कानुन विपरीत काम गर्नेलाई सहयोग गर्न सकिन्न : एनआरएनए

युएईमा दर्जनाैं नेपाली युवायुवती दुव्र्यसनमा फस्दै

दोहा । कानुन विपरीत काम गर्नेलाई सहयोग गर्न नसकिने एनआरएनए युएईले स्पष्ट पारेको छ । कानुन उल्लंघन गर्ने नेपालीहरूको संख्या बढ्दै गएपछि गैरआवासीय नेपालीहरूको यो संस्थाले त्यहाँस्थित नेपालीहरूलाई गैरकानुनी गतिबिधि नगर्न सचेत गराएको हो ।पछिल्लो समय रोजगारीको लागि संयुक्त अरब इमिरेट्स (युएई) पुगेका दर्जनौँ नेपाली युवायुवतीहरू दुव्र्यसनमा फस्दै गरेको पाइएको छ । युएईको कानुन विपरीत काम गर्ने सयौँ नेपालीहरू यति बेला यहाँको जेलजीवन बिताइरहेका छन् ।

एनआरएनएले एक सूचना जारी गर्दै युएईमा विभिन्न माध्यमबाट हरेक दिन यहाँ वस्ने दर्जनौँ नेपाली युवायुवतीहरू दुव्र्यसन गर्ने, प्रतिबन्धित चीजहरू ओसारपसार तथा बिक्रीवितरणमा संलग्न हुने गरेको तथ्य फेला परेको जनाएको छ । यसरी गैरकानुनी काम गर्दा धेरै नेपालीहरूलाई युएई प्रहरीले पक्राउ गरेको र नेपालबाट उद्धारको पहल गरिदिन अनुरोध तथा गुनासो आउने गरेको भन्दै गैरकानुनी काममा सहयोग गर्न नसकिने भएकोले त्यस्ता क्रियाकलापमा संलग्न नहुन एनआरएनएले भनेको छ ।

‘हामी सम्पूर्ण नेपाली समुदायमा यस्ता जघन्य अपराधमा संलग्न नहुन सार्वजनिक आह्वान गर्दछौँ’ एनआरएनएले जारी गरेको सूचनामा भनिएको छ, ‘युएईको कानुनको सम्मान गर्न र कानुनको बर्खिलाप कुनै पनि गतिविधि नगर्न सचेत गराउछौँ ।’ गैरकानुनी काम गर्दा व्यक्तिगत स्वास्थ्य, करियर र जीवन नै ध्वस्त हुने र यस्ता गतिविधिले यहाँ बस्ने नेपाली समुदायलाई हाल प्राप्त भइरहेको सहयोग र सम्मानमा पुग्ने क्षतिप्रति गम्भीर हुन पनि एनआरएनएले अनुरोध गरेको छ । सूचनामा यस्ता आपराधिक गतिविधिमा संलग्न भई कसुर प्रमाणित भएर अदालतबाट सजाय पाएमा यसमा एनआरएनए एनसिसी युएईले कुनै सहयोग गर्न नसक्ने जनाएको छ ।

पछिल्लो समय एनआरएनए युएईका उपाध्यक्ष राहत तथा उद्वार समिति संयोजक भीम मल्ल ठकुरीको नेतृत्वले त्यहाँ भिजिट भिसालगायत अन्य विभिन्न कारणले समस्यामा परेका नेपालीको उद्धार तथा हवाई टिकट उपलब्ध गराएर नेपाल फर्काउँदै आएको छ ।
युएईमा लागुऔषध कानुन अत्यन्तै कडा छ । यहाँ लागुऔषध तस्करीमा संलग्न हुनेलाई आजीवन कारावासको सजाय हुन सक्छ । यसैगरी लागुऔषध प्रयोगकर्तालाई चार वर्ष जेल र व्यक्ति हत्यामा संलग्न रहेको पाइएमा जन्मकैद हुने व्यवस्था छ । अन्य अपराधहरूमा दंगा फैलाउने, चोरी गर्ने, डकैती गर्ने, मदिराको अवैध उपभोग, जुवा आदि छन् ।

जेल परेका अधिकांश नेपालीहरू मद्यपान, लागुऔषध सेवन एवं ओसारपसार, झैझगडा, चोरी, हत्या किर्ते कागजात बनाउने लगायतका अपराधमा आरोपित पाइएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । युएईमा विभिन्न पेसा गरी बस्ने करिब चार लाखको हाराहारीमा नेपाली छन् ।

प्रतिक्रिया