कमाउन गएका नेपाली श्रमिक मदिरामा मस्त !

काठमाडौँँ । वैदेशिक रोजगारीका लागि नेपालीहरूको प्रमुख गन्तव्य देश हो– संयुक्त अरब इमिरेट्स (युएई) । गत आर्थिक वर्षको आँकडाअनुसार सबैभन्दा बढी नेपाली रोजगारीका लागि युएई गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा ७ लाख ४१ हजार २९७ जना नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएकामा युएईमा मात्र १ लाख १० हजार १७३ जना गएका छन् । रेमिट्यान्समा पनि युएई गएका नेपालीको महत्वपूर्ण योगदान छ ।

समग्रमा हेर्ने हो भने नेपालको अर्थतन्त्रमा युएईमा रहेका नेपाली श्रमिकहरू महत्वपूर्ण मानिन्छन् । तर, पछिल्लो केही समयदेखि त्यहाँ रहेका नेपालीहरूको अस्वाभाविक गतिविधि र व्यवहारका कारण युएईमा नेपाली श्रम बजारप्रतिको दृष्टिकोण फेरिएको छ । कुनै बेला अब्बल दर्जामा गनिने नेपाली श्रमिकहरू अहिले शंकाको घेरामा छन् ।

सार्वजनिक स्थानमा मदिरा सेवन र झगडा, लागुऔषधको कारोबार जस्ता गैरकानुनी गतिविधिमा नेपाली श्रमिकको संलग्नता बढ्दो छ । यस्ता घटनाले नेपाली श्रमिकहरूको छवि संकटमा मात्र पारेको छैन, त्यहाँ रहेका अन्य नेपाली पनि युएई सरकारको अनुसन्धानको दायरामा तानिएका छन् ।

त्यहाँको स्थिति यति नाजुक अवस्थामा पुगिसकेको छ कि गत ९ मार्चमा युएईस्थित नेपाली राजदूतावासले सूचना नै जारी गरेर त्यहाँस्थित नेपालीलाई सजग रहन आग्रह गुर्नप¥यो । दूतावासले सूचनामार्फत् नेपालीहरूलाई सभ्य र शिष्ट हुन तथा मर्यादित बन्न अग्रह गरेको छ । ‘आफू कार्यरत कम्पनी र बसोबास गर्ने स्थानमा सधैँ सभ्य र शिष्ट व्यवहार प्रदर्शन गर्न, आफ्नो पेसा र व्यवसायप्रति सधैँ इमानदार, कर्तव्यनिष्ठ र अनुशासित भई कार्य गर्न नेपाली राजदूतावास सबैमा हार्दिक अनुरोध गर्दछ,’ राजदूतावासले जारी गरेको सूचनामा भनिएको छ ।

युएईबाट नेपालीहरू डिपोर्ट हुनुको मुख्य कारण मादक पदार्थ सेवन र झैझगडा रहेको दूतावासले उल्लेख गरेको छ । दूतावासले मादक पदार्थ सेवन गरी झैझगडा गरेकै कारण पछिल्ला दिनमा डिपोर्ट हुने नेपालीको संख्यामा वृद्धि भएको प्रष्ट पारेको छ । दूतावासबाट जारी सूचनामा भनिएको छ, ‘विगत केही समयदेखि नेपालीहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्ने प्रवृत्ति बढेको र यसरी मादक पदार्थ सेवन गरी झैझगडा गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाहीसहित नेपाल फिर्ता पठाउने गरेको हुँदा यसतर्फ समयमै सचेत रहन दूतावास सबैमा अनुरोध गर्दछ ।’

राजदूतावास नै यसरी सूचना निकाल्न बाध्य हुनुले पनि युएईमा नेपालीको वर्तमान अवस्थाबारे सहजै अनुमान लगाउन सकिन्छ । बितेको ६ महिनाको अवधिमा मात्र करिब २५ सयभन्दा बढी नेपाली युएईबाट डिपोर्ट (निष्कासित) भइसकेका छन् । सयौँको संख्यामा निष्कासित हुुने प्रक्रियामा छन् । पछिल्लो तथ्यांकअनुसार करिब १५ हजार नेपाली गैरकानुनी रूपमा युएईमा बसोबास गरिरहेका छन् ।

निष्कासित हुने सबैजसो अवैध मदिरा सेवन, झगडा, लागुऔषध सेवन जस्ता गैरकानुनी काममा संलग्न भएको पाइएको छ । अधिकांश नेपाली श्रमिक अवैध मदिरा सेवन र लागुऔषधको कारोबारमा संलग्न रहेको पाइन्छ । युएईमा लागुऔषध सेवन र ओसारपसारमा निकै कडा कानुनी व्यवस्था छ । सार्वजनिक स्थानमा रक्सी सेवन र झैझगडा गर्नु गैरकानुनी कार्य हो । नेपाली श्रमिकहरूको पहिलो रोजाइको गन्तव्य युएई भएकाले यसले वैदेशिक रोजगारमा पनि प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।

युएईमा हाल कति नेपाली छन् ? भन्नेबारे एकिन तथ्यांक छैन । कतिपय नेपाली श्रमिकका रूपमा छन् भने कतिपय नेपाली व्यावसायिक रूपमा त्यहाँ बसोबास गर्दै आएका छन् । श्रमिक नेपालीहरू पनि ओहोरदोहोर गरिरहने भएकाले एकिन तथ्यांक नेपाल सरकारसँग पनि छैन । तर, करिब साढे ३ लाखभन्दा बढी नेपाली युएईका विभिन्न सहरमा रहेको अनुमान छ । जसमध्ये सबैभन्दा धेरै दुबई र आबुधाबीसँगै सारजहाँमा छन् ।

प्रतिक्रिया