
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिकाका विभिन्न स्थानमा शृङ्खलाबद्ध रूपमा चोरी गर्ने एक ठूलो गिरोहलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको विशेष प्रहरी टोलीले सूक्ष्म अनुसन्धान गरी चोरीका सामानसहित तीना जना विदेशी नागरिक र ६ जना नेपाली गरी कुल ९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका उनीहरूमाथि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यो गिरोहले पोखराका विभिन्न स्थानमा मध्यरात तथा बिहानको समयमा चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गिरोहले असार १४ गते पोखरा–१८ मणिमार्गस्थित हेमराज गिरीको घरबाट २५ तोला सुनका गहना र नगद रु ७० हजार चोरी गरेको थियो ।
त्यस्तै, असार ४ गते पोखरा–१७ छोरपाटनस्थित शिव प्रसाद बरालको घरबाट ०.५ तोला सुन, १ लाख ५० हजार नगद, १ थान ल्यापटप र १ थान मोबाइल चोरी भएको थियो भने असार १५ गते पोखरा–१८ भकुण्डेस्थित गिरीधारी श्रेष्ठको घरबाट २ थान मोबाइल र १ तोला ५४ लाल सुनका गहना चोरी भएको प्रहरीले जनाएको छ ।
गिरोहले असार २३ गते पोखरा–८ ज्ञानकुञ्ज मार्गस्थित मोहसेन खातमीको कोठाबाट १ थान मोबाइल र नगद रु २५ हजार तथा सोही दिन पोखरा–६ लेकसाइडस्थित हिरामणी लामिछानेको घरबाट १ थान आइफोन लगायतका सामानहरू चोरी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्ने विदेशी नागरिकहरूमा भारतको उत्तर प्रदेशका २३ वर्षीय राहुल निषाद, भारत महाराष्ट्रका ४० वर्षीय सोमनाथ हनुमन्त जाधव, चीन गुइझोउका ३० वर्षीय वेन जी र चीन शानडोङका ३७ वर्षीय वाङ लियानयिन रहेका छन् ।
यसैगरी पक्राउ पर्ने नेपाली नागरिकहरूमा स्याङ्जा चापाकोटका ४२ वर्षीय राजकुमार बिक, कास्की अन्नपूर्णका ५० वर्षीय राजु केसी भनिने खिम बहादुर क्षेत्री, अर्घाखाँची भूमिकास्थानका २९ वर्षीय अशोक पोखरेल, पोखरा दीपका ५१ वर्षीय केशब पाइजा मगर र बागलुङका २७ वर्षीय अनिल बिक रहेका छन् ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट चोरी भएका ९ थान मोबाइल फोन, १ थान स्मार्ट घडी, १ थान ल्यापटप र १.३९४ तोला तौल भएको १ थान सुनको ब्रासलेट समेत बरामद गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया