घटेन नेपालीको अमेरिका मोह : १ सातामै ९ जना डिपोर्ट, बाटैमा बिते १ जना, गोली हानेर २ जना पक्राउ

काठमाडौँ । दक्षिणी सीमा मेक्सिकोबाट अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्ने २ नेपाली नागरिकलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ । गत मंगलबार राति डुंगा चढेर क्यालिफोर्नियाको स्यान्डिएगो क्षेत्रबाट अवैध तरिकाले अमेरिका प्रवेश गर्न खोज्ने २ नेपालीमाथि अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सिबिपी) को एयर एन्ड मरिन अप्रेसन (एएमओ)ले गोली प्रहार गरी पक्राउ गरेको हो ।

यसको भोलिपल्टै अवैध बाटोबाट अमेरिका जान चाहने १ नेपालीको ज्यान गएको थियो । दाङ जिल्ला घर भएका ३५ वर्षीय पूर्णबहादुर डाँगीको घानाको राजधानी आक्रामा मृत्यु भएको हो । गत साता नै अमेरिकाले ९ जना अवैध आप्रवासीलाई नेपाल फर्काएको थियो । अमेरिकाले डिपोर्ट गर्नेको सूचीमा १ हजार ३६५ जना नेपाली छन् ।

२० जनवरीमा अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेलगत्तै उनले आप्रवासी नीतिमा व्यापक परिवर्तन गरेका थिए । उनले लिएको पहिलो नीति ‘मास डिपोर्ट’ हो । उनले पदभार ग्रहण गरेलगत्तै अवैध आप्रवासीहरूले अक्सर प्रयोग गर्ने गरेको मेक्सिकोको सीमामा सुरक्षा निकायलाई थप दरिलो बनाएका थिए ।

ट्रम्पले आप्रवासीहरूलाई शरणार्थीका रूपमा आवेदन दिन पाउने प्रावधानसमेत रद्द गरेका थिए । अमेरिकाको यो नीतिले धेरै आप्रवासीलाई अप्ठ्यारोमा पर्न सक्ने भन्दै मेक्सिकोको सीमामा आप्रवासी सेल्टरसमेत बनाइएको छ । गत मंगलबार पक्राउ परेका नेपालीसहित ९ जना सिबिपीकै नियन्त्रणमा रहेको जनाइएको छ । क्यालिफोर्नियाको समुद्री तटबाट २ नेपालीसहित ९ जना अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीलाई नियन्त्रणमा लिइएको सिबिपीले जानकारी दिएको छ । सिबिपीले पक्राउ पर्नेहरू कसैको नाम भने खुलाएको छैन ।

पक्राउ पर्नेमा २ नेपालीसहित २ मेक्सिकन, ४ ब्राजिलियन र १ जना चिनियाँ नागरिक छन् । उनीहरूलाई अमेरिकी कानुन ८ युएससी १३२४ उल्लंघन गरेको आरोपमा कानुनी कारबाही अघि बढाउने सिबिपीको तयारी छ । अमेरिकी कानुनअनुसार सामान्य उल्लंघनमा जरिमाना वा ५ वर्षसम्म जेल तथा आर्थिक लाभका लागि वा आपराधिक गतिविधिमा संलग्न भएमा न्यूनतम ३ देखि अधिकतम १० वर्षसम्म जेल सजाय हुनेछ ।

ट्रम्प प्रशासनले सीमा सुरक्षामा खटिने सिबिपीलाई गैरकानुनी रूपमा अमेरिका प्रवेशका लागि सीमा पार गर्न खोज्नेहरूलाई अवस्थाको अध्ययन गर्दै इन्काउन्टर गर्न, पक्राउ गरी जेलमा राख्न, तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाउन र निष्कासन गर्न आदेश दिएको छ । सिबिपीका अनुसार १ महिनामा गैरकानुनी रूपमा प्रवेश गर्न खोज्नेहरूको संख्या ९७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया