
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिवार र आइतबार मुलुकका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले साउन २ गते शनिवार र ३ गते आइतबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुनसक्ने जनाएको छ ।
यसैगरी मधेस, बागमती र अन्य हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण गरिएको छ । भारी वर्षाका कारण आकस्मिक बाढी, पहिरो, भू–क्षय, डुबान र गेग्रान बहावको जोखिम उच्च हुने भएकाले प्राधिकरणले पूर्वतयारीका लागि विशेष निर्देशन जारी गरेको छ । उक्त अवधिमा अत्यन्त जरुरी कामबाहेक घरबाहिर ननिस्कन र रात्रिकालीन यात्रा नगर्न सर्वसाधारणलाई सूचित गरिएको छ ।
प्राधिकरणले जोखिमको गम्भीरतालाई ध्यान दिँदै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ वटा अति जोखिमयुक्त ९रातो रङ इंकित० जिल्लाहरूमा रातिको समयमा सवारी आवागमन सञ्चालनमा रोक लगाएको छ । यसरी रोक लगाइएका जिल्लाहरूमा पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा रहेका छन् ।
परिस्थितिको संवेदनशीलता हेरी जुनसुकै समयमा पनि सवारी आवागमन बन्द गर्न सकिने प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया