इंग्ल्यान्डविरुद्ध अर्जेन्टिना : परम्परागत प्रतिद्वन्द्वी २४ वर्षपछि ठुलो मञ्चमा आमनेसामने

अर्जेन्टिना र इंग्ल्यान्ड जारी विश्वकपमा पुनरागमन गर्न सक्ने टोलीका रूपमा चिनिएका छन् । अनुभवी खेलाडी र धारिलो आक्रमणका कारण अर्जेन्टिना केही हदसम्म बलियो देखिएको छ । इंग्ल्यान्डले पनि उल्लेखनीय सुधार गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको छ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा फुटबल जगतका २ परम्परागत प्रतिद्वन्द्वी इंग्ल्यान्ड र अर्जेन्टिना आमनेसामने हुने भएका छन् । दुई दशकपछि विश्वकपको मञ्चमा यी दुई टोलीबीच फेरि प्रतिस्पर्धा हुन लागेको हो । अमेरिकाको एटलान्टामा नेपाली समयअनुसार बुधबार मध्यराति १२ः४५ बजे हुने यस खेलले विश्व फुटबल समर्थकमाझ ठुलो उत्साह सिर्जना गरेको छ । दुवै टोली फाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । इंग्ल्यान्ड पछिल्ला केही वर्षयता प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

सन् २०१८ यता टोलीले चौथोपटक कुनै ठुलो प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको हो । यो उपलब्धि इंग्ल्यान्डको अघिल्लो सम्पूर्ण फुटबल इतिहासमा पुगेको सेमिफाइनल संख्यासँग बराबरी हो । यद्यपि टोलीको विश्वकप यात्रा सहज भने रहेन । समूह चरणमा अपेक्षाअनुसार प्रभावशाली प्रदर्शन गर्न नसके पनि नकआउट चरणमा इंग्ल्यान्डले क्रमशः सुधारिएको खेल प्रस्तुत गर्दै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो । समूह चरणपछि इंग्ल्यान्डले डिआर कंगोलाई कठिन संघर्षपछि पराजित गरेको थियो ।

त्यसपछि मेक्सिकोको प्रतिष्ठित एस्टाडियो एज्टेकामा भएको खेलमा टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आत्मविश्वास बढाएको थियो । क्वार्टरफाइनलमा नर्वेविरुद्धको प्रतिस्पर्धा निकै रोमाञ्चक बन्यो । खेलमा सुरुआती अग्रता नर्वेले लिए पनि इंग्ल्यान्डले पुनरागमन गर्दै अतिरिक्त समयमा २–१ को जित निकाल्न सफल भयो । यस खेलमा जुड बेलिंघम इंग्ल्यान्डका नायक बने । उनले लगातार दोस्रो खेलमा २ गोल गर्दै टोलीलाई जित दिलाए । यसअघि पनि उनले महत्वपूर्ण योगदान दिएका थिए । प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा रहेको इंग्ल्यान्डले लगातार ४ खेल जितेको छ र ती सबै खेलमा कम्तीमा २ गोल गरेको छ ।

तर टोलीको रक्षापंक्ति अझै पूर्ण रूपमा विश्वसनीय बन्न सकेको छैन । नर्वेविरुद्धको खेलपछि प्रशिक्षक टुचेल स्वयं पनि टोलीको समग्र प्रदर्शनबाट पूर्ण रूपमा सन्तुष्ट देखिएका थिएनन् । अर्जेन्टिनाजस्तो बलियो टोलीविरुद्ध सफल हुन इंग्ल्यान्डले आफ्नो प्रदर्शन अझै उच्च स्तरमा पु¥याउनुपर्ने देखिन्छ । इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको प्रतिस्पर्धा विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिद्वन्द्वितामध्ये एक मानिन्छ । सन् १९८६ को विश्वकपमा डिएगो म्याराडोनाले गरेको ‘ह्यान्ड अफ गड’ गोल र त्यसपछि गरेको उत्कृष्ट व्यक्तिगत गोल अझै पनि फुटबल इतिहासका चर्चित क्षणका रूपमा सम्झिने गरिन्छ । त्यसअघि सन् १९६६ मा घरेलु मैदानमा भएको विश्वकपमा इंग्ल्यान्डले अर्जेन्टिनालाई पराजित गर्दै उपाधितर्फको यात्रा अघि बढाएको थियो ।

हालसम्म यी २ राष्ट्रबीच कुल १४ पटक प्रतिस्पर्धा भएको पाइएको छ, जसमा इंग्ल्यान्डले अधिकांश खेलमा राम्रो नतिजा निकालेको छ । २ टोलीबीचको पछिल्लो भेट सन् २००५ को मैत्रीपूर्ण खेलमा भएको थियो, जहाँ माइकल ओवेन र वेन रुनीको गोलमा इंग्ल्यान्ड विजयी बनेको थियो । यद्यपि विश्वकपको नकआउट चरणमा हुने खेलको दबाब र महत्व फरक हुने भएकाले यसपटकको प्रतिस्पर्धा अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ । अर्कोतर्फ, साविक विजेता अर्जेन्टिना लगातार उत्कृष्ट लयमा रहेको छ । प्रशिक्षक लियोनल स्कालोनीको टोलीले विश्वकपमा आफ्नो उपाधि रक्षा अभियान प्रभावशाली रूपमा अघि बढाएको छ । अर्जेन्टिना विश्वकप इतिहासमा छैटौँपटक सेमिफाइनलमा पुगेको हो, र उल्लेखनीय तथ्य के छ भने टोलीले यसअघि खेलेका सबै ५ सेमिफाइनल जित्दै फाइनलमा स्थान बनाएको इतिहास बोकेको छ ।

यसपटकको यात्रा पनि अर्जेन्टिनाका लागि सजिलो भने थिएन । नकआउट चरणमा टोलीले लगातार चुनौतीपूर्ण खेल खेलेको थियो । पहिलो चरणमा विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डेविरुद्ध संघर्षपूर्ण जित निकाल्यो । त्यसपछि इजिप्टविरुद्धको खेलमा अर्जेन्टिना २–० ले पछि परेको अवस्थामा अन्तिम ११ मिनेटमा उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो । जसमा कप्तान लियोनल मेसीले पेनाल्टी गुमाउनका बाबजुद पुनः महत्वपूर्ण गोल र एसिस्ट गरेका थिए । क्वार्टरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध अतिरिक्त समयसम्म पुगेको खेलमा जुलियन अल्भारेजले सानदार गोल गर्दै टोलीलाई अन्तिम ४ मा पु¥याएका थिए ।

स्कालोनीको टोलीले गत सेप्टेम्बरयता लगातार १३ खेल जितेको छ । यदि टोलीले सेमिफाइनल र त्यसपछि सम्भावित फाइनल दुवै जित्न सकेमा अर्जेन्टिनाले आफ्नो चौथो विश्वकप उपाधि जित्नेछ । कतार २०२२ मा विश्वविजेता बनेका अधिकांश खेलाडी अहिले पनि टोलीमा छन् । यद्यपि केही खेलाडी उमेरका कारण पहिलेजस्तो तीव्र गतिमा खेल्न नसके पनि अनुभव, सीप र संघर्ष गर्ने क्षमताले अर्जेन्टिनालाई बलियो बनाएको छ ।

आक्रमणमा अर्जेन्टिना अत्यन्त प्रभावशाली देखिएको छ । टोलीले पछिल्ला ४ खेलमा लगातार ३–३ गोल गरेको छ । यस विश्वकपमा अर्जेन्टिनाले हालसम्म १७ गोल गरिसकेको छ । विश्वकपको एउटै संस्करणमा अर्जेन्टिनाले सबैभन्दा बढी १८ गोल सन् १९३० मा गरेको थियो । त्यसैले यो संस्करणमा टोलीले नयाँ कीर्तिमान बनाउने सम्भावना पनि बलियो देखिएको छ ।

टोलीका कप्तान मेसी उत्कृष्ट लयमा छन् । उनले प्रतियोगितामा ८ गोल गर्दै गोल्डेन बुटको दौडमा अग्रस्थान साझा गरेका छन् । यद्यपि उनले २ पेनाल्टी भने गुमाएका छन् । स्विट्जरल्यान्डविरुद्ध दिएको असिस्टसँगै मेसीले लगातार दोस्रो विश्वकपमा गोल र असिस्टको संख्या दोहोरो अंकमा पु¥याएका छन् । उनीसँगै जुलियन अल्भारेज र लाउटारो मार्टिनेजमध्ये एक खेलाडीले अग्रपंक्तिमा साथ दिने सम्भावना रहेको छ । मिडफिल्डमा लेआन्ड्रो परेडेसले रक्षात्मक सन्तुलन कायम गर्ने भएकाले प्रशिक्षक स्कालोनीले धेरै परिवर्तन नगर्ने अनुमान गरिएको छ । थियागो आल्माडाले बेन्चबाट उत्कृष्ट प्रदर्शन गरे पनि सुरुआती टोलीमा परेडेसलाई प्राथमिकता मिल्न सक्ने सम्भावना छ ।

इंग्ल्यान्डतर्फ भने केही खेलाडीको उपलब्धताले चिन्ता थपेको छ । राइट ब्याक जारेल क्वान्साह निलम्बनका कारण उपलब्ध हुने छैनन् । चोटबाट पूर्ण रूपमा निको नभएका रिस जेम्सलाई सुरुदेखि खेलाउने जोखिम प्रशिक्षक टुचेलले लिन चाहने सम्भावना कम छ । त्यसैले डिजेड स्पेन्स वा एज्री कोन्सामध्ये एक खेलाडीले उक्त स्थान सम्हाल्ने अनुमान गरिएको छ । रक्षापंक्तिको केन्द्रमा जोन स्टोन्स र मार्क गुएहीको जोडी रहने सम्भावना छ । मिडफिल्डर जोर्डन हेन्डरसनको नाडीमा चोट लागेपछि शल्यक्रिया गरिएको छ र उनी सेमिफाइनल खेलबाट बाहिर रहने सम्भावना छ । अर्का प्रमुख मिडफिल्डर डेक्लान राइस बिरामी परेका कारण उनको फिटनेसबारे अन्तिम निर्णय खेलअघि मात्र हुनेछ । नर्वेविरुद्ध उनी पूर्ण रूपमा लयमा देखिएका थिएनन् ।

टोलीका प्रमुख आक्रमणकर्ता कप्तान ह्यारी केनले आफ्नो १२१औँ अन्तर्राष्ट्रिय खेल खेल्दै छन् । यस्तोमा वाइन रुनीलाई पछि पार्दै उनी इंग्ल्यान्डका सबैभन्दा धेरै खेल खेल्ने आउटफिल्ड खेलाडी बन्नेछन् । समग्र कीर्तिमान भने पूर्वगोलरक्षक पिटर सिल्टनको नाममा रहेको छ । ह्यारी केन र जुड बेलिंघम दुवैले यस विश्वकपमा समान ६–६ गोल गरेका छन् र गोल्डेन बुटको प्रतिस्पर्धामा मेसीलाई पछ्याइरहेका छन् । त्यसैले सेमिफाइनल केवल टोलीगत प्रतिस्पर्धा मात्र नभई व्यक्तिगत उपलब्धिका दृष्टिले पनि महत्वपूर्ण हुनेछ ।

सम्भावित सुरुआती टोलीअनुसार इंग्ल्यान्डले गोलरक्षक जोर्डन पिकफोर्ड, एज्री कोन्सा, जोन स्टोन्स, मार्क गुएही, ओ’राइली, डेक्लान राइस, एन्डरसन, बुकायो साका, जुड बेलिंघम, एन्थोनी गोर्डन तथा ह्यारी केनलाई मैदानमा उतार्न सक्छ । अर्जेन्टिनाले एमिलियानो मार्टिनेज, नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज, निकोलास टालियाफिको, लेआन्ड्रो परेडेस, रोड्रिगो डे पल, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, लियोनेल मेसी र जुलियन अल्भारेजलाई सुरुआती टोलीमा राख्ने सम्भावना छ ।

समग्र रूपमा हेर्दा अर्जेन्टिना लगातार उत्कृष्ट लय, अनुभवी खेलाडी र प्रभावशाली आक्रमणका कारण केही हदसम्म बलियो देखिएको छ । कतार २०२२ को पहिलो खेलमा हार बेहोरेपछि अर्जेन्टिना विश्वकपमा लगातार १२ खेल अपराजित रहेको छ र प्रत्येक खेलमा कम्तीमा २ गोल गरेको छ । इंग्ल्यान्डले पनि उल्लेखनीय सुधार गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरे पनि रक्षापंक्तिका कमजोरीहरू अझै पूर्ण रूपमा समाधान हुन सकेका छैनन् । त्यसैले विश्व फुटबलका २ शक्तिशाली राष्ट्रबीच हुने यो ऐतिहासिक प्रतिस्पर्धामा अर्जेन्टिना केही अग्रस्थानमा रहेको विश्लेषण गरिएको छ । विजेताले विश्वकप २०२६ को फाइनलमा स्थान बनाउँदै उपाधि जित्ने अभियानलाई थप मजबुत बनाउनेछ ।

प्रतिक्रिया