साकाको ह्याट्रिकमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ ले हरायो, तेस्रो स्थानको खेल बन्यो इतिहासकै रोमाञ्चक भिडन्त

खेलपछि प्रतिक्रिया दिँदै इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले आफ्ना खेलाडीले यस उपलब्धिप्रति भविष्यमा गर्व गर्न सक्ने बताए । उनले टोलीको लक्ष्य विश्वकप जित्ने भए पनि तेस्रो स्थान पनि सम्मानजनक उपलब्धि भएको उल्लेख गरे

काठमाडौँ । विश्वकपको तेस्रो स्थानका लागि खेलिने प्रतिस्पर्धालाई प्रायः औपचारिक खेलका रूपमा हेरिन्छ । फाइनलमा पुग्न नसकेका २ टोलीबीच हुने भएकाले यसको आकर्षण पनि तुलनात्मक रूपमा कम हुने गरेको छ । तर यसपटक इंग्ल्यान्ड र फ्रान्सबीच भएको तेस्रो स्थानको खेलले त्यो धारणा पूर्ण रूपमा बदलिदियो । दुवै टोलीले आक्रामक खेल प्रस्तुत गर्दा दर्शकले गोलको वर्षा हेर्न पाए । अन्ततः बुकायो साकाको शानदार ह्याट्रिकको मद्दतमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ ले पराजित गर्दै प्रतियोगिताको तेस्रो स्थान हासिल गर्यो । विश्वकप फाइनलको एक दिनअघि सम्पन्न यो खेल सुरुदेखि अन्त्यसम्म अत्यन्तै रोमाञ्चक रह्यो । इंग्ल्यान्डले पहिलो हाफमै ४–० को विशाल अग्रता बनाएपछि खेल एकतर्फी हुने अनुमान गरिएको थियो ।

तर दोस्रो हाफमा फ्रान्सले अविश्वसनीय पुनरागमनको प्रयास गर्यो । किलियन एमबाप्पेले २ गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे भने ब्राड्ली बार्कोला र उस्मान डेम्बेलेले पनि गोल थपे । यद्यपि इंग्ल्यान्डले अन्तिम समयमा थप २ गोल गर्दै जित सुरक्षित गर्यो । खेलको तेस्रो मिनेटमै कार्यवाहक कप्तान डेक्लन राइसले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाए । इंग्ल्यान्डका लागि बुकायो साका खेलका सबैभन्दा ठुलो नायक बने । उनले ३७औँ मिनेटमा पहिलो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल थपे । खेलको ८७औँ मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गर्दै उनले आफ्नो दोस्रो अन्तर्राष्ट्रिय ह्याट्रिक पूरा गरे । साकाको उत्कृष्ट प्रदर्शनले इंग्ल्यान्डलाई ऐतिहासिक जित दिलायो ।

साका र राइसबारेक एज्री कोन्साले पनि गोल गर्दै पहिलो हाफमै इंग्ल्यान्डलाई ४–० को बलियो अवस्थामा पु¥याएका थिए । दोस्रो हाफमा फ्रान्सले लगातार दबाब सिर्जना गरे पनि इंग्ल्यान्डले संयम कायम राख्दै खेल आफ्नो पक्षमा राख्न सफल भयो । इन्जुरी समयको आठौँ मिनेटमा जुड बेलिंघमले गोल गर्दै इंग्ल्यान्डको छैटौँ गोल पूरा गरे र टोलीको जित सुनिश्चित बनाए । यो जितसँगै इंग्ल्यान्डले विश्वकप इतिहासमा आफ्नो दोस्रो उत्कृष्ट नतिजा हासिल गरेको छ । इंग्ल्यान्डले सन् १९६६ मा घरेलु भूमिमा विश्वकप जितेको थियो । त्यसयता टोलीले उपाधि जित्न सकेको छैन । यसपटक पनि उपाधिको सपना अधुरै रहे पनि तेस्रो स्थान हासिल गर्नु इंग्लिस टोलीका लागि सकारात्मक उपलब्धि मानिएको छ । खेलपछि प्रतिक्रिया दिँदै इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले आफ्ना खेलाडीले यस उपलब्धिप्रति भविष्यमा गर्व गर्न सक्ने बताए । उनले टोलीको लक्ष्य विश्वकप जित्ने भए पनि तेस्रो स्थान पनि सम्मानजनक उपलब्धि भएको उल्लेख गरे ।

उनले भने, ‘हामी अत्यन्त प्रतिस्पर्धी टोली हौँ । त्यसैले अहिले तेस्रो स्थानमा पूर्ण रूपमा खुसी हुन सकिरहेका छैनौँ । हाम्रो सपना फाइनल पुगेर विश्वकप जित्ने थियो । त्यो पूरा नभएकाले पीडा स्वाभाविक छ । तर समय बित्दै जाँदा खेलाडीहरूले यस उपलब्धिप्रति गर्व गर्नेछन् ।’ टुचेलले सेमिफाइनलमा अर्जेन्टिनासँगको हार अझै पनि दुःखद् रहेको स्वीकार गरे । इंग्ल्यान्डले उक्त खेलमा १–० को अग्रता जोगाउन नसक्दा २–१ ले पराजित भएको थियो । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अन्तिम समयमा २ गोलका लागि अवसर सिर्जना गर्दै खेलको परिणाम उल्टाएका थिए । त्यस हारपछि टुचेलको रणनीतिमाथि व्यापक आलोचना भएको थियो । यद्यपि उनले तेस्रो स्थानको जितले टोलीलाई भविष्यमा अझ बलियो बन्न सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘यो खेलले हामीलाई धेरै कुरा सिकाएको छ । यसले अर्जेन्टिना र फ्रान्सजस्ता शीर्ष टोलीसँगको दुरी कम गर्न मद्दत गर्नेछ । यद्यपि कास्य पदक मनाउन पूर्ण रूपमा सहज महसुस गर्न भने समय लाग्नेछ,’ उनले भने ।

जुड बेलिंघमले खेलको अन्तिम गोल गर्दै यस विश्वकपमा आफ्नो सातौँ गोल पूरा गरे । यो विश्वकपमा कुनै पनि इंग्लिस खेलाडीले गरेको सबैभन्दा धेरै गोल हो । यसअघि कप्तान ह्यारी केनले २०१८ र यस संस्करणमा समान ६–६ गोल गरेका थिए भने ग्यारी लाइनेकरले सन् १९८६ को विश्वकपमा ६ गोल गरेका थिए । फ्रान्सका लागि भने किलियन एमबाप्पे व्यक्तिगत रूपमा चम्किए । उनले दोस्रो हाफमा २ गोल गर्दै आफ्नो विश्वकप करियरको गोल संख्या २२ पुर्याए । यस प्रतियोगितामा मात्रै उनले १० गोल गरिसकेका छन् । यससँगै उनले लियोनेल मेसीको विश्वकप गोलको कीर्तिमान पार गर्दै गोल्डेन बुट दौडमा पनि अग्रता बनाएका छन् । फ्रान्सका लागि यो प्रतियोगिता अपेक्षाअनुसार सफल बन्न सकेन । लगातार तेस्रोपटक विश्वकप फाइनल पुग्ने लक्ष्य बोकेको टोली सेमिफाइनलमा स्पेनसँग पराजित भएको थियो । तेस्रो स्थानको खेलमा पनि पहिलो हाफमा अत्यन्त कमजोर प्रदर्शन गरेपछि टोली दबाबमा परेको थियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास गर्यो ।

खेलको ४८औँ मिनेटमा एमबाप्पेले गोल गर्दै अन्तर घटाए । त्यसपछि ६६औँ मिनेटमा उनले अर्को गोल गर्दै स्कोरलाई ४–२ बनाए । त्यसपछि ब्राड्ली बार्कोला र उस्मान डेम्बेलेले पनि गोल गर्दै इंग्ल्यान्डमाथि दबाब बढाए । एक समय स्कोर ४–३ सम्म पुगेपछि खेल निकै रोमाञ्चक बनेको थियो । तर साकाले पेनाल्टीमार्फत ह्याट्रिक पूरा गरेपछि इंग्ल्यान्डले फेरि खेल आफ्नो नियन्त्रणमा ल्यायो । अन्तिम समयमा बेलिंघमले गोल गर्दै फ्रान्सको पुनरागमनको सम्भावना समाप्त गरिदिए । यो खेल विश्वकप इतिहासकै सबैभन्दा धेरै गोल भएको तेस्रो स्थानको खेलका रूपमा पनि दर्ज भएको छ । सन् १९८२ मा हंगेरीले एल साल्भाडोरलाई १०–१ ले हराएयताको यो विश्वकपकै सर्वाधिक गोल भएको खेल हो । कुल १० गोल भएको यो खेलले दर्शकलाई भरपुर मनोरञ्जन दिएको थियो ।

नेपाली समयअनुसार आइतबार बिहान अमेरिकाको मियामीको हार्ड रक स्टेडियममा भएको खेल हेर्न ६४ हजार ४७८ दर्शक उपस्थित भएका थिए । फाइनल नभए पनि रंगशाला भरिभराउ थियो । इंग्ल्यान्ड र फ्रान्स दुवै टोलीका समर्थकसँगै तटस्थ फुटबलप्रेमी पनि ठुलो संख्यामा मैदान पुगेका थिए । मेक्सिको सिटीबाट आएका इंग्ल्यान्ड समर्थक गास्टोन एस्क्विभेलले आफू बाल्यकालदेखि नै प्रिमियर लिग हेर्दै आएको बताए । उनले म्यानचेस्टर युनाइटेडका समर्थक भएकाले इंग्लिस फुटबलप्रति विशेष आकर्षण रहेको बताए । ‘मलाई इंग्लिस फुटबल मनपर्छ । उनीहरूको खेल्ने शैली उत्कृष्ट लाग्छ,’ उनले भने । पेरिसबाट फ्रान्सलाई समर्थन गर्न आएका थोमस भिएल भने एमबाप्पेको ह्याट्रिकको आशामा थिए । एमबाप्पेले २ गोल गरे पनि उनको चाहना पूरा हुन सकेन ।

यो खेल फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसाम्सका लागि पनि अन्तिम अन्तर्राष्ट्रिय खेल बन्यो । उनले १४ वर्षपछि प्रशिक्षक पदबाट अलग हुने निर्णय गरिसकेका छन् । खेल समाप्त भएपछि उनले आफ्ना खेलाडीलाई अँगालो हाल्दै दर्शकतर्फ हात हल्लाएर बिदाइ गरे । डेसाम्सले पहिलो हाफको प्रदर्शन निकै निराशाजनक रहेको स्वीकार गरे । ‘हामीले यस्तो पहिलो हाफको कल्पना गरेका थिएनौँ । दोस्रो हाफमा भने राम्रो प्रदर्शन ग¥यौँ । सेमिफाइनलको हारपछि हामी मानसिक रूपमा निकै निराश थियौँ । म आफ्नो सम्पूर्ण प्रशिक्षक जीवनलाई केवल यो एक खेलका आधारमा मूल्यांकन गर्न चाहन्न,’ उनले भने । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया