बालेनले बिर्साए पारस

आज उनै मोटो शाह पारसलाई माथ दिने गरी पातलो साह बालेनले सिंगो कानुन र राज्यमाथि धावा बोलिरहेका छन् । बालेनको यो हर्कतले २०७५ जेठ २८ को दिन सम्झाउँछ । बा १४ च २१३१ नम्बरको गाडीमा सवार पारसले ट्राफिक नियम उल्लंघन गर्दै जाउलाखेलबाट हुइँकिएपछि सम्भावित दुर्घटना रोक्न ट्राफिक प्रहरीले उनको गाडी नियन्त्रणमा लिएर पाँच सय जरिवाना तिराएको थियो । सायद यो कुरा बालेनलाई पात्तो नहुन सक्छ मुलुकमा ऐन कानुन् छ, त्यसको पालना सबैले गर्नुपर्छ भन्ने

चमिना भट्टराई

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको काम गर्ने शैलीले जनताको मन जित्दै थियो । मान्छेसँग इच्छाशक्ति भए काम गर्छन भन्ने भाव उनी प्रति उर्लदै थियो । तर उनी प्रति देखिएको त्यो सकारात्मक भाव उनैको आवेगपूर्ण अभिव्यक्तिले आलोचित मात्रै होइन, उनको शाखलाई समाप्त पारेको छ । मान्छे सफल हुन र समाजमा स्थापित हुन समय लाग्छ । तर, पाएको सफलता र सम्मान गुमाउन समय लाग्दैन भन्ने उनले सिद्ध गरेका छन् । स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव जितेका काठमाडौं महानगरको मेयर भए पनि अन्य राजनैतिक दल र त्यसका नेता कार्यकर्ताले उनको कामको प्रसंसा गरेका थिए । उनी प्रतिको त्यो सकारात्मक भाव मिनेटमै धुलिसात भएको छ ।

गत शनिबार मध्यरातमा उनले समाजिक सञ्जाल मार्फत केन्द्रीय सत्ताको केन्द्र सिंहदरबारमा आगो लगाइदिने धम्की दिएपछि उनको चर्को आलोचना भएको हो । यो अभिव्यक्ति पछि कतिपयले उनलाई कानुनी दायरामा ल्याउनुपर्ने दवाव दिएका छन्, भने कतिपयले उनी दम्भी, अहंकारी र अराजनीतिक भएको भन्दै चर्को आलोचना गरिरहेका छन् । साहको यो पछिल्लो अभिव्यक्तिले उनको अहंकार कति चुलिदाँे छ भन्ने देखाउँछ । राजनैतिक दल र नेताका सन्तानले मुलुक बिगारेको आलोचना गर्ने उनको उक्त शैली भने पूर्व युवराज पारस शाहलाई बिर्साउने खालको छ ।

शनिबार राति मेयर साहले फेसबुकमा सरकारलाई ‘चोर’ भन्दै सिंहदरबारमा ‘आगो लगाइदिन्छु’ भनेर धम्कीयुक्त स्टाटस पोष्ट गरे । ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार’ भन्दै आक्रोस पोखे । बालेनको यो पोष्टले उनी प्रचलिन कानुन भन्दा माथि हुन खोज्दैछन् भन्ने देखाउछ । उनको गाडी सुरक्षा निकायले चेक जाच गर्न नपाउने भनि कहिँ कतै उल्लेख भए झै उनको प्रस्तुति देखियो । अझ उनको त्यो हर्कतले हिजोका तत्कालिन युवराजहरुको शैली र व्यवहारलाई फिक्का बनाएको अनुभूति गराउँछ । उनी गणतन्त्रका शक्तिशालि र अहंकारी ‘युवराज’का रुपमा स्थापित हुन खोजेको देखिन्छ ।

कुनै बेला थियो, तत्कालिन शाहज्याद रहेका पारस शाहको उदण्डताको सिकार कति बेला को हुन्छ भन्ने पत्तै हुँदैन थियो । पारसले बाटोमा मान्छे किच्दा कानुन लाग्दैन थियो । उनको सवारी जहाँ जसरी मन लाग्यो चल्न पाउन पर्छ भन्थे, नत्र उनको उदण्ताको सिकार बन्थे, सुरक्षा निकाय । आज उनै मोटो शाह पारसलाई माथ दिने गरी पातलो साह बालेनले सिंगो कानुन र राज्यमाथि धावा बोलिरहेका छन् । बालेनको यो हर्कतले २०७५ जेठ २८ को दिन सम्झाउँछन । बा १४ च २१३१ नम्बरको गाडीमा सवार पारसले ट्राफिक नियम उल्लंघन गर्दै जाउलाखेलबाट हुइँकिएपछि सम्भावित दुर्घटना रोक्न ट्राफिक प्रहरीले उनको गाडी नियन्त्रणमा लिएर पाँच सय जरिवाना तिराएको थियो । सायद यो कुरा बालेनलाई पात्तो नहुन सक्छ मुलुकमा ऐन कानुन् छ, त्यसको पालना सबैले गर्नुपर्छ भन्ने ।

यति बेला बालेनको ‘सन्कीपन’ले एकाएक प्रवीण गुरुङ काण्ड फेरि मान्छेको स्मरणमा दोहोरिँदै छ । २०५७ साउन २२ मा तिनै शाहज्याद पारसले चलाएको गाडीले दरबारमार्गमा ठक्कर दिँदा मोटरसाइकलमा सवार गायक तथा संगीतकार प्रवीण गुरुङ मारिएका थिए । शक्तिमा रहेको दरबारले त्यसबेला नक्कली चालक खडा गरेर उनलाई जोगाएको थियो । र उनको दोषको सजाय भोगेका थिए, खड्गबहादुर भुजेलले । मुलुकमा संबैधानिक राजतन्त्र भएका बेला घटेको उक्त घटनाको चौतर्फि आलोचना भएको थियो । सडक तातेको थियो र पनि घटना सामसुम बन्यो । पारसका त्यस्ता कयैन उदण्डताको सिकार बनेका थिए सुरक्षा निकाय । तर, पनि उनले आगो झोस्ने धम्कि दिने आँट गरेका थिएनन्, न त सरकार र नेता प्रति आँखा जुधाउने आँट गरेका थिए ।

मेयर बालेनको अभिव्यक्तिको विरोध गर्दै यति बेला भने लोकतान्त्रिक समाजमा हिंसा स्वीकार गर्न नसकिने भन्दै उनको चर्को आलोचना भएको छ । ¥याप गायकको पुष्ठभूमिबाट एका एक महानगरको जिम्मेवारीमा आएको उनको यो व्यवहारले ‘बाख्राको मुखमा कुभिण्डो’ जस्तो भएको छ । यति जिम्मेवार ठाउमा रहेका व्यक्तिले लेख्नुअघि के लेख्दै छु भन्नेसम्म सोच्दैन भने आफ्नो जिम्मेवारी कसरी पूरा गर्लान ? प्रश्न उठेको छ । उनले शुरुमा कमाएको त्यो सकारात्मक हेराइलाई जीवन्त राख्न उनी असफल भएका छन् । सुरक्षामा खटिएका सुरक्षा कर्मीले उनको गाडी चेक जाँच गर्नुलाई उनले ठूलै अपराधको रुपमा लिएको देखिन्छ । के उनको नगरमा उनी बादशाह हुन ? वा उनको परिवार सवार गाडी सडकमा निस्केपछि सुरक्षा कर्मीले आँखा बन्द गरेर बस्नु पर्ने हो ?

मेयर बालेन साहकी पत्नी सवार सरकारी नम्बर प्लेटको गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेर छाडेलगत्तै मेयर साहको आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक भएको थियो । के उनको पत्नीका लागि सरकारी बिदाका दिन सरकारी नम्बर प्लेटको गाडी हुइँकाउने छुट छ ? राजनैतिक दललाई गाली गरेर न थाक्ने उनका लागि नियम कानुन लाग्दैन ? की उनको श्रीमतीका लागि छुट्टै नम्बरको प्लेट बनाइयोस् । होइन भने, व्यवस्था बिगार्ने दल, सिस्टम बिगार्ने नेता भ्रष्ट्रचार गर्ने दलका कार्यकर्ता र नेताका सन्तान भन्दै उफ्रिनुको के तुक छ ? उनले समाज भाड्न खोजेका होइन ? उनको परिवार यो मुलुकको सामान्य नागरिक हो की अरु केही हुन ? समाजलाई बालेनले जवाफ दिनपर्दैन ।

उनले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई टेलिफोन गरी गाडी रोकिदिएको ‘महानगरको गाडी चौबीसै घण्टा ड्युटीमा हुन्छ । किन रोकेको ?’ भन्दै आक्रोश पोखे छन् । त्यसो हो भने सरकारले मेयर भए वापत उनलाई दिएको गाडीमा सवार उनको श्रीमती सविना काफ्ले कुन डिउटीमा थिइन ? उनलाई महानगरले के कामका लागि खटाएको थियो ? त्यो पनि सरकारी गाडीमा ? उनी महानगरको के पदमा आसिन छिन् र बिदाका दिनमा सरकारी गाडी चढेर कुन कामबाट फर्कदै थिइन् ? यस्ता प्रश्नको जवाफ बालेनले दिनैपर्छ । होइन भने उनलाई कानुनको दायरामा आउन पर्छ । जनआक्रोस बढेपछि सिंहदरबार जलाउने भन्ने स्टाटस त हटाएका छन् तर यत्तिमै माफीहुने खालको अभिव्यक्ति भने होइन उनको ।

शान्ति सुव्यवस्था कायम राख्न चेकजाँच गर्ने छुट बालेनको शहरमा समाप्त भएको हो त ? अब सुरक्षा कर्मीले सोधपुछ गर्न नपाउने भएको हो ? उनको नगरमा ‘शान्ति, अमन चयन कायम राख्न पाइँदैन ? वा उनले चढने गाडीमा नियम कानुन केही लाग्दैन । सवारी धनीले बोक्नु पर्ने कागजात बोक्न पर्देन ? उनैको प्रहरीले गरिबका साना नाङले पसल उजाडदै हिडदा पनि उनैको कामको प्रसंसा गर्नेहरुलाई उनको यो तहको हर्कतले के लाग्दै होला सोच्नु पर्देन ? उनको प्रहरीका कारण क्षति व्यहोर्नेले किन आगो दन्काउने कुरा गरेनन ? र उनैको कामको प्रसंसा गरे ? सोच्नु पर्देन ?

घटना पछि कतिपयले सुत्केरी व्यथाले च्यापेको मेयर शाह पत्नी सविना चढेको गाडी ट्राफिकले रोकेको भन्दै प्रहरीको आलोचना गरे । यदि उनको पत्नी बिमारी भएको भए महानगरले चलाएको सुविधा सम्पन्न एक्बुलेन्स किन प्रयोग गरिएन वा प्रहरीलाई उनी अस्पताल जान लागेको भनिएन ? यो घटनापछि उनको श्रीमती कहिले सुत्केरी भइन भन्ने खोजविन भयो । ‘ढाटेको कुरा काटे पनि मिल्दैन’ भने झै भएको छ उनको कुरा । श्रीमती सविना काफ्लेले ललितपुरको मेडिसिटी अस्पतालका अनुसार गत भदौ ८ गते शुक्रबार सुत्केरी भएको भन्ने छ । सुत्केरी पछि स्वास्थ्य ठिक रहेकाले उनी भदौ ११ गते सोमबार डिस्चार्ज भइन् । बच्चाको स्वास्थ्य भने अझै सुधारका क्रममा रहेकाले नवजात शिशुको उपचार गर्ने कक्ष (एनआइसियू) मा राखिएको रहेछ । बच्चालाई भेट्न श्रीमती काफ्ले अस्पताल आउजाउ गरिरहेको पनि थाहा भएको छ । सायद त्यही क्रममा उनी अस्पतालबाट आउँदै थिइन् । त्यसो हो भने उनी सामान्य अवस्थामा सरकारी गाडी किन चढिन ? अनि चेक जाँचमा उनको आपत्ति किन ?

मेयर साहेवलाई पत्तो न हुन सक्छ धेरै नेपाली चेलीले अस्पताल देख्नै नपाएर बच्चा जन्माउँछन् । कोही स्वास्थ्य चौकी जाँदा बाटैमा जन्माउछन् । उनलाई यी सबै कुरा ¥याप गाउने क्रममा जानकारी नहुन सक्छ । आज पनि अस्पताल न देख्ने धेरै नेपाली छन् । घाँस दाउरा जाँदा सन्तान जन्माउछन् । उनको श्रीमतीले त नेपालकै सबै भन्दा महंगो र सुविधासम्पन्न अस्पतालमा सन्तान जन्माइन यो खुसीको कुरा हो । सबै नेपाली महिलाले अस्पतामा सन्तान जन्माउने अवसर पाउन । तर, उनको श्रीमतीको के हैसियत हो प्रहरीले उनी सवार गाडीबारे सोधखोज गर्न नपाउने ? सानो कुरामा यति सारो उत्तेजनामा आउनेले महानगरको नेृत्व कसरी गर्लान ?

बिदाको दिन सरकारी गाडी चेक गर्नु सुरक्षाकर्मीको नियमित डिउटी हो । बिदामा सरकारी गाडी कुन उद्देश्यका लागि चलेका छन् भनेर सोधखोज गर्नु प्रहरीको कर्तव्य हो । उनीहरूले आफ्नो कर्तव्य पालना गरेका हुन् । यसका सबै सचेत र जिम्मेवार नागरिकले सहयोग गर्नुपर्छ । होइन, भने सरकार सरकारी पद धारण गरेका बालेन र उनी जस्ता विभिन्न नामका भिआइपिका परिवारका लागि छुट्टै प्रकारका सवारीको व्यवस्था गरियोस् जस्को चेक जाँच त परै जायोस सुरक्षा कर्मीले हेर्ने आँट पनि नगरुन । होइन, भने बालेनले आफ्नो आवेगपूर्ण अभिव्यक्ति प्रति प्रायश्चित गरुन् र कानुनलाई सम्मान गरुन । सुटुक्क स्टाटस् मेटेर पुग्दैन ।

प्रतिक्रिया