फाइनलअघि मेसीको प्रतिक्रिया – स्पेनलाई विजेता बन्न नदिन हामी आफ्नो सम्पूर्ण शक्ति लगाउनेछौँ

रोड्रीको जबाफ – विश्व च्याम्पियनसँग डर होइन, जित्ने भोक लिएर मैदान उत्रनेछौँ

काठमाडौँ । अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले स्पेनका युवा स्टार लामिन यामालसँग विश्वकपको फाइनलमा प्रतिस्पर्धा गर्न लाग्नु निकै अचम्मको संयोग भएको बताएका छन् । केही वर्षअघि नै खिचिएको एउटा तस्बिरले अहिले विश्व फुटबलमा ठुलो चर्चा पाइरहेको छ, जहाँ सानो बालक यमाललाई तत्कालीन बार्सिलोनाका युवा खेलाडी मेसीले काखमा लिएका थिए । सन् २००७ मा बार्सिलोनामा आयोजना गरिएको एक परोपकारी फोटोसुट कार्यक्रममा यामालका आमाबुबाले सहभागिता जनाएका थिए ।

त्यस अवसरमा २० वर्षीय मेसीले ५ महिनाका शिशु यमाललाई काखमा लिएर तस्बिर खिचाएका थिए । त्यतिबेला कसैले पनि अनुमान गरेका थिएनन् कि केही वर्षपछि त्यही बच्चा विश्व फुटबलको सबैभन्दा ठुलो मञ्चमा मेसीको विपक्षी बनेर उभिनेछ । अमेरिकी फुटबलका महान् खेलाडी टम ब्राडीले पनि उक्त तस्बिरलाई ‘भविष्यवाणी जस्तै’ भएको बताएका छन् । नेपाली समयअनुसार शनिबार न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा मेसीसँग कुराकानी गर्दै ब्राडीले उक्त ऐतिहासिक तस्बिरको चर्चा गरेका थिए । मेसीले भने, ‘त्यो तस्बिर अविश्वसनीय छ । अहिले हामी दुवै विश्वकप खेलिरहेका छौँ भन्ने कुरा नै निकै अचम्मको र अविश्वसनीय छ ।’ उनका अनुसार फुटबलमा यस्ता संयोगहरू निकै दुर्लभ हुन्छन् ।

लामिन यमालले १५ वर्षको उमेरमै बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका थिए । उनले बार्सिलोनामा मेसीले लगाएको प्रतिष्ठित १० नम्बर जर्सीसमेत पाएका छन् । निकै कम उमेरमै उनले आफूलाई विश्व फुटबलको उत्कृष्ट प्रतिभामध्ये एकका रूपमा स्थापित गरिसकेका छन् । यमालले स्पेनलाई सन् २०२४ को युरोपियन च्याम्पियनसिप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । अहिले १९ वर्षको उमेरमा उनी युरोपियन च्याम्पियनसिप र विश्वकप दुवै जित्ने सबैभन्दा कम उमेरका खेलाडी बन्ने अवसरको नजिक पुगेका छन् । ३९ वर्षीय मेसीले यामालको खुलेर प्रशंसा गरेका छन् । उनले भने, ‘उनी अहिले विश्वका उत्कृष्ट खेलाडीमध्ये एक हुन् । म उनलाई शुभकामना दिन चाहन्छु, किनभने उनको सफलता बार्सिलोनाको सफलता पनि हुनेछ ।’

तर फाइनलमा भने मेसीले यमाल र सम्पूर्ण स्पेनिस टोलीलाई रोक्न आफ्नो टोलीले पूर्ण प्रयास गर्ने स्पष्ट पारे । उनले भने, ‘हामी उनलाई उत्कृष्ट प्रदर्शन गर्नबाट रोक्ने प्रयास गर्नेछौँ । स्पेनसँग केवल यमाल मात्र होइन, निकै राम्रो टोली छ ।’ मेसीका अनुसार यमाल विश्वस्तरीय खेलाडी बनिसकेका छन् र उनको अगाडि लामो करियर बाँकी छ । उनले भने, ‘उनी १९ वर्षका छन् र उनको पूरा फुटबल यात्रा अगाडि छ । म उनलाई शुभकामना दिन्छु, तर यसपटक उनी र स्पेनलाई च्याम्पियन बन्न नदिन हामी आफ्नो सम्पूर्ण शक्ति लगाउनेछौँ ।’

शुक्रबार आयोजित विशेष कार्यक्रममा अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेज र स्पेनका कप्तान रोड्री पनि सहभागी भएका थिए । कार्यक्रममा फुटबल, अमेरिकी खेलकुद र मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा इंग्ल्यान्डका पूर्वडिफेन्डर रियो फर्डिनान्ड र अभिनेता केभिन हार्टले प्रस्तोता भूमिका निभाएका थिए । टेनिसका महान् खेलाडी नोभाक जोकोभिच र एनबीएका स्टार केभिन डुरान्टले पनि टम ब्राडीसँगै प्रश्नहरू सोधेका थिए । कार्यक्रमकै क्रममा ब्राडी र युट्युबरबाट डब्लुडब्लुई खेलाडी बनेका लोगान पलबीचको पुरानो विवाद पनि चर्चामा आएको थियो । दुवैबीच मञ्चमै विवाद भएपछि ब्राडीले पललाई थप्पड हानेका थिए । त्यसपछि न्यूयोर्क निक्सका खेलाडी कार्ल–एन्थोनी टाउन्सले उनीहरूलाई छुट्याएका थिए ।

स्पेनका कप्तान रोड्रीले विश्वकप फाइनलअघि आफ्ना टोलीका खेलाडीहरूलाई डरभन्दा पनि जित्ने चाहना र आत्मविश्वासका साथ मैदानमा उत्रन आग्रह गरेका छन् । स्पेनले पछिल्ला केही वर्षमा उत्कृष्ट प्रदर्शन गर्दै नेसन्स लिग र युरोपियन च्याम्पियनसिप जितिसकेको छ । अब विश्वकप उपाधि जित्नु टोलीको अर्को ठुलो लक्ष्य बनेको छ । रोड्रीले पत्रकार सम्मेलनमा भने, ‘हामीले विस्तारै विकासको यात्रा तय गरेका छौँ । पछिल्ला केही वर्षमा यो टोली परिपक्व हुँदै गएको छ ।’

उनका अनुसार वर्तमान पुस्ताका खेलाडीहरूले आफ्नो छुट्टै पहिचान बनाउने विश्वास लिएका थिए र अहिले विश्वकप फाइनलसम्म पुग्नु त्यसै यात्राको परिणाम हो । उनले भने, ‘हामी यो यात्राबाट खुसी छौँ, तर यहाँ रोकिँदैनौँ । हाम्रो महत्वाकांक्षा अझ धेरै ठुलो छ ।’ म्यानचेस्टर सिटीबाट च्याम्पियन्स लिग जितेका र बालोन डि’ओर विजेता रोड्रीका लागि विश्वकप जित्नु करियरकै सबैभन्दा ठुलो उपलब्धि हुनेछ । उनले भने, ‘विश्व च्याम्पियन बन्नुभन्दा ठुलो कुरा अरू केही हुन सक्दैन । मेरो करियरप्रति म खुसी छु, तर अझ अगाडि बढ्ने चाहना सधैँ रहन्छ ।’

यस विश्वकप प्रतियोगितामा स्पेनले अहिलेसम्म केवल १ गोल मात्र खाएको छ । रोड्रीले आफ्नो टोलीलाई निकै सन्तुलित टोलीका रूपमा वर्णन गरेका छन् । उनका अनुसार स्पेनले आफ्नै पेनाल्टी क्षेत्र, विपक्षीको क्षेत्र र मध्यभागमा राम्रो नियन्त्रण राख्न सक्छ । जब उनलाई टोलीको कमजोरीबारे सोधियो, उनले मुस्कुराउँदै त्यसबारे जानकारी सार्वजनिक गर्न अस्वीकार गरे । उनले भने, ‘हामीसँग बलिया र कमजोर पक्ष दुवै छन् । कमजोरीहरू धेरै छैनन्, तर ती कुरा म आफैंसँग राख्न चाहन्छु ।’

तर फाइनलमा स्पेनको सामना सजिलो हुने छैन । अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा पुगेको छ । कठिन परिस्थितिबाट फर्कने क्षमता, अन्तिम समयमा गोल गर्ने बानी र बलियो प्रतिस्पर्धात्मक भावना अर्जेन्टिनाको मुख्य शक्ति बनेको छ । रोड्रीले अर्जेन्टिनाको यही पक्षलाई स्वीकार गरेका छन् । उनले भने, ‘यो टोलीसँग कठिन परिस्थितिबाट फर्कने क्षमता र बलियो मानसिकता छ । हामीले त्यसलाई ध्यान दिएका छौँ ।’ उनले फाइनलमा जितका लागि पूर्ण आत्मविश्वासका साथ खेल्नुपर्ने बताए । ‘हामी विश्वकप जित्ने उद्देश्यका साथ मैदानमा जानुपर्छ । हामीले आफ्नो शैलीमा खेल्नुपर्छ र महत्वाकांक्षी हुनुपर्छ,’ उनले भने ।

रोड्रीले लियोनल मेसीलाई विश्व फुटबल इतिहासकै उत्कृष्ट खेलाडी बताएका छन् । उनले मेस्सीले अर्जेन्टिनालाई विश्वकप जिताउन नेतृत्व गरेको र अहिले फेरि फाइनलसम्म पु¥याएको उल्लेख गरे । ‘मेरो विचारमा मेसी सबै समयका महान् खेलाडी हुन्,’ रोड्रीले भने । तर उनले अर्जेन्टिना केवल मेसीमा निर्भर टोली नभएको पनि स्पष्ट पारे । ‘हामीले मेसीमाथि ध्यान दिनुपर्छ, तर अर्जेन्टिनामा धेरै उत्कृष्ट खेलाडी छन्,’ उनले भने । रोड्रीले फ्रान्सविरुद्धको सेमिफाइनलमा जितेको खेलभन्दा फाइनल निकै फरक र शारीरिक रूपमा कठिन हुने अनुमान गरेका छन् । उनले भने, ‘आइतबारको खेल फरक हुनेछ । यो अझ बढी प्रतिस्पर्धात्मक र शारीरिक लडाइँजस्तो हुनेछ । त्यसका लागि हामी तयार हुनुपर्छ ।’

स्पेनको सन् २०१० को विश्वकप जितको इतिहासले पनि वर्तमान टोलीलाई प्रेरणा दिइरहेको छ । यद्यपि रोड्रीले अहिलेको फुटबल र विगतको फुटबलमा धेरै परिवर्तन आइसकेको बताएका छन् । तर उनले २०१० को टोलीबाट एउटा महत्वपूर्ण शिक्षा लिनुपर्ने बताए । ‘त्यो पुस्ता असम्भव देखिने लक्ष्य पछ्याउँदै अघि बढेको थियो । उनीहरूसँग जित्ने दृढ संकल्प थियो । यही कुरा हामीले पनि लिनुपर्छ,’ रोड्रीले भने । यसरी विश्वकप फाइनलमा एकातिर अनुभव, इतिहास र मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिना छ भने अर्कोतिर युवा शक्ति, आत्मविश्वास र नयाँ पुस्ताको स्पेन छ । विश्व फुटबलका समर्थकहरू अब यी दुई शक्तिशाली टोलीबीचको ऐतिहासिक भिडन्तको प्रतीक्षामा छन् ।

०००

विश्वकप फाइनलमा गुरु–शिष्यको भिडन्त

फिफा विश्वकपको बहुप्रतीक्षित फाइनलमा स्पेन र साविक विजेता अर्जेन्टिना उपाधिका लागि आमनेसामने हुँदै छन् । आइतबार हुने यो ऐतिहासिक भिडन्तमा दुई उत्कृष्ट टोलीसँगै दुई फरक पुस्ताका प्रशिक्षकको रणनीतिक प्रतिस्पर्धासमेत हेर्न पाइनेछ । स्पेन दोस्रोपटक विश्वकप उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिँदै छ । टोलीको मुख्य आकर्षण १९ वर्षीय युवा स्टार लामिन यमाल रहनेछन् । आफ्नो पहिलो विश्वकप खेलिरहेका यमालले छोटो समयमै अन्तर्राष्ट्रिय फुटबलमा ठुलो प्रभाव पारेका छन् । स्पेनलाई विश्व च्याम्पियन बनाउने अभियानमा उनको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

बल नियन्त्रणमा आधारित खेलशैली, सटिक पासिङ र अनुशासित रणनीतिका कारण स्पेनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो । प्रशिक्षक लुइस डे ला फुएन्टेको नेतृत्वमा रहेको टोली सेमिफाइनलको प्रभावशाली जितपछि उच्च मनोबलका साथ उपाधि भिडन्तमा प्रवेश गर्दै छ । यता, साविक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने योजनामा छ । कप्तान र अनुभवी खेलाडीको साथ पाएको अर्जेन्टिनाले प्रशिक्षक लियोनल स्कालोनीको रणनीतिमा बलियो प्रदर्शन गर्दै आएको छ ।

फाइनलको अर्को रोचक पक्ष भने दुई प्रशिक्षकबीचको सम्बन्ध हो । स्पेनका ६५ वर्षीय डे ला फुएन्टे र अर्जेन्टिनाका ४८ वर्षीय स्कालोनीबीच गुरु–शिष्यको सम्बन्ध रहेको छ । सन् २०१८ मा स्कालोनीले प्रशिक्षकसम्बन्धी अध्ययन गर्दा डे ला फुएन्टे उनका मार्गदर्शक थिए । स्कालोनीले आफूले प्रशिक्षकबाट धेरै कुरा सिकेको स्वीकार गर्दै फाइनलमा भने प्रतिस्पर्धीको भूमिकामा रहने बताएका छन् । स्पेनसँग आफ्नो व्यक्तिगत सम्बन्ध भए पनि आइतबारको खेलमा अर्जेन्टिनालाई जिताउन पूर्ण प्रयास गर्ने उनको भनाइ छ । विश्वकपको उपाधिसँगै दुई फरक शैली, दुई पुस्ताका खेलाडी र गुरु–शिष्यको सम्बन्ध बोकेको यो फाइनल फुटबल समर्थकका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ ।

०००

फकल्यान्ड ब्यानर विवादमा अर्जेन्टिनाको पक्षमा ह्वाइट हाउस

फकल्यान्ड टापुसम्बन्धी ब्यानर प्रदर्शन विवादमा अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीको समर्थन गर्दै ह्वाइट हाउसले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो धारणा सार्वजनिक गरेको छ । अमेरिकामा जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलपछि अर्जेन्टिनाका खेलाडीहरूले ‘फकल्यान्ड अर्जेन्टिनाको हो’ भन्ने सन्देश लेखिएको ब्यानर प्रदर्शन गरेपछि उक्त विषय अन्तर्राष्ट्रिय बहसको केन्द्र बनेको हो । ह्वाइट हाउस फिफा टास्क फोर्सका प्रमुख एन्ड्रयु जुलियानीले पत्रकारहरूसँग कुरा गर्दै अमेरिकाको संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको अधिकार सबैका लागि लागू हुने बताएका छन् ।

उनका अनुसार अमेरिकामा रहेका व्यक्तिहरूले आफ्नो विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्न पाउने संवैधानिक अधिकार राख्छन् । उनले अमेरिकी संविधानको पहिलो संशोधनको उल्लेख गर्दै अर्जेन्टिनाका खेलाडीहरूले आफ्नो धारणा व्यक्त गरेको विषयलाई सोही अधिकारसँग जोडेर व्याख्या गरेका हुन् । यद्यपि, फिफाको नियमअनुसार प्रतियोगिताका क्रममा राजनीतिक, धार्मिक वा वैचारिक सन्देश प्रवाह गर्ने गतिविधि निषेध गरिएको छ । त्यसैले अर्जेन्टिनाका खेलाडीहरूले प्रदर्शन गरेको ब्यानरबारे फिफाले अनुशासनात्मक अनुसन्धान अघि बढाउने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अनुसन्धानपछि आवश्यक ठानेमा टोली वा सम्बन्धित खेलाडीमाथि कारबाही हुन सक्ने अनुमान गरिएको छ ।

यस घटनाप्रति बेलायतले पनि चासो व्यक्त गरेको छ । बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटले फिफाले घटनाको निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताउँदै नियमअनुसारको प्रक्रियालाई आफ्नो समर्थन रहेको जनाएको छ । बेलायतले फकल्यान्ड टापुमाथिको आफ्नो सार्वभौम अधिकार कायम रहेको अडान दोहो¥याउँदै आएको छ भने अर्जेन्टिनाले उक्त टापु आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ । दक्षिण–पश्चिम एटलान्टिक महासागरमा अवस्थित फकल्यान्ड टापु दशकौँदेखि बेलायत र अर्जेन्टिनाबीचको विवादको विषय बनेको छ ।

सन् १९८२ मा दुवै देशबीच यस टापुको स्वामित्वलाई लिएर युद्धसमेत भएको थियो । युद्धपछि बेलायतले टापुमाथिको आफ्नो नियन्त्रण कायम राखेको भए पनि अर्जेन्टिनाले त्यस क्षेत्रमाथिको दाबी छोडेको छैन । यही ऐतिहासिक विवाद समय–समयमा खेलकुद, कूटनीति र अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत देखिने गरेको छ । विश्वकपजस्तो विश्वव्यापी प्रतियोगितामा देखिएको यो घटनाले खेल र राजनीतिक अभिव्यक्तिबीचको सीमाबारे पुनः बहस सुरु गराएको छ । एकातिर अभिव्यक्ति स्वतन्त्रताको अधिकारको पक्षमा तर्क प्रस्तुत भइरहेको छ भने अर्कोतर्फ खेललाई राजनीतिक प्रभावबाट टाढा राख्नुपर्ने फिफाको नीतिमाथि पनि जोड दिइएको छ । अब फिफाले गर्ने निर्णयले मात्र यस विवादको औपचारिक निष्कर्ष कस्तो हुने भन्ने स्पष्ट हुने अपेक्षा गरिएको छ ।

०००

प्रतिक्रिया