
काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तिम चरणमा पुगेको छ । कुल १०२ खेलको लामो यात्रापछि अब विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधिका लागि स्पेन र अर्जेन्टिना आमनेसामने हुँदै छन् ।
अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आइतबार राति हुने फाइनल खेलले विश्वभरका फुटबल समर्थकको ध्यान तानेको छ । उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रिने अर्जेन्टिना २१औँ शताब्दीमा लगातार २ पटक विश्वकप जित्ने पहिलो टोली बन्ने प्रयासमा छ । यदि अर्जेन्टिना सफल भयो भने सन् १९६२ मा ब्राजिलले लगातार २ विश्वकप जितेपछि यस्तो उपलब्धि हासिल गर्ने पहिलो राष्ट्र बन्नेछ । त्यसअघि इटालीले सन् १९३४ र ३८ मा लगातार विश्वकप जितेको थियो ।
यस पटकको फाइनल केवल २ शक्तिशाली टोलीबीचको प्रतिस्पर्धा मात्र होइन, विश्व फुटबलका २ फरक पुस्ताबीचको रोचक भिडन्तका रूपमा पनि हेरिएको छ । एकातिर ३९ वर्षीय अनुभवी कप्तान लियोनल मेसी छन् भने अर्कातर्फ केवल १९ वर्षका युवा प्रतिभा लामिन यमाल छन् । यही कारणले पनि यो फाइनललाई विश्व फुटबलको नयाँ युग सुरु हुने वा पुरानो युग गौरवपूर्ण रूपमा समाप्त हुने क्षणका रूपमा विश्लेषण गरिएको छ ।
यमालको ऐतिहासिक अवसर
स्पेनका युवा स्टार लामिन यमाल अहिले विश्व फुटबलका सबैभन्दा चर्चित खेलाडीमध्ये हुन् । धेरै फुटबल विश्लेषकले उनलाई लियोनेल मेस्सीको उत्तराधिकारीका रूपमा हेर्ने गरेका छन् । उनले क्लब स्तरमा पनि बार्सिलोनामा मेसीले बनाएको बाटो पछ्याउँदै उत्कृष्ट प्रदर्शन गरेका छन् । कतिपयको विचारमा यमालले आफ्नो प्रतिभा प्रमाणित गरिसकेका छन् भने केहीले भने विश्वकप जितेपछि मात्र उनी विश्व फुटबलका महान् खेलाडीको सूचीमा मजबुत रूपमा स्थापित हुने तर्क गर्छन् । यदि स्पेनले यस पटक उपाधि जितेमा यमाल केवल १९ वर्षको उमेरमै विश्वकप विजेता बन्नेछन् ।
विश्वकपको इतिहासमा २० वर्ष नपुग्दै फाइनल खेल जित्ने प्रारम्भिक टोलीमा परेका खेलाडीको संख्या अत्यन्त सीमित छ । उरुग्वेका रुबेन मोरान, ब्राजिलका महान् पेले, इटालीका ज्युसेप्पे बर्गोमी र फ्रान्सका किलियन एम्बाप्पेले मात्रै यस्तो उपलब्धि हासिल गरेका छन् । यमाल सफल भएमा सन् १९८२ पछि यस्तो उपलब्धि हासिल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बन्नेछन् । त्यसबाहेक २० वर्षको उमेर नपुग्दै युरो कप र विश्वकप दुवै जित्ने पहिलो खेलाडी बन्ने अवसर पनि यमालसँग छ । उनले सन् २०२४ मा स्पेनलाई युरो उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
मेसीका लागि विशेष छ फाइनल
अर्जेन्टिनाका कप्तान लियोनल मेसीका लागि यो फाइनल विशेष महत्वको मानिएको छ । ३९ वर्षको उमेरमा उनले आफ्नो छैटौँ विश्वकप खेलिरहेका छन् । प्रतियोगिताभर अर्जेन्टिनाले धेरै कठिन क्षणको सामना गरेको भए पनि टोली प्रत्येक पटक संकटबाट बाहिर निस्किन सफल भयो । ती कठिन परिस्थितिमा मेसीको अनुभव, नेतृत्व र निर्णायक प्रदर्शनले टोलीलाई निरन्तर अघि बढाएको मानिन्छ । मेसीको स्पेनसँग विशेष सम्बन्ध पनि छ । उनले आफ्नो जीवनका करिब २१ वर्ष बार्सिलोनामा बिताए ।
ला मासिया एकेडेमीबाट फुटबल यात्रा सुरु गरेका उनले सन् २००४ मा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका थिए । त्यसपछि उनले क्लबका लागि अनेकौँ ऐतिहासिक सफलता दिलाउँदै आफूलाई विश्वकै महान् खेलाडीमध्येमा स्थापित गरे । अब भने उनी स्पेनविरुद्ध विश्वकप फाइनल खेल्दै छन् । स्पेन दोस्रो पटक विश्वकप जित्ने लक्ष्यमा छ भने मेसी आफ्नो टोलीलाई लगातार दोस्रो उपाधि दिलाउने अभियानमा छन् । उमेर बढे पनि मेस्सीको प्रभाव घटेको देखिएको छैन । उनले यस विश्वकपमा ७ खेल खेल्दै ८ गोल र ४ एसिस्ट गरेका छन् । यसले उनलाई गोल्डेन बुटको दौडमा अग्रस्थानमा राखेको छ ।
स्पेनको मजबुत रक्षापंक्ति
स्पेनको फाइनल यात्रा निकै कठिन रह्यो । प्रतियोगिताका ७ मध्ये ३ खेल उसले फिफा विश्व वरीयताका शीर्ष १० भित्र रहेका टोलीविरुद्ध खेलेको थियो । बेल्जियम, पोर्चुगल र फ्रान्सजस्ता बलिया प्रतिद्वन्द्वीलाई पार गर्दै स्पेन फाइनलमा पुगेको हो । यति कठिन प्रतिस्पर्धाको सामना गर्दा पनि स्पेनले प्रतियोगिताभर केवल १ गोल मात्र बेहोरेको छ । टोलीले ६ खेलमा क्लिन सिट कायम गरेको छ, जुन एकै संस्करणको विश्वकपमा कुनै पनि टोलीले गरेको उत्कृष्ट प्रदर्शनमध्ये मानिएको छ । स्पेनका गोलकिपर उनाई सिमोनले उत्कृष्ट प्रदर्शन गर्दै लगातार क्लिन सिट कायम राख्न महत्वपूर्ण भूमिका खेलेका छन् । त्यसैगरी टोलीको रक्षात्मक संरचनालाई मजबुत बनाउन कप्तान रोड्रीको योगदान उल्लेखनीय छ । सन् २०२४ का बालोन डि’ओर विजेता रोड्री विश्वकपमा पनि आफ्नो उत्कृष्ट लयमा देखिएका छन् र स्पेनको रक्षापंक्तिलाई सन्तुलित बनाएका छन् ।
अर्जेन्टिनाको धारिलो आक्रमण
अर्कातर्फ साविक विजेता अर्जेन्टिनाले प्रतियोगितामा सबैभन्दा प्रभावशाली आक्रमण प्रस्तुत गरेको छ । टोलीले हालसम्म १८ गोल गरेको छ, जुन प्रतियोगितामा सहभागी सबै टोलीमध्ये सर्वाधिक हो । अझ रोचक त के छ भने अर्जेन्टिनाका आधाभन्दा बढी गोल खेलको ७५औँ मिनेटपछि भएका छन् । यसले टोली अन्तिम समयसम्म पनि आक्रामक रूपमा खेल्न र अवसर सिर्जना गर्न सक्षम रहेको देखाउँछ । स्पेनको बलियो रक्षापंक्ति र अर्जेन्टिनाको धारिलो आक्रमणबीचको प्रतिस्पर्धा नै फाइनलको सबैभन्दा ठुलो आकर्षण हुनेछ । अनुभवका हिसाबले पनि दुवै टोली फरक अवस्थामा छन् ।
स्पेनको नेतृत्व युवा पुस्ताले गरिरहेको छ भने अर्जेन्टिनासँग विश्व फुटबलका सबैभन्दा अनुभवी खेलाडीमध्ये एक मेसी छन् । यस कारण फाइनल खेलमा युवा ऊर्जा र अनुभवी नेतृत्वबीचको प्रतिस्पर्धा पनि स्पष्ट रूपमा देखिने फुटबल विश्लेषकहरूको भनाइ छ । विश्व फुटबलका समर्थकका लागि यो केवल उपाधिको खेल नभई नयाँ पुस्ताको उदय वा महान् खेलाडीको अर्को ऐतिहासिक सफलताको साक्षी बन्ने अवसर पनि हुने उनीहरू बताउँछन् । दुवै टोली उत्कृष्ट लयमा रहेकाले उपाधि कसले जित्ने भन्ने अनुमान गर्न कठिन छ । यद्यपि एउटा कुरा निश्चित छ—विश्वकपको यो फाइनलमा कुनै पनि टोलीले सहज जित हासिल गर्ने अवस्था छैन । उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच अन्तिम क्षणसम्म रोमाञ्चक संघर्ष हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया