हाम्रो समाजमा श्राद्ध भनेको के हो ? यो किन गरिन्छ ? श्राद्ध कहिले र कसरी गर्नुपर्छ ? यी कुराहरूमा विस्तृत रूपमा अध्ययन गर्न नसके पनि समान्य जानकारी लिई व्यावहारिक रूपमा आफ्नो जीवनमा उर्ताने प्रयास गर्नु अति जरुरी हुन्छ । अतः श्राद्ध भन्नाले सामान्य अर्थमा बुझदा आ–आफ्नो गच्छेअनुसार श्रद्धासाथ गरिने कार्य भन्ने बुझिन्छ । यसमा यति नै गर्नुपर्छ भन्ने हुँदैन ।
विश्वनाथ खरेल
आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ । यसमा दिवंगत सबै पितृहरूको कल्याण उद्देश्य राखेर पिण्डदान गर्ने पर्व सोहश्राद्ध हो । एक पक्षमा पन्ध्र तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औंसीसम्मका वा जमरे औंसीसम्म सोह्र तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्रश्राद्ध भनिएको हो । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ ।
मूलतः दिवंगत सबै पितृहरूको कल्याण उद्देश्य राखेर पिण्डदान गर्ने पर्व सोहश्राद्ध हो । सूर्य कन्या राशिमा प्रवेश गर्दा यो पर्व हुन्छ । कन्या राशिमा सूर्य सरेको बखत दिवंगत पितृहरूलाई पिण्डदान नगर्ने पुत्रहरू पापी हुन्, कृतघ्न हुन् भनेर विभिन्न शास्त्रहरूमा बताइएको छ । आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा बताउँदै श्रीमद्भागवत, महाभारत आदि पौराणिक ग्रन्थमा समेत बताइएको छ । यस श्राद्धमा चार जना ब्राम्हण चाहिने भएकोले ब्राम्हणको प्रतीक स्वरुप कुशको ब्राम्हण थापिएको हो । पहिले पहिले पार्वण श्राद्ध गर्दा चार जना नै ब्राम्हण अगाडि राखेर पूजाआजा गर्ने परम्परा रहेको र यो परम्परा लोप हुँदै गएर श्राद्धमण्डपमा कुशको ब्राम्हण राखिएको हो ।
यसमा खासगरी दुबै पट्टी दुई÷दुई ब्राम्हणलाई क्रमशः विश्वदेव र पितृब्राम्हण भनिन्छ । पार्वण श्राद्ध अन्य श्राद्धको विधि जस्तै सुरुमा देव मनुष्य दिव्यपितृ र स्वपितृलाई तर्पण दिइएपछि पार्वण श्राद्ध सुरु हुन्छ । यसपछि प्रत्येक ब्राम्हणलाई निमन्त्रण गरिन्छ । पहिले पहिले अघिल्लै दिनमा गरिन्थ्यो । ब्राम्हण निमन्त्रणापछि भूस्वामीलाई अन्नदान गरिसकेपछि चारै जना ब्राम्हणलाई विधिपूर्वक सिधादान गरिन्छ । यसपछि विकटदान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ । प्रत्येक पितृलाई पिण्ड दिनुअघि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ । श्राद्धको लागि स्थान हेर्ने हो भने पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो नभए पवित्र तीर्थस्थल, गंगाको तिरमा गएर पनि गर्ने चलन छ तर घरमै भए पनि श्राद्ध गर्दा भूमिमै गर्नुपर्ने नियम छ । यसरी श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध खासगरीकन अपरान्हमा गर्नुपर्ने शास्त्रमा उल्लेख भएको भनाइ पाइन्छ ।
हाम्रो समाजमा श्राद्ध भनेको के हो ? यो किन गरिन्छ ? श्राद्ध कहिले र कसरी गर्नुपर्छ ? यी कुराहरूमा विस्तृत रूपमा अध्ययन गर्न नसके पनि समान्य जानकारी लिई व्यवहारिक रुपमा आफ्नो जीवनमा उर्ताने प्रयास गर्नु अति जरुरी हुन्छ । अतः श्राद्ध भन्नाले सामान्य अर्थमा बुझदा आ–आफ्नो गच्छेअनुसार श्रद्धासाथ गरिने कार्य भन्ने बुझिन्छ । यसमा यति नै गर्नुपर्छ भन्ने हुँदैन । ‘श्रद्धया क्रियतेयत्र त च्छाद्धं परिकीर्तितम्’ अर्थात् –पितृका लागि जो कार्य गरिन्छ, त्यसलाई नै श्राद्ध भनिन्छ । ‘देशे काले च पात्रे च श्रद्धया विधिना च यत् । पितृनुद्दिश्य पिप्रेभ्यो दत्तं श्राद्धमुहाह्तमे’ देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरूको नामोच्चारण गरी ब्राम्हणहरूलाई जो दान दिइन्छ त्यो दानलाई श्राद्ध भनिन्छ । यस बारे के प्रष्ट हुन्छ भने पितृहरूको उद्देश्यले गरिने कार्य श्राद्ध हो । श्रद्धापूर्वक गरिएको पितृ कार्यले पितृ तथा कर्ताको कल्याण हुन्छ । श्राद्ध कर्मको विशेषता भनेको सुद्ध मन्त्र उच्चारण सहित श्राद्ध गर्नु हो किन कि भनिएको पनि छ । ‘पितरो वाक्य मिच्छरिन्त भाव मिच्छन्ति देवता’ अर्थात – पितृहरूलाई शुद्ध मन्त्र शुद्ध वाक्य चाहिन्छ भने देवताहरूलाई भाव भए पुग्छ श्राद्धकल्पका अनुसार पनि – प्रेत र पितृलाई आपूmलाई मन पर्ने वस्तु श्रद्धाले दिनु नै श्राद्ध हो । यसप्रकार आफ्ना पितृहरूको मृत तिथिमा गरिने पितृ यज्ञलाई श्राद्ध भनिन्छ ।
हाम्रो धार्मिक शास्त्रमा श्रद्धा धेरै किसिमका छन् । भविष्य पुराणमा श्राद्ध १२ वटा उल्लेख गरिएको छ । जुन यस प्रकार छ । यसमा दिनदिनै गरिने पहिलो नित्य श्राद्ध हो । त्यस्तै गरी दोस्रो वार्षिक एकोदिष्टदिनैमित्तिक श्राद्ध हो । तेस्रो आफ्नो इच्छा सिद्ध होस् भनि गरिने काम्य श्राद्ध हो । चौथो हो विवाह आदि अभ्युदयमा गरिने वृद्धि श्राद्ध हो । पाँचौँ सपिण्डि श्राद्ध हो । छैठौँ पार्वण श्राद्ध हो । सातौँ गोठमा गरिने गोष्ठी श्राद्ध हो । आठौँ पितृ तृप्ति विद्वानहरूको सुख प्राप्ति र शुद्धिका निमित गरिने ब्राह्मण भोजन शुद्धि श्राद्ध हो । नवाँैमा सिमन्तोनयन पुंसवन आदि संस्कारका निमित्त गरिने क्रमाङ्ग श्राद्ध हो । १०औँ देवताहरूको उद्देश्यले गरिने दैविक श्राद्ध, ११औँ देशान्तरमा जाँदा घ्यूले गरिने यात्राश्राद्ध हो । र १२आँैमा शरीर स्वस्थ्य होस् भनी गरिने पुष्टिश्राद्ध हो ।
त्यस्तै गरी अर्को पाँच प्रकारको श्राद्ध रहेको छ । यो श्राद्ध भने आजकाल धेरै आएको देखिन्छ । यसमा प्रथम नित्य हो भने दोस्रो नैमित्तिक, तेस्रो काम्य, चौथो वृद्धि र पाँचौँ पार्वण श्राद्ध हो । यी सबै मध्ये खास गरीकन हाम्रो समाजमा एकोदिष्ट श्राद्ध जुन आफ्ना पितृहरूलाई वार्षिक रूपमा मृत तिथिमा गरिने श्राद्धलाई एकोदिष्ट श्राद्ध भनिन्छ । यो जुन पितृको मृत महिना पक्ष र तिथि याद गरी यो कार्य गरिन्छ । त्यस्तै गरी सालको एकपटक पार्वण श्राद्ध गरिन्छ यो खास गरीकन सोह्रश्राद्ध भन्नाले पितृ पक्षमा गरिने श्राद्धलाई बुझनुपर्छ । शास्त्रमा यसलाई पार्वण श्राद्धको नामबाट बुझिन्छ । आफ्नो पितृहरूको जुन तिथि हो त्यही तिथिमा श्राद्ध गर्नुपर्छ । एक पार्वण श्राद्ध औँसी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एक पार्वण श्राद्ध पनि भनिन्छ ।
हिन्दू समाजमा सोह्रश्राद्धको आफ्नै महत्व छ । यसपालि सोहश्राद्धमा भने मघा तिथि एकादशीका दिन असोज २३ गते परेको छ । यसमा छोरा हुनेले मघा तिथिको साटो अन्य तिथि खोजी सोहश्राद्ध गर्छन् वा औँसी, एकादशीमा गर्छन् वा सिदा तर्पणबाटै पितृहरूलाई विसर्जन गर्छन् । मूलतः श्राद्ध भनेको भक्तिभावपूर्ण पितृहरूको उदार गर्ने कार्य हो । यसरी दिवंगत पितृहरूले जीवमा ८४ लाखमध्ये कुनै न कुनै प्राणीमा उनीहरूले देह धारण गरेका हुन्छन् र तत् योनीका खानास्वरूप आ–आफ्ना दिवंगत पितृहरू तृप्त हुन्छन् । देवत्व प्राप्त गरेका पितृहरूले पनि सन्ततिबाट केही आशा गरेका हुन्छन् भनिन्छ ।
हाम्रो समाजको सबैभन्दा ठूलो पर्व दसैँ तिहार हो यो पर्व मनाउनुभन्दा पहिले आ–आफ्नो पितृहरूलाई आदरसाथ श्राद्धपूर्वक सम्झना गर्नाले सबैको कल्याण हुन्छ । यसकारणले गर्दा परापूर्वकालदेखि नै यो संस्कार चलि नै रहेको छ । यसरी पितृ पक्षमा आफ्नो बाबुको जुन तिथि हो, त्यही तिथिमा श्राद्ध गर्नुपर्छ । आफ्नो गच्छेअनुसार सकिन्छ भने सोह्र दिनसम्म गर्ने विधान छ तर सकिँदैन भने कम्तिमा पनि आफ्नो बुबाको तिथिका दिन अनिवार्य रूपमा श्राद्ध गर्नुपर्छ ।
श्राद्ध कसरी गर्ने ? अघिल्लो दिनमा कपाल खौरने लुगा तथा घरको सरसफाई गर्ने एक भक्त रही ब्रह्मचर्य आदिको नियमको पालना गर्ने यसै दिनलाई नै एक छाके अर्थात हबिसे पनि भनिन्छ । एक छाके भनेको यस दिन अपरान्हपछि मात्र एक छाक खानुपर्छ र श्राद्धका दिन अर्थात भोलिका लागि ब्राह्णलाई निमन्त्रण दिने गर्नुपर्छ । दोस्रो दिन अर्थात श्रद्धाका दिनमा शौच स्नान नित्यकर्मादि गरी ब्राह्मणलाई बोलाई नियमानुसार श्राद्ध आरम्भ गर्नुपर्छ र श्राद्धपछि ब्राह्मण, बन्धु, बान्धब, भान्जा, भान्जी र छोरी ज्वाइँलाई खाना खुवाए पश्चात दान दक्षिणा गर्ने गरिन्छ । यदि यी सबै कुरा सम्भव हुने स्थिति नरहेमा तर्पण र सिधा दान मात्र गरे पनि हुन्छ । तर तिथि बिर्सने र यो क्रम तोडिनुचाहिँ कदापि हुँदैन । यसर्थ हाम्रो सनातन धर्म र संस्कृतिको जर्गेना तथा संरक्षण गर्नु सबैको परम कर्तव्य हो ।
प्रतिक्रिया