काठमाडौँ । जापानमा हुने २०औँ एसियाली खेलकुदमा नेपालको सहभागिता अझै अनिश्चित छ । युवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटीबीचको विवादका कारण मुलुककै बेइज्जती हुने स्थिति आइपरेको हो ।
यो साता एकैदिन ओलम्पिक कमिटी र मन्त्रालयले आगामी एसियाली खेलकुदमा सहभागिता जनाउने भन्दै भिन्नाभिन्नै सूची सार्वजनिक गरे । ओलम्पिक कमिटीले पत्रकार सम्मेलनको आयोजना गर्दै ३० खेलको सूची सार्वजनिक गरेकै दिन मन्त्रालयले ३१ खेलमा सहभागिताका लागि सूची सार्वजनिक गर्यो ।
आयोजक ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले नेपाल ओलम्पिक कमिटीको पत्रलाई मात्र मान्यता दिन्छ । तर, मन्त्रालयले नेपाल ओलम्पिक कमिटीको अस्तित्वलाई ‘स्वीकार नगर्ने’ बताउँदै आएको छ । उता ओसिएले भने नेपाल ओलम्पिक कमिटीभन्दा बाहेकको पत्रलाई स्वीकार गर्ने कुनै प्रावधान छैन भने सरकार आफ्नै देशको ओलम्पिक कमिटीलाई मान्ने पक्षमा छैन ।
ओलम्पिक कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा सबै संघसँग अन्तिम समयसम्म नाम दर्ताका लागि भनेपछि ३० खेल संघ आफ्नोे सम्पर्कमा आएको जनाएको छ । ‘हामीले सबैलाई खबर गरेका थियौँ । हाम्रो सम्पर्कमा ३० खेल संघ मात्र आए’, ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले भने ।
‘नेपालमा यो समस्या आएको पहिलोपटक भने होइन । विगतमा पनि बारम्बार सरकार र ओलम्पिक कमिटीबीच विवाद बढे पनि अन्तिम समयमा वार्तामार्फत समस्या समाधान भएको इतिहास छ । अहिले पनि त्यसैगरी समाधान हुने विश्वास छ,’ ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भने ।
मंगलबार ओलम्पिक कमिटीले पत्रकार सम्मेलनको आयोजना गर्दै सूची सार्वजनिक गरेको केही समयपछि मन्त्रालयले विज्ञप्ती जारी गर्दै नेपाल ओलम्पिक कमिटीको कार्य समितिलाई ओलम्पिक गतिविधिमा रोक लगाइएको जनाइएको थियो । साथै कमिटी अवैध रहेको दाबी मन्त्रालयको छ ।
एसियाली खेलकुद जापानको आइची र नागोया सहरमा सन् २०२६ को १९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म हुनेछ ।
सो प्रतियोगिताका लागि ओलम्पिक कमिटीमा दर्ता भएका संघहरूमा आर्चरी, बास्केटबल, जुडो, बक्सिङ, टेबल टेनिस, पौडी, लनटेनिस, सफ्ट टेनिस, रग्बी, क्लाइम्बिङ, डान्सिङ स्पोर्ट्स, क्रिकेट, बेसबल एन्ड सफ्टबल, कुस्ती, स्केट बोर्डिङ, ई–स्पोर्ट्स, भलिबल, एथलेटिक्स, साइक्लिङ र ब्याडमिन्टन छन् ।
यसैगरी मोर्डन पेन्टाथलन, भारोत्तोलन, क्यानोइङ एन्ड राफ्टिङ, कुराँस, गल्फ, कबड्डी, कराते र उसु दर्ता भएका छन् । स्क्वास र क्रिकेट पनि दर्ता भएका छन् ।
फेन्सिङ, ट्रायथलन, फुटबल र ताइक्वान्दो ओलम्पिक कमिटीले सार्वजनिक गरेको खेलको सूचीमा समावेश छैनन् । तर यी खेल संघ तत्काल सम्पर्कमा आए सहभागिताको विषयमा आयोजकलाई नेपालको तर्फबाट थप अनुरोध गर्न सकिने ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले बताए ।
प्रतिक्रिया