साउदीमा काम नपाएका २५ नेपाली उद्धारको पर्खाइमा

दोहा । रोजगारीका लागि साउदी अरब पुगेका २५ जना नेपाली विगत एक महिना बितिसक्दा पनि काम नपाएको गुनासो गरेका छन् । राम्रो रोजगारी प्रलोभन देखाएर नेपालबाट त्यहाँ पु¥याइएका उनीहरू काम नपाएपछि उद्धारका लागि हारगुहार गरिरहेका छन् ।

पशुपति एच आर सोलुसन प्रालिमार्फत साउदीको सुमित डाइरेक्सन फर इन्डस्ट्रिज कम्पनीमा पुगेको तर, त्यहाँ त्यो कम्पनी नै नभेटिए पछि आफूहरू समस्यामा परेको अलपत्र मध्येका किरण विश्वकर्माले जानकारी दिएका थिए ।

पीडितहरूले मेनपावरलाई आफूहरूलाई सम्झौता अनुसारको काम र तलब दिलाउन नसक्ने भए नेपाल फर्काउन आग्रह गर्दा कुनै वास्ता नगरेको बताएका छन् । आफूहरू एक महिनादेखि कामविहीन भएर बस्दा पनि मेनपावरले कुनै सुनवाई नगरेको उनीहरूले बताएका छन् ।
मेनपावरले बेवास्ता गरेपछि उनीहरूका आफन्तमार्फत वैदेशिक रोजगार विभागमा उद्धारको लागि निवेदन दिएको पनि हप्ता दिन भइसक्दा पनि कुनै जानकारी नआएको उनीहरूले बताए ।

उनीहरूका अनुसार पशुपति एचआर सोलुसनलाई प्रतिव्यक्ति १ लाख ५० हजार देखि दुई लाखसम्म बुझाएर सुमित डाइरेक्सन फर इन्डस्ट्रिज कम्पनीमा लोड अनलड कामका लागि त्यहाँ पुगेका उनीहरू सम्झौता पत्रमा उल्लेख गरिएनुसारको कम्पनी नभेटेपछि अहिले गल्फ भिजन कम्पनीमा राखिरहेको छ ।

उनीहरूलाई मेनपावरले प्रतिदिन आठ घण्टा काम, प्रति हप्ता एक दिनको बिदा र खाने बस्ने सुबिधासहित मासिक एक हजार साउदी रियाल पाउने तथा साउदी जाँदा र फर्किदा हवाई टिकट कम्पनी बेहोर्ने सम्झौतापत्र उल्लेख गरिएको भए पनि १० हजारको रसिद थमाएर मोटो रकम लिएर उनीहरूलाई त्यहाँ पठाइएको हो ।

एजेन्टले राम्रो काम भन्दै लोड अनलोड पठाएको, तर यहाँ आएपछि करार पत्रमा उल्लेख गरिएनुसारको कम्पनी नभई सप्लाई कम्पनी भनेको यहाँ पनि विभिन्न कम्पनीमा इन्टरब्यु दिनुपर्छ भन्ने दवाब दिने गरेको उनीहरू बताउँछन् ।

आफूहरू बसिरहेको क्याम्पमा सुत्ने ठाउँ पनि नभएकाले कतिपय साथीहरू बाहिरै रात कटाउने गरेको तथा पिउने पानीको पनि समस्या हुँदा बाथरूमको पानी पिउनु बाध्य भएको उनीहरूको भनाइ छ ।

आफूहरू भने अनुसारको कम्पनी तथा काम नभए बस्न नसक्ने भन्दै उनीहरूले घर फर्कने वातावरण मिलाइदिन, म्यानपावर तथा एजेन्टसँग पैसा फिर्ता गरी आफूहरूलाई न्याय दिलाइदिन विभिन्न संघसंस्था र अभियन्ताहरूलाई पटक–पटक अनुरोध गरेको भए पनि कतैबाट समस्या समाधान नभएको बताए ।

नाम मात्रको दूतावास

पीडितले रियादस्थित नेपाली दूतावासलाई पनि पटकपटक आफूहरू समस्यामा परेको भन्दै दूतावासले उपलब्ध गराएको नम्बरमा व्हाट्सएपमा म्यासेज गर्दै उद्धारको अपिल गर्दा पनि कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ ।

समस्यामा परेका नेपालीलाई सहयोग गर्न खोलिएको दूतावास आफूहरू समस्यामा पर्दा पनि मुकदर्शक भएको उनीहरूले आरोप छ । यस विषयमा पशुपति एचआर सोलुसन प्रालिका प्रतिनिधिसँग बुझ्न खासै समस्या नभएको मात्र बताउने गरेका छन् ।

यता पछिल्लो समय साउदीमा नेपाली श्रमिक समस्यामा पर्ने गरेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा संघ कार्यसमितिका पदाधिकारी र साउदी अरबमा कामदार पठाउने वैदेशिक रोजगार व्यवसायीहरू वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दहालबीच छलफल भएको छ ।

उनीहरू बीच भएको भेटमा हाल साउदी अरब मुलुकमा वैदेशिक रोजगारीका लागि कामदार पठाउँदा देखिएका विभिन्न समस्याहरूका विषयमा गहन छलफल भएको संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।

साउदी जाने नेपाली श्रमिकहरूले सम्झौताअनुसार समयमै सेवासुविधा, तलब नपाउने समस्या भइरहेकोप्रति सरकारले नै पहल गरिदिनुपर्ने आवश्यकता देखिएको भन्दै ध्यानाकर्षण गराउन महानिर्देशक दाहालसँग छलफल गरिएको संघका महासचिव भुर्तेलले बताए ।

प्रतिक्रिया