चेलिबेटी बेचबिखनको डरलाग्दो रहस्य र अन्जना पौडेलको चरीमाई उपन्यास

को हुन् चरीमाई ?

कस्ता पुस्तकहरू धेरै पढिन्छन् ? समाजलाई वा पाठकलाई कस्ता पुस्तकको आवश्यकता छ ? भन्ने रहस्य बुझेरै उनले चेलिवेटी वेचविखनका सन्दर्भमा सत्य–तथ्य घटनामा आधारित उपन्यास लेखेकी हुन् । उनले लेखेका कथा, कविता, गीत, हाइकु र मुक्तहरू यसअघि नै प्रकाशनमा आइसकेका छन् । उपन्यासकार पौडेल भन्छिन्, ‘चरीमाई बेचबिखनमा परेका सीमान्तकृत चेलीहरूको सामूहिक स्वर हो ।’

विन्दुकान्त घिमिरे

गत बिहीबार यस पंक्तिकार भृकुटीमण्डपमा चलिरहेको दक्षिण–एसियाली क्षेत्रीय स्तरको पुस्तक प्रदर्शनीस्थल पुग्दा स्टल नं सी–४९ मा विशेष चहलपहल देखिएको थियो । वरिष्ठ लेखकहरू झलक सुवेदी, मुकुन्द आचार्य, प्रकाश थाम्सुहाङ, प्रकाश चापागाईं, एलबी क्षेत्री, संगीत श्रोता, सिर्जना ढकाल, पुष्कर गौतम, उषाकिरण तिम्सिना र असम, भारतकी स्रष्टा सृजना शर्मा, प्रभात दीक्षित, सोमनाथ घिमिरे, हरि अधिकारी विनयभूषण दत्त, देवीप्रसाद सुवेदी लगायतको वीचमा प्रफुल्ल मुद्रामा कुराकानी गरिरहेकी थिइन्, नवोदित लेखिका अञ्जना पौडेल । अञ्जनालाई आफ्नो चरीमाई उपन्यासमा हस्ताक्षर गर्न र पाठक तथा अग्रज लेखकसँग कुराकानी गर्न भ्याइ नभ्याई थियो । स्टलमा देखिएको चहलपहल हेर्दा चरीमाई उपन्यासले राम्रै बजार लिएको हो कि जस्तो देखिन्थ्यो ।

पठन संस्कृतिको जमाना बदलिएको अनुभव धेरैको छ । खासगरी नयाँ पुस्तामा कागजको पुस्तकको ठाउँ डिजिटल पुस्तकले लिएको देखिन्छ । पुराना पुस्तकालयमा विगतको जस्तो पाठकको भिड देखिँदैन । कैयौँ पुराना पुस्तकालयहरू बन्द भएका समाचार आउन छाडेका छैनन् । पुराना पुस्तकालयहरू सुनसान छन्, तर पुस्तक पसल भने चलेकै छन् । पुस्तक पसलहरूमा नयाँ पुस्ताका युवाहरूको आवतजावतमा कमी देखिएको छैन । उत्कृष्ट पुस्तकहरूको बिक्री अहिले पनि भइरहेकै छ । मंसिर ५ देखि राजधानी काठमाडौंको भृकुटीमण्डपमा दक्षिण–एसियाली क्षेत्रीय स्तरको पुस्तक प्रदर्शनी चलिरहेको छ । ९ गतेसम्म चल्ने पुस्तक प्रदर्शनीमा देखिएको भिड हेर्ने हो भने नेपालमा अझै पनि पठन संस्कृति जीवित रहेको अनुभव गर्न सकिन्छ ।


कस्ता पुस्तकहरू धेरै पढिन्छन् ? समाजलाई वा पाठकलाई कस्ता पुस्तकको आवश्यकता छ ? भन्ने रहस्य बुझेको कुशल लेखक तथा साहित्यकारहरूद्वारा लेखिएका पुस्तकहरूको बजार झन्झन् बढी रहेको अनुभव प्रदर्शन स्थलमा जाने जो कोहीले पनि गर्न सक्छ । उपन्यासकार अन्जना पौडेलद्वारा लिखित ‘चरीमाई’ उपन्यास शताब्दी साहित्य प्रतिष्ठान र इन्डिगो प्रकाशनद्धारा गत वैशाखमा सार्वजनिक गरिएको हो ।

लेखिका अञ्जना पौडेल


चेलीबेटी बेचबिखनको सवाललाई समावेश गरिएको चरीमाई उपन्यास काल्पनिक नभएर यथार्थतामा आधारित भएका कारण पनि पठाकहरूको चासो बढेको हो । ‘चरीमाई’ उपन्यासमा देहव्यापारका लागि बेचिएका चैलीहरूको आत्मकथा उल्लेख छ । यो उनको पहिलो उपन्यास हो । प्राध्यापन तथा समाजशास्त्रको अनुसन्धानमा लेखिका पौडेल संलग्न छन् । उनले केही वर्ष सक्रीय पत्रकारितासमेत गरेकी थिइन । कस्ता पुस्तकहरू धेरै पढिन्छन् ? समाजलाई वा पाठकलाई कस्ता पुस्तकको आवश्यकता छ ? भन्ने रहस्य बुझेरै उनले चेलिवेटी बेचबिखनका सन्दर्भमा सत्य–तथ्य घटनामा आधारित उपन्यास लेखेकी हुन् । उनले लेखेका कथा, कविता, गीत, हाइकु र मुक्तहरू यसअघि नै प्रकाशनमा आइसकेका छन् । उपन्यासकार पौडेल भन्छिन्, ‘चरीमाई बेचबिखनमा परेका सीमान्तकृत चेलीहरूको सामूहिक स्वर हो ।’ तर यो उपन्यासका पात्रहरू यथार्थ हुन् या काल्पिनिक हुन् ? भन्ने रहस्य खोल्न भने लेखिका पौडेल चाहन्नन् ।

उपन्यासमा मन छुने प्रसंग धेरै छन् । मुम्बईबाट आफ्नो गाउँफर्किएकी उपन्यासकी मुख्यपात्र चरीमाईलाई चेलीबेटी बेचबिखनका माफियाहरूले जिउँदैै आगो लगाएर मार्न खोज्छन् । ज्यान जोगाउने संघर्षका क्रममा मितिनी आमाको घरमा सहारा लिन पुग्छिन् । त्यही बेला अर्याल बाजेसँग उनको सामिप्यता बढ्छ । सुरुमा चरीमाईको अनिच्छा हुँदाहुँदै पनि अर्याल बाजेले संसर्ग गर्छन् । यस बापत अर्याल बाजे पछुताउँछन् । माफी माग्छन् । केही वर्ष पनि चरीमाईकै इच्छाअनुसार अर्यालबाजेसँग संसर्ग हुन पुग्छ । उनी दोजिया हुन्छिन् । अर्यालबाजेले स्वीकार गर्ने संभावना नदेखेपछि मधेसी मुलका आफ्ना एक जना प्रेमी काठमाडौंमा फलफूल पसल गर्ने रामलालसँग उनको घरजम हुन्छ । उनी तराई गएर रामलालको घरमा बस्छिन् । यसरी अर्यालबाजे हुँदै रामलालसम्मको प्रसंगलाई उपन्यासमा निकै दमदार ढंगले प्रस्तुत गरिएको छ ।

तर चरीमाईको संघर्ष यतिमै सकिँदैन । दोजिया रहेकै अवस्थामा उनलाई झुक्याएर फेरी मुम्बईको पहिलेकै कोठीमा पु¥याएर देहव्यापारमा संलग्न गराइन्छ । त्यहीँ चरिमाईले जुम्ल्याहा छोरीहरू जन्माउँछिन् । उनका छोरीहरूलाई पनि जबरजस्ती देहव्यापारमा लगाइन्छ । छोरीहरू छाडेर उनी फेरी भाग्छिन् । आफ्नै गाउँमा आएर संघर्ष गर्छिन् । होटेल व्यवसाय चलाउँछिन् । गिरोहले दुःख दिन छाड्दैन । आफ्नो संरक्षणका लागि एक सोझो पुरुषसँग विवाह गर्छिन् । एउटी छोरी जन्मिन्छन् । उनका श्रीमानको गिरोहद्वारा हत्या हुन्छ ।

उपन्यासमा उल्लेख गरिएको संघर्षका अधिकांश कथाहरू समाजिक अभियन्ता चरिमाया तामाङको जीवन भोगाइसँग मेल खाने अड्कलका साथ पाठकहरूले पुस्तक किन्न रुची देखाएको अनुमान गर्न गारो छैन । पठकहरूले उनलाई सोध्ने पनि गर्छन्, तर लेखिका पौडेल भन्छिन्, ‘चरीमाईको आत्मकथामा यथार्थका अलवा काल्पनिकता पनि मिसिएको छ ।’ अर्यालबाजे, रामलाल र जुुम्ल्याहा छोरीहरूका सन्दर्भमा लेखिका यथार्थता हो या काल्पनिकता भन्नेबारे केही खुलाउन चाहन्नन् । उपन्यासकै भाषामा बुझ्न उनी आग्रह गर्छिन् । उनी भन्छिन्, ‘समग्रमा बेचिएका चेलीको प्रसंग उठान गरेको हुँ, उनीहरूबाट जन्मिएका छोराछोरीको नागरिकता प्रमाणपत्र बनाउने बेलामा भएको झमेला आफ्नै आँखाले देखेपछि सरकारको ध्यानाकर्षण होस् भन्ने लागेर यो उपन्यास लेखेकी हुँ ।’

चरीमाई उपन्यासबारे भूमिका लेख्दै उपन्यासकार कृष्ण धरावासीले भनेका छन्, ‘आज पनि ग्रामीण चेलीहरू देशभित्रकै सहरका होटलहरूमा ओछ्यान बन्न बाध्य छन्, भारतका यौन बजारहरूमा बेचिरहेका छन्, यस्ता बेलामा यही विषयलाई केन्द्रमा राखेर बारम्बार सम्झाइरहने काम चाहिँ लेखकहरूकै हो, यो पुस्तकले पनि त्यही काम गरेको छ ।’

को हुन् चरीमाया ?

चरीमाई उपन्यासको नाम तथा मुख्य पात्रको प्रसंगसँग समाजसेवी चरीमाया तामाङको संघर्षको कथा के कति हदसम्म मिल्दोजुल्दो छ ? भन्ने कुरा कि उपन्यास लेखिका पौडेललाई थाहा छ । कि स्वयं चेलिबेटी बेचबिखन विरुद्धकी मुख्य अभियन्ता चरीमाया तामाङलाई थाहा छ । चरीमाया तामाङ शक्ति समूह नेपालको स्थापना गरेर केही दशकदेखि चेलिबेटी बेचबिखनका गिरोहसँग संघर्षरत छिन् । पटकपटक मरेर बाँचेको तितो अनुभव उनको छ । सीमान्त तहमा समेत अपहेलनाको सामनालाई शक्तिको रूपमा बदल्न हिम्मत कसेर आफूलाई बेच्ने अपराधीहरूविरुद्ध कानुनी कारबाहीका लागि हिम्मतकासाथ उनी डटेकी छन् । अपराधीहरूलाई सजाय दिलाउनसमेत सफल भएकी चरीमाया तामाङ एक साहसी नारी र अन्य महिलाहरूका लागि एक बाँच्ने प्रेरणा दिने शक्तिका स्रोत हुन् । उनी एक संघर्षशील नारी हुन् जसले महिला बेचबिखनको विरुद्धमा महिलाहरूलाई सचेत गर्दै यसको उन्मूलनका लागि सन् २००१ मा आफूजस्तै अन्य १५ जना सशक्त महिलाहरू मिलेर शक्ति समूह नामक संस्था स्थापना गरेकी छन् । महिला बेचबिखन विरुद्धको सशक्त अभियानको सम्मान गर्दै शक्ति समूहलाई सन् २००७ (विसं २०६४) मा नेपाल सरकारले राष्ट्रिय सम्मान दिएको थियो ।

सन् २००८ (विसं २०६५) मा चरीमाया तामाङलाई नेपाल सरकारले सम्मान गरेको थियो । महिला बेचबिखन विरुद्धको सशक्त अभियानका लागि लागिपरेका स्वयं चरिमाया तामाङ र शक्ति समूहको विश्वभरी कदर गरिँदै आएको छ । सन् २०११ मा ‘२०११ हिरो एक्टिङ टु इन्ड मोर्डन डे स्लेभरी अवार्ड’ द्वारा चरीमाया तामाङलाई अमेरिकी सरकारका तर्फबाट तत्कालीन अमेरिकी विदेश सचिव हिलारी क्लिन्टनद्वारा सम्मान गरियो भने २०१३ मा शक्ति समूहका संयोजक स्वयं चरिमाया तामाङ र अध्यक्ष सुनिता दनुवारले एसियाको नोबेल पुरस्कार भनिने म्यागासेसे पुरस्कार फिलिपिनो राष्ट्रपतिको हातबाट ग्रहण गरेका थिए । सन् २००९ मा नेपाल सरकारद्वारा गठित मानव बेचबिखन विरुद्धको राष्ट्रिय समितिमा पनि चरीमाया तामाङ सक्रिय रूपमा कार्यरत रहँदै आएकी छन् ।

के भन्छिन् चरीमाया ?

मानव बेचबिखन र तस्करी फरक कुरा हो । मानव बेचबिखनमा बेचिने व्यक्तिलाई आफू बेचिँदै छु भन्ने जानकारी हुँदैन ।
तर तस्करी दुवै पक्षबीच सुरुमा सहमति भएजस्तो पनि हुने तर पीडित समस्या परिरहेको अवस्था हो । अहिलेको अवस्थामा बेचबिखन भनेको सिंगो मानव बेचबिखन हो । लिंगको आधारमा नभई बालबालिका, महिला, पुरुष सबै बेचिएका छन् । सबैलाई बेच्ने गिरोहले फरक÷फरक लालच दिएका छन् ।

मानव तस्करीको जालो विश्वभरि नै फैलिएको छ । कहाँ ? कसरी ? र कस्ता ? जस्ता धेरै कुरा यो जालोले पहिला नै तय गर्छ । अनि योजनाअनुसार तस्करी र बेचबिखन हुने गर्छ । यो गिरोहका सामु त्यसलाई रोक्ने निकायहरू पछि पर्दै आएका छन् । यो नै मानव बेचबिखन विरुद्ध अभियानको मुख्य चुनौती हो । आधुनिकीकरणसँगै मानव बेच्ने स्वरूपहरू बदलिएका छन् । हिजोजस्तो वेश्यालयमा नै पु¥याउनुपर्छ भन्ने छैन । डान्स बार, क्याबिन रेस्टुरेन्ट लगायतमा पनि बेचिन्छन् । रोजगारीको लालचमा पनि बेचिन्छन् ।

नेपाल बिस्तारै स्रोतबाट ट्रान्जिट र गन्तव्य मुलुकका रूपमा समेत विकास भइरहेको छ । सुरुसुरुमा नेपाललाई स्रोतका रूपमा हेरिन्थ्यो । यहाँका कुनाकन्दराबाट महिलालाई लगेर बेचिन्थ्यो । अहिले नेपाल गन्तव्यसमेत बनेको छ । यसको उदाहरण केही वर्षअघि ललितपुरमा भएको एउटा घटना हो । सानेपामा प्रहरीले एउटा घरमा छापा मार्दा १६÷१७ वर्षका किशोरीहरू फेला परेका थिए । ती सबै भारतको सिलिगुढीबाट आएका थिए । त्यहाँ उनीहरूलाई बन्धक बनाएर जबर्जस्ती कोठी सञ्चालन गरिएको थियो । कोठी सञ्चालन गर्ने पनि भारतीय महिला नै थिइन् । यसले नेपाल पनि गन्तव्यस्थल बनिरहेको स्पष्ट हुन्छ । योसँगै नेपाल, भारत सिमानाका भारतीयहरूले नेपाली राहदानी बोकेर तेस्रो मुलुक पुगेको पाइन्छ । उनीहरू ती मुलुकमा अलपत्र परेपछि वा कुनै कसुरमा पक्राउ परेपछि नेपाली परिचय मात्र बोकेको खुल्न आउँछ । त्यसरी जानेहरू पनि तस्करहरूको जालोमा परेर गएका हुन्छन् । पछिल्लो समय नेपाली युवतीहरू बंगलादेशमा समेत रोजगारीको लालचमा पारेर लैजाने गरेको तथ्य बाहिर आएको छ । यसमा पनि सरकारले ध्यान पु¥याउन जरुरी छ । तेस्रो देशका नागरिकलाई नेपाली भूमि हुँदै अर्को मुलुक पठाउने परम्परा नौलो होइन । खासगरी द्वन्द्वग्रस्त मुलुकहरू सिरिया, अफगानिस्तानका नागरिकहरूलाई नेपाल हुँदै युरोपियन मुलुक पठाउने गरेको पाइएको छ ।

नेपालबाट बिक्री गरेर नाइजेरिया पु¥याइएकी एक युवतीलाई हामीले एक वर्षअघि भारतको गोवाबाट उद्धार गरेका थियौँ । उनलाई नाइजेरियाको डान्स बारमा वर्षौं राखेर त्यहाँबाट फेरि गोवाको क्यासिनोमा पठाइएको थियो । मनोरञ्जनात्मक क्षेत्र भनिने स्थलमा धेरै महिला दिनहुँ बिक्री भइरहेका छन् । कोही व्यक्ति आफ्नो रहरले बेचिन चाहँदैन । अवसरको खोजी गर्ने क्रममा त्यस्तो स्थलमा आइपुग्छ । मानव बेचबिखन एकैपटक आएको होइन, धेरै कारण जोडिएका छन् । स्थानीय स्तरमा अवसरको कमी, अशिक्षाले मानिसलाई यस्तो स्थितिमा ल्याइपु¥याउँछ । योभन्दा महत्वपूर्ण पाटो घरेलु हिंसा पनि खासगरी महिलाहरू बेचिने अर्को कारण हो । घरमा श्रीमान र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने, र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिलाहरू यसको सिकार हुने गरेका छन् । त्यस्तो हिंसामा परेकाहरू सधैँ अवसरको खोजीमा हुन्छन् । उनीहरूलाई कसैले प्रलोभनसहित अवसर देखायो भने ती महिलाहरू चाँडै त्यस्ता दलालको पञ्जामा पर्छन् । तसर्थ बेचबिखन रोक्न समाजमा चेतना फैलाउन जरुरी छ ।

बेचबिखन र तस्करीका घटना दिनहुँ बढिरहेका छन् । कुनै न कुनै बहानामा यस्ता घटनाहरू बढिरहेको पाइन्छ । आफ्नो नाम लेख्न नजान्ने, औँठाछाप लगाउने महिला दिदीबहिनीहरू हाम्रै एयरपोर्टबाट उडेर काम गर्न अर्को देश गइरहेको अवस्था छ । क्षमताबिना बाहिर जाँदा ती दिदीबहिनीले के काम पाउलान् ? यहाँ पनि दुःख पाएर अवसर खोज्न गएका हुन्छन् । त्यहाँ पुगेपछि दुःखको चरम रूप सहन बाध्य हुन्छन् । बेचबिखन रोक्न अर्को चाल्नैपर्ने कदम विद्यालयदेखि नै बालबालिकालाई यसका बारेमा शिक्षित गराउनु हो । पाठ्यपुस्तकमा समावेश गरेर आफू कसरी बच्ने र अरूलाई पनि कसरी बचाउने भन्ने कुरा सिकाउन जरुरी छ । तर हाम्रा बालबालिकाले पढ्ने पुस्तकहरू समयसापेक्ष छैनन् । समाजमा तुरुन्तै लागू गर्न सकिने किसिमका पाठ्यसामग्रीहरू समावेश गर्न जरुरी छ । साथै रोजगारीका लागि जाने व्यक्तिलाई शिक्षा दिने, गलत बाटोबाट जाँदा पर्ने असरका बारेमा जानकारी गराउने गर्नुपर्छ । मानव बेचबिखनका मुद्दा अनुसन्धान गर्ने प्रहरीलाई यसका बारेमा धेरै ज्ञान दिन जरुरी छ । सहरी क्षेत्रमा भएका प्रहरी कार्यालयमा यस बारेमा थाहा भए पनि ग्रामीण बस्तीका चौकीमा यसको ज्ञान भएको पाइँदैन । उनीहरूलाई बेचबिखनसम्बन्धी अपराधको गाम्भीर्यता बुझाउन जरुरी छ ।

झन् विकराल बन्दै छ समस्या

केही दशक अघिसम्म नुवाकोट, सिन्धुपाल्चोक रसुवालगायत जिल्लाका केही गाउँहरू निकै चर्चामा थिए । चेलिबेटी बेचबिखन हुने गरेको भन्दै एनजिओ तथा आइएनजिओहरूले पत्रकार लिएर फिल्डमा पुग्थे । स्थलगत समाचार भन्दै मूलधारका मिडियाहरूले मुखपृष्ठमा समाचार छाप्थे । बेचिएका चेलीहरूलाई ‘उद्धार’ गर्न मिडियाकर्मी बोकेर भारतको मुम्बई पुग्ने एनजिओकर्मीहरू पनि थुप्रै थिए । यस वापत यी एनजिओकर्मीहरूले ठूलाठूला अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाए । राष्ट्रिय स्तरमा पनि ठूलै पदमा पुगे । अनुराधा कोइराला त शाही शासनकालमा मन्त्रीसमेत बनिन् । गणतन्त्रमा पनि प्रदेश प्रमुखको पद हासिल गरिन् । चेलिबेटी बेचबिखन प्रकरणलाई अलग बिट बनाएका पत्रकारहरूले राम्रै बन्दोबस्त गरे ।

सरकारी मिडियामा आकर्षक राजनीतिक नियुक्तिसमेत पाए । तर, यतिबेला चेलेबेटी बेचबिखन नियन्त्रणमा नाममा एनजिओ कर्म त्यति फस्टाएको देखिएको छैन । चेलीबेटी बेचबिखनको समस्या समाधान भएका कारण यो प्रकरणको एनजिओ कर्म फस्टाउन नसकेको हो भने ज्यादै सुखद् संकेत हो । तर छिटफुट रूपमा आउने गरेका समाचारलाई हेर्दा दुई दशकसम्म नुवाकोट, सिन्धुपाल्चोक रसुवालगायत जिल्लाका केही गाउँहरूमा मात्रै सीमित रहेको यो समस्या यतिबेला देशव्यापी बनेको छ । भारतको मुम्बईलगायत सीमित ठाउँमा रहेको यो गन्तव्य बिस्तार हुँदै हिमाल तथा समुन्द्र नाघेर १ सय ५० भन्दा बढी देशमा फैलिइसकेको छ । हिजो नुवाकोट र मुम्बईको ‘कनेक्सन’ रोक्ने भन्दै जो जो एनजिओकर्मी संलग्न थिए, उनीहरूकै चर्को दबाबमा सरकारले वैदेशिक रोजगारीका लागि महिलालाई पनि पुरुषसरह अधिकार प्रदान गरेको हो ।

चेलीबेटी बेचबिखन हुँदै आएको मुम्बईको गन्तव्य फैलिएर हिमाल पारि तथा सात समुन्द्रपारी पुगेको तथ्यांकका आधारमा सरकारले निश्चित उमेर समूहका महिलालाई वैदेशिक रोजगारीका लागि प्रतिबन्ध लगाएको थियो । तर महिला अधिकारवादी एनजिओकर्मीको चर्को दबाबपछि प्रतिबन्ध खुला गर्न सरकार वाध्य भयो । किनकी पुरुषसरह अधिकार महिलाले किन नपाउने ? भन्ने प्रश्नको जवाफ सरकारसँग थिएन । चेलिबेटी बेचबिखनको समस्या रोक्ने भन्दै सरकारले वैदेशिक रोजगारमा जाने निश्चित उमेर समूहका महिलाले अभिभावकको रोहवरमा वडा कार्यालयको समेत सिफारिस लिनुपर्ने प्रावधान ल्यायो । तर, नागरिक स्वतन्त्रतामाथि हनन् भएको भन्दै केही एनजिओकर्मी महिला सडकमै उत्रे ।

वैदेशिक रोजगारीमा लाखौँ युवतीहरू छन् । हरेक वर्ष हजारौँ युवतीहरू जान्छन् । केही अपवादलाई छाडेर सबैले सम्मानजनक रोजगारी पाएको समाचार पनि आउने गरेको छ । केही देशमा त सरकारी समन्वयमै पठाइएको छ । तर अपवादका रूपमा नराम्रा घटना पनि छन् । राजीखुसीका साथ विदेशमा गएर स्वेच्छाले देहव्यापारमा संलग्न हुनेहरूलाई राज्यले निगारानीमा राख्न संभव छैन । तर झुक्याएर पठाइएका र बन्धक बनाएर देहव्यापारमा संलग्न गराइएका घटना पनि थुप्रै छ । नेपाली चेलीलाई झुक्याएर विदेश लैजाने र बन्धक बनाएर देहव्यापारमा संलग्न गराउने गिरोहको सन्जाल अहिले पनि गाउँगाउँमा बिस्तार भइरहेको छ । यसै प्रकरणमा चार वर्षअघि मात्रै नेपाल प्रहरीले सिन्धुपाल्चोक हेलम्बुकी रिना तामाङ भन्ने बिबिरानी तामाङ, नुवाकोट ककनीका रोज तामाङ, लमजुङ बेसीसहरकी अमृता तामाङ, भरत तामाङ र उषाकुमारी घिमिरेलाई पक्राउ गरेको थियो । त्यस्तै चिनियाँ नागरिकहरू हुवईका जिङ झियाङ डोङ, ज्याङ डोङ हुई, क्वान झ्याङ पेङ र क्विन लियाङ पक्राउ परेका थिए । यसैगरी प्रहरीले लमजुङ सीमपानीकी सोनी गुरुङ, कविता गुरुङ, धादिङ निलकण्ठकी ललिता गुरुङ, कास्की लेखनाथकी शर्मिला परियार र सुनसरी इनरुवाकी विन्दा चौधरीलाई उद्धार गरेको थियो । प्रहरीका अनुसार अहिले पनि अभिभावकलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म दिएर नेपाली चेलीबेटीहरूको तस्करी हुँदै आएको छ । चेलीबेटी बेचबिखन भनेको सानो अपराध होइन, यस्तो अपराधले भविष्यमा देशले चुकाउनुपर्ने मूल्य सानो हुँदैन । विवाहका लागि उमेर पुगेको केटाले केटी नपाउने समस्या नेपालमा आउन थालिसकेको छ । चेलीबेटीलाई समयमै सुरक्षा गर्न सकिएन भने भोलि यो समस्याले ल्याउने भयानक परिस्थिति सामान्य हुने छैन । चरीमाई उपन्यासलाई स्कुलतहका विद्यार्थीहरूको हाते कितावका रुपमा वितरण गर्ने तर्फ सरकार तथा कुनै सामाजिक संघ संस्थाको ध्यान जाओस् ।

प्रतिक्रिया