सोमबारसम्म अतिभारी वर्षाको चेतावनी, २६ जिल्ला ‘रेड अलर्ट’मा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी ३ दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षाको चेतावनी दिएपछि सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । मनसुन प्रतिकार्य कमान्ड पोस्टको शुक्रबार बसेको बैठकले विशेष मौसम बुलेटिनका आधारमा २६ जिल्लालाई रेड अलर्टमा राख्दै सम्बन्धित जिल्ला सुरक्षा समिति, स्थानीय तह र सुरक्षा निकायलाई तत्काल तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

बैठकले साउन २ र ३ गतेका लागि जारी विशेष बुलेटिनअनुसार कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका १–२ स्थानमा अतिभारी वर्षा हुने तथा देशका हिमाली–पहाडी भूभाग, कोसी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस, बाग्मती र गण्डकी प्रदेशका तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विशेष बुलेटिनका आधारमा पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी र स्याङ्जासहित २६ जिल्लालाई रेड अलर्टमा राखिएको छ ।

मनसुन प्रतिकार्य कमान्ड पोस्टले लगातारको वर्षाका कारण अचानक बाढी, पहिरो, कटान, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम उच्च रहने निष्कर्ष निकाल्दै सम्बन्धित निकायलाई पूर्वतयारीका सबै उपाय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ । निर्णयअनुसार रेड अलर्ट जारी गरिएका जिल्लामा आवश्यकताअनुसार रातिको समयमा सवारी आवागमन रोक्न तथा परिस्थितिअनुसार जनसाधारणको आवागमनसमेत नियन्त्रण गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिइएको छ । अन्य जिल्लामा पनि उच्च सतर्कता अपनाउन भनिएको छ ।

त्यस्तै, तिनोटै सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलाई तत्काल प्रतिकार्यका लागि तयारी अवस्थामा रहन, जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न सडक विभाग तथा सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । पूर्वसूचना र चेतावनीका आधारमा जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई आग्रह गरिएको छ । साथै विकास साझेदार संस्था, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र र आमनागरिकसँग समन्वय र सहकार्य गर्न तथा आकस्मिक सञ्चालन केन्द्रलाई जुनसुकै बेला परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राख्न पनि बैठकले निर्देशन दिएको छ ।

सोमबारसम्म वर्षाको जोखिम

विभागका अनुसार शनिबार राति पहाडी तथा तराईका अधिकांश क्षेत्रमा मेघगर्जन–चट्याङसहित वर्षा हुने सम्भावना छ । कोसी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका १–२ स्थानमा अतिभारी वर्षाको सम्भावना छ । साथै कोसी, लुम्बिनी र सुदूरपश्चिमका तराई तथा मधेस, बाग्मती र गण्डकीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ । आइतबार पनि देशभर वर्षा जारी रहने पूर्वानुमान छ । दिउँसो कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका १–२ स्थानमा अतिभारी वर्षाको सम्भावना छ । राति भने कोसी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका १–२ स्थानमा अतिभारी वर्षा हुने तथा कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सोमबार मौसममा केही सुधार देखिए पनि वर्षाको जोखिम कायमै रहनेछ । दिउँसो सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका १–२ स्थानमा भारी वर्षाको सम्भावना छ । राति कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका १–२ स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।

प्रतिक्रिया