सामाजिक सञ्जालको प्रभाव : संकटमा मिडिया र पत्रकार

सामाजिक सञ्जालको प्रभावको असरले मिडिया धरापमा परेको प्रत्यक्ष असर पत्रकारिता पेसामा परेको छ । डेढ दशक अघिसम्म एक ठाउँबाट अर्को ठाउँसम्म सजिलै विचार, समाचार, खबर आदानप्रदान गर्न परम्परागत मिडियाको व्यापक प्रयोग गरिन्थ्यो । हरेक पढेलेखेका व्यक्तिको एकाबिहानै हातहातमा समाचार पत्रिका हुन्थ्यो । देश र दुनियाँको सूचना थाहा पाउन पत्रपत्रिका, रेडियो र टेलिभिजन प्रमुख माध्यम हुन्थ्यो । तर, फेसबुक आएपछि पत्रपत्रिका पढ्न, रेडियो सुन्न र टेलिभिजन हेर्न छाडेका छन् ।

करिब डेढ दशकदेखि सामाजिक सञ्जालको प्रयोग निकै बढेको छ । सामाजिक सञ्जालको विकाससँगै कुनै समयमा आमजनमानसका सूचना र मनोरञ्जनको एक मात्र साधन रहेको सञ्चार क्षेत्र धरापमा परेको छ । आधुनिक जमानामा इन्टरनेटको माध्यमले चल्ने सामाजिक सञ्चालले समाजमा परिवर्तन ल्याएको कुरालाई नकार्न सकिँदैन । तर यसको व्यापकताले मिडिया र पत्रकारको पेसा संकटमा परेको कुरालाई स्वीकार्नै पर्छ ।
१६औँ शताब्दीबाट सुरु भएका पत्रपत्रिका १९औँ र २०औँ शताब्दीमा सूचना, शिक्षा र चेतनाको प्रमुख माध्यम मात्र बनेन, पत्रपत्रिकाको चार सय वर्षको इतिहासमा दुई सय वर्ष एकछत्र रूपमा राज गर्यो । रेडियोको आविष्कार नहुन्जेलसम्म पत्रपत्रिकाको कुनै प्रतिस्पर्धी थिएन । त्यसपछि सन् १९१२ मा रेडियोको युगको सुरु भयो । सन् १९२० को दशकमा सम्पन्न र शक्तिशाली राष्ट्रले सञ्चालनमा ल्याएको रेडियोले दोस्रो विश्वयुद्धपछि व्यावसायिक रूप लिएपछि दुई शताब्दीसम्म प्रभाव जमाएको पत्रपत्रिकालाई चुनौती दियो ।

पत्रपत्रिका पढे लेखेकाले मात्र प्रयोग गर्न पाउने भएकाले निरक्षरलाई पनि निःशुल्क सूचना दिने माध्यम रेडियो बनेपछि रेडियोको आकर्षण र लोकप्रियता निकै बढ्यो । तर यसको लोकप्रियता बढी दिनसम्म रहन सकेन । झण्डै पाँच दशकपछि सन् १९७० को दशकमा टेलिभिजन आविष्कारले सञ्चार क्षेत्रमा नयाँ युगको प्रारम्भ भयो । र यसले पत्रपत्रिका तथा रेडियोलाई चुनौती दिए ।

पढेर सूचना प्राप्त गर्ने पत्रपत्रिकालाई रेडियोले चुनौती दिएपछि अब पत्रपत्रिका र रेडियो दुवैलाई पढ्न, सुन्न र हेर्न सकिने खालका टेलिभिजनले चुनौती दिए । टेलिभिजनको विकास सञ्चार क्षेत्रमा एक नयाँ युगको क्रान्ति नै थियो । टेलिभिजनले चुनौती थपे पनि पत्रपत्रिका र रेडियोको बजार खासै सुकेन । पत्रपत्रिका, रेडियो र टेलिभिजन एकअर्कामा प्रतिष्पर्धी बने पनि बजार कम गर्न सकेन । तिनीहरूको आआफ्नो विशिष्टता भएकाले व्यवसायमा खासै असर पारेन ।

प्रतिस्पर्धामा तीनै थरिका मिडिया भएकाले ती बेला पत्रकारिता पेसा पनि निकै फस्टायो । नेपालमा हजाराँै पत्रकार उत्पादन गरे । पेसा मात्र फस्टाएन कि एकअर्कालाई प्रतिष्पर्धी पनि बनाए । देशमा संघीयतासँगै २०६३ सालपछि मिडियाको निकै विकास भयो । च्याउ झैँ रेडियो एफएम र टेलिभिजन उम्रिए । एक जिल्लामा आठ–१० वटासम्म रेडियो खुल्यो । पत्रकारिता पेसामा रोजगारको अवसर पनि धेरैले पाए । तर, यो क्षण बढी समयसम्म टिक्न सकेन । सन् २००४ मा इन्टरनेटको माध्यमले चल्ने फेसबुक सञ्चालनमा यता मिडिया नै धरापमा पर्दै अहिले पत्रकारिता पेसा संकटमा पर्दै गएको छ ।

सामाजिक सञ्जालको प्रभावको असरले मिडिया धरापमा परेको प्रत्यक्ष असर पत्रकारिता पेसामा परेको छ । डेढ दशक अघिसम्म एक ठाउँबाट अर्को ठाउँसम्म सजिलै विचार, समाचार, खबर आदानप्रदान गर्न परम्परागत मिडियाको व्यापक प्रयोग गरिन्थ्यो । हरेक पढेलेखेका व्यक्तिको एकाबिहानै हातहातमा समाचार पत्रिका हुन्थ्यो । देश र दुनियाँको सूचना थाहा पाउन पत्रपत्रिका, रेडियो र टेलिभिजन प्रमुख माध्यम हुन्थ्यो । तर, फेसबुक आएपछि पत्रपत्रिका पढ्न, रेडियो सुन्न र टेलिभिजन हेर्न छाडेका छन् । फेसबुक मात्रै होइन एक दशकपछि आएको युट्युबले समेत प्रत्यक्ष असर पारेका छन् । युट्युब प्रयोगमा आएपछि मान्छे टेलिभिजन हेर्न छाडेका छन् ।

फेसबुक विस्तारसँगै न्युज पोर्टल अनलाइन पनि निकै फस्टायो । अहिले तीन हजारभन्दा बढी अनलाइन सञ्चार माध्यम सूचना विभागमा दर्ता छन् । दर्ताबाहेक हजारभन्दा बढी अनलाइनसमेत सञ्चालनमा रहेको छ । फेसबुकपछि ट्विटर, इन्स्टाग्राम, युट्युब र टिकटक लगायतका सामाजिक सञ्जालको विकासले पत्रपत्रिका, रेडियो, टेलिभिजन मात्रै नभई न्युज पोर्टल अनलाइन मिडिया पनि धरापमा परेको छ । मिडिया नै धरापमा परेपछि त्यसमा कार्यरत पत्रकारहरूको पेसासमेत संकटमा परेको छ ।

समय परिवर्तन र प्राविधिक विकास सँगसँगै सबैको हातहातमा मोबाइल र इन्टरनेटको सहज उपलब्धताले गर्दा विश्वभरि नै जनसंख्याको ठूलो हिस्सा सूचना प्रणालीमा जोडिन जाँदा कुनै समयमा हरेक मानिसको प्रमुख साधन रहेको सञ्चार क्षेत्र पनि अहिले सामाजिक सञ्जालको भरमा परेका छन् । अहिलेको समयमा सामाजिक सञ्जाल विश्वमा सञ्चारको प्रमुख माध्यम बनेको छ । भने सामाजिक सञ्जालले हामीलाई हाम्रा विचारहरू, समाचारहरू, सूचनाहरू, र कागजातहरू इत्यादि साझा गर्न सक्षम बनाएको छ ।

तर यसको सही सदुपयोग गर्न नजान्दा कतिपय अवस्थामा प्रविधिको विकासको नाममा यसलाई मानव सभ्यताका लागि अभिशाप बन्न पुगेको छ । साच्चिकै नै पछिल्लो समयमा विश्वभरी नै सामाजिक सञ्जालको लोकप्रियता बढी रहेको बेला नेपाली समाजमा पनि यसको प्रभाव र लोकप्रियता बढदो छ । जसकाकारण छोटो समयमा विभिन्न मुद्दाहरूमा होस्, विभिन्न व्यक्तिहरूको विचार होस् देशका कुनाकन्दरामा रहेका विभिन्न समस्याहरू पनि भिडियोमार्फत हेर्छन् ।

सञ्चारमाध्यमका सामग्री फेसबुक, ट्विटर र युट्युबजस्ता सामाजिक सञ्जालमार्फत समाचारका लागि महिना, हप्ता, दिन वा केही घण्टा पर्खनुपर्ने बाध्यता सामाजिक सञ्जालले हटाएको छ । घटना हुने बितिकै आमजनमानसले केही सेकेन्डमै सूचना पाउन थालेपछि यसको व्यापकता बढदै गएको हो । विज्ञापन बजारबाट मात्र खोस्न थालेका छैनन्, बरु सञ्चार माध्यम नै सामाजिक सञ्जालको भर परेका छन् । टेलिभिजन, रेडियो, न्युज पोर्टलले मात्र होइन पत्रपत्रिकासमेत सामाजिक सञ्जाललाई नै प्लेटफार्म बनाएर बाँच्ने आधार बनाएका छन् ।

टेलिभिजनले आफ्नो कार्यक्रम तथा प्रस्तुति युट्युबमा राख्न थालेका छन् भने रेडियो र अनलाइन समेतले समाचार सामग्रीसहित लाइभ प्रसारण गर्न थालेका छन् । सामाजिक सञ्जालको भर परम्परागत मिडियाले पनि गर्न थालेपछि विज्ञापनको क्षेत्र पनि सामाजिक सञ्जाल ओगटने हुनाले मिडिया नै धरासायी हुन थालेका छन् । मिडिया धरासायी हुँदै गएपछि पत्रिकारिता पेसा संकटमा परेका छन् । पेसा नै संकटमा परेपछि पत्रकारहरू अन्य पेसामा पलायन हुन थालेका छन् ।

परम्परागत मिडियामध्ये पत्रिका र रेडियोको भविष्य निकै संकटपूर्ण छ । टेलिभिजन पनि आर्थिक दृष्टिकोणले संकटमा छ । ठूला कम्पनीले टेलिभिजनका लागि दिने विज्ञापन सोझै सामाजिक सञ्जाल वा न्युज पोर्टलमा दिन थालेका छन् । टेलिभिजन सञ्चालनका लागि करोडौँ खर्च लाग्छ । तर, अनलाइन टिभी केही लाखमै सञ्चालन हुन सक्छ । सीप हुनेले एक्लै युट्युब च्यानल चलाएर राम्रो प्रभाव र आम्दानी बढाएका छन् । टेलिभिजनका लागि युट्युब खतरा भएको छ ।

आम्दानी श्रोतमा ह्रासले समस्या

सामाजिक सञ्जालमा समेत विज्ञापन हुन थालेकाले र परम्परागत मिडियाको आम्दानीको प्रमुख स्रोत सुकेको छ । विज्ञापन कम भएपछि मिडियाबाट पत्रकार हटाउन थालिएकाले पत्रकारहरूको जागिर खोसिएर पलायन हुने क्रम बढ्न थालेको छ । राष्ट्रिय ठूला मिडिया भनिएकाहरू अन्नपूर्ण पोस्ट, कान्तिपुरले १६ पृष्ठबाट आठ मा झरेको छ भने नागरिक, राजधानी, समाचारपत्र लगायतका राष्ट्रिय दैनिक पत्रिका मोफसल बजारबाट हराएको छ । पत्रपत्रिका मात्र होइन अधिकांश रेडियोले पत्रकार हटाएर प्राविधिकबाट समाचार पढनेदेखि कार्यक्रम चलाउनेसम्म काम गराएर पत्रकारको संख्या घटाएका छन् । टेलिभिजन च्यानलहरूले मोफसलबाट आआफ्ना समाचारदाता हटाएका छन् ।

केही दिनदेखि कान्तिपुर मिडिया ग्रुपमा हटाएका र कार्यरत पत्रकारहरू तलबका लागि आन्दोलनरत छन् । यसअघि अन्नपूर्ण पोस्ट र नागरिक पत्रिकाले पत्रकारहरूलाई कामबाट हटाउँदा महिनौँ दिनसम्म उनीहरू आन्दोलनरत थिए । हालै खोलिएका नेपाल न्युज नेटवर्क र ग्यालेक्सी टेलिभिजन विज्ञापन नपाएरै बन्द भयो । यस्ता कैयौँ मिडिया छन् जुन बन्द भइसकेको छ । मोफसलबाट दर्जनौँ पत्रपत्रिका बन्द भइसकेको छ । मिडियाले हटाउन थालेपछि र स्वरोजगार पत्रपत्रिकाहरू बन्द भएपछि सयौँ पत्रकार विस्थापित भई पलायन भइसकेका छन् । परम्परागत मिडिया मात्र नभई उपत्यकामा मात्र खोलिएका सयौँ न्युज पोर्टल अनलाइन मिडिया समेतले मोफसलबाट पत्रकारलाई हटाइसकेका छन् ।

नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत भन्छन् — सामाजिक सञ्जालको व्यापकता बढेपछि मिडिया र पत्रकार दुवै धरापमा परेका छन । सामाजिक सञ्जालमा विज्ञापनसमेत हुन थालेपछि मिडिया कम्पनीले विज्ञापन नपाउँदा उसको आम्दानी स्रोत कम भएको छ । त्यसको सिधा असर पत्रकारहरूमाथि परेको छ । धनुषामा मात्रै दर्जनौँ पत्रकार पेसाबाट पलायन भइसकेका छन् ।

यस्तै नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कर्ण भन्छन् : सामाजिक सञ्जालको बढ्दो व्यापकताले आममानिसलाई सूचना पाउन सहजता भए पनि त्यसको असर मिडिया कम्पनी र पत्रकारमा परेको छ । मिडिया धारासायी हुनुको कारण सामाजिक सञ्जाल मात्र नभई सरकारको पनि उत्तिकै दोष छ । सामाजिक सञ्जालले विज्ञापन खोसे त खास मिडियाले पाउने विज्ञापन मादकपदार्थ र टेन्डर सरकारले गठन गरेको विज्ञापन बोर्डको नीतिले बन्द गराएपछि ठूलो असर परेको हो ।

पत्रकार सूचना संकलन, प्रशोधन र उत्पादनमा संलग्न थिए । तर, अब पत्रकारको यी तीन तहको भूमिकामा सक्रियता घटेको छ । अर्थात् पत्रकार नभए पनि आममानिसले सूचना पाउन सक्ने माध्यम सामाजिक सञ्जाल हो । तर, यसको विश्वसनीयता समाप्त भएको छ । डिजिटल प्लेटफार्मको सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना अधिकांश प्रकाशन प्रसारण हुने क्रम बढ्दो छ ।

पत्रकार र सञ्चारका माध्यम अब सूचना प्राप्त गर्ने प्रमुख स्रोत होइनन् । उनीहरूले आमसञ्चारमा सबै माध्यम सामाजिक सञ्जालबाट प्राप्त गर्ने अवस्था हुँदै छ । आममानिस शिक्षा, स्वास्थ्य, मनोरञ्जन, चेतना र सूचना, हिजो सञ्चारमाध्यमबाट सुन्थे, पढ्थे । आज उनीहरू सामाजिक सञ्जालबाट सुन्छन्, देख्छन् र पढ्छन् । मानिसको आफ्ना धारणा र सूचना प्रवाह गर्ने मुख्य माध्यम सामाजिक सञ्जाल बनेको छ ।

पत्रकारिताको चार सय वर्षको इतिहास भए पनि पत्रकार आचारसंहिता कर्यान्वयन नभएको विषयमा बहस हुने गरेको छ, तर मिडिया र पत्रकारलाई कसरी बचाउन सकिन्छ भन्नेबारे बहसले प्लेटफार्म पाइरहेको छैन । सामाजिक सञ्जाल सूचनाका दृष्टिले मात्र होइन, आर्थिक दृष्टिकोणले पनि पत्रकारिताका लागि चुनौती बनेको छ । यो पत्रपत्रिका, रेडियो र टिभीका लागि त चुनौती छँदै छ, अनलाइन न्युज पोर्टलका लागि पनि खतरा सावित हुँदै गएको छ । आमसञ्चारका माध्यम सञ्चालन हुने मुख्य स्रोत विज्ञापन हो । तर, विज्ञापनको ठूलो हिस्सा सोझै सामाजिक सञ्जालमा जान थाल्नु खतराको सूचक हो ।

मिडियाले आफूलाई जोगाउने वा बचाउने आधार भनेको खोजमूलक पत्रकारिता मात्र नभई अहिले सामाजिक सञ्जाल बन्न गएको छ । औपचारिक सामाचारका लागि पत्रकार र मिडियाको आवश्यकता पर्दैन । तर, खोजमूलक पत्रकारिताका लागि सीप, कला र दक्षता चाहिन्छ । पत्रकारले खोजमूलक सूचना मिडियामा राखेसँगै सामाजिक सञ्जालमा कपीपेस्ट भएर भाइरल हुन थाल्छ । ती कपीपेस्ट सूचना भाइरल त हुन्छ, तर खोज गर्ने पत्रकारको औचित्य र महत्व समाप्त हुन जान्छ । यी प्रवृत्ति पत्रकारिताका लागि ठूलो संकटको विषय हो । खोजमूलक पत्रकारितामा संलग्न पत्रकार र मिडिया सानो संख्यामा टिक्लान्, तर ठूलो संख्यामा पत्रकार र मिडिया टिक्न सक्ने सम्भावना देखिँदैन ।

नियन्त्रण बाहिर

सूचना तथा मनोरञ्जनको सहज पहुँच बनाएका सामाजिक सञ्जालले मिडिया मात्र होइन सरकार, प्रशासन र व्यक्तिगत अधिकारमा समेत नाकारात्मक असर पारेको देखिन्छ । मिडियाबाट हुने आलोचना र सडकबाट हुने विरोध प्रदर्शनभन्दा सामाजिक सञ्जालबाट हुने विरोधको सरकारलाई सामना गर्न मुस्किल हुन थालेको छ । सामाजिक सञ्जालबाट हुने आलोचना र टिप्पणीले आन्दोलनको रूप परिवर्तन गर्ने गरेको कैयौँ उदाहरण छन् ।
सडकमा हुने प्रदर्शनका विरुद्ध सरकारले खुल्ला आलोचना र प्रतिवाद गर्न सक्छ । मिडियाको आलोचनाको सामना पनि सरकार वा सरकारी निकायले गर्न सक्छन् । तर सामाजिक सञ्जालको माध्यमबाट हुने आलोचनालाई कम गर्न सक्दैनन् ।

सरकार र शक्तिमा बसेका व्यक्तिका सम्बन्धमा मिडियामा आउन नसकेका विषय पनि सामाजिक सञ्जालमा आउने र भाइरल हुने गरेको छ । भेला, सभा, समारोहजस्ता कार्यक्रम प्रचारभन्दा पनि आलोचनाको प्लेटफार्म बनेको छ । सरकारका निर्णयका विरुद्धसामाजिक सञ्जालमा हुने आलोचनाले सरकारपछि हट्न बाध्य भएकोे पछिल्ला कैयौँ उदाहरण छन् ।

सरकार, मन्त्री, राजनीतिक दल, दलको नेता, कार्यकर्ता, संघसंस्था, प्रहरी, प्रशासन, सरकारी कार्यालय र न्यायालयका कामसमेत सामाजिक सञ्जालमा आउने नागरिकका प्रतिक्रियाबाट प्रभावित छन् । सामाजिक सञ्जालमा आउने प्रतिक्रिया र आलोचनाबाट प्रहरी र अदालतले गर्ने कार्यसमेत प्रभावित हुन थालेको छ । पछिल्लोपटक धनुषाको आरती साह प्रकरणमा प्रहरीलाई निलम्बन पर्ने अवस्थासमेत आएको छ । जसको प्रमुख कारण सामाजिक सञ्जालबाट हुने आलोचना र प्रतिक्रिया हो ।

स्वतन्त्र विचार र चिन्तन गर्न सक्नेहरूको जमात अझ ठूलो भएका दिन यसको प्रभाव आजको भन्दा कैयौँ गुणा बढी हुनेछ । राज्य र सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्न सक्ने अवस्था नभएकाले बिस्तारै यसले सरकार, राजनीतिक दल, प्रहरी, प्रसाशन, अदालत जस्ता निकायलाई नियन्त्रण गर्न सक्छ भन्ने कुरालाई नाकार्न सकिँदैन ।

(लेखक मधेसी पत्रकार समाज धनुषाका अध्यक्ष हुन्)

प्रतिक्रिया