राजतन्त्र पुनर्वहालीको संभावना र चुनौती

विन्दुकान्त घिमिरे

विश्वका अन्य मुलुकमा जस्तै नेपालमा पनि राजतन्त्रको इतिहास धेरै नै पुरानो छ । तर राजतन्त्र उन्मूलन भएको इतिहास भने नेपालमा ज्यादै नयाँ छ । विश्वका कतिपय देशमा अझै पनि राजतन्त्र छ । केही देशमा नाम मात्रैको राजतन्त्र छ भने केही देशमा शासन गर्ने राजतन्त्र छ । राजतन्त्रको विघटन तथा स्थायित्वको प्रकृति पनि अलग अलग छ । शासन गर्ने राजतन्त्र छिटो बिदा भएको र नाम मात्रैको राजतन्त्रले निरन्तरता पाएको देखिएको पनि छ ।

युगको चेतना र समाजको विकाससँगै राज्यको शासन गर्ने विधि तथा प्रणाली पनि परिवर्तन हुँदै गएको छ । यही परिवर्तनको सिलसिला हो, राजतन्त्रको समाप्ती तथा जननिर्वाचत सरकारको अवधारणा । कतिपय देशहरू जननिर्वाचित सरकारको अवधारणामा प्रवेश गर्दै गर्दा हाम्रो देश गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा भर्खर भर्खर एकीकरण हुँदै थियो । त्यसैले नेपालमा जननिर्वाचित सरकारको अवधराणा धेरै पछि आएको हो । नेपालमा राजतन्त्र धेरै पछिसम्म कायम रहनुको कारण पनि यही हो ।

विश्वका अरू देशमा र नेपालमा राजतन्त्र उन्मूलनको इतिहास पनि भिन्न छ । विश्वका अरू देशमा राजतन्त्रविरुद्ध जनता सडकमा उठे, दोहोरो युद्ध भयो, युद्धका क्रममा राजा तथा राजपरिवार कि त मारिए, कि त देश छाडेर भागे । तर नेपालको सन्दर्भमा भने राजतन्त्र उन्मूलनमा तीन–चार वटा घटना एकै चोटी जोडिए । पहिलो घटना थियो, ‘राजा वीरेन्द्रको वंश विनास ।’ उनको वंश विनास कसरी भयो ? कसले ग¥यो ? भन्ने प्रश्नको उत्तर अझै पनि रहस्यमय छ । परिवार भित्रकै आन्तरिक द्वन्द्वका कारण समाप्त भएको भनिएको छ । परिवारभित्रै पनि भावि राजा दीपेन्द्रले अरू सदस्यलाई मारेर आफँैलाई गोली हानेको तर्क एक थरीको छ । अर्काथरीले भने उनकै भाइ ज्ञानेन्द्र शाहले राजगद्दी हत्याउन दाजुको वंश विनास गरेको तर्क राख्ने गरेका छन् । दाजुको वंश विनास पछि राजा बनेका भाई ज्ञानेन्द्र शाहले पहिलो कामका रूपमा घटनास्थलको अवशेष नष्ट गरेका कारण धेरैले उनलाई आरोप लगाएका छन् । जनस्तर अर्थात जनताको असन्तुष्टिका कारण वीरेन्द्रको वंशनास भएको होइन । वीरेन्द्र राजा हुँदासम्म नेपालको राजतन्त्र तुलनात्मक रूपमा लोकप्रिय थियो । त्यसमा पनि वीरेन्द्रले जननिर्वाचित शासन सत्तामा सहमति जनाउँदै आफू संविधानभित्र बसिसकेका थिए । संवैधानिक राजतन्त्र प्रायः लोकप्रिय हुन्छ भन्ने उदाहरण नेपालमा मात्रै होइन विश्वका धेरै देशमा छन् ।

राजतन्त्रको विधिवत समाप्ती

नेपालमा राजतन्त्रको समाप्ति भएको घटना तथा तिथिमिति कुनलाई मान्ने ? भन्ने प्रश्नको उत्तर पनि निकै रोचक र अन्योलपूर्ण छ । कसैका तर्क छन्, ‘जुन दिन राजा वीरेन्द्रको वंश विनास भएको थियो, त्यही दिनलाई नै नेपालमा राजतन्त्रको समाप्ती भएको दिन मान्नुपर्छ ।’ यो तर्कलाई पनि नजरअन्दाज गर्न मिल्दैन । राजतन्त्र भनेकै बाबुपछि छोरा, छोरापछि नाति उत्तराधिकारी हुने शासन व्यवस्था हो । तर वंश विनास भइसकेपछि उत्तराधिकारी कोही पनि रहँदैन । यता दाइ वीरेन्द्रको वंश विनासपछि भाइ ज्ञानेन्द्र शाह राजा भए । उनी राजाका रूपमा करिब आधा दशक टिके पनि । त्यसैले नेपालका अन्तिम राजा वीरेन्द्र शाह नभएर ज्ञानेन्द्र शाह हुन् भन्ने एक थरीको तर्क छ । यो तर्कलाई पनि नजरअन्दाज गर्न मिल्दैन ।
जे जसरी होस् ज्ञानेन्द्र शाहले करिब आधा दशकसम्म नेपालको शासन गरेकै हुन् । उनका बाबु महेन्द्र शाह पनि राजा नै थिए । राजाका भाइका नाताले मात्रै होइन राजाका छोराका नाताले पनि ज्ञानेन्द्र राजा भएका हुन् । त्यसैले नेपालमा राजतन्त्र अन्त्य भएको समय तथा मिति जनआन्दोलन २०६२–२०६३ सफल भएको दिन अर्थात २०६३ वैशाख ११ गतेलाई मान्नुपर्छ भन्ने तर्क पनि धेरैको छ । तर वैशाख ११ पछि पनि कैयौँ दिन ज्ञानेन्द्र शाह राजाकै रूपमा थिए । किनकी वैशाख ११ पछिका पहिलो प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ज्ञानेन्द्र शाहबाटै सपथ ग्रहण गरेका हुन् । २०६३ माघ १ गते अन्तरिम संविधान लागू नहुँदासम्म राजतन्त्र जीवितै थियो भन्ने तर्कलाई नजरअन्दाज गर्न मिल्दैन । किनकी अन्तरिम संविधान लागू नहुँदासम्म ज्ञानेन्द्र शाहको राष्ट्रप्रमुखको हैसियत कायमै थियो ।

अन्तरिम संविधान लागू भएपछि भने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै राष्ट्रप्रमुखको भूमिका निर्वाह गरे । ज्ञानेन्द्र शाहको हैसियत राष्ट्रप्रमुखका रूपमा रहेन । जुन दिनदेखि राजा ज्ञानेन्द्रको हैसियत राष्ट्रप्रमुखका रूपमा रहेन, जुन दिनदेखि प्रधानमन्त्रीलाई नै संसद्ले राष्ट्र प्रमुखको जिम्मेवारी दियो त्यही दिनलाई नै राजतन्त्रको समाप्ती भएको दिन मान्नुपर्ने तर्क पनि धेरैको छ । यो तर्कलाई नजरअन्दाज गर्न मिल्दैन । तर अन्तरिम संविधानमा संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयन गर्ने कुरा उल्लेख थियो । यसको अर्थ हो, अन्तिरिम संविधानमा गणतन्त्र थिएन । गणतन्त्र स्थापना नहुँदासम्म राजतन्त्रको अन्त्य भएको मानिन्न । जुन दिन जननिर्वाचित संविधानसभाको बैठकद्वारा गणतन्त्र कार्यान्वगनको घोषणा गरिएको थियो, त्यही दिन अर्थात गणतन्त्र दिवसको दिनलाई राजतन्त्र उन्मूलनको मिति मान्नुपर्ने तर्क धेरैको छ । किनकी त्यतिबेलासम्म ज्ञानेन्द्र शाह नारायणहिटी दरबारभित्रै थिए ।

पुनर्वहालीको प्रयास

केहीले तर्क गर्ने गरेका छन्, ‘तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजीखुसीले गद्दी छाडेका हुन्, उनकै सदासयताका कारण मुलुकमा गणतन्त्र स्थापना भएको हो ।’ तर राजा ज्ञानेन्द्रले गरेको पुनर्वहालीको प्रयास जगजाहेर छ । राजीखुसीले गद्दी छाडेको भए पुनर्वहालीको प्रयास किन गर्थे ? भन्ने प्रश्नलाई नजरअन्दाज गर्न मिल्दैन । केहीले तर्क गरेका छन्, ‘राजा ज्ञानेन्द्रको सदासयताका कारण गणतन्त्र आएको हो ।’ तर गणतन्त्रप्रति उनको सदासयता भएको भए गणतन्त्र मास्ने अभियानमा किन जुट्थे ?

यथार्थमा भन्नुपर्दा देशमा शासन गर्न ज्ञानेन्द्र शाहले घनघोर प्रयास गरेकै हुन् । पञ्चायतकालमा समेत उनले पारिवारिक दबाब दिएरै शासन सत्ताको हिस्सा प्राप्त गरेका थिए भन्नेहरू धेरै छन् । राजा बन्ने बित्तिकै ज्ञानेन्द्र शाहले जननिर्वाचित संसद् तथा सरकार विघटन गरेर निरंकुश शासन सुरु गरेकै हुन् । गद्दीच्युत भएपछि फेरी गद्दीमा पुग्ने घनघोर प्रयास ज्ञानेन्द्रले जारी राखेकै छन् । राजनीतिक संगठनका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परिचालन गरेका छन् । विभिन्न धार्मिक संघ संस्थाहरू परिचालन गरेका छन् । छिमेकी मुलुक भारतका योगी तथा साधुहरूको आशीर्वाद लिइरहेका छन् । मठ मन्दिर धाइरहेका छन् । देश दौडाह गरिरहेका छन् । विभिन्न ज्योतिषीहरू प्रयोग गरी फलानो मितिदेखि राजतन्त्र फर्कन्छ भनेर भविष्यवाणी गर्न मिडिया परिचालन गरिरहेका छन् । केही पत्रकारहरूलाई राजतन्त्रको समर्थनमा पुस्तक लेख्न लगाएका छन् । देशमा पछिल्लो जातीय तथा धार्मिक सद्भाव खलबलिनुको कारण के हो भन्ने कुरा धेरैलाई थाहा छँदै छ । लोकतन्त्र मास्न विश्वका अरू देशहरूमा जे जस्ता अस्त्र प्रयोग गरिएका थिए, ती अस्त्रहरू नेपालमा पनि प्रयोग भएका छन् ।

पुनवर्हालीको संभावना कति ?

राजनीति भनेकै संभावनाको खेल हो । राजनीतिमा असंभव भन्ने कुरा हुँदैन । फालिएका राजतन्त्र फेरी पुनर्वहाली भएका इतिहास विश्वका धेरै देशहरूमा छन् । कुनै देशमा ठ्याक्कै पुरानै निरंकुशता पुनर्वहाली भएको पनि देखिएको छ भने कुनै देशमा अर्कै नाम र स्वरूपमा पुनर्वहाली भएको पनि देखिएको छ । नेपालकै सन्दर्भमा भन्नुपर्दा २००७ सालमा राणाशासन समाप्त भयो, तर १० वर्ष बित्दानबित्दै पञ्चायतको नाममा राणाशासन भन्दा पनि निरंकुश शासन व्यवस्था स्थापना भयो । तिनै राणाका सन्ततीहरूले ३० वर्ष निरंकुश पञ्चायति व्यवस्था चलाए ।

त्यसैले नेपालमा राजतन्त्र पुनर्वहाली हुनै सक्दैन भनेर शतप्रतिशत ठोकुवा गर्न सकिन्न । नेपालको राजतन्त्र जनआन्दोलन मात्रै होइन जनमतको माध्यमबाट समेत फालिएको हो । राजतन्त्र फाल्ने वा राख्ने एजेन्डा लिएरै दलहरू संविधानसभा निर्वाचनमा जनतासमक्ष भोट माग्न गएका हुन् । यसरी चुनिएर आएका जनप्रतिनिधिमध्ये ९७ प्रतिशतले राजतन्त्र उन्मूलन गर्ने पक्षमा मतदान गरेका हुन् । यसरी विधिपूर्वक विश्वका कुनै पनि देशमा राजतन्त्रको बिदाइ गरिएको थिएन । अरू देशमा त जनआन्दोलनको बलमा राजा लखेटिएको या मारिएको थियो ।

यसैगरी विश्वका कुनै पनि पूर्वराजाहरूलाई स्वदेशभित्र बस्न दिइएको छैन । कि त देश निकाला गरिएको छ । कि जेलमा हालिएको छ, कि त मृत्युदण्ड दिइएको छ । त्यसो त गद्दीच्युत भएपछि राजाहरू आफँै भागेर विदेशमा बसेका घटनाहरू धेरै छन् । तर नेपालमा भने ज्ञानेन्द्र शाहको परिवार ज्यादै सम्मानका साथ बसेको छ । राज्यले नै विशेष सुरक्षा तथा सम्मानको व्यवस्था गरिदिएको छ । जे जसरी कमाएको भए पनि उनको सम्पत्ति खोसिएको छैन । आफ्नो शासन सत्तालाई निरन्तरता दिन उनले जे जति ज्यादती गरे पनि त्यसलाई क्षमा दिइएको छ । नेपाली नागरिकका रूपमा देशभित्रै व्यवसाय गरेर बसेका कारण पनि पूर्वराजा शाहप्रति जनताको सहानुभूति बढेको छ ।

यता दलका नेताहरूको असफलताका कारण नेपाली जनता निराशा मात्रै होइन आक्रोशितसमेत छन् । अब जनताको धैर्यताको बाँध कति बेला विष्फोट हुन्छ र यो विष्फोटले कुन आकार लिन्छ ? यसै भन्न सकिने अवस्था छैन । यस्तो भद्रगोलभन्दा त राजतन्त्र नै ठीक भन्ने जनमत बढ्दै गएको छ । राजनीतिक दल तथा तिनका नेताको गतिविधिलाई लिएर जनतामा उत्पन्न यो आक्रोशलाई लोकतान्त्रिक शासन व्यवस्थाविरुद्ध प्रयोग गर्न प्रतिगामी शक्ति जुरमुराइरहेको अवस्था छ । श्रीपेच लगाएका एक जना राजाको ठाउँमा श्रीपेच नलगाएका धेरै राजाहरूले लुट मच्चाएको महसुस जनताले गरेका छन् । विश्वमा अहिलेसम्म प्रयोगमा आएका शासन व्यवस्थामध्ये लोकतान्त्रिक शासन व्यवस्था सर्वोत्तम हो भन्नेमा धेरैको विमति छैन । तर, संविधान र कानुनमा मात्रै लोकतन्त्र उल्लेख गरेर पुग्दो रहेनछ । लोकतन्त्रको प्रत्याभूतिका लागि शासन सत्तामा रहनेहरूको नियत सफा हुनुपर्दोरहेछ भन्ने महसुस जनताले गरेका छन् । दलका नेताहरूको असफलताको फाइदा आफूलाई हुने जोडघटाउमा ज्ञानेन्द्र शाह छन् ।

के के छन् पुनर्वहालीका अवरोधहरू ?

नेपालमा राजतन्त्रको प्रमाणित तथा अप्रमाणित इतिहास करिब तीन हजार वर्षको छ । तर राज्यको उत्पत्ति र राजतन्त्रको उत्पत्तिसँगै हुने युगको हिसाबकिताब गर्न सजिलो छैन । इतिहासमा उल्लेख भए अनुसार गोपाल वंश, महिषपाल वंश, किराँत वंश, लिच्छबी वंश, मल्ल वंश र शाह वंश गरी नेपालमा ६ वटा वंशले शासन गरेको हिसाबकिताब छ । तर वर्तमान नेपालको सरहदभित्र इतिहासको कालखण्डमा धेरै राज्य बनेका छन् विघटन भएका छन् । खस साम्राज्यका राज वंशहरू, जनकपुर साम्राज्यका राज वंशहरू, २२से २४से राज्यका राजवंशहरू सेन राज्यहरूको राजवंशहरू लगायत तमाम राजवंशको हिसाबकिताबसमेत भइरहेका छन् । त्यसो त कविला राज्यको इतिहास पनि आफँैमा महत्वपूर्ण छ । किनकी कविला राज्यबाटै आधुनिक राज्य निर्माणको इतिहास सुरु भएको हो ।

यसरी तीन हजार वर्ष यताको इतिहास हेर्ने हो भने पनि नेपालको वर्तमान सरहदभित्र पाँच सय वटाभन्दा बढी राजवंशले शासन गरेको पाइन्छ । उनीहरू सबैका सन्ततीहरूको अहिले हिसाब गर्ने हो भने पक्कै पनि कुल जनसंख्याको आधा हिस्सा ओगट्छ । सजिलो भाषामा भन्नुपर्दा नेपालको कुल जनसंख्याको आधा हिस्सा कुनै न कुनै बेला राजा भएका व्यक्तिका सन्ततीहरू हुन् । यदी राजतन्त्र पुनवर्हाली गर्ने नै हो भने आधिकारिक हकदार को ? भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । अहिलेसम्मको इतिहास रेकर्डमा पहिलो राजवंश भएका कारण गोपाल वंशी राजाका सन्ततीको दावीलाई नजरअन्दाज गर्न मिल्दैन । इतिहास नै रचेका कारण जनक राजा या शाक्य राजाका सन्ततीहरूलाई पनि नजरअन्दाज गर्न मिल्दैन । सबैभन्दा लामो समय शासन गरेका कारण किराँत वंशका राजा यलम्बरका सन्ततीहरूलाई पनि नजरअन्दाज गर्न मिल्दैन । नेपाललाई स्वर्णयुगका पु¥याएका कारण लिच्छवी वंशका राजाका सन्ततीलाई पनि नजरअन्दाज गर्न मिल्दैन । त्यसो त यतिबेला नेपाललाई चिनाउने जति पनि भौतिक सम्पदा जीवित छन्, ती सबै मल्ल कालमा बनेका हुन् । त्यसैले मल्ल राज वंशका सन्ततीलाई पनि नजरअन्दाज गर्न मिल्दैन ।

यसैगरी यो भूगोलभित्र सबैभन्दा ठूलो राज्य कायम गर्ने खस राजाका सन्तती या वर्तमान नेपालभन्दा तीन गुणा ठूलो राज्यमा शासन गरेका सेना राजाहरूका सन्ततीलाई पनि नजरअन्दाज गर्न मिल्दैन । तर, यतिबेला राजतन्त्र पुनर्वहालीको अभियान चलाउनेहरूले आधुनिक नेपाल राज्यका एकीकरणकर्ता एवं निर्माणकर्ता पृथ्वीनारायण शाहको वंश नै सबैभन्दा अधिकारिक भएको तर्क राख्ने गरेका छन् । यो तर्कलाई पनि नजरअन्दाज गर्न मिल्दैन । किनकी गोरखादेखि इलामसम्मको भूभाग पृथ्वीनारायण शाहले एकीकरण गरेका हुन् । तर पृथ्वीनारयाण शाहका वंशजमध्ये को हो त आधिकारिक ? परम्पराले के भन्छ ? लयायतका प्रश्न स्वभाविक रूपमा उठ्ने नै भए । पृथ्वीनारायण शाहका छोरा बहादुर शाहले आफ्नो नायबीमा तत्कालीन नेपालको क्षेत्रफल दोब्बर बनाएका थिए । राज्यको भौगोलिक क्षेत्रफल विस्तारका हिसाबले पृथ्वीनारायण शाहको भन्दा बहादुर शाहको योगदान बढी छ । त्यसैले राजतन्त्र पुनर्वहाली गर्ने नै हो भने बहादुर शाहका सन्ततीलाई खोजेर गद्दीमा राख्नुपर्ने तर्कलाई पनि नजरअन्दाज गर्न मिल्दैन । पुर्खाले गरेको योगदानको विरासत सन्तानलाई दिन हो भने बहादुर शाहका सन्तती जत्ति आधिकारिक रणबहादुर शाहका सन्तती हुनै सक्दैनन् ।

यसैगरी राजतन्त्र भनेको राजाको जेठो छोरा राजा हुँदै जाने परम्परा हो । रणबहादुर शाहले ल्याइते पट्टीका छोरा गीर्वाण युद्धविक्रम शाहलाई राजा बनाउनका लागि युवराज घोषणा भइसकेका जेठा छोरा रणोद्यत शाहलाई डाँडो कटाएर नुवाकोट खेदेको इतिहास छ । जम्मा सात पुस्ता मात्रै भएको छ, यो क्रम भंगताको । बहादुर शाह कान्छा भएकै कारण जेठा सन्तान राजा हुने परम्परालाई निरन्तरता दिँदै जाने हो भने यतिबेला राजा बन्नका लागि सबैभन्दा अधिकारिक हुन् रणोद्यत शाहका खनाती प्राडा नविनप्रकाश जंग शाह । होइन रणोद्यत शाहका सन्ततीहरू पनि धेरै पुस्तादेखि राजपाठबाट टाढै थिए भनेर अर्थ लगाउने हो भने त्रिभुवन शाहका दाजु सागर शाहका सन्ततीहरू पनि होलान् । वीरेन्द्र शाहका दाजु रविन्द्र शाहका सन्ततीहरू पनि होलान् । वीरेन्द्र शाहकी छोरी श्रुतिका सन्तती छँदैछन् ।

तर अन्तिम राजाका रूपमा शासन गरिसकेका कारण ज्ञानेन्द्र शाह नै सबैभन्दा आधिकारिक हकदार हुन् भन्ने दावी यतिबेला राजतन्त्र पुनर्वहाली पक्षधरमध्ये केही को छ । यो दावीलाई पनि नजरअन्दाज गर्न मिल्दैन । ज्ञानेन्द्र शाह अन्तिम राजा हुन् भन्ने कुरा असत्य होइन । तर उनी सबैभन्दा असक्षम हुन् भन्ने कुरा त इतिहासले प्रमाणित गरिसक्यो । छँदा खाँदाको गद्दीसमेत जोगाउन नसक्नु भनेको चरम असक्षमता हो ।

ज्ञानेन्द्र शाहकै मुर्खताका कारण राजतन्त्र ढलेको हो । ज्ञानेन्द्र राजा हुँदै गर्दा नेपालको शक्ति सन्तुलन त्रिखुट्टे ओदानजस्तो थियो । एकातिर राजतन्त्रको विरासतसहित राज्यका सेनाका साथ ज्ञानेन्द्र शाह एक शक्ति थिए, अर्कातिर जननिर्वाचित संसद्वादीदलहरू अर्का शक्ति थिए । विद्रोही माओवादी पनि सशक्त शक्ति थियो । तीन शक्ति मध्ये दुई वटा शक्ति एक ठाउँमा उभिनासाथ तेस्रो शक्ति समाप्त हुने गरी समीकरण कायम भएको थियो । यस्तो समीकरणलाई ज्ञानेन्द्र शाहले आफ्नो प्रतिकूल हुने गरी प्रयोग गरिदिए । अर्थात संसद्वादी र माओवादीलाई एक ठाउँमा उभ्याएदिए । अनि आफू समाप्त भए । रुखको हाँगामा चढेर फेद काट्ने बाटो अबलम्वन गर्दै समाप्त भएका ज्ञानेन्द्र शाहले फेरी पुनवर्हाली भएर देशलाई सुशासन दिने क्षमता राख्लान् ? भन्ने प्रश्नलाई पनि नजरअन्दाज गर्न मिल्दैन । त्यसो त राजा हुँदा पनि राजपाठलाई भन्दा आफ्नो व्यापार व्यवसायलाई महत्व दिने पात्र हुन् ज्ञानेन्द्र शाह । राजपाठ र व्यापार व्यवसाय सँगसँगै अघि बढ्न सक्दैन भन्ने हेक्कासमेत नराखेर पतन हुनेले पुनर्वहालीको परिस्थिति निर्माण गर्न सक्लान् भन्नु कोरा कल्पना मात्रै हो ।

प्रतिक्रिया