‘अपवित्र साँठगाँठतिर नलाग्न’ पार्टी नेतृत्वलाई झलनाथको चेतावनी

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नयाँ राजनीतिक समीकरण बनाउनुभन्दा पहिले विस्तृत छलफल गर्न पार्टीसँग माग गरेका छन् ।

प्रदेशहरूमा सत्ता गठबन्धन गर्ने चर्चा चलेपछि नेकपाका नेता खनालले आइतबार विज्ञप्ति जारी गरी ‘अपवित्र साँठगाँठतिर नलाग्न’ पार्टी नेतृत्वलाई चेतावनी दिएका हुन् ।

‘यो जटिल अवस्थामा नेपाली कम्युनिस्ट पार्टीले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नुभन्दा अगाडि कम्तीमा केन्द्रीय संयोजन समितिको बैठक बोलाइयोस्, आजको आवश्यकताका बारेमा कमिटीमा विस्तृत रूपले छलफल गरियोस् र क्रान्तिकारी उद्देश्य र वर्ग दृष्टिकोणलाई सर्वोपरी राखेर मात्र प्रदेशसभामा सरकार बनाउने सम्बन्धमा नीति निर्णय गरियोस् र पार्टीलाई दक्षिणपन्थी वर्ग सम्झौतावादको दलदलतिर जानबाट संस्थागत रूपले बचाइयोस्’, खनालले लेखेका छन्, ‘केही नेताहरूको कुर्सी मोह र आत्मतृप्तिका निम्ति मात्र साँठगाँठ गर्ने प्रवृतिलाई रोकियोस् र आम जनतालाई क्रान्तिकारी परिवर्तनको दिशामा अघि बढाइयोस्। हामी नेपालका सबै कम्युनिस्ट र वामपन्थीहरूले बुझ्नुपर्छ( यो साँठगाँठको बेला होइन, सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्ने बेला हो ।’

यस्तो छ झलनाथ खनालको पूरा वक्तव्य

नवनिर्वााचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि मुलुकका ज्वलन्त समस्याहरू समाधानको दिशातिर जान्छन् कि भन्ने आम जनताको आशाविपरीत मुलुकको राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनताका जनजिविकाहरू, जनताका हितहरू र अधिकारहरू, जनताको सूचना प्राप्त गर्ने हकहरू, छिमेकी मुलुकहरूसँगका सम्बन्धहरू र राज्यकै विभिन्न अंगहरूबिचका सम्बन्धहरू समेत खलबलिन थालेका छन्। यो देशका श्रमजीवि जनता खोलामा हामफाल्न र आत्महत्या गर्न बाध्य हुन थालेका छन्।

यस्तो जटिल परिस्थितिमा बढ्दो विदेशी हस्तक्षेप र बढ्दो घरेलु अस्तव्यस्ताका विरुद्ध यो देशका आम जनता, तमाम देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरू एकताबद्ध भएको देख्न चाहन्छन्।

यस्तो एकतालाई सम्पूर्ण वामपन्थीहरूको एकताबद्ध पहलबाट भएको हेर्न चाहन्छन्। त्यसका निम्ति वामपन्थीहरूले आफूबिचका आग्रह, पूर्वाग्रह, दम्भ र घमण्ड त्यागेर वामपन्थी एकताको पहल गरेको हेर्न चहान्छन्। तर नेपालका वामपन्थीहरू विगतमा नीतिहीन, वर्ग-दृष्टिकोणहीन र नीहित गुट स्वार्थका आधारमा दक्षिणपन्थी शक्तिहरूसँग एकता गर्न आनन्द महसुुस गर्दै आएका छन्।

हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टीले पनि ठिक यही गल्ती गर्दै आएको छ। अहिले पनि त्यही गल्ती गर्ने र दक्षिणपन्थी शक्तिहरूसँग नै साँठगाँठ गरेर कम्युनिस्ट पार्टीको प्रतिष्ठामा अझ बढी आँच पुर्‍याउने खतरा देखा परेको छ।

त्यसैकारण यो जटिल अवस्थामा नेपाली कम्युनिस्ट पार्टीले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नुभन्दा अगाडि कम्तीमा केन्द्रीय संयोजन समितिको बैठक बोलाइयोस्, आजको आवश्यकताका बारेमा कमिटीमा विस्तृत रूपले छलफल गरियोस् र क्रान्तिकारी उद्देश्य र वर्ग दृष्टिकोणलाई सर्वोपरी राखेर मात्र प्रदेशसभामा सरकार बनाउने सम्बन्धमा नीति निर्णय गरियोस् र पार्टीलाई दक्षिणपन्थी वर्ग सम्झौतावादको दलदलतिर जानबाट संस्थागत रूपले बचाइयोस्। केही नेताहरूको कुर्सी मोह र आत्मतृप्तिका निम्ति मात्र साँठगाँठ गर्ने प्रवृतिलाई रोकियोस् र आम जनतालाई क्रान्तिकारी परिवर्तनको दिशामा अघि बढाइयोस्। हामी नेपालका सबै कम्युनिस्ट र वामपन्थीहरूले बुझ्नुपर्छ- यो साँठगाँठको बेला होइन, सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्ने बेला हो।

मिति : ०३ साउन, २०८३

झलनाथ खनाल, पूर्वप्रधानमन्त्री, केन्द्रीय संयोजन समिति सदस्य नेपाली कम्युनिस्ट पार्टी

प्रतिक्रिया