पृथ्वीनारायण शाहको हुर्मत लिनेहरू चिनौँ

सन्दर्भ : ३०२औँ पृथ्वी जयन्ती

पृथ्वीनारायण शाहले आफ्ना बालसखा विराज बखेतीलाई काजी (कार्यकारी प्रमुख) नबनाएर कालु पाण्डेलाई किन काजी बनाइएको हो ? भन्ने उदाहरण दिँदै दिव्योपदेशमा स्पष्ट भनेका छन्, ‘जनताबीच जो लोकप्रिय छ, उसैलाई काजी बनाउनु ।’ तर महेन्द्रले करिब दुईतिहाइ बहुमतका साथ जननिर्वाचित सरकारलाई अपदस्त गरेर शासन सत्ता आफ्नो हातमा लिए । जनताले नचिनेका सूर्यबहादुर थापा र तुलसी गिरिलाई आलोपालो मनोनित प्रधानमन्त्री बनाउने सिलसिला सुरु गरे । जननिर्वाचित प्रधानमन्त्री बिपीलाई जेलमा सडाएर कहिले थापा र कहिले गिरि अघि सार्नु भनेको पृथ्वीनारायण शाहको दिव्योपदेशको घोर उल्लंघन थियो ।

विन्दुकान्त घिमिरे

आज दार्चुलाको लिम्पियाधुरादेखि झापाको केचनासम्म र कञ्चनपुरको चाँदनी दोधारादेखि ताप्लेजुङको कञ्चनजंघासम्मको भूभागलाई नेपाल भनेर चिनिन्छ, तर गोरखाका राजकुमारको रूपमा पृथ्वीनारायण शाहको जन्म हुँदै गर्दा यस भूभागमा विभिन्न नामका ६५ भन्दा बढी राज्यहरू थिए । त्यति बेला नेपाल भनेर काठमाडौं उपत्यकालाई मात्रै चिनिन्थ्यो, तर नेपाल उपत्यकाभित्र पनि कान्तिपुर, ललितपुर र भक्तपुर नाम गरेका तीन वटा राज्य थिए ।

यसको अर्थ हो, त्यतिबेलासम्म नेपाल भन्ने देशको अलग पहिचान समाप्त भइसकेको थियो । छिमेकी मुलुक भारतलाई अंग्रेजले निलिसकेका थिए, एकीकरण गर्न केही वर्ष मात्रै ढिलाइ भएको भए वर्तमान नेपालको सबै भूखण्ड अंग्रेजहरूले भारतमा विलय गर्ने निश्चित थियो । त्यसैले पृथ्वीनारायण शाहकै कारण आज नेपाल छ, हामी जनताले नेपालीका रूपमा विश्वभर गौरव गर्न पाएका छौँ । हामी आफँै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानसेनापति आदि विभिन्न पदमा पुग्न पाएका छौँ ।

पृथ्वीनारायण शाह भौगोलिक एकीकरणका नेतृत्वकर्ता मात्रै नभएर महान राजनीतिज्ञसमेत थिए भन्ने कुरा उनको दव्योपदेशले स्पष्ट गर्छ । पृथ्वीनारायण शाहले दिव्योपदेशमा भनेका छन्, ‘विराज बखेतीलाई काजी बनाउने मेरो इरादा थियो, तर दुनियाँसँग सोधी हेर्दा कालु पाण्डेलाई कजाई दिनुपर्ने देखियो । त्यसैले प्रजा जोदेखि खुसी हुन्या छन्, उसैलाई कजाई दिनु ।’ त्यतिबेला काजी भनेको अहिलेको प्रधानमन्त्री पद हो । काजीको अर्थ हो, ‘कार्यकारी जिम्मेवार ।’


मुलुकको कार्यकारी जिम्मेवारी राजाले लिन हुन्न भन्ने कुरा पृथ्वीनारायण शाहले आत्मसाथ गरेको देखिन्छ । कार्यकारी जिम्मेवार अर्थात काजीको छनौट कसरी गर्ने ? भन्ने मामिलामा पनि पृथ्वीनारायण शाहले स्पष्ट मार्गचित्र बनाएको देखिन्छ । त्यतिबेला मतदानको चलन थिएन । पृथ्वी नारायणशाहले जनताका घरघरमा आफ्ना दूत पठाएर कसलाई काजी बनाउँदा उपयुक्त हुन्छ भनेर राय लिए । आफ्नो इच्छा विराज बखेतीतर्फ हुँदा हुँदै पनि उनले जनताको इच्छाअनुसार कालु पाण्डेलाई काजी बनाए ।

जनताको रायअनुसार अघि बढेकै कारण कमजोर राज्य गोर्खाले आफूभन्दा कैयौँ गुणा बलिया राज्यलाई जितेर विशाल नेपाल निर्माण गरेको हो । तर, पृथ्वीनारायण शाहका उत्तराधिकारीहरूले ठीक उल्टो गरे । राजा महेन्द्रले त यतिसम्म गरेकी दुईतिहाइ बहुमतका साथ प्रधानमन्त्री बनेका बिपी कोइरालालाई १८ महिनाभित्रै अपदस्त गरी जेलमा सडाइदिए । पृथ्वीनारायण शाहको दिव्योपदेशको सबैभन्दा बढी हुर्मत कसैले लुटेको थियो भने राजा महेन्द्रले नै लुटेका थिए । तर अहिले पनि पृथ्वीनारायण शाहको नाम र तस्बिर अघि सारेर निरंकुश राजतन्त्र स्थापना गर्न खोज्नेहरूको बिगबिगी घटेको छैन ।

पृथ्वीनारायण शाहको हुर्मत लिनेहरू ?

पृथ्वीनारयण शाहले स्पष्ट भनेका छन्, ‘प्रजा मोटा भया मुलुक सप्रन्छ ।’ यो भनाइको अर्थ प्रजाको जिउमा मासु थपिनु होइन । प्रजालाई अधिकार सम्पन्न बनाउनुपर्छ भन्न खोजिएको हो । आज पृथ्वीनारायण शाहलाई संझनु हरेक नेपालीको कर्तव्य हो । तर, त्यसपछिका शासकहरूले पृथ्वीनारायण शाहलाई भन्दा आफूलाई माथि राखे । पृथ्वीनारायण शाहको हुर्मत लिने मामिलामा देश निकाला गरिएका इसाइ पादरीहरू पछि महेन्द्र शाह र माओवादी पार्टी सबैभन्दा अगाडि देखिए । यतिबेला आङकाजी शेर्पा तथा उनको समूहले इसाइ पादरी, महेन्द्र शाह र माओवादीको उत्तराधिकार लिएको देखिन्छ ।

२००७ सालको जनक्रान्ति सफल भएपछि नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्ने प्रस्ताव नेपाली कांग्रेसले राखेको थियो । इतिहासविद डायमन्ड शमशेर राणाका अनुसार जगतप्रकाश जंग शाह र बालकृष्ण समको सुझावअनुसार बिपी कोइरालाले नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्ने प्रस्ताव गरेका थिए । तर यो प्रस्ताव राखेकै कारण तत्कालीन युवराज महेन्द्र शाहले कांग्रेसलाई दुस्मन करार मात्रै गरेनन्, कालान्तरमा जगतप्रकाश जंग शाहको टाउको काट्न लगाए ।

नेपालमा आफ्नै विश्वविद्यालय हुनुपर्ने र पृथ्वीनारायणशाहको नामबाट विश्वविद्यालयको नामाकरण गर्नुपर्ने प्रस्ताव पनि तत्कालीन युवराज महेन्द्र शाहले तुुहाइदिएका थिए । पछि सुर्वणशमशेर राणाको पालामा विश्वविद्यालय त स्थापना भयो, तर पृथ्वीनारायण शाहको नाममा भएन, त्रिभुवनको नाममा भयो । २०१६ सालमा प्रथम जननिर्वाचित मन्त्रिपरिषद्ले झापादेखि कञ्चनपुरसम्म पूर्व–पश्चिम जोड्ने पृथ्वीराजमार्ग निर्माण गर्ने अवधारणा अघि सा¥यो । पूर्व–पश्चिम पृथ्वीराजमार्ग निर्माण गर्ने प्रधानमन्त्री बिपी कोइरालाको अवधारणाका सन्दर्भमा २०१६ पुस २७ गते देशव्यापी विद्यालयस्तरीय निबन्ध प्रतियोगिताको आयोजना गरियो । त्यो निबन्ध प्रतियोगितामा पाल्पा तानसेनमा कक्षा १० मा अध्ययनरत स्याङ्जाका युवा गोपालमान श्रेष्ठ प्रथम भएका थिए । तर २०१७ सालको कु पछि पूर्व–पश्चिम पृथ्वीराजमार्ग निर्माण गर्ने बिपी कोइरालाको प्रयास थाति रह्यो ।

२०१९ सालमा राजा महेन्द्र्रले बिपीको त्यो प्रयास अघि त बढाए तर पृथ्वीराजमार्ग नाम राख्ने बिपीको प्रस्तावमा टिपेक्स लगाएर आफ्नो नाम राखे । त्यसैले राजा महेन्द्रलाई महान ठान्नेहरूले पृथ्वीनारायण शाहको हुर्मत लियो भन्दै आङकाजी ग्याङलाई गाली गर्न सुहाउँदैन । पहिलो कुरा नेपाली नोटमा नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको फोटो राख्न महेन्द्र शाहले किन मानेनन् ? दोस्रो कुरा कालजेयी दिव्योपदेश दिएका राजनेता पृथ्वीनारायण शाहको नाममा विश्वविद्यालय स्थापना गर्न महेन्द्र शाहले किन इन्कार गरे ? तेस्रो कुरा पूर्व–पश्चिम राजमार्गको नामकरण नेपालको भूगोल एकीकरणकर्ता पृथ्वीनारायण शाहको नाममा गर्न महेन्द्र शाहले किन मानेनन् ?

यसैगरी चौथो कुरा नारायणहिटी दरबार सामुन्ने पृथ्वीनारायण शाहको शालिकको सट्टा आफ्नो शालिक राख्ने व्यक्ति को थिए ? पाँचाँै कुरा राजधानी काठमाडौंको टुँडिखेलको उत्तरी क्षेत्रमा पृथ्वीपार्क बनाउने भनेर नेपाली सेनासँग लिइएको जग्गामा महेन्द्र शाहले आफ्नी श्रीमतीको नाममा पार्क बनाए । त्यो पार्क अहिले नेपाल संवतका प्रर्वतक शंखधर साख्वाको नाममा नामकरण गरिएको छ । छैटौँ कुरा जननिर्वाचित प्रधानमन्त्रीलाई जेलमा थुनेर खल्तीबाट प्रधानमन्त्री पजनी गर्ने महेन्द्र्र शाहको चरित्र पृथ्वीनारायण शाहको दिव्योपदेश विपरीत थियो कि थिएन ?

उत्तराधिकारीको कमजोरी

हुन त पृथ्वीनारायण शाहको पालामा भन्दा उनका छोरा प्रताप सिंह शाह र नाती रणबहादुर शाहको पालामा नेपालको क्षेत्रफल तेब्बर बनेको इतिहासमा उल्लेख छ । तर देशको विकास, आर्थिक समृद्धि तथा सुशासनको मामिलामा पृथ्वीनारायण शाह पछिका राजाहरू नराम्रोसँग चुकेका छन् । किनकी मल्ल काल र लिच्छिवी कालमा नेपाल विश्वको १० वटा सभ्य तथा सम्पन्न देशहरूको सूचीमा रहेको इतिहासविद्हरूको भनाइ छ । यो भनाइलाई विश्वास गर्न सकिने यथेष्ट प्रमाणहरू काठमाडौं उपत्यकामा साक्षी छन् । लिच्छवी र मल्लकालमा काठमाडौं उपत्यकामा जे जस्ता भौतिक संरचना निर्माण भएका छन्, त्यो कालखण्डसम्म विश्वका थोरै मुलुकमा मात्रै यस्ता भौतिक संरचना निर्माण भएको पाइन्छ ।

हजारौँ वर्षको इतिहास बोकेको, ३ सय ५० वर्षअघिसम्म पनि विश्वका १० वटा सभ्य र सम्पन्न मुलुकको सूचीमा रहेको नेपाल आज विश्वका सबैभन्दा कमजोर र अविकसित मुलुकहरूको सूचीमा दर्ज छ । किन, कसरी र कहिलेदेखि नेपाल यो खराब हालतमा पुग्यो ? भन्ने प्रश्नको उत्तर खोज्ने हो भने शाह वंशीय राजाहरूको नै मुख्य कमजोरी देखिन्छ । किनकी शाह वंशभन्दा अगाडिका राजाहरूले आफ्नो मोेजमस्तीभन्दा पनि विकासका पूर्वाधार निर्माणमा राज्यको कोष खर्च गरेको देखिन्छ । उनीहरूको मुख्य कमजोरी सैन्य क्षमताको विकास गर्नेतर्फ ध्यान नजानु हो । सेना पाल्दा राज्यको ढुकुटी विकास निर्माणमा खर्च गर्न नसकिने दृष्टिकोण मल्ल राजाहरूको देखिन्छ ।

तर शाह राजाहरूले भने सैनिक संरचनामा बढी ध्यान दिएको देखिन्छ । गण्डकी क्षेत्रका शाह राजाहरूले विकास निर्माणका संरचनामा ध्यान दिएको पाइँदैन । गोरखा, लमजुङ, कास्की क्षेत्रमा शाह राजाहरूद्वारा निर्माण गरिएका भौतिक संरचना छँदै छैनन् भने पनि हुन्छ । आफू बस्ने दरबारका रूपमा निर्माण गरिएको टहरो टाइपको सानो घरबाहेक गण्डकी क्षेत्रका शाह राजाहरूले निर्माण गरेका भौतिक संरचनाहरू देख्न सकिन्न । गरेको भए पो देखिनु । तत्कालीन गोरखा राज्यको दरबार परिसरमा रहेको एउटा चौतारो, जसलाई राम शाहको चौतारो भनिन्छ । उक्त चौतारो पनि राज्यको कोषबाट नभएर झागल गुरुङका पूर्खाहरूले श्रमदानबाट बनाइदिएको इतिहास विद्हरू बताउँछन् ।

राजाको कर्तव्य विकास निर्माण पनि हो भन्ने चेतना गण्डकी प्रदेशका शाह राजाहरूमा पलाउन बाँकी रहँदै गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरण अभियान सुरु भयो । पृथ्वीनारायण शाहले आफ्नो जीवनकालभरि एकीकरणबाहेक अरूतिर ध्यान दिन सकेनन् । राज्यको कोष एकीकरणकै लागि खर्च हुनु स्वाभाविक थियो । तर काठमाडौं उपत्यकाका तीन राज्य (तत्कालीन नेपालको केन्द्र तथा सरहद) हात लागेपछि भने राजाको कर्तव्य भनेको विकास निर्माण पनि हो भन्ने पर्याप्त चेतना पृथ्वीनारायण शाहमा आएको देखिन्छ । उनको दिव्योपदेशमा यो कुरा छर्लंग देखिन्छ ।

दिव्योपदेश भनेको पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिम अवस्थामा आफ्ना उत्तराधिकारीका लागि दिएको मार्गदर्शन हो । तर दुर्भाग्यवश पृथ्वीनारायण शाहका उत्तराधिकारीहरूले या त दिव्योपदेशलाई धोती लगाइदिए, या त दिव्योपदेशमा उल्लिखित मार्गदर्शनहरूलाई उनीहरूको दिमागले विश्लेषण गर्न सकेन । इतिहास हेर्दा पृथ्वीनारायण शाहका नाति रणबहादुर शाहको पालासम्म राज्य विस्तारमै समय तथा स्रोतसाधन खर्च भएको पाइन्छ । रणबहादुर शाहको जीवनको उत्तराद्र्धदेखि त्रिभुवन शाहको जीवनको उत्तराद्र्धसम्म राजाहरूलाई खोपीमै मोजमस्तीको अवसर जुराएर अर्कैले शासन गरेको पाइन्छ ।

यस अवधिमा भीमसेन थापादेखि मोहन शमशेरसम्मले शासन गरे । यी शासकहरूले आफ्नो निजी प्रयोजनका लागि ठूला–ठूला दरबार तथा भौतिक संरचना निर्माण गरेको पाइन्छ । उनीहरूले नेपाल एकीकरणको मर्मलाई समेत बिर्सेको देखिन्छ । किनभने २००७ सालसम्म पनि नेपाल भनेर काठमाडौं उपत्यकालाई मात्रै चिनिन्थ्यो । उपत्यका बाहिरबाट ‘नेपाल’ प्रवेश गर्दा भिसा चाहिन्थ्यो । उपत्यका बाहिरका रैतीहरूको पहिचान नेपालीका रूपमा थिएन । उपत्यकाका रैतीहरूलाई मात्रै नेपाली भनिन्थ्यो । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य थिएन । नेपाली भाषालाई गोरखा भाषा भनिन्थ्यो ।

कहिले भयो सामाजिक एकीकरण ?

मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्मका सबै जनताले आफू नेपाली हुँ, हाम्रो देश नेपाल हो भन्ने यथार्थता अवगत गराएको २००७ सालको जनक्रान्तिले नै हो । भूगोलको एकीकरण गरिसक्दा नसक्दै पृथ्वीनारायण शाहको निधन भयो । सामाजिक एकीकरणको काम अघि बढाउन त्यसपछिका शासक लामो समयसम्म चुके । यही सन्दर्भमा नेपाली कांग्रेसको उदय भयो । जसरी पृथ्वीनारायण शाहको कदम इतिहासको माग थियो, त्यसरी नै नेपाली कांग्रेसको उदय तथा २००७ सालको जनक्रान्ति पनि इतिहासको माग थियो । अर्थात् २००७ सालको जनक्रान्ति नेपाल एकीकरणकै निरन्तरता थियो । निःसन्देह नेपाली कांग्रेसको स्थापना तथा २००७ सालको जनक्रान्तिका डिजाइनर तथ अगुवा बिपी कोइराला नै हुन् । वास्तवमा पृथ्वीनारायण शाह र बिपी कोइराला एकअर्काका परिपूरक हुन् । पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरणको कदम अघि नबढेको भए सायद नेपाल भन्ने देश नरहन पनि सक्थ्यो । यसैगरी २००७ सालमा क्रान्ति नभएको भए नेपालको हालत तिब्बत, कश्मीर तथा सिक्किमको जस्तो हुन्थ्यो, नभए भुटानको जस्तो त पक्कै हुन्थ्यो ।

त्रिभुवनको जीवन त राणाहरूको खोपीबाट मुक्त हुने क्रममै बित्यो । त्रिभुवनका छोरा महेन्द्रले भने मज्जाले शासन चलाउने मौका पाए । वास्तवमा १० जना शाहवंशीय राजाहरूमध्ये एकीकृत नेपालमा निर्धक्क भएर शासन सत्ता सञ्चालन गरेको महेन्द्र शाहले मात्रै हो । महेन्द्रले आफ्ना पुर्खा पृथ्वीनारायण शाहको दिव्योपदेशलाई मात्रै मार्गदर्शनका रूपमा लिन सकेको भए नेपालले हरेक क्षेत्रमा ठूलो फड्को मार्नसक्ने अवस्था थियो । तर उनी दिव्योपदेशको ठिक उल्टो दिशामा गए ।

उदाहरणका लागि पृथ्वीनारायण शाहले आफ्ना बालसखा विराज बखेतीलाई काजी (कार्यकारी प्रमुख) नबनाएर कालु पाण्डेलाई किन काजी बनाइएको हो ? भन्ने उदाहरण दिँदै दिव्योपदेशमा स्पष्ट भनेका छन्, ‘जनताबीच जो लोकप्रिय छ, उसैलाई काजी बनाउनु ।’ तर महेन्द्रले करिब दुईतिहाइ बहुमतका साथ जननिर्वाचित सरकारलाई अपदस्त गरेर शासन सत्ता आफ्नो हातमा लिए । जनताले नचिनेका सूर्यबहादुर थापा र तुलसी गिरिलाई आलोपालो मनोनित प्रधानमन्त्री बनाउने सिलसिला सुरु गरे । जननिर्वाचित प्रधानमन्त्री बिपीलाई जेलमा सडाएर कहिले थापा र कहिले गिरि अघि सार्नु भनेको पृथ्वीनारायण शाहको दिव्योपदेशको घोर उल्लंघन थियो ।

यसैगरी, कतिपय भनाइको शाब्दिक अर्थ लगाउँदा उल्टो परिणाम निस्कन्छ । उदाहरणका लागि कीर्तिपुरेहरूले गोर्खालीसँग लडाइँ हारेपछिको प्रसंगलाई लिन सकिन्छ । अवेद्य किल्ला कीर्तिपुरलाई गोर्खालीले कब्जा गरेपछि कीर्तिपुरेहरूको इज्जत गयो । इज्जत जानुलाई नाक काटिनु भनिन्छ । तर अंग्रेज इतिहासकारले नाक काटिनुको लाक्षणिक अर्थ बुझेनन् । उनले शाब्दिक अर्थ निकाल्दै अंग्रेजीमा ‘नोजकट’ लेखिदिए । त्यसैका आधारमा अहिलेसम्म पनि कतिपयले पृथ्वीनारायण शाहलाई चंगेज खाँ जस्तै क्रुर शासक भन्ने गरेका छन् । यसैगरी, राजा महेन्द्रले पनि दिव्योपदेशमा उल्लिखित ‘प्रजा मोटा भया दरबार बलियो हुन्छ’ भन्ने वाक्यको लाक्षणिक अर्थ बुझेनन् । यसको लाक्षणिक अर्थ हो, ‘जनता अधिकार सम्पन्न भए भने राजसंस्था दिगो हुन्छ ।’ तर महेन्द्रले उल्टो बुझ्दै जनताका अधिकार खोसे, जसको परिणामले राजसंस्था फालियो । वास्तवमा राजसंस्था उन्मूलनको शिलान्यास २०१७ पुस १ गते महेन्द्रले गरेका हुन् । ज्ञानेन्द्रले त २०५९ असोज १८ गते गणतन्त्रको उद्घाटन गरेका मात्रै हुन् ।

कसले फैलायो गलत सन्देश ?

पृथ्वीनारायण शाह नेपालका एकीकरणकर्ता नभएर विस्तारकर्ता मात्रै हुन् भन्ने मान्यता स्थापित गराउने ठूलो प्रपञ्च मुलुकमा भइरहेको छ । यो प्रपञ्चमा पश्चिमा मुलुक, तथा छिमेकी मुलुक लाग्नुको आफ्नै स्वार्थ छ । यो स्वार्थ स्वाभाविक पनि हो । किनकि पृथ्वीनारायण शाहले इसाइ पादरीलाई लखेटेकोमा पश्चिमा मुलुकहरू बदला लिन चाहन्छन् । छिमेकी मुलुक भारत त के चाहन्छ ? स्पष्ट नै छ । तर राजावादीहरू तथा नेपाली सेना अझै भ्रममुक्त हुन नसकेको हो कि ? भन्ने देखिन्छ ।

किनकी एकीकरण सहमतिका आधारमा हुन्छ, विस्तार बलपूर्वक हुन्छ । तर पृथ्वीनारयण शाहले बलपूर्वक कदम चालेको सन्देश सेना तथा राजावादीको गतिविधिले पनि दिएको छ । जबकि पृथ्वीनारायण शाहले बलपूर्वक नभएर सहमतिका आधारमा आधुनिक नेपाल निर्माण गरेका हुन् भन्ने यथेष्ट प्रमाण र आधारहरू छन् । यी आधारलाई ओझेलमा पारेर बलपूर्वक आधुनिक नेपाल निर्माण गरिएको हो भन्ने सन्देश प्रवाह भइरहेको छ त्यो पनि नेपाली सेना र राजावादीहरूको तप्काबाट ।

पहिलो कुरा त, गर्खाबाट गोर्खा भएको हो । गर्खा भनेको देशका रूपमा छिमेकीले मान्यता नदिएको तर अर्काको अधिनमा पनि नभएको सानो भूभाग हो । शाहवंशीय राजाहरूमा दैवीशक्ति छ भन्ने प्रचारका लागि गोरखनाथको प्रसंग जोडियो । लडाइँका क्रममा शत्रुपक्षलाई मनोवैज्ञानिक रूपमा परास्त गर्नका लागि त्यतिबेलाको युगमा यो प्रसंग जोड्नु नाजायज थिएन । तर पृथ्वीनारयाण शाहका उत्तराधिकारीहरूले आफूलाई तानाशाह बनाउन पनि यही अस्त्र प्रयोग गरे । तर शाह राजाहरूमा दैवीशक्ति रहेनछ भन्ने कुरा अब प्रमाणित भइसक्यो । गोरखनाथको कुरा अब असान्दर्भिक भइसकेको छ । भारतीय सत्तारूढ पार्टी बिजेपीको विस्तारवादी नीतिलाई बल पु¥याउनुबाहेक गोरखनाथको यो प्रसंगले अब कुनै काम दिँदैन ।

दोस्रो कुरा, गोर्खा आफैँमा जम्मा १२ हजार घरधुरी भएको, उब्जाउ जमिन नभएको गरिब र अत्यन्त सानो राज्य थियो । एउटा हात्ती दाइजोका लागिसमेत पृथ्वीनारायण शाह कतिविधि लालायित थिए भन्ने कुरा पहिली श्रीमती परित्याग गरेको घटनाले पुष्टि हुन्छ । गरिबीबाट मुक्तिका लागि चालिएको पहिलो पाइला सफल भएपछि दोस्रो, तेस्रो पाइला चाल्दै जाने क्रममा आधुनिक नेपाल निर्माण भयो । परिणाम राम्रै आयो । सुरुआती उद्देश्य जे भए पनि परिणाम राम्रै निस्केका कारण पृथ्वीनारायण शाहको कदर गर्नै पर्छ । तर कदर गर्नेक्रममा धोती फुस्कन्छ कि भन्ने ख्याल गर्नु जरुरी छ । घाउको खाटा कोट्यायो भने झिँगा भन्किने सम्भावना बढ्छ ।

अब पनि यथार्थ कुरा चपाएर पृथ्वीनारायण शाहको देवत्वकरण गर्न खोज्नु भनेको घाउको खाटा कोट्याउनु जस्तै हो । यस्ता कदमले पृथ्वीनारायण शाहलाई राक्षसीकरण गर्नेहरूलाई बल पुग्ने मात्रै हो । पृथ्वीनारायण शाहको देवत्वकरण गरेर राजतन्त्र फर्काउन सकिन्छ कि ? भन्ने कल्पना अब राजावादीहरूले नगरुन् । कुरा यति हो कि हामी हाम्रा बाआमाका उपज हौँ । बाआमा नभएको भए हामी जन्मने थिएनौँ । त्यसैले बाआमा हाम्रा लागि परम आदरणीय हुन् । तर हामी जन्मनुमा बाआमाको कुनै बहादुरी होइन । सृष्टिको नियमित प्रक्रिया हो । यसैगरी विगतकालमा कुनै पनि मुलुकको गठनको अगुवाइ राजाद्वारा नै हुन्थ्यो । उसको स्वार्थका लागि हुन्थ्यो ।

अबको युग भनेको झन् उन्नत लोकतन्त्रको युग हो । भावी सन्तान दरसन्तानका लागि अहिलेनै शासक किटान गरिदिने सोच बोक्ने जत्था नेपालमा अझै छ । हामी नेपालको चेतनास्तर अझै दुई सय वर्ष पछाडि छ भन्ने उदाहरण हो यो । पाँच वर्षका लागि शासक छान्ने अवधि त बढी भयो भनेर आवश्यक परे बीचमै फिर्ता बोलाउन सकिने विधि अरू मुलुकहरूले निर्धारण गरिसके । हामी पनि जानुपर्ने यही विधितर्फ हो । तर एउटा तप्का अझै भन्दै छ, ‘चीरकालसम्मका लागि अहिले नै शासकको व्यवस्था गरियोस् ।’

२००७ सालको जनक्रान्तिले राष्ट्रप्रमुखका रूपमा राजा रहने र जननिर्वाचत प्रधानमन्त्रीले देश सञ्चालन गर्ने विधि तय ग¥यो । यो विधि युरोप अमेरिकाबाट आयत गरिएको विधि थिएन, युरोप अमेरिकीहरूले अवलम्वन गर्नुभन्दा सयौँ वर्षअघि गोर्खाका तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोगमा ल्याइसकेको विधि थियो यो ।

तर पृथ्वीनारायण शाहका १०औँ पुस्ताका उत्तराधिकारी महेन्द्र्र शाह हदैसम्म अदूरदर्शी राजाका रूपमा प्रकट भए । जननिर्वाचित संसद्लाई विघटन गरेर, जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई जेलमा थुनेर आफू शासन गर्न राजा महेन्द्र उद्यत भए । बास्तवमा महेन्द्रको यही कदमले नेपालमा गणतन्त्रको वीजारोपण गरेको थियो । महेन्द्रले गरेको गल्ती ३० वर्षपछि राजा वीरेन्द्रले सच्याए, तर गल्ती सच्याएको एकदशक बित्दानबित्दै वीरेन्द्रको वंश विनास गरियो ।

दाजुको वंश विनास गरिएपछि राजा बनेका वीरेन्द्रका भाइ ज्ञानेन्द्रले घोषणा गरेरै भने, ‘म दाजुजस्तो राजा होइन, पिताजस्तो राजा बन्न चाहन्छु ।’ नभन्दै उनले आफ्ना पिता महेन्द्रले जस्तै राजाको कुर्सीबाट ओर्लेर, प्रधानमन्त्रीको कुर्सीमा आफँै बसेर शासन गर्न थाले । १७औँ शताव्दीमा पृथ्वीनारायण शाहले बसालीसकेको शासकीय स्थितिलाई २१औँ शताव्दीमा उल्लंघन गर्नुको सिधा संकेत थियो, राजतन्त्रको पतन । आखिर भयो त्यही ।

प्रतिक्रिया