नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का विजयी

काठमाडौं । नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का विजयी भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई हराउँदै नेपाली क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका पारस विजयी भएका हुन् ।

कुल ८५ मतदाता रहेकामा ७५ मत गनिसक्दा पारसले जितको लागि आवश्यक ४३ मत पाएका हुन् । पारसले ४३ मत पाउँदा प्रशान्तले ३२ मत पाएका छन् । पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् ।

क्यानका अरु पदाधिकारीहरु अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भइसकेका छन् ।

सदस्यहरुमा पनि महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध चयन भएका छन् ।

प्रतिक्रिया