगीका बारेमा उनले राम्रो कविता लेख्ने गर्दथे । एकदिन बेलुकीपखको एउटा भोजमा इलिच लेनिनले ती कवि मोण्टेगसलाई भेटे । अनी त उनीहरूले क्रान्ति, मजदुर आन्दोलन तथा सामाजका बारेमा आधारात बित्दासम्म कुराकानी गर्दै रहे । समाजवादले कस्तो किसिमले एउटा नयाँ जीवनको सृष्टि गर्ने हो अनि जीवनको समाजवादी पद्धति के हो जस्ता निकै गहन विषयहरूमा उनीहरू राती अबेरसम्म कुराकानी गर्दै रहन्थे ।’

नादेज्दाले अगाडि लेखेकी छन्, ‘नैतिकताको प्रश्नलाई भ्लादिमिर इलिचले सदैव विश्व–दर्शनका प्रश्नहरूसँग जोडेर हेर्दथे । २ अक्टोबर १९२० युवा कम्युनिस्ट लिगको तेस्रो महाधिवेशनमा आफ्नो भाषणमा भ्लादिमिर इलिच लेनिनले कम्युनिस्टहरूको नैतिकताको प्रश्नमाथि विचार गरेका थिए र कम्युनिस्ट नैतिकताको मूल तत्वलाई स्पष्ट पार्नका निम्ति सरल र ठोस उदाहरण दिएका थिए । आफ्ना स्रोताहरूलाई उनले भनेका थिए सामन्ती र पुँजीवादी नैतिकता मात्र धोकाबाजीको कुरा हो, उनीहरूको उद्देश्य जमिन्दार र पुँजीपतिहरूको हितमा मजदुर र किसानको आँखामा धुलो झोक्ने र उनीहरूलाई मूर्ख बनाउनु हुन्छ । यसको विपरीत कम्युनिस्ट नैतिकताको आधार सर्वहारा वर्गको वर्ग संघर्षको हितमा हुन्छ । उनले भनेका थिए कि कम्युनिस्ट नैतिकताको लक्ष्य मानव समाजलाई उच्च स्तरमा लैजाने, श्रमको शोषणलाई अन्त्य गरिदिनु हुनुपर्दछ । कम्युनिज्मको संघर्षलाई सबल तुलाउनु तथा अनि अन्त्यमा त्यसको स्थापना गर्नु यही नै कम्युनिस्टहरूको नैतिकताको आधार हुने गर्दछ । एकता आफूमाथि काबु राख्ने क्षमता नयाँ सामाजिक व्यवस्थालाई सुदृढ तुल्याउनका लागि अविश्रान्तरूपमा काम गर्ने योग्यता, नयाँ सामाजिक व्यवस्थालाई सुदृढ तुल्याउनका लागि अथकरूपमा आवश्यक काम गर्ने योग्यता, अनि यस लक्ष्य प्राप्तिका निम्ति सुदृढ एकता स्थापित गर्ने आवश्यकताको कत्तिको महत्व छ यसलाई स्पष्ट पार्नका लागि लेनिनले ठोस उदाहरण दिएका थिए । युवाहरूलाई लेनिनले भनेका थिए कि उनीहरू आफ्नो सारा शक्ति, सारा श्रमलाई उनीहरूले सामान्य लक्ष्य प्राप्तिको उद्देश्यका लागि उत्सर्ग गर्नुपर्दछ ।’

लेखमा अगाडि भनिएको छ, ‘अनि यस कामलाई कस्तो किसिमले गर्नुपर्ने हो यसको आदर्श स्वयं लेनिनको आफ्नो जीवन थियो । वास्तवमा इलिच लेनिन अरू कुनै किसिमले रहनै सक्तैनथे, उनलाई थाहा थिएन किन अर्को कुनै किसिमले रहन सकिन्छ भनेर । यद्यपि उनी बैरागी, सन्यासी पनि थिएनन् । स्केटिङ अर्थात बरफमा चिप्लेटी खेल्ने खेलमा भाग लिनु, तीव्र गतिमा साइकल हाक्नु, पर्वतारोहण गर्नु र सिकार खेल्नु लेनिनको सोख थियो । संगीतप्रति पनि उनको असीम लगाव थियो । सम्पूर्ण इन्द्रधनुषी सौन्दर्यका साथ जीवनसँग उनी प्रेम गर्दथे, आफ्ना साथीहरूसँग प्रेम गर्दथे । उनको सादगीपना, प्रसन्नतापूर्ण उनको संक्रामक हाँसोसँग हरेक परिचित छन् । तर उनीसँग सम्बन्धित प्रत्येक चिज एउटा मुख्य लक्ष्यका अधिनस्थ थिए, ती त्यस संघर्षका अधिनस्थ थिए जुन सबैका लागि एउटा उज्ज्वल, प्रबुद्ध, समृद्ध तथा सुखी जीवन सृष्टि गर्नका लागि गरिँदै थियो । यस संघर्षको सफलताहरूबाट जत्तिका खुसी उनलाई हुने गर्दथ्यो त्यत्तिका अरू कुनै चिजबाट हुँदैनथ्यो । उनको जीवनका निजी पक्ष उनको कामको सामाजिक पक्षबाट स्वभाविकरूपले मिल्न जान्थ्यो ।

२० सेप्टेम्बर १९३२ मा म्याक्सिम गोर्कीको नाममा लेखिएको एउटा पत्रको अंश यस्तो छ – समाजवाद निर्माणको अर्थ केवल एउटा विशालकाय कारखाना र पिठो पिस्ने मिलको निर्माण गर्नु मात्रै होइन । यी चीज अवश्य आवश्यक छन्, तर समाजवादको निर्माण त्यत्तिले मात्र हुन सक्तैन । आवश्यक छ कि मानिसको मस्तिष्क र मनको पनि विकास गरिनु पर्दछ । अनि प्रत्येक व्यक्तिको यस वैयक्तिक उन्नतिको आधारमा अन्ततोगत्वा एउटा नयाँ प्रकारको बलशाली समाजवादी सामुहिक इच्छाको श्रृष्टि गरिनुपर्दछ जसअन्तर्गत ‘म’ र ‘हामी’ अभिन्नरूपले मिलेर एकाकार हुन जाउन् । यस्तो प्रकारको सामूहिक इच्छाको विकास गहिरो वैचारिक एकता तथा त्यत्तिकै गहिरो पारस्परिक सौहाद्र्र–भाव एवंं आपसी समझदारीको आधारमा नै मात्र गर्न सकिन्छ ।

अनि यस क्षेत्रमा कला र साहित्यले विशेषरूपमा असाधारण भूमिका निभाउन सक्तछन् । माक्र्सको पुँजीमा एउटा अद्भूत अध्याय छ । (यहाँ क्रुप्स्काया ‘पुँजी’को १३औँ अध्याय ‘सहकारिता’ को गरिरहेकी छन्–सं) त्यसलाई यसप्रकारको सरलभन्दा सरल भाषामा म अनुवाद गर्न चाहन्छु जसलाई अर्धशिक्षित मानिसहरूले सही किसिमले बुझुन् । त्यो अध्याय सहकारिता सम्बन्धमा छ । त्यसमा माक्र्सले लेखेका छन् कि सहकारिताले एउटा नयाँ शक्तिको जन्म दिन्छ । त्यो नयाँ शक्ति जनताको कुल योग मात्र त्यसको शक्तिको कुल योग मात्र हुँदैन, सर्वथा एउटा नयाँ अझ बढी सबल शक्ति हुन्छ । सहकारितासम्बन्धी आफ्नो अध्यायमा माक्र्सले नयाँ भौतिक शक्तिका विषयमा लेखेका छ । तर त्यसको आधारमा जब चेतना र संकल्प एकता हुन पुग्दछ त्यो एउटा अदम्य शक्ति बन्न जान्छ ।’ यी सबै कुराले नादेज्दा क्रुप्स्कायाको महान व्यक्तित्वको परिचय दिन्छ ।

प्रतिक्रिया