डुब्दै मधेस प्रदेशको सञ्चारमाध्यम

मधेसका सञ्चारमाध्यम बचाउन मधेस सरकारको पहल संघीयताको स्थापनाका लागि मधेसका पत्रकारहरूले खेलेको भूमिकालाई मधेस सरकारले बिर्सेको विगत ६ वर्षको गतिविधिले स्पष्ट हुन्छ । हुनतः मिडियालाई मधेस सरकारले मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरण गठन गरी उत्थान गर्ने कोशिस नगरेको होइन । काउन्सिलले सञ्चारमाध्यमको उत्थान र सञ्चारकर्मीको क्षमता विकासका लागि केही गरेको अनुभूति त छैन तर आमसञ्चार प्राधिकरणले थोरै भए पनि आफ्नो कदम चालेको देखिएको छ ।

पञ्चायतकालदेखि नै सुरु भएको मधेसको पत्रकारिता दशकाैँ पार गर्दासम्म फस्टाउनुको सट्टा समाप्त हुने संघारमा पुगेको छ । कुनैबेला मानसम्मानदेखि लिएर पेट पाल्ने जोहोसमेत गर्दै आएको मधेसको पत्रकारिता अहिले आएर चाल्नोमा पानी पोख्नुुसरह हुँदै गएको छ ।

त्रैमासिक पत्रिकाबाट सुरु गरिएको पत्रकारिता, एफएम रेडियोको प्रवेश भएसँगै तरंग नै उत्पन्न गरेको थियो । एमएम रेडियोे खुल्ने समय पत्रकारितामा आफ्नो भविष्य बनाउनेहरूको लर्को नै लागेको थियो तर एफएम रेडियोको सञ्चालकले गरेको श्रमशोषणले धराशायी हुँदै गएको छ । यसकारण पत्रकारिताबाट पलायन हुनेको संख्या दिनप्रतिदिन बढदै गयो, स्थिति अहिले यस्तो भएको छ कि पत्रकार नै नपाएर एफएम रेडियोहरू धेरैजसो लगभग बन्द भइसकेका छन् भने बाँकी केही बन्द हुने अवस्थामा छन् ।

मधेसमा वर्तमान अवस्था हेर्ने हो भने अहिले १६ वटा टेलिभिजन सञ्चालनमा रहेको छ भने १ सय ८६ वटा पत्रपत्रिका प्रकाशनमा रहेका छन् । त्यसैगरी ६२ वटा एफएम रेडियो सञ्चालनमा छ भने ३१ वटा अनलाइन सञ्चालनमा रहेको मधेस प्रदेशको आमसञ्चार प्राधिकरणसँग तथ्यांक रहेको छ । मधेस प्रदेशको आठ वटा जिल्लामध्ये प्रदेशको राजधानी रहेको जिल्ला धनुषाबाट कुल ४४ वटा पत्रपत्रिका प्रकासित हुँदै आएको छ । जसमध्ये २८ वटा साप्ताहिक, १२ वटा दैनिक, दुई वटा मासिक, एक वटा द्वैमासिक र एक वटा त्रैमासिक रहेको छ । धनुषाबाट प्रकासित भइरहेको केही दैनिक पत्रिकाबाहेक अधिकांश पत्रपत्रिका वर्गीकरणमा पर्न मात्र प्रकाशित हुँदै आएको आरोप पनि लगाइन्छ ।

हाल धनुषाबाट प्रकाशित हुने दैनिक पत्रिकामा जनकपुर टुडे, जनकपुर एक्सप्रेस, डेली एक्सप्रेस, रेजा टुडे, जनधारा दैनिक, धमाका जनकपुर, सन्ध्याकालीन दैनिक र तराई टाइम्स बाहेकका पत्रिका फाटफुटरूपमा बजारमा देखिने गरेको छ । त्यसैगरी साप्ताहिक, द्वैमासिक, त्रैमासिक र मासिकको कुरा गर्ने हो भने एक–दुईवटा बाहेक बजारमा कसैले देख्ने गरेका छैनन् । त्यसैगरी मधेस प्रदेशको वीरगञ्ज बाहेकका जिल्लामा डेढ दशकको इतिहास बोकेका एफएम रेडियोको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको अवस्था छ । धनुषामा वर्तमानमा चार वटा व्यावसायिक र तीन वटा सामुदायिक गरी सात वटा रेडियो सञ्चालनमा रहेको तथ्यांक छ । सात वटा रेडियो सञ्चालनमा रहे पनि अधिकांशको अवस्था दयनीय छ, कुनैमा आवश्यक कर्मचारी देखिँदैन ।

अहिले सञ्चालित सामुदायिक रेडियोहरूमा रेडियो टुडे, रेडियो जनकपुर र रेडियो स्वागतम हिन्दी गीतको साहारामा चलिरहेको देखिएको छ । यी तीन रेडियो मध्ये रेडियो टुडे र रेडियो स्वागतमले दिनभरमा एक÷दुई वटा समाचार बजाए पनि रेडियो जनकपुर भने बिबिसी र उज्यालोकै सहारामा रहेको देखिन्छ । स्थानीय समाचार उपादन शून्यसरह छ ।

व्यावसायिक रेडियोमा रेडियो ढल्केबर, कलर्स एफएम, जनकनन्दनी एफएम, जनकपुर एफएमले आफनो गति बढाउन सकेकोे देखिएको छैन । हुनतः धनुषामा दर्ता नवीकरणको म्याद नाघेका वर्षाैं भइसकेका अरू पनि रेडियो सञ्चालनमा छन् । मधेस मिडिया प्राधिकरणलाई यसको विषयमा जानकारी भए पनि मिडिया बचाउनका लागि खासै केही गर्न नसकेपछि त्यस्ता रेडियोहरूलाई कारबाही गर्नबाट पछि हट्दै आएको छ ।

सञ्चालनमा रहेका ती रेडियोले युट्युबको सहाराले इज्जत धानिरहेको देखिएको छ । धनुषामा एकसमय टेलिभिजनहरूको पनि बोलबाला रहेको थियो । मधेस प्रदेशकै आठ वटा जिल्लामध्ये सबैभन्दा बढी टेलिभिजन सञ्चालनमा आएपछि अब मधेसको मिडियाले फडको मार्ने विश्वास लिइएको थियो । तर सञ्चालनमा आएको १० वर्षमै सबै टेलिभिजनहरू धराशायी अवस्थामा पुगेको छ । धनुषामा वर्तमानमा ६ वटा टेलिभिजन सञ्चालनमा रहेको आमसञ्चार प्राधिकरणमा अभिलेख छ । सञ्चालनमा रहेका टिभी टुडे जनकपुर, अप्पन टिभी, टाइम्स टेलिभिजन, जनकपुर टेलिभिजन, समय टेलिभिजन, जानकी टेलिभिजनको अवस्था दयनीय छ ।

टिभी टुडे जनकपुर र टाइम्स टोलिभिजनबाहेक कुनै पनि टेलिभिजनले समाचार प्रसारण गर्न सकेका छैनन् । बाँकी टेलिभिजनहरू युट्युबबाट हिन्दी गीत र फिल्म चलाएर दिन कटाइरहेको अवस्था छ । त्यस्तै मधेसमा रहेको ३१ वटा अनलाइन समाचार पोर्टलहरूमा १५ अनलाइन समाचार साइटहरूले धनुषामा समाचार प्रकाशन गरिरहेको आमसञ्चार प्राधिकरणसँग तथ्यांक छ । अनलाइन समाचार पोर्टलहरू दर्जनभन्दा बढी धनुषामा दर्ता रहे पनि नियमित समाचार पस्किने एक–दुईवटा मात्रै रहेको छ । अनलाइन पोर्टलहरूले कपी पेस्ट गरेर गुजारा गर्दै आएका छन् । पत्रकार भएपछि सम्मान पाइने र जहाँ पनि प्रवेश पाइने अभिलाषाकासाथ कामै नलाग्ने अनलाइन पोर्टलहरू दर्ता गराएको भनी आरोप पनि लाग्दै आएको छ ।

मधेस प्रदेशमा धनुषापछि आर्थिक राजधानी वीरगञ्जको जिल्ला पर्सामा पत्रपत्रिका सञ्चालनमा रहेको प्राधिकरणसँग तथ्यांक रहेको छ । पर्र्सामा सञ्चालनमा रहेका कुल ४२ वटा पत्रपत्रिका मध्ये २७ वटा साप्ताहिक र १५ वटा दैनिक पत्रिका छन् । पर्सामा सञ्चालनमा रहेका प्रतिक दैनिक पत्रिकालाई छाडेर सबै दैनिक पत्रिकाको अवस्था दयनीय नै रहेको पर्साका पत्रकारहरूको भनाइ रहेको छ । आर्थिक राजधानी भएपछि विज्ञापनको साहारा हुने सो जिल्लामा पनि अवस्था गम्भीर देखिनुमा ठूला र साना मिडियाको हालीमुहाली र विज्ञापन वितरणमा मनोमानी र कुनै नियम वा मापदण्ड नै नभएको कारण सञ्चारमाध्यम त छन् तर दक्ष सञ्चारकर्मीहरूको कमी हुँदै गएको छ ।

पर्सामा सञ्चालनमा रहेको सात वटा रेडियो मध्ये पाँच वटा व्यावसायिक र दुई वटा सामुदायिक रेडियो सञ्चालनमा रहेको तथ्यांक छ । पत्रपत्रिकाभन्दा पनि बढी रेडियो सुन्न रुचाउने पर्सामा अधिकांश रेडियोको अवस्था दयनीय बन्दै गएको छ । झन् मधेस प्रदेशमै सबैभन्दा पहिले सुरु भएको र दर्जनाँै दक्ष पत्रकार उत्पादन गर्ने रेडियो वीरगञ्जको अवस्था अहिले आएर दयनीय बनेको छ । रेडियोमा हाल पहिलेको तुलनामा एकचौथाइ कर्मचारी पनि छैनन् ।

पर्सामा हालसम्म चार वटा टेलिभिजन सञ्चालनमा रहेको तथ्यांक छ । सञ्चालनमा रहेका टिभीमा वीरगञ्ज, माई टिभी, ए न्युज टिभी र प्लस वन टिभीले हिन्दी गीत र हिन्दी फिल्म चलाएर टिभी स्टेसनलाई बचाएर राखेका छन् । पर्साका कुनै पनि टिभीले सोचेजस्तो आम्दानी गर्न नसकी सञ्चारकर्मीलाई पाल्नसम्म धौधौ परेको अवस्था रहेको पर्साका सञ्चारकर्मीहरूको भनाइ छ ।

पर्सामा दर्जनौँ अनलाइन सञ्चालनमा छन् तर, प्राधिकरणमा एक वटा मात्र दर्ता रहेको पाइएको छ । पर्सा अनलाइन डटकम नामको अनलाइन सञ्चालनमा रहे पनि त्यसले पनि व्यावसायिक सफलता पाउन नसकेको बताइएको छ । मधेस प्रदेशमै सबैभन्दा बढी पत्रपत्रिका सञ्चालन रहेका जिल्लामा सप्तरी जिल्ला अगाडि रहेको छ । सञ्चारमाध्यममा आएको उतारचढावका बाबजुद सप्तरीमा ५३ वटा पत्रपत्रिका सञ्चालनमा रहेको आमसञ्चार प्राधिकरणसँग तथ्यांक छ । सप्तरीमा सञ्चालित १५ वटा दैनिक पत्रिका, ३७ वटा साप्ताहिक पत्रिका र एउटा मासिक पत्रिकाबाट सप्तरीको सञ्चारमाध्यम सबल रहेको बुझ्न सकिन्छ तर अवस्था विपरीत रहेको छ । साप्ताहिक पत्रिकाले आफ्नो उपस्थिति मिडिया काउन्सिलको वेबसाइटमा जनाए पनि एक्कादुक्का दैनिक पत्रिकाहरू बजारमा आफनो उपस्थिति जनाउँदै आएका छन् । सप्तरीमा सञ्चालनमा रहेका चार वटा रेडियो स्टेसन मध्ये दुई वटा सामुदायिक र दुई वटा व्यावसायिक छन् । हुनतः उक्त जिल्लामा अरू रेडियोहरू पनि रहेका छन् तर प्राधिकरणमा दर्ता भएका चार वटा एफएम रेडियोमध्ये सबैमा विज्ञापनको कमीका कारणले सञ्चारकर्मी पाल्न पनि धौधौ परेको अवस्था रहेको सप्तरीका पत्रकारहरूको भनाइ रहेको छ ।

सप्तरीमा हाल एउटा टेलिभिजन कोशी टिभी सञ्चालनमा रहेको तथ्यांकमा देखिएको छ । त्यसैगरी तीन वटा अनलाइन समाचार पोर्टल सञ्चालनमा रहँदा ती सञ्चारमाध्यमहरूले निजी र व्यावसायिकरूपमा सफल हुन सकेका छैनन् । मधेस प्रदेशको ऐतिहासिक जिल्ला मध्ये एक बारामा हालसम्म ११ वटा पत्रपत्रिका सञ्चालनमा रहेको पाइएको छ । सात वटा साप्ताहिक, तीन वटा दैनिक र एक वटा पाक्षिक सञ्चालनमा छ । बारामा पनि सञ्चारमाध्यमका साथै सञ्चारकर्मीको अवस्था दयनीय छ । जिल्लामा युट्युब चलाएर सञ्चारकर्मीले जीविका धानिरहेको देखिएको छ ।

बारा रेडियो सञ्चारमाध्यमकोरूपमा धनी रहेको तथ्यांकबाट झल्किन्छ । जिल्लामा १० वटा रेडियो सञ्चालनमा रहेको छ । आ– आफ्नो स्थानीयतहको कारण बाँचिरहेका रेडियो स्टेसनलाई जीवन्त बनाउन सरकारले नयाँ नीति नै ल्याउनुपर्ने अवस्था छ । जिल्लामा एउटा पनि टेलिभिजन सञ्चालनमा रहेको छैन भने एउटा मात्र अनलाइन समाचार पोर्टल सञ्चालनमा रहेको तथ्यांकमा पाइएको छ । त्यसैगरी रौतहटमा ६ वटा पत्रपत्रिका, ११ वटा रेडियो र एउटा अनलाइन सञ्चालनमा रहेको तथ्यांकमा अभिलेख छ । पटकपटक विवाद र पत्रकारहरूबीचकै आन्तरिक कलहका कारण रौतहटमा पनि सञ्चारकर्मी र सञ्चारमाध्यमको अवस्था राम्रो रहेको छैन ।

नेपालकै प्रसिद्ध जलेश्वरनाथ महादेव अवस्थित महोत्तरी जिल्लामा सात वटा पत्रपत्रिका मात्रै सञ्चालनमा रहेको पाइएको छ । तथ्यांकमा सात वटा मात्रै रहे पनि दजनौँ पत्रपत्रिकाहरू बन्द भएको अवस्था छ । जिल्लामा ६ वटा रेडियो र एउटा अनलाइन सञ्चालनमा रहेको छ । हुनतः महोत्तरीमा दजनौँ अनलाइन सञ्चालनमा रहेको छ तर व्यावसायिक बन्न नसकी गोजीबाट सञ्चालन हुने अनलाइन बनी दर्ता गराउन सक्ने आर्थिक हैसियतसम्म हुन नसक्नुले महोत्तरीको सञ्चारकर्मीको अवस्थाको आँकलन गर्न सकिन्छ । सिरहा जिल्लामा १३ वटा पत्रपत्रिका आठ वटा रडियो, एक टेलिभिजन र सात वटा अनलाइन पोर्टल सञ्चालनमा रहेको तथ्यांकमा उल्लेख छ । सर्लाहीमा तीन वटा पत्रिका मात्र सञ्चालनमा रहेको देखिएको छ भने सात वटा रेडियो मात्रै सञ्चालनमा रहेको छ । यहाँ टेलिभिजन र अनलाइन सञ्चारमाध्यम सञ्चालनमा रहेको तथ्यांक प्राधिकरणमा छैन । समग्रमा हेर्ने हो भने सरकारी तवरबाट सञ्चारमाध्यमलाई बचाउन कुनै पहल नभएपछि भएभरको सञ्चारमाध्यमहरू धराशायी हँुदै गएको अवस्था छ ।

मधेसका सञ्चारमाध्यम बचाउन मधेस सरकारको पहल संघीयताको स्थापनाका लागि मधेसका पत्रकारहरूले खेलेको भूमिकालाई मधेस सरकारले बिर्सेको विगत ६ वर्षको गतिविधिले स्पष्ट हुन्छ । हुनतः मिडियालाई मधेस सरकारले मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरण गठन गरी उत्थान गर्ने कोशिस नगरेको होइन । काउन्सिलले सञ्चारमाध्यमको उत्थान र सञ्चारकर्मीको क्षमता विकासका लागि केही गरेको अनुभूति त छैन तर आमसञ्चार प्राधिकरणले थोरै भए पनि आफ्नो कदम चालेको देखिएको छ । प्राधिकरणले आर्थिक वर्ष २०८०/०८१ का लागि सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापनवापत तीन करोड छुट्याएको छ । पत्रकारको दुर्घटना बिमाका लागि ३० लाख र विभिन्न किसिमको तालिमका लागि बजेट छुट्याएको प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको भनाइ छ । यसमा प्रस्तुत गरिएका तथ्यांक आमसञ्चार प्राधिकरण मधेस प्रदेशको अभिलेखबाट लिइएको र प्रस्तुत गरिएका विचार निजी हो ।

विज्ञापन दिँदा पनि कमिसनको व्यापक खेल हुँदै आएको छ । जातिवाद, नातावाद र कृपावादको कारणले केही सञ्चारउद्यमीहरू सरकारी कर्मचारी र राजनीतिक दललाई प्रभावमा पारेर मनग्य विज्ञापन लिने र पेसाधर्मी, निष्ठावान र इमानदार पत्रकारलाई विज्ञापन पाउन धौ धौ परेको छ । कर्मचारीलेसमेत विज्ञापनमा ८० प्रतिशतसमेत कमिसन माग्ने प्रवृत्तिले गर्दा सञ्चार जगतमा माफियाकरण भएको छ । यस्ता यावत समस्याले सञ्चार जगतलाई अहिले निकै संकटको घडीमा उभ्याएको छ ।

प्रतिक्रिया