पाँचथर तरुण दल गोल्डकपको उपाधि रानिटारलाई

पाँचथर । फिदिम खेलमैदानमा सम्पन्न छैठौँ तरुण गोल्डकपको उपाधि फिदिम रानिटार ८ टिमले उचालेको छ ।

फिदिम माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा फिदिम– १ लाई १–० गोलले पराजित गर्दै रानिटारले उपाधि जितेको आयोजकले जनाएको छ । रानिटारको जितका लागि अर्जुन गुरुङले गोल गरे । खेलको अन्तिम समयमा रानिटारका अर्जुनले गरेको गोल नै उपाधिका लागि निर्णायक बन्यो ।

विजेता रानिटारले ५१ हजार एक सय ७१ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता फिदिम– १ ले ३५ हजार एक सय ७१ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङले विजेता टिमलाई पुरस्कार वितरण गरे । गोल्डकप प्रतियोगितामा फिदिम नगरपालिकाका १४ टिमले भाग लिएको तरुणदल जिल्ला अध्यक्ष सुमन लामाले बताए । तरुण दलको ७१औैँ स्थापना दिवसको अवसरमा फिदिम नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो ।

प्रतिक्रिया