१९औँ एसिया खेलकुद : भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

काठमाडौं । चीनमाजारी १९औँ एसिया खेलकुदअन्तर्गत टी–२० क्रिकेटमा भारतले नेपाललाई जितको लागि २०३ रनको लक्ष्य दिएको छ । समूह चरणमा मंगोलिया र माल्दिभसलाई हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको नेपाललाई सिधै टेस्ट राष्ट्रको मान्यता पाएको भारतले खेलको सुरुवातमा २०३ रनको लक्ष्य दिएको हो ।

पहिले टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०२ रनको योगफल खडा गरेको थियो ।

भारतका लागि ओपनर यशस्वी जैसवालले शतक प्रहार गरे । सर्वाधिक रन बनाएका जैसवालले ४९ बल खेल्दै ८ चौका र ७ छक्का मद्दतमा १०० रन बनाए ।

जैसवालले कप्तान रुतुराज गाएकवाडसँग पहिलो विकेटका लागि शतकीय साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि यो जोडीले १०३ रनको साझेदारी गरेका थिए ।

भारतले पावर प्लेमै विना क्षति ६३ रन बनाएको थियो । दीपेन्द्रसिंह ऐरीले १०औँ ओभरमा उक्त साझेदारी तोड्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

दीपेन्द्रले भारतका कप्तान रुतुराज गाएकवार्डलाई १०औं ओभरको पाँचौ बलमा कप्तान रोहितबाट डिप मिडविकेटमा क्याचआउट गराए । गाएकवाडले २५ बल खेल्दै ४ चौका मद्दतमा २३ रन बनाए ।

त्यसपछि नेपालका सोमपाल कामीले भारतका तिलक वर्मालाई १२औँ ओभरको चौथो बलमा बोल्ड गर्दै दोस्रो सफलता दिलाए । तेस्रो नम्बरमा ब्याटिङ गरेका तिलक १० बलमा २ रन बनाएर आउट भए । लगत्तै १३औँ ओभरको पाँचौ बलमा सन्दीप लामिछानेले भारतका जितेश शर्मालाई कट एण्ड बोल्ड गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका थिए ।

भारतका लागि शतक प्रहार गरेका जैसवाललाई दीपेन्द्रले १७औँ ओभरको दोस्रो बलमा अभिनाश बोहराबाट क्याचआउट गराए ।

तर त्यसपछि शिवम दुवे र रिंक सिंहले आक्रमक ब्याटिङ गर्दै भारतको स्कोरलाई २०० कटाएका थिए । रिंकुले नटआउट ३७ र शिवम दुवेले नटआउट २५ रन बनाए । रिंकुले १५ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । १ विकेट लिएका सन्दीपले ३ ओभरमा २८ रन खर्चिए । अहिले नेपालले ब्याटिङ गररिहेको छ । नेपालले ब्याटिङ गर्ने क्रममा एक विकेट गुमाएको छ ।

प्रतिक्रिया