नेपालमा पहिलोपटक प्रकाशन भएको सुधासागर साहित्यिक पत्रिकाबाट नेपालको आमसञ्चार र पत्रकारिताको इतिहास सुरू भएको देखिन्छ । जुन १९५५ साउनमा प्रकाशन भएको थियो । सबैभन्दा पुरानो दैनिक पत्रिका गोरखापत्रले प्रकाशन सुरू गरेपछि यसले नयाँ मोड लियो । गोरखापत्रको प्रकाशन राणा प्रधानमन्त्री देवशमशेरले २४ वैशाख १९५८ मा सुरू गरेका थिए । त्यसैको आधारमा वैशाख २४ गतेलाई नेपालमा पत्रकारिता दिवसको रूपमा मनाइने गरिएको हो ।
नेपालमा प्रकाशित भएको पत्रिकाको आधारमा पत्रकारिताको इतिहास भन्ने गरिए तापनि नेपाली भाषाको पहिलो पत्रिका भने भारतबाट प्रकाशित भएको गोर्खा भारत जीवन हो । यो पत्रिका मोतिराम भट्ट र रामकृष्ण बर्मा मिलेर प्रकाशित गरेका थिए । २००७ फागुन ८ गते निजी क्षेत्रबाट प्रकाशित नेपालको पहिलो दैनिक पत्रिका ‘आवाज’ प्रकाशित भएको थियो । तथापि आ–आफ्नो स्थानीय भाषामा समेत पत्रपत्रिकाहरू प्रकाशनमा आएका छन् ।
नेपालमा पत्रकारिताको विकास १५आँै शताब्दिदेखि आधुनिक छपाइ प्रविधि सुरु भए पनि नेपालमा प्रेस आउन चार सय वर्ष कुर्नुप¥यो । १९०८ सालमा बेलायत भ्रमणबाट फर्कंदा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले प्रेस ल्याएका थिए । प्रेस स्थापना भएको ४७ वर्षपछि मात्रै नेपालमा पहिलो पत्रिकाको रूपमा सुधासागर मासिक प्रकाशित भयो ।
महोत्तरीको पत्रकारिता २००७ सालको क्रान्ति यता जन्मेको देखिन्छ । २०१५ सालको पहिलो संसदीय निर्वाचनअघि सम्पर्क÷समन्वयमा रहेको पत्रकारिता त्यसयता क्रमशः संस्थागत बन्दै गएको देखिन्छ । प्रारम्भिक कालमा यहीँ महोत्तरीबाट प्रकाशित हुने अखबार (पत्रिका) नहुँदा यहाँका पत्रकार विभिन्न राष्ट्रिय÷ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका संवाददाताका रूपमा कार्यरत थिए । पछि क्रमशः यहीँबाट मासिक, साप्ताहिक पत्रिका निस्कन थालेका हुन् । २०४९ महोत्तरी पत्रकार संघको स्थापना भयो । जसको संस्थापक अध्यक्ष विश्वनाथ लाल कर्ण रहनुभएको थियो ।
रासस महोत्तरी संवाददाता गोपाल बराल भन्नुहुन्छ, ‘दुई दशकअघि अफसेट प्रेसको उपलब्धता नहुँदा टाइपराइटरबाट टाइप गरिन्थ्यो । मोबाइल, फ्याक्सका सुविधा नहुँदा २०६० को दशकअघि टेलिग्राम, टेलिफोन र हुलाक समाचार प्रेषित गर्ने साधन रहेका थिए । समयक्रमसँगै सूचना प्रविधिको विकासले अब पत्रकारिता पनि त्यही रूपमा विकसित हँुदै गइरहेको छ । विज्ञान र सूचना प्रविधिको विकासले संसार जहाँबाट पनि नजिक बनेको छ । संसारका जुनसुकै कुनाका घटना, विकास, उपलब्धीबारे तत्काल जानकारी पाइन्छ । यसले सूचना र समाचारमा आमपहुँच व्यापक बनेको छ ।’
२०३५ सालबाट पत्रकारिता गर्दैै आइरहनुभएका पत्रकार महासंघ महोत्तरीका संस्थापक सचिव दशरथ भण्डारी पत्रकारिताको आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ, ‘रासस महोत्तरी संवाददाताको रूपमा लेख्ने अवसर पाउनुभयो । मुनेश्वर रायको लोक सम्मति साप्ताहिक पत्रिकामा सम्पादकको रूपमा आवद्ध रहनुभयो । त्यसबेला काठमाडौंबाट प्रकाशित हुने नवरस साप्ताहिक र साप्ताहिक मञ्चमा जिल्ला संवाददाता रहनुभयो । त्यससमय एउटा सामाचार पठाउन जनकपुर पुग्नुपर्ने हुन्थ्यो । हुलाकबाट, कुरियरको सहारा थियो । फोनबाट समाचार टिपाउनुपथ्र्याे । प्याक्सको सुविधा आयो तर जनकपुरमा घण्टौँ लाइनमा बसेपछि बल्ल पालो आउँथ्यो । अहिले केही गम्भीर प्रवृत्तिका विषयबस्तुबाहेक समाचारको मर्म पत्रकारले आफैँ पनि नबुझेको अवस्था रहेको कारण समाचारप्रति आमपाठककै विश्वसनीयता डगमगाइरहेको छ ।’
२०३९ साउनाबाट ‘युगपुरुष’ साप्ताहिक पत्रिकाबाट लेखनी सुरु गर्नुभएका पत्रकार कुँवरकान्त झा आफ्नो पहिलो लेख ‘नगरपालिकाको बाटोमा हिलैहिलो, नगरपरिषद्मा रक्सीको खोलो’ शीर्षकको समाचारले तत्कालीन नगरका कार्यसमिति र जिल्लाभित्र ठूलै तरंग ल्याउन सफल भएको सम्झनुहुन्छ । लेटर प्रेसको जमाना थियो अहिलेकोजस्तो आधुनिक प्रविधिका थिएन । घटना तथा समस्या केन्द्रित समाचार लेख्न निकै कसरत र मिहिनेत गर्नु पर्दथ्यो । पत्रकारले अवस्थाअनुसार निष्पक्ष भएर कलम चलाउनुपर्ने मान्यता रहेको बताउनुहुन्छ ।
तर, अहिले सामाचार संप्रेषणमासमेत इमानदारी छैन उहाँ भन्नुहुन्छ, ‘त्यसबेला समाचारको सत्यतथ्यलाई नाजुक कडीको रूपमा लिन्थ्यौँ अब ब्रेकिङको होडबाजीमा त्यसलाई पत्रकारले खासै महत्व दिएका हुँदैनन् । अनलाइनका कारण छापा समाचार ओझेलमा पर्दै गएको छ ।’ २०५७ सालदेखि स्थानीय साप्ताहिक ‘दैनिक जागरण’ बाट कलम चलाउन सुरु गर्नुभएका हिमाल खबर डट कममा आवद्ध लेखक तथा पत्रकार राकेशप्रसाद चौधरी आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ, ‘पहिले विषयवस्तुको गम्भीरताअनुसार रिपोर्टिङ हुने गर्दथ्यो । विषयवस्तुको गाम्भीर्यता पाठकको रूचिभन्दा पहिलो प्राथमिकतामा पर्दथ्यो । समाधान नहुन्जेलसम्म फलोअप रिपोर्टिङ हुन्थ्यो । हतारमा समाचार लेख्दासमेत लेखिनुको कारण र उद्देश्यबारे पत्रकारको स्पष्ट बुझाइ थियो । अहिले समस्या समाधानका लागि पत्रकारिताको अभ्यास एकदम कम छ । प्रचारप्रसारलाई केन्द्रमा राखिएजस्तो र सतही कुराको मात्र उठान भयो भन्ने आरोप लाग्ने गरेको छ । तालिम वा अध्ययनविना पत्रकारिता गर्दा जोखिममा पर्ने गरेको उदाहरण प्रशस्तै भेटिन्छन् । सामाजिक संजालमा कुनै व्यक्ति वा सरोकारवालाले केही जानकारी साझा गरेर पत्रकारिता गरे भन्ने भ्रम व्यापक छ । त्यही भएर पहिलाजस्तो पत्रकारलाई खोज्नुपर्ने बाध्यता उनीहरूसँग छैन ।’
पेपरमा छापिएका सामाचार सामग्री हमेसा सुरक्षित रहने हुँदा जस्ताको तेस्तै रहन्छ तर प्रविधिको भर हँुदैन कहिले नष्ट हुने हो । साथै अहिले परिवेशमा हतारमा सामाचार संप्र्रेषण गर्ने तर त्रुटी भए संशोधनतिर गम्भीर नहुने कुराले पाठक नै अन्यौलमा पर्ने गरेको प्रति सचेत हुनुपर्नेमा जोड दिनुहुन्छ ।
अहिलेको समाजमा सञ्चार प्रविधिले जति सम्पन्न छ, सूचनाको भोक पनि त्यति नै छ । आफ्नो परिवेश नजिकको समाज र देशसँगै मानिस विश्व, विश्व ब्रह्माण्डसम्मको जानकारी चाहन्छ । पत्रकारिताले बन्दुक त बोक्दैन दुनियाँमा । तर, पत्रकारिताका बलले विश्वमा धेरै क्रान्ति र परिवर्तन सम्भव भएका छन् । पत्रकारिताले संयुक्त राष्ट्र संघको जस्तो मध्यस्थता पनि गर्दैन । तर पत्रकारिताका कारण द्वन्द्वरत पक्षहरूबीच मध्यस्थता भएका छन् । पत्रकारिताले अदालतको जस्तो इजलास राख्दैन तर पत्रकारिताका कारण न्यायका काम भएका छन् ।
पत्रकारिताले पूजापाठ भागवत् वाचन वा देवताका नाउँमा कीर्तन गर्दैन तर पत्रकारिताका कारण धेरै धर्मका काम भएका छन् । पत्रकारिताले कृषि उद्योग व्यापार गर्दैन तर पत्रकारिताका कारण आर्थिक उन्नतिका काम भएका छन् । तर अहिले नेपाली पत्रकारिताले यो बुझेको देखिँदैन आफैँ नबुझेपछि अरूलाई बुझाउन सक्ने त कुरै भएन ।
महाेत्तरी
प्रतिक्रिया