बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ५ को कार्यालयले मंगलबार खेलकुद सामग्री वितरण गरेको छ । एक कार्यक्रमबीच जीतपुरसिमरा– ५ का वडाध्यक्ष दिपेन्द्र चौधरीले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलियाका प्रधानाध्यापक धनन्जय गौतमलाई खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् ।
आगामी माघ ७ गतेदेखि जीतपुरसिमरा उपमहानगरपालिकामा सुरु हुन गइरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई लक्षित गरेर खेलकुद सामग्री वितरण गरिएको वडा सदस्य इन्दल पासवानले बताए ।
वडा कार्यालयले वडास्तरीय बजेटबाट जुत्ता, जुराफ, ग्लभस, क्रिकेट ब्याट, विकेट, बल, फुटबल, भलिबल विद्यालयलाई हस्तान्तरण गरेको छ । खेलकुद सामग्री वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष दिपेन्द्र चौधरीले वडास्थित विभिन्न बाल क्लबहरुका बाल–बालिकाहरुलाई खेलकुदमा लक्षित गरी खेलकुद सामग्री वितरण गर्नाले उनीहरुको खेलप्रति रुचि बढ्नुका साथै व्यक्तित्व विकास हुनेमा जोड दिए ।
चौधरीले भने, ‘हामीले वडाका बाल–बालिका र युवाहरुलाई लागुऔषधविरुद्धका साथै कुलतबाट बचाउनका लागि विभिन्न समयका खेल माध्यमबाट सन्देश दिने कार्यक्रम गरिरहेका छौँ, यसरी आजका बाल–बालिकाहरुलाई पनि खेलमार्फत त्यस्ता गलत गतिविधि र कुलतबाट जोगाउन यो खेलकुद सामग्रीको पनि महत्वपूर्ण भुमिका रहने छ ।
यता वडा कार्यालयले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई खेलकुद सामग्री वितरण गरेकोमा विद्यालय परिवारले वडा कार्यालयलाई धन्यवाद ज्ञापनसमेत गरेको छ । उक्त खेलकुद सामग्री वितरण कार्यक्रममा वडा सदस्य इन्दल पासवान, वडा सदस्य, विमलादेवी शर्मा, वडा सदस्य पुनमदेवी, वडा सदस्य इश्वर चौधरीलगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया