
लन्डन । पहिलोपटक फिफा विश्वकपको क्वार्टरफाइनलमा पुगेको नर्वेली राष्ट्रिय फुटबल टोलीलाई राजधानी ओस्लोमा ऐतिहासिक स्वागत गरिएको छ । टोली स्वदेश फर्किएपछि १ लाखभन्दा बढी समर्थक सडकमा उत्रिएर खेलाडीहरूलाई नायकको रूपमा सम्मान गरेका हुन् । प्रतियोगिताबाट बाहिरिनुपरेको निराशाबीच पनि देशभरका नागरिकले टोलीको प्रदर्शनप्रति गर्व व्यक्त गर्दै भव्य उत्सव मनाएका छन् । शनिबार भएको क्वार्टरफाइनल खेलमा नर्वे इंग्ल्यान्डसँग अतिरिक्त समयमा २–१ गोलअन्तरले पराजित भएको थियो । यस हारसँगै सेमिफाइनल पुग्ने नर्वेको सपना अधुरै रह्यो । तथापि, प्रतियोगिताभर टोलीले देखाएको उत्कृष्ट प्रदर्शनका कारण समर्थकहरूले उनीहरूलाई विजेतासरह सम्मान दिएका छन् ।
सोमबार दिउँसोदेखि नै ओस्लोस्थित शाही दरबार वरपरको क्षेत्र समर्थकहरूले भरिभराउ बनेको थियो । गर्मीयामको घामका बीच हजारौँ समर्थक राष्ट्रिय झन्डा बोकेर टोलीको स्वागत गर्न पुगेका थिए । अनौपचारिक अनुमानअनुसार स्वागत कार्यक्रममा १ लाखभन्दा बढी मानिसको उपस्थिति रहेको थियो । नर्वे टोलीको विमान ओस्लो विमानस्थलमा अवतरण गरेपछि परम्पराअनुसार पानीको फोहोरा (वाटर क्यानन सलामी) मार्फत स्वागत गरिएको थियो । त्यसपछि टोलीले राजधानीमा आयोजित विशेष स्वागत यात्रामा सहभागिता जनाएको थियो ।

शाही दरबारतर्फ जाने मुख्य सडक ‘कार्ल योहान्स गेट’ समर्थकहरूले भरिएको थियो । टोलीले सर्वप्रथम राजा हाराल्डसँग शिष्टाचार भेट गरेको थियो । त्यसपछि खेलाडीहरू दरबारको बाहिरी भागमा आएर समर्थकहरूलाई अभिवादन गरेका थिए । सो अवसरमा शाही सुरक्षाकर्मी सम्मानका साथ उपस्थित रहेका थिए । टोलीका स्टार स्ट्राइकर एर्लिङ हालान्ड भने अन्तिम चरणको समारोहमा सहभागी हुन सकेनन् । उनी निर्धारित विमान भेट्टाउनुुपर्ने भएकाले कार्यक्रम सकिनुअघि नै प्रस्थान गरेका थिए । यसका कारण उनी आफ्ना टोलीका अन्य सदस्यसँग दरबारको भ¥याङमा उभिएर समर्थकहरूसँग गरिएको परम्परागत ‘भाइकिङ रो’ उत्सवमा सहभागी हुन पाएनन् ।
मुख्य प्रशिक्षक स्टाले सोलबाकेनका अनुसार अमेरिकाबाट फर्किने क्रममा टोलीको उडान ४ घण्टा ढिला भएकाले हालान्ड र सान्डर बेर्गेलाई अर्को विमान समात्न हतारिनुपरेको थियो । टोलीका अन्य सदस्यहरूले भने ओस्लो सहरभर खुला बसमार्फत विजय उत्सवजस्तै स्वागत कार्यक्रममा सहभागिता जनाउँदै समर्थकहरूको अभिवादन स्वीकार गरेका थिए । विश्वकपको उपाधि जित्न नसके पनि नर्वे टोलीले प्रतियोगितामा गरेको संघर्षपूर्ण प्रदर्शनले देशभर गर्वको भावना जगाएको छ । त्यसैको सम्मानस्वरूप आयोजित यो स्वागत समारोह नर्वेको हालैको खेल इतिहासकै सबैभन्दा ठुलो नागरिक अभिनन्दनमध्ये एक मानिएको छ ।

प्रतिक्रिया