वागमती प्रदेशस्तरीय फुटबल रेफ्रि प्रशिक्षण सुरु

काभ्रे । काभ्रे जिल्लाको धुलिखेलस्थित वागमती प्रदेशस्तरीय फुटबल रेफ्रि प्रशिक्षण आइतबारबाट सुरु भएको छ । वागमती प्रदेशभित्रको ११ जिल्लाबाट तालिममा सहभागी छन् । ११ जिल्ला बाट ४० जना फुटबल रेफ्रि तालिममा सहभागी रहेको वागमती प्रदेश फुटबल संघको अध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए ।

प्रदेशभित्रका १८ वर्षदेखि ३५ वर्षसम्मका खेलाडी, पूर्वखेलाडी र फुटबल खेलसँग आबद्धलाई रेफ्रि उत्पादन गर्ने उदेश्यले प्रशिक्षण तालिम सुरु भएको अध्यक्ष श्रेष्ठले बताए । तालिम एक सातासम्म सैद्धान्तिक र प्रयोगात्मक हुने संघले जनाएको छ । प्रदेशस्तरीय तालिममा रामेछाप र रसुवा जिल्लाबाट सहभागी छैनन् ।

वागमती प्रदेश खेलकुद परिषद्को सहयोग र अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुन लागेको हो । प्रशिक्षणबाट दक्ष, शारिरिक एवं मानसिक रुपमा तन्दुरुस्त जनशक्ति उत्पादनमा जोड् दिने संघले जनाएको छ ।

आइतबार वागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले तालिमको उद्घाटन गरेसँगै तालिम सुरु भएका छन् ।

तालिममा रेफ्रीहरुलाई फुटबलसम्बन्धी आधारभूत सीप र प्रविधिको विकास गर्नुका साथै मैदानभित्र र बाहिर कसरी प्रस्तुत हुने भन्ने व्यवहारिक र सैद्धान्तिक ज्ञान दिइने छ । फुटबल खेलको लागि तालिमबाट क्याटगोरी चार रेफ्रि उत्पदान हुने प्रदेश फुटबल संघले जनाएको छ ।

प्रतिक्रिया