
काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को उपाधि अब केवल एक खेल टाढा पुगेको छ । ४८ टोली सहभागी यस संस्करणको फाइनलमा युरोपेली च्याम्पियन स्पेन र दक्षिण अमेरिकी च्याम्पियन तथा साविक विश्वविजेता अर्जेन्टिना अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी रंगशालामा आज मध्यराति (नेपाली समयअनुसार सोमबार बिहान १२ः४५ बजे) आमनेसामने हुँदै छन् । विश्व फुटबलका २ प्रतिष्ठित राष्ट्रबीच हुने यो प्रतिस्पर्धाले विश्वभरका करोडौँ समर्थकको ध्यान तानेको छ । दुवै टोलीले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेका कारण यस खेललाई पछिल्ला वर्षकै सबैभन्दा प्रतिस्पर्धात्मक विश्वकप फाइनलका रूपमा हेरिएको छ ।
प्रतियोगिता सुरु हुनुअघि फ्रान्स र इंग्ल्यान्डलाई प्रमुख दाबेदारका रूपमा लिइएको थियो । तर, नकआउट चरणमा दुवै टोलीको यात्रा समाप्त भएपछि स्पेन र अर्जेन्टिना उपाधिका लागि अन्तिम २ टोलीका रूपमा उभिएका छन् । स्पेन सन् २०१० पछि पहिलो पटक उपाधि जित्ने अभियानमा छ भने अर्जेन्टिना साविक विश्वविजेता भएकाले लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । अर्जेन्टिनाले विश्वकप इतिहासमा ३ पटक उपाधि जितिसकेको छ । सन् १९७८, १९८६ र २०२२ मा विश्वविजेता बनेको अर्जेन्टिनाले यस पटक पनि आफ्नो गौरव कायम राख्ने लक्ष्य बनाएको छ । टोलीका कप्तान लियोनल मेसी ३९ वर्षको उमेरमा पनि अर्जेन्टिनाको सबैभन्दा प्रभावशाली खेलाडीका रूपमा कायम छन् ।
प्रतियोगिताभर उनको प्रदर्शनले टोलीलाई कठिन अवस्थाबाट बारम्बार उकासेको छ । उनले जारी प्रतियोगितामा ८ गोल र ४ असिस्ट गरिसकेका छन् । उनलाई गोल्डेन बलको प्रमुख दाबेदार मानिएको छ । अर्जेन्टिनाको मिडफिल्ड पनि प्रतियोगिताभर निकै प्रभावशाली देखिएको छ । एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र लिएन्ड्रो परेडेसको संयोजनले टोलीलाई सन्तुलित बनाएको छ । उनीहरूले रक्षात्मक जिम्मेवारी पूरा गर्नुका साथै मेसीलाई स्वतन्त्र रूपमा खेल सञ्चालन गर्ने वातावरण तयार गरिदिएका छन् । आक्रमणतर्फ जुलियन अल्भारेज, लाउटारो मार्टिनेज र जुलियानो सिमियोनेजस्ता खेलाडी पनि विपक्षीका लागि चुनौती बनेका छन् ।
यद्यपि अर्जेन्टिनाको सबैभन्दा ठुलो चुनौती भनेको मेसीमाथिको अत्यधिक निर्भरता हो । टोलीसँग धेरै प्रतिभावान् खेलाडी भए पनि निर्णायक क्षणमा खेलको दिशा बदल्ने जिम्मेवारी प्रायः मेसीमै केन्द्रित हुने गरेको छ । यदि स्पेनले मेसीलाई प्रभावहीन बनाउन सफल भयो भने अर्जेन्टिनाको आक्रमणमा असर पर्न सक्ने विश्लेषण गरिएको छ । प्रतियोगितामा अर्जेन्टिनाको फाइनलसम्मको यात्रा सहज भने थिएन । समूह चरणमा प्रभावशाली प्रदर्शन गरे पनि नकआउट चरणमा टोलीले कडा प्रतिस्पर्धा सामना ग¥यो । केप भर्डे, इजिप्ट, स्विट्जरल्यान्ड र इंग्ल्यान्डविरुद्धका खेलमा अर्जेन्टिनाले संघर्षपूर्ण जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो । विशेष गरी, सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध गरेको पुनरागमनले टोलीको आत्मविश्वास अझ बलियो बनाएको छ ।


यता, स्पेन पनि यस विश्वकपमा अत्यन्तै सन्तुलित टोलीका रूपमा देखिएको छ । पछिल्ला ३ विश्वकपमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्पेनले युरो २०२४ को सफलतापछि पुनः आफ्नो पुरानो लय फर्काएको छ । बल नियन्त्रणमा आधारित ‘टिकी–टाका’ शैलीलाई निरन्तरता दिँदै स्पेनले प्रतियोगिताभर विपक्षी टोलीलाई दबाबमा राख्ने खेल प्रदर्शन गरेको छ । स्पेनको सबैभन्दा बलियो पक्ष यसको रक्षापंक्ति मानिएको छ । उसले प्रतियोगिताभर टोलीले केवल १ गोल मात्र बेहोरेको छ । रोड्री र फाबियन रुइजले मिडफिल्डमा उत्कृष्ट नियन्त्रण कायम राख्दै टोलीलाई आक्रमण र रक्षाबीच सन्तुलित बनाएका छन् । यही कारण स्पेनले धेरै खेलमा विपक्षीलाई सीमित अवसर मात्र दिएको छ ।
युवा खेलाडी लामिन यमाल र निको विलियम्स स्पेनका आकर्षणका केन्द्र हुन् । यद्यपि उनीहरूले प्रतियोगिताभर धेरै गोल गर्न नसके पनि उनीहरूको गति, सिर्जनात्मकता र व्यक्तिगत कौशलले विपक्षी रक्षांक्तिलाई निरन्तर दबाबमा राखेको छ । प्रशिक्षकले फाइनलमा पनि यी २ खेलाडीबाट निर्णायक योगदानको अपेक्षा गरेका छन् । स्पेनको कमजोरी भनेको अत्यधिक बल नियन्त्रणमा आधारित खेल कहिलेकाहीँ सुस्त बन्नु हो । विपक्षी टोलीले रक्षात्मक रणनीति अपनाउँदा स्पेनलाई गोल गर्ने अवसर सिर्जना गर्न कठिन हुने गरेको छ । अर्जेन्टिनाले पनि फाइनलमा यस्तै रणनीति अपनाउने सम्भावना रहेकाले स्पेनले सुरुआती अवसरको सदुपयोग गर्नुपर्ने देखिन्छ । विश्वकपको यो फाइनल अनुभव र युवा ऊर्जाबीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ । अर्जेन्टिनासँग मेस्सीजस्ता अनुभवी खेलाडी छन् भने स्पेनसँग यमाल र विलियम्सजस्ता उदीयमान प्रतिभा छन् । दुवै टोलीको खेल शैली फरक भए पनि विश्व फुटबलको सर्वोच्च उपाधि जित्ने दुवैको एउटै लक्ष्य छ ।
रणनीतिक रूपमा हेर्दा अर्जेन्टिनाले प्रत्याक्रमणलाई प्राथमिकता दिन सक्छ भने स्पेनले बल आफ्नो नियन्त्रणमा राखेर खेल सञ्चालन गर्ने प्रयास गर्नेछ । त्यसैले फाइनलमा कुन टोलीले आफ्नो रणनीति प्रभावकारी रूपमा लागू गर्न सक्छ भन्ने कुराले नै नतिजा निर्धारण गर्ने सम्भावना छ । विश्व फुटबल समर्थकहरूका लागि यो खेल विशेष महत्वको हुनेछ । एकातिर मेसीले आफ्नो ऐतिहासिक यात्रामा अर्को उपलब्धि थप्ने अवसर खोजिरहेका छन् भने अर्कातर्फ स्पेन नयाँ पुस्ताको नेतृत्वमा विश्व फुटबलमा आफ्नो वर्चस्व पुनः स्थापित गर्न चाहन्छ । त्यसैले विश्वकप २०२६ को फाइनल केवल उपाधिको प्रतिस्पर्धा मात्र नभई अनुभव, रणनीति, अनुशासन र प्रतिभाबीचको उच्चस्तरीय भिडन्तका रूपमा स्मरणीय बन्ने अपेक्षा गरिएको छ ।
विजेताले ५१ मिलियन अमेरिकी डलर पुरस्कार पाउने
फिफाले जारी २३औँ संस्करणको विश्वकपका लागि पुरस्कार रकममा उल्लेखनीय वृद्धि गरेको छ । फिफाले विश्वकप २०२२ को सफल आयोजनापछि २०२६ संस्करणका लागि कुल पुरस्कार बजेट बढाउने निर्णय गरेको थियो । सन् २०२२ मा कुल ४४० मिलियन अमेरिकी डलर पुरस्कार वितरण गरिएकामा यस पटक यो रकम बढाएर ८७१ मिलियन डलर पु¥याइएको छ । यससँगै सहभागी सबै टोली तथा विभिन्न चरण पार गर्ने टोलीले पाउने रकम पनि वृद्धि भएको छ । विश्वकपमा सहभागी प्रत्येक टोलीलाई तयारी खर्चका लागि २.५ मिलियन अमेरिकी डलर उपलब्ध गराइएको थियो । यो रकम यातायात, बसोबास, प्रशिक्षण शिविर तथा अन्य व्यवस्थापनका लागि प्रदान गरिएको हो ।
साथै, प्रतियोगितामा सहभागिता जनाएबापत प्रत्येक टोलीले थप १० मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन् । यसरी प्रत्येक सहभागी टोलीले कम्तीमा १२.५ मिलियन अमेरिकी डलर पाएका छन् । प्रतियोगिताको प्रत्येक चरण पार गर्दै जाँदा पुरस्कार रकम पनि क्रमशः बढ्दै गएको छ । अन्तिम ३२ मा पुगेका टोलीले १२ मिलियन अमेरिकी डलर, राउन्ड अफ १६ मा पुगेकाले १६ मिलियन अमेरिकी डलर तथा क्वार्टरफाइनलमा स्थान बनाउने टोलीले २० मिलियन अमेरिकी डलर प्राप्त गर्ने व्यवस्था गरिएको छ । सेमिफाइनलमा पुग्ने ४ टोलीले कम्तीमा २८ मिलियन अमेरिकी डलर सुनिश्चित गरेका थिए । चौथो स्थान हासिल गर्ने टोलीले २८ मिलियन अमेरिकी डलर, तेस्रो हुने टोलीले ३० मिलियन अमेरिकी डलर र उपविजेताले ३४ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।
फिफाका अनुसार विश्वकप २०२६ को विजेता टोलीले ट्रफीसँगै ५१ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ, जुन सन् २०२२ को विजेता अर्जेन्टिनाले पाएको ४२ मिलियन अमेरिकी डलरभन्दा उल्लेखनीय रूपमा बढी हो । पुरस्कार रकममा गरिएको यो वृद्धिले विश्वकपलाई अझ प्रतिस्पर्धात्मक र आकर्षक बनाएको फुटबल विश्लेषकहरूको भनाइ छ । यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले गोल्डेन बल, सर्वाधिक गोलकर्ताले गोल्डेन बुट, सर्वोत्कृष्ट गोलकिपरले गोल्डेन ग्लोब र उत्कृष्ट युवा खेलाडीले पनि पुरस्कार पाउनेछन् । यो पटक विजेता टोलीका खेलाडीहरूले च्याम्पियनसिप रिङ पनि पाउनेछन् । च्याम्पियनसिप रिङ विश्वकप इतिहासमै पहिलो पटक दिन लागिएको हो ।
प्रतिक्रिया