मधेसमा महिलापत्रकारका समस्या

मधेसमा पुरुष पत्रकारको तुलनामा महिला पत्रकारको संख्या अत्यन्त न्यून छ । अधिकांश महिला पत्रकार यस्ता छन् जो श्रीमान्, दाजु वा अन्य आफन्तका केवल आलंकारिक प्रकाशक छन् । अथवा, कुनै एक ठाउँमा बसेर पत्रकारिता गरिदिएको जस्तो मात्रै गरेका छन् । हरेक जिल्लाको अवस्थालाई विचार गर्ने हो भने समग्रमा निकै कम प्रतिशत महिलाहरू सक्रिय पत्रकारितामा छन् । आलंकारिक महिला पत्रकारिताले संख्या त देखिन्छ तर जब कहीँ कतै पत्रकारिताको लागि समाचार, लेखरचना, फिचर आदिमा गुणवताको तुलना हुन्छ त्यहाँ केवल पुरुष नै प्रतिस्पर्धामा रहेको देखिन्छ । यसले पनि मधेसको समग्र पत्रकारितामा महिला अन्यन्त न्यून संख्यामा रहेको देखाउँछ ।

मधेस प्रदेशका दुई प्रमुख सहरहरू वीरगञ्ज र जनकपुरलाई हेर्ने हो भने केही महिला पत्रकारहरू सक्षमतापूर्वक काम गरिरहेका छन् । अन्य जिल्लामा पनि मुख्य गरी सहरी क्षेत्रमा केही महिला पत्रकारले आफ्नो पहिचान स्थापित गर्न सकेका छन् । अन्यथा फिल्डमा महिला पत्रकारको संख्या न्यून छ । ग्रामीण क्षेत्रमा महिला पत्रकार भेट्न मुस्किल पर्छ । ग्रामीण क्षेत्रबाट पत्रकारिता गर्न सजिलो छैन । कुनै घटना वा कार्यक्रममा महिलालाई समयमै पुग्न सहज वातावरण नै बन्न सकेको छैन । समाजको वातावरण महिलामैत्री बन्न नसक्दा ग्रामीण क्षेत्रका महिलामा पत्रकारिताप्रति कुनै आकर्षण रहेको छैन । अनाकर्षण हुँदा महिला पत्रकारिताले ग्रामीण क्षेत्रलाई खासै छोएको छैन । बरु कतिपय अवस्थामा गाउँको ठेगाना राखेर बजार क्षेत्रबाटै मिडिया सञ्चालन गर्ने गरेको पाइएको छ ।

मधेसमा महिला पत्रकारको संख्या बढ्न नसक्नुका केही वस्तुगत कारणहरू पनि छन् । घरायसी कामकाजभन्दा माथिको समाज मनोविज्ञान अझै माथि उठ्न सकेको पाइएको छैन । अझै पनि महिलालाई घरको कामकाजमा बाधा नपर्ने गरी बाहिरको काम गर्नुपर्ने बाध्यात्मक सामाजिक, पारिवारिक मनोविज्ञान रहेको छ । जुनसुकै अवस्थामा पनि घरभित्र हुने सम्पूर्ण काम महिलाले गर्नैपर्ने हुन्छ । यसले गर्दा पत्रकारिताजस्तो हरेक दिन र हरेक क्षण अपडेट भइरहनुपर्ने पेसामा महिलाको प्रवेश त्यत्ति सहज छैन । यदि अविवाहित युवती यस क्षेत्रमा प्रवेश गरेर दक्ष भइन् भने विवाहपछि पारिवारिक बोझ र घरायसी समस्याका कारणले पेसाबाट अलग्गिनु पर्ने वा पूर्ण सक्रिय हुन नसकिने वा आलंकारिक पत्रकारितामा मात्र सीमित रहने वा पूर्णरूपमा विमुख हुने अवस्था सिर्जना हुन्छ । बालबालिकाको भरणपोषण, भात भान्छाको काममा व्यस्त रहनुपर्ने हुन्छ । बच्चाबच्ची आफैँ तयार भएर विद्यालय जान सक्ने भएपछि मात्र अन्य सामाजिक कार्यमा सक्रिय हुनुपर्ने वा पत्रकारिता क्षेत्रमा फर्किन वस्तुगत परिस्थिति निर्माण हुन्छ । विवाहपछि निकै कम महिलाले मात्र आफूलाई पत्रकारिता पेसामा पुनः आबद्धताका लागि घरपरिवारलाई तयार पार्न सक्दछन् ।

महिलालाई केही जोखिमहरू पनि हुन्छन् पत्रकारितामा । एक्लै दुक्लै फिल्डमा हिँड्न सजिलो हुन्न । अझ ढिलो घरमा फर्किनुपर्ने अवस्था पनि हुन्छ । घर फर्किन अलिकति अबेर हुन गयो र नियमित डिउटीभन्दा अन्यत्र जानुपर्नेछ भने मातापिता वा पतिलाई निकै चिन्ता लाग्छ । यदि हरेकदिन अबेर घर फर्किने डिउटी छ भने गाउँमा मानिसलाई यो कुरा पच्दै पच्दैन । बजार क्षेत्रका महिलाको पनि यस्तो स्थितिमा घरको कामकाजको कारणले समयमै फर्किनुपर्ने हुन्छ । कार्यालयमा डिउटी गरी घर फर्किंदा पनि बाटोमा कतै कुनै खराब प्रवृत्तिको मानिस बाटोमा भेटिन्छ कि भन्ने चिन्ता रहन्छ । सम्भवतः यत्तिको मानसिक चिन्ता कुनै पुरुष पत्रकारलाई हुँदैन होला । कहिलेकाहीँ महिला पत्रकारलाई पुरुष साथीबाट पनि सचेत रहनुपर्ने हुन्छ । कोसित हिँड्दा निर्धक्क हुन सकिन्छ र कोसित सचेत हुुनुपर्छ भन्ने कुरा महिलाको लागि पत्रकारितामा मात्रै नभएर अन्य क्षेत्रमा पनि रहेको हुुनुपर्छ । यद्यपि फिल्डको पत्रकारिता कुनै एक ठाउँमा बसेर मात्रै नहुने भएकोले अलिकति बढी जोखिममा रहन्छ ।

आजभोलि सामाजिक सञ्जालले समग्र पत्रकारितामा नै प्रभाव परेको छ । यसले महिला पत्रकारितामा पनि केही असर पारेको छ । सामाजिक सञ्जालमा फोटो तथा भिडियो अपलोड गरेर जति छिटै परिचित हुन सकिन्छ, औपचारिक पत्रकारितामा लागेर चर्चा सितिमिति कमाउन सकिन्न । सामाजिक सञ्जालको ग्ल्यामरले महिलालाई पत्रकारितामा आउनका लागि केही हदसम्म दुरुत्साहन गरेको छ । पत्रपत्रिका तथा अनलाइनमा लेखरचना पठाइरहने तथा समाचार प्रकाशित र प्रसारित भइरहँदा पनि टिकिरहन त्यत्ति सजिलो छैन । सामान्य रूपमा महिलालाई मिडियाहरूले पारिश्रमिक पनि दिँदैनन् । पुरुषको तुलनामा मिडियामा महिलालाई पारिश्रमिक पाउन सजिलो छैन । पुरुष पत्रकारले विज्ञापन खोज्न सक्ने, अरूलाई केही धम्काउन पनि सक्ने तथा पत्रकारिताका विकृतिसित मितेरी गाँस्न सक्ने क्षमता अलिक बढी प्राप्त गरेका हुन्छन् । तर, यही गुण महिला पत्रकारमा अलि कम हुन्छ । यसैले पुरुष पत्रकारले आफ्नो मिडियामा विज्ञापन बढी दिन सक्ने र महिलाले पैसा उठाउन नसक्ने हुँदा महिलाले पारिश्रमिक पाउने कुरामा अलिक पछाडि परेका छन् । चर्चामा पनि नआउने र सजिलो गरी पारिश्रमिक पनि नपाउने हुँदा महिलाहरूको स्वभाविक आकर्षण पत्रकारितातिर हुन नसकेको हो । अनि, भएका महिला पत्रकारहरू पनि टिक्न नसकेर पलायन भएका हुन् ।

अधिकांश मिडिया कुनै न कुनै वैचारिक आस्थाबाट परिचालित हुन्छन् । केही मिडिया पूर्ण स्वतन्त्र पनि छन् । आस्थाको आधारमा सञ्चालित तथा कुनै निश्चित उद्देश्यका लागि सञ्चालित वा कुनै दलको निकट रहेको सञ्चार माध्यममा स्वतन्त्र रूपमा महिलाको पहुँच हुन निकै अप्ठ्यारो छ । महिलाहरूको वैचारिक स्वतन्त्रतामाथि थोपरिएको धब्बा यो हुन्छ कि श्रीमान् फलानो दलको निकट हो भने ऊ स्वतः सोही दलको पहरेदार हो भन्ने बुझाइ हुन्छ । दुई दाजुभाइ पत्रकार अलगअलग आस्थामा विभाजित हुन सक्छन् तर महिला पत्रकारलाई भने तिनको नैसर्गिक स्वन्त्रतामाथि विश्वास गर्दैनन् । समाजको यो धारणा परिवर्तन हुनै परेको छ । अहिले घरपरिवारमा पनि यत्तिसम्मको चेतनाको विस्तार भइसकेको छ कि शिक्षित पुरुष तथा महिला आफ्नो घरपरिवार सञ्चालनमा एकै हुन्छन् तर राजनीतिक आस्था पृथक हुन पनि सक्छ । राजनीतिलाई परिवारमा, भात र भान्छामा पस्न दिनु हुँदैन भन्ने चेतनाको विस्तार भइरहेको वर्तमानमा पत्रकारिताको क्षेत्रमा भने अझै संकुचन रहेको छ । यस संकुचनले महिलाको दृष्टिकोणमा पत्रकारिता अझै माथि उठ्नुपर्ने तथा मिडिया सञ्चालकहरूको दृष्टिकोण उदार हुनुपर्ने टड्कारो आवश्यकता छ ।

महिला पत्रकारहरू किन पेसामा धेरै समय टिक्दैनन् ? यस विषयमा खोजतलास गरिँदैन । के आर्थिक कारण मात्र जिम्मेवार हो ? सम्मानको पथ महिला पत्रकारको लागि कत्तिको उज्यालो छ । घरपरिवारप्रति गैरजिम्मेवार बनेर मधेसमा पत्रकारिता गर्न महिला तयार छैनन् । सहज रूपमा महिलाले स्वभाविक पत्रकारितामा रुचि लिएका छन् तर पनि यो सन्तोषजनक हुन सकेको छैन । जहाँ शिक्षा र साक्षरताको अभाव तथा गरिबीको मार छ, त्यहाँका महिलाको पत्रकारिता स्वभाविक रूपमा जोखिममा हुन्छ । तर विश्वविद्यालयमा बिस्तारै छात्राको उपस्थिति बाक्लो हुँदै गएको र समाजको चेतना फराकिलो बन्दै गएको वर्तमान पृष्ठभूमिमा टेकेर आगामी दिनमा महिला पत्रकारिता समुन्नत हुने आशा भने गर्न सकिन्छ ।
(गुप्ता, रौतहटकी प्रथम महिला पत्रकार हुन्)

प्रतिक्रिया