
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । बिहीबार मुख्यमन्त्री कँडेलमाथि अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १० सांसद, राजकुमार शर्मा र कांग्रेसका ५ जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । नेपालको संविधानको धारा १८८ को उपधारा ४ र ५ बमोजिम यो प्रस्ताव दर्ता गरिएको नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए ।
बुधबार सत्तारुढ दल नेपाली कांग्रेसबाट सरकारमा सहभागी ४ जना मन्त्रीले राजीनामा दिएका थिए । कर्णाली प्रदेश सभा सचिवालय, वीरेन्द्रनगर, सुर्खेतमा आज बिहीबार दर्ता नम्बर ७१० मा दर्ता गरिएको उक्त प्रस्तावमा मुख्यमन्त्री कँडेलमाथि प्रदेश सभाको विश्वास नरहेको उल्लेख गरिएको छ ।
अविश्वासको प्रस्तावमा नेपालको संविधानको धारा १८८ को उपधारा (४) तथा कर्णाली प्रदेश सभा नियमावली, २०८१ को नियम १५२ को उपधारा (२) बमोजिम लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गरिएको जनाइएको छ ।
यसैगरी, नेपालको संविधानको धारा १८८ को उपधारा (५) बमोजिम कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि कर्णाली प्रदेश सभाका सदस्य जीवनबहादुर शाहीलाई प्रस्ताव गरिएको छ । उक्त प्रस्तावमा १६ जना प्रदेश सभा सदस्यहरूले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर गर्नेहरूमा सदस्यहरू मंगल बहादुर शाही, राज कुमार शर्मा, कृष्ण बहादुर जिसी, उर्मिला विश्वकर्मा, कल्याणी खड्का, जुम्कीत लामा (कार्की), वीरबहादुर शाही, भीम प्रकाश शर्मा, महेन्द्र केसी, मिलन खड्का रोका, रणसिंह परियार, हिकमत बहादुर विष्ट, वेदराज सिंह, सुरेश अधिकारी, विजया बुढा र कृष्ण कुमार विसी रहेका छन् ।
दर्ता भएको प्रस्तावलाई कर्णाली प्रदेश सभा नियमावली, २०८१ को नियम १५२ को उपनियम (३) बमोजिम आवश्यक प्रक्रियाका लागि आगामी सभाको बैठकको कार्यसूचीमा समावेश गरी छलफल गराउने व्यवस्थाका लागि प्रदेश सभा सचिवसमक्ष अनुरोध गरिएको छ भने यसको बोधार्थ सभामुखलाई समेत दिइएको छ ।

प्रतिक्रिया