
काठमाडौं । काठमाडौंको नागढुंगा र धादिङको सिस्नेखोला जोड्ने नेपालकै पहिलो सडक सुरुङमार्गमा शनिबार ‘नागढुंगा टनेल फन रन एण्ड वाक’ कार्यक्रम आयोजना गरिएको छ ।
निर्माण सम्पन्न भएको करिब एक वर्षपछि आगामी साउन ११ गतेदेखि परीक्षण सञ्चालन गर्ने तयारी भइरहेका बेला सर्वसाधारणको सहभागितामा सुरुङभित्र दौड तथा पदयात्रा कार्यक्रम गरिएको हो ।
सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा सुरुङमार्गको अवलोकनसँगै यसको सञ्चालन तयारीबारे जानकारी गराइएको थियो ।
विभिन्न प्राविधिक, व्यवस्थापकीय तथा कानुनी प्रक्रिया पूरा गर्न समय लागेकाले सुरुङमार्ग सञ्चालनमा ढिलाइ भएको सडक विभागले जनाएको छ । विभागका अनुसार सुरुङमार्गको औपचारिक उद्घाटन साउन ११ गते गर्ने तयारी छ । उद्घाटन कार्यक्रममा जाइकाका प्रतिनिधिहरू समेत सहभागी हुने छन् ।
सुरुआती चरणमा सुरुङमार्ग परीक्षणका रूपमा सञ्चालन गरिने छ भने पूर्ण व्यावसायिक सञ्चालनमा आउन अझै करिब दुईदेखि तीन महिना लाग्ने अनुमान गरिएको छ ।
परीक्षण अवधिमा सुरुङ प्रयोग गर्ने सवारी साधनबाट कुनै शुल्क नलिइने भए पनि नियमित व्यावसायिक सञ्चालन सुरु भएपछि सरकारले निर्धारण गरेको शुल्क लागू गरिने छ ।
सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–नागढुंगा सडकखण्डमा हुने सवारी जाम उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ । हाल बलम्बुदेखि सिस्नेखोलासम्मको करिब ७.५ किलोमिटर दूरी सुरुङमार्गमार्फत करिब ५ किलोमिटरमा सीमित हुने र यात्रा समय पनि झन्डै आधाले घट्ने विश्वास गरिएको छ ।
सडक विभागका अनुसार सुरुङभित्र अक्सिजन आपूर्ति, अग्नि नियन्त्रण, सुरक्षा निगरानी, सञ्चार, विद्युत् आपूर्ति, भेन्टिलेसन तथा टोल शुल्क संकलन प्रणालीसहित आवश्यक सबै पूर्वाधार जडान र परीक्षण सम्पन्न भइसकेको छ ।
नेपालकै पहिलो सडक सुरुङमार्ग भएकाले यसको सञ्चालनसम्बन्धी कानुनी, प्राविधिक तथा व्यवस्थापन प्रणाली तयार गर्न अतिरिक्त समय लागेको विभागको भनाइ छ ।– तस्विर नेपाल फोटो लाइब्रेरी
















प्रतिक्रिया