संकटमा लुम्बिनी प्रदेशका मिडिया

हृदय भुसाल, लुम्बिनी ब्युरो प्रमुख

यतिबेला नेपाली मिडियासँगै लुम्बिनी प्रदेशका मिडियाहरू संकटमा छन् । विभिन्न उद्योग, कलकारखानाजस्तै लुम्बिनी प्रदेशका मिडियाहरू पनि कोरोना पछिको समयमा धरासयी बन्न पुगेका छन् । सीमित विज्ञापनका बजारका कारण लुम्बिनी प्रदेशका विभिन्न मिडिया बलियो जगमा उभिन सकेका छैनन् । कोरोना संक्रमणपछि सरकारबाटै घोषित बन्दाबन्दीले प्रदेशका मिडियाहरू नराम्रोसँग प्रताडित बन्न पुगे । कोरोनाले समस्यामा परेका मिडियालाई सबल बनाउन सरकार तथा विभिन्न सरोकारवाला निकायले विशेष भूमिका निर्वाह गर्नुपथ्यो तर ती सरोकावारवाला निकायको अहिलेसम्म विशेष केही गरेको पाइएको छैन । विज्ञापनको बजार अभाव, जनशक्तिको समस्या र राज्यको मिडिया नीतिका कारण मिडिया उद्योग समस्यामा पर्दै गएका छन् । निजी उद्योग व्यवसाय अन्य सामाजिक संघसंस्थाहरूले जति सहुलियत र सुविधा लुम्बिनीका मिडियाले पाउन सकेका छैनन् । लोककल्याणकारी विज्ञापन प्रकाशन तथा प्रसारण गरेवापत उचित मूल्य तथा नियमित भुक्तानीसमेत हुन सकेको छैन । उता प्रेस काउन्सिल नेपालले समयमै पत्रपत्रिका वर्गीकरणसम्बन्धी नतिजा सार्वजनिक गर्न नसक्दा पनि समस्या खेपिरहन परेको छ । सरकारी स्तरबाट मिडिया बचाउन चाल्नुपर्ने समयसापेक्ष कदमहरू नचालिँदा मिडियाको विकास हुन सक्ने अवस्था छैन ।

देशमा लोकतन्त्र र नागरिक अधिकार, सुशासन बलियो हुनका लागि मिडिया बलियो हुनुपर्छ भनिन्छ । मिडिया कमजोर र स्वतन्त्र हुन सकेन भने त्यसले देशलाई समेत समस्या हुन सक्छ । जनतालाई सूचित गराउने अभिभारा बोकेको नेपाली मिडियालाई उत्प्रेरित गर्न र पत्रकारको उचित मूल्यांकन गरी उनीहरूको सीप, ज्ञान, क्षमता, दक्षता बढाउन सरकारले विभिन्न खालका मिडियासम्बन्धी कार्यक्रम र योजनाहरू अगाडि बढाउनुपर्छ । राजधानी अर्थात केन्द्रीय स्तरबाट सञ्चालनमा रहेका केही अपवादका मिडियाबाहेक जिल्ला र प्रदेशबाट चल्ने मिडियाहरू चल्नै नसक्ने अवस्थामा पुगिसकेका छन् । सरकारका विभिन्न निकायले विभिन्न प्रकारका मिडियाहरू सञ्चालनको अनुमति दिँदा पनि त्यस बजार, सो मिडियाको स्रोत र स्थायित्व आदिको अध्ययनपछि मात्रै अनुमति दिने गरी आवश्यक कानुुन तर्जमा गरिनुपर्छ । यसबारे सरकारले सममै ध्यान दिन जरुरी छ । अहिले लुम्बिनीमा जति पनि मिडिया सञ्चालनमा छन्। ती निकै संकटका साथ चलेका छन् । स्रोतको सधैँ अभाव छ, भने मिडियामा कार्यरत जनशक्ति पनि चाहिए जति व्यवस्थापन, उचित पारिश्रमिक साथै जनशक्तिलाई मिडियामै दिगो रूपमा टिकाउन सकिएको छैन । कोभिडको समस्यामा थुप्रै मिडिया हाउसमा श्रमजीवी पत्रकारका समस्या देखा परे भने सोही विषयलाई लिएर पत्रकार महासंघ साथै अन्य संघसंगठनले विभिन्न खालका दबाबमूलक आन्दोलनका कार्यक्रमसमेत गरे । यति गर्दा पनि नेपालीको परिवर्तनमा नेपाली मिडियाले खेलेको भूमिकाप्रति सरकारले देखाउनुपर्ने सहयोग कमी नै रह्यो । संघ प्रदेश तथा स्थानीय सरकारले मिडिया बचाउनका लागी ठोस नीतिसहित बजेट र कार्यक्रम ल्याउनुपथ्र्याे त्यो अहिलेसम्म पनि हुने सकेन ।


त्यसका लागि सरकारका प्रतिनिधिको ध्यान पुग्न सकेन । भन्ने मिडियाकर्मीहरूको गुनासो र माग रहँदै आएको छ । अझ विज्ञापन प्रकाशित गर्दा प्राप्त गर्ने लोकल्याणकारी विज्ञापनमा समेत आनाकानी भएको पाइन्छ । सरकारी कर्मचारी र राजनीतिक नेतृत्वको मिडियाप्रति अनुदार नीतिका कारण मिडिया उद्योगले झनै क्षति बेहोर्न परेको तीतो यथार्थ हाम्रो बीचमा छर्लंग नै छ । लुम्बिनी प्रदेशका पत्रपत्रिका रेडियो टेलिभिजन र अनलाइन मिडियाको दिगो विकासका लागि सरकारले केही नीतिगत बलियो व्यवस्था गर्नुपर्छ । स्थानीय स्तरको विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई हुने गरी नीति, विधी, कार्यविधी तथा अन्य आवश्यक ऐनकानुन निर्माण गरी समानुपातिक विज्ञापन नीति कार्यान्वयमा ल्याइनुपर्छ । समानुपातिक विज्ञापन नीति कार्यान्वयनमा ल्याइनुपर्छ । समानुपातिक विज्ञापन नीति कार्यान्वयका लागि सञ्चार सम्बद्ध संस्थाहरूले पहिलेदेखि पहल गर्दे आए पनि उल्लेखनीय प्रगति हासिल गर्न सकेका छैनन् ।

मिडियालाई अहिलको संकटबाट बचाउन मिडिया हाउसलाई डेडिकेटेड फिडरसहित विद्युतीय महसुलमा छुट दिनुपर्ने, लोककल्याणकारी विज्ञापनवापतको रकममा शतप्रतिशत नै वृद्धि गर्नुपर्ने, विभिन्न सञ्चार माध्यमले आवश्यक उपकरण खरिद गर्न चाहेमा सहुलियत दिनुपर्ने, पत्रकार लेखन वृत्तिलाई थप प्रभावकारी दायरा फराकिलो बनाउनुपर्ने साथै टेलिफोन इन्टरनेट जडानमा सहुलियत दिने सम्मका सामान्य कामसमेत सरकारबाट हुन सकेका छैनन । लुम्बिनी प्रदेशका मिडियालाई सफल, सबल र सक्षम बनाउन प्रदेश सरकार र स्थानीय सरकारको पनि प्रभावकारी भूमिका आवश्यक छ । नेपाली मिडियालाई नागरिक अधिकार, सार्वजनिक निकायलाई पारदर्शी जवाफदेही थप उत्तरदायी बनाउने मात्र नभई लोकतन्त्रको पहरेदारको रूपमा सरकारले बुझ्नुपर्छ र सोही अनुसारको नीति कार्यक्रम र बजेटमा समेत समेट्न सक्नुपर्छ । कतिपय सन्दर्भमा सरकारका गलत क्रियाकलापलाई उजागर गरेकै कारण पनि मिडियामाथि हस्तक्षेप गर्ने र अंकुश लगाउने काम हुँदै आएको छ । यसले सरकारलाई नै कमजोर बनाउँछ र अन्ततः लोकतन्त्रलाई समेत कमजोर बनाउँछ । स्रोत, साधन तथा विभिन्न चुनौतीका बाबजुद पनि मिडियाले स्थानीय विकास र नागरिक अधिकारका लागि जे जस्तो भूमिका निर्वाह गरेका छन् त्यो सामान्य विषय होइन । संकटमा पुगेका स्वरोजगारमूलक मिडियालाई बचाउन तत्परता सरकारले देखाउनुपर्छ । मिडियाले पनि अब विकसित उच्चतम प्रविधी आमपाठक स्रोताहरूको बद्लिँदो रुची अनुसारको समाचार दिन सक्नुपर्छ त्यसो गरिएन भने मिडियाको अवस्था आफैँ कमजोर हँुदै जानेछ । त्यसमा सबै सचेत र सजक भई मिडिया कन्टेनलाई समय अनुकूल बदल्न सक्नुपर्छ ।

लुम्बिनी प्रदेशका मिडियाहरू दिनप्रतिदिन कमजोर हँुदै गएको सरोकारवालाहरूले बताएका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा लुम्बिनी प्रदेशले लोककल्याणकारी विज्ञापन वितरणका लागि सूचीकृतका लागि मागेको आवेदनमा रेडियोतर्फ ८१ मात्र रेडियोहरू सूचीकृत भएको तथ्यांक लुम्बिनी प्रदेशको गृह मन्त्रालयका सूचना शाखा प्रमुख शक्ति ठाकुरले बताए । मन्त्रालयका अनुसार यो आर्थिक वर्षमा रेडियो ८१, टेलिभिजन १६, छापा अर्थात पत्रपत्रिका ४४ सूचीकृत भएको मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले जानकारी दिए । यो आर्थिक वर्ष भने अनलाइनहरू सूचीकृत नै भएनन् ।
आर्थिक वर्ष २०७९÷०८० अघिल्लो वर्षका तथ्यांक हेर्दा प्रदेशभरका १२ जिल्लाका ३२ पत्रिका प्रदेशमा सूचीकृत भए त्यसैगरी ५६ रेडियो, १४ टेलिभिजन, ४४ अनलाइन सूचीकृत भई लोककल्याणकारी विज्ञापन पाए तैपनि केही मिडियाहरू यसमा समेत छुटेको तथ्यांकसमेत छ ।

लुम्बिनी प्रदेशको तथ्यांकलाई हेर्दा मिडियाहरू अझै पनि खोल्ने र सञ्चालन हुने दर बढ्दो भए पनि मिडिया आत्मनिर्भर हुन सकेको छैन । विनादर्ता दैनिकजसो सञ्चालन गर्ने गरेको अनलाइनहरूको संख्या नै भन्ने स्थिति छैन । लुम्बिनी प्रदेशबाट अनलाइनको दर्ता दुई वर्षमा निकै बढेको सूचना विभागले बताएको छ । मिडियाले सबै श्रमजीवी पत्रकारहरूलाई न्यूनतम पारिश्रमिक दिन सक्ने र आवश्यकताका आधारमा कर्मचारी राख्ने अवस्था पनि छैन । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा सञ्चालित रेडियो अर्घाखाँचीका स्टेसन म्यानेजर गोपाल भट्टराईले ११ जना कर्मचारीबाट सञ्चालन भएको रेडियो अहिले चार जनाले जेनतेन सञ्चालन गर्न बाध्य भएको बताए । भट्टराईले भने, ‘हामी जिल्लामा पहिलो रेडियो हो, २०६३ सालमा स्थापना गरी नियमित रूपमा सञ्चालन गरिरहेका छौँ, सुरुको चरणमा तीन अंकको दरमा रहेको विज्ञापन अहिले एक अंक नौ वटा मात्र विज्ञापन बजाउँछौँ, सुरुमा २० जनाभन्दा माथिको संख्यामा रहेको पत्रकार, कर्मचारी अहिले चार जनामा छौँ, थोरै आएका विज्ञापन लोककल्याणकारी कार्यक्रम, समवेदनाको पैसा भाग लगाएर खाने गरेका छौँ ।’

यता मोफसलमा विगत १६ वर्ष अगाडि साप्ताहिकबाट सुरु गरेको पत्रिका पहिल्लो १० वर्षदेखि दैनिक पत्रिकाको रूपमा सञ्चालन रहेको कपिलबस्तु जिल्लाको वुद्धदर्पण दैनिक पत्रिकामा पत्रकार महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरी नै प्रधानसम्पादक रहेको पत्रिकामा समेत विज्ञापनको दर उद्योग व्यवसायको न्यून भएको र कलकारखाना र विज्ञापनको दर ५० प्रतिशतभन्दा पनि कम भएको पत्रिका व्यवस्थापक रामु अधिकारीले बताए ।


अहिले लुम्बिनी प्रदेशका केही रेडियो बन्द अवस्थामा छन् । केही बजेका मात्र छन् पत्रपत्रिका र टेलिभिजनको अवस्था पनि उस्तै छ । केही अनलाइन तथा सोसल मिडियाका कारण पत्रकारिताको विश्वसनीयता र नागरिकले मिडियालाई हेर्ने दृष्टिकोण परिभाषा नै बदलिएको छ ।

लुम्बिनी पोस्टका सञ्चालक अर्जुन भुसालले पत्रकारिता क्षेत्रमा लामो समयदेखि काम गरेका छन् । नागरिक दैनिक, रासस लगायतका मिडियामा काम गरी पत्रकारिता विषयबाट स्नातक तह उत्तीर्ण गरी स्नातकोत्तरमा अध्ययनरत एक कुशल पत्रकारको रूपमा चिनिएका उनी हाल मिडियामा भविष्य नभएको बताउँछन् । लुम्बिनी पोस्ट अनलाइन केही समयदेखि सञ्चालनमा छैन ।

रेडियो, पत्रपत्रिका, अनलाइनदेखि राष्ट्रिय मिडियामा समेत काम गरेको अनुभव भएका भुुसालले भने, ‘म मेरो अनलाइन, रेडियालाई व्यवस्थित रूपमा सञ्चालन गर्न सकेको छैन, उद्योग कलकारखानाहरू केही बन्द छन्, कम सञ्चालमा छन्, सञ्चालनमा रहेकाले पनि विज्ञापन दिने स्थिति देखिन्नन्, मिडिया र मिडियाकर्मी कसरी बाँच्न सक्छन्, निकै संकट छ, सरकारले पनि मिडिया र मिडियाकर्मीलाई हेर्ने दृष्टिकोण राम्रो देखिन्न । म अहिले मिडियाले मात्र नचल्ने भएपछि गाईभैँसीसँगै कृषि फर्म खोलेको छु, यसबाट नै दैनिक रूपमा जीविका चलाएको छु ।’ रूपन्देहीमा सञ्चालनमा रहेको राज्य टेलिभिजनमा कार्यरत सञ्चारकर्मी भीम विश्वकर्माले पनि नियमित र उचित तलब पाउन गाह्रोे नै भएको बताए ।

अब बदलिँदो परिस्थितिमा सबै सरोकारवालाहरूलाई मिडिया साक्षरता आवश्यक रहेको पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीले बताए । अध्यक्ष गिरीले भने, ‘मिडियालाई हेर्ने, बुझ्ने विश्लेषण गर्ने, साथै प्रकाशन तथा प्रसारण हुने मिडिया सामग्री के सही छन् ? के गलत छन् ? कसरी अब नयाँ तरिकाले प्रकाशन प्रसारण गर्न सकिन्छ ? अब मिडियाका चुनौतीलाई कसरी सामना गर्ने भन्नेतर्फ हाम्रो ध्यान जान जरुरी छ ।

पत्रकारिता पेसामै करिब ५० दशक लामो समय बिताएका पाल्पा तानसेन नगरपालिका–३ स्थायी ठेगाना भएका नेपाली पत्रकारिताको एक अब्लल पत्रकार शम्भु श्रेष्ठले अहिले मिडियाहरू पनि गैह्रजिम्मेवार भएको बताए । हाल पत्रिकाका सम्पादकसमेत रहेका श्रेष्ठले भने, ‘म पाल्पा जिल्लाबाट २०३५ सालमा पत्रकारिता सुरु गरेको थिए, तत्कालीन बेला पाल्पाली त्रैमासिक, झिल्को, मायालु हँुदै पहिलोपटक नेपालगञ्ज गएर मेरो नाममा मायालु पत्रिका दर्ता गरेको थिएँ, मैले जीवनको पुरै समय पत्रकारितामा बिताएँ, अहिले पनि नियमित समाचार लेख्ने गर्छु, पहिला प्रविधि कमजोर थियो सूचना समाचार पाउन निकै गाह्रो थियो, धैरे मिहिनेत गरेर समाचार प्राप्त गर्न सकिन्थ्यो, पहिलाका मिडिया थोरै र जिम्मेवार थिए, अहिले धेरै र गैह्रजिम्मेवार छन् ।’

नियमित विज्ञापन दिने कम्पनीहरूले पनि विज्ञापन दिन छोडेको पत्रकार श्रेष्ठले बताए । अब आर्थिक विकास विना मिडियाको पनि विकास हुन नसक्ने उनको भनाइ छ । ६० दशक लामो पत्रकारितामा जोडिएका दाङका पत्रकार २०३४ सालमा बाररसको तरुण पत्रिकाबाट पत्रकारिता सुरु गरी पहिलो कविता प्रकाशन गरी बिपी कोइरालाबाट सम्मानित भएका मुराहरी शर्मा पत्रकारितामा निकै विकृति मौलाएको बताउँछन् ।

पत्रकार शर्मा भन्छन्, ‘६० वर्ष पत्रकारिता गरेँ, विभिन्न मिडियामा काम गरेँ, अहिले पनि पत्रकारितामै क्रियाशील छु, अब पत्रकार र मिडियाले आफूलाई बदल्न सक्नु पर्छ, होइन भने अब पत्रकारिता अहिलेका हुलाक कार्यालय जस्तो हुनेमा कुनै द्विविधा छैन, पत्रकार हुँ भन्दैमा केही हुनेवाला छैन, अब नयाँ तरिकाले मिसन पत्रकारिता अगाडि बढाए मात्र जनविश्वास र मिडिया संकट टार्न सकिएला, अन्यथा शैली बदल्न नसके इतिहास नै समाप्त हुनेछ ।’

समयक्रमसँगै सूचना र प्रविधि र सञ्चारको विकास जुन गतिका साथ भए पनि खोजमूलक र विभिन्न सार्वजनिक सरोकारका तथ्य तथ्यांक पाउन भने अझै पनि सहज छैन सार्वजनिक निकाएका पद धारण गरेका अधिकारीसँग पटकपटक सूचना माग्दा पनि आलटाल गर्ने र अनेक बाहना गर्ने परिपाटी कायमै छ । जस्तै अहिले पनि छिटो छरितो र सही, तथ्य समाचार प्रकाशन÷प्रसारणमा सहज सूचना पाउन नसक्दा पनि समस्या परेको गुनासो पत्रकारहरूबाट धेरै नै आउने गरेको पाइन्छ ।

हामी जिम्मेवार पत्रकारिताका लागि मिडिया र मिडियाकर्मीहरू पनि समयसँगै डिजिटल प्रविधिको पत्रकारितालाई नै अगाडि बढाउनुपर्ने अनिवार्य आवश्यकता रहेको छ । यदि समय र विषयवस्तुलाई ध्यान दिन सकिएन भने हामी थप संकटमा पर्ने निश्चितजस्तै भएको छ । विगतदेखि वर्तमानसम्म आइपुग्दा व्यवस्था परिवर्तन, सुशासन, विकास र समृद्धिमा मिडियाको भूमिका अतुलनीय छ । मिडियालाई थप सबल र सक्षम बनाउन राज्यले पनि मिडियामैत्री नीति, कार्यक्रम र बजेट ल्याउन जरुरी छ ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया