काठमाडौं । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा नेपालको जितसँगै ओमान पनि सेमिफाइनलमा पुगेको छ । समूह ए बाट एक खेल अगावै ओमान र नेपाल सेमिफाइनलमा स्थान बनाएका हुन् ।
नेपालले मंगलबार दिउँसो मलेसियालाई ६ विकेटले हरायो । यदि नेपाल आजको खेलमा पराजित भएको भए सेमिफाइनल बिहीबार निर्धारण हुने थियो । तर नेपालको जितले समूह ए बाट ओमान पनि सेमिफाइनलमा पुगेको हो ।
योसँगै समूह ए बाट मलेसिया र सिंगापुर एक खेल अगावै अंक विहीन हुँदै बाहिरिएका छन् । नेपाल २ खेलमा ४ अंक भए पनि नेटरनरेटका कारण दोस्रो स्थानमा छ । ओमान २ खेलमा ४ अंक भए पनि नेटरनरेटका कारण शीर्ष स्थानमा छ । ओमानको नेटरनरेट १.३५० र नेपालको १.३२२ छ ।
नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो । उता ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । बिहीबार नेपाल र ओमानबीच बिहान ९ बजे टियु क्रिकेट मैदानमा खेल हुनेछ । उक्त खेलको विजेता समूह ए को पनि विजेता बन्नेछ ।
समूह ए को विजेताले टियुमा समूह बी को उपविजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ । समूह ए को उपविजेताले शुक्रबार नै मुलपानीमा समूह बी को विजेतासँग सेमिफाइनल खेल्नेछ । समूह बी मा भने चारै टोलीको सेमिफाइनल सम्भावना कायमै छ । युएई २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । बहराइन २ खेलमा २ मा जितका साथ दोस्रो स्थानमा छ ।
हङकङ २ खेलमा २ अंक भएपनि नेटरनरेटका कारण तेस्रो स्थानमा छ ।
मंगलबार पहिलो खेलमा बहराइनले हङकङलाई २० रनले हराएपछि समूह बी को सेमिफाइनल समिकरण रोचक बनेको हो । कुवेत २ खेलमा अंक विहीन हुँदै पुछारमा छ ।
बिहीबार बिहान युएई र हङकङ तथा कुवेत र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । यी दुई खेलको नतिजापछि समूह बी को सेमिफाइनल र समूह विजेता निर्धारण गर्नेछ । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि– २० विश्वकप खेल्न पाउनेछन् ।
प्रतिक्रिया