
नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको सहयोगमा स्तरोन्नतिको क्रममा रहेको छ । गत वर्ष चीनतर्फको ल्हेन्दे खोलामा आएको बाढी ले सडकका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएपछि पुनर्निर्माणसँगै सडकलाई दुई लेनमा विस्तार गर्ने काम अघि बढाइएको हो । निर्माण कार्य जारी रहेकाले वर्षायाममा सडकका धेरै स्थान हिलाम्मे बनेका छन् । सडक खन्ने, चौडा पार्ने काम भइरहेका कारण मालवाहक सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको छ। विशेष गरी नेपाल–चीनबीच आयात–निर्यात हुने कन्टेनर र ठूला ट्रकहरूलाई साँघुरो तथा हिलोयुक्त सडक पार गर्न समस्या हुने गरेको छ ।
रसुवागढी नाका चीनसँगको नेपालको सबैभन्दा व्यस्त उत्तरी व्यापारिक नाका हो । दैनिक रूपमा सयौं मालवाहक सवारीसाधन यही मार्ग हुँदै चीनको केरुङबाट नेपाल प्रवेश गर्ने र नेपालबाट सामान निर्यात हुने गर्छ । यही कारण सडकको क्षमता वृद्धि र सुरक्षित सञ्चालनलाई प्राथमिकतामा राख्दै दुई लेनको आधुनिक सडक निर्माण थालिएको हो ।

गत वर्षको बाढीले सडकका केही भाग बगाएको, पर्खाल भत्काएको तथा पहिरोको जोखिम बढाएको थियो । त्यसपछि चीन सरकारले क्षतिग्रस्त सडक पुनर्निर्माणसँगै दीर्घकालीन रूपमा सुरक्षित बनाउने उद्देश्यले स्तरोन्नतिको काम अघि बढाएको हो। निर्माणमा सडक चौडा पार्ने, नयाँ रिटेनिङ वाल, कल्भर्ट तथा पहिरो नियन्त्रणका संरचना निर्माण भइरहेको छ ।
निर्माण सम्पन्न भएपछि स्याफ्रुबेसी–रसुवागढी सडकमा दुईतर्फी सवारीसाधन सहज रूपमा सञ्चालन गर्न सकिने, यात्रा समय घट्ने तथा मालवाहक ट्रकको आवागमन थप सुरक्षित र प्रभावकारी हुने छ । यसले नेपाल–चीनबीचको व्यापार, पर्यटन तथा रसुवागढी नाकाको आपूर्ति व्यवस्थालाई समेत थप सहज बनाउने विश्वास गरिएको छ ।

यद्यपि वर्षायामका कारण निर्माण कार्य केही प्रभावित भएको छ। सडकमा हिलो, खाल्डाखुल्डी र पहिरोको जोखिम कायम रहेकाले यस मार्ग प्रयोग गर्ने सवारी चालकलाई उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् । निर्माण कार्यलाई चरणबद्ध रूपमा तीव्र बनाउँदै सकेसम्म चाँडो सडकलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाउने तयारी भइरहेको छ ।
भिडियाे : सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी




प्रतिक्रिया