ओमानमा आठ नेपालीले चार महिनादेखि तलव पाएनन्

दोहा । आकर्षक रोजगारीको प्रलोभनमा परी ओमान पुगेका आठ नेपाली युवा समस्यामा परेका छन् । विगत पाँच महिनाअघि ओमान पुगेका उनीहरूले सम्झौता अनुसारको तलब नपाएपछि समस्यामा परेका हुन् । काठमाडौंको बूढानीलकण्ठमा रहेको मेनपावर लिंकमार्फत ओमानको अल नामामी गार्मेन्ट कम्पनीमा पुगेका उनीहरू सम्झौता विपरीत काम लगाए पनि तलब समयमा नदिएपछि आफूहरू समस्या परेको मोरङ रंगेली नगरपालिकाका इजरयल अन्सारीले जानकारी दिए ।

मेनपावरले १ सय ५० ओमानी रियल (करिब ५१ हजार नेपाली रुपैयाँ) मासिक तलब दिने आश्वासन दिएर प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएर ओमान आएको उनीहरूले बताएका छन् । ‘राम्रो कमाइ हुने भन्दै विदेश नागरिकको ड्रेस सिलाउने कामका लागि भनेर यहाँ आएका हौ’, अन्सारीले भने, ‘सम्झौतापत्र मासिक तलब १ सय ५० ओमानी रियल पाउने भनिएको थियो, तर यहाँ आइपुगेपछि १ सय ३० रियल मात्र दिने भन्यो ।’

‘बेसिक १ सय ३० रियलमै भए पनि पाँच महिना काम गर्यौँ, एक महिनाको मात्र तलब दियो, चार महिनाको तलब पाउनै बाँकी छ’, उनले थपे । ‘घरबाट सैकडा तीन रुपैयाँको ब्याजमा ऋण काढेर राम्रो कमाइ हुने आशमा यहाँ आएका थियौँ, यहाँ आएर न सम्झौता अनुसारको काम नै पाइयो न त दाम नै’ अर्का पीडितले सौर्य दैनिकसँग भने, ‘अब कसरी साहूको ऋण तिर्ने हो ?’ घरपरिवारले फोन गर्दा पैसा पठाउनु भन्छन् के पठाउने ?’

नेपालमा मेनपावरले खाना आफ्नै पैसाले खानुपर्ने र बस्न कम्पनीले दिने सहमति गरेको भए पनि अहिले सहमति विपरीत बस्ने ठाउँको पनि १० रियल काट्ने गरेको उनीहरूले बताएका छन् । आफूहरूले भनेअनुसार काम र तलब नपाएपछि मेनपावरसँग कुरा गर्दा कम्पनी मालिकसँग कुरा गरेर बेसिक १ सय ३० रियलमै काम लगाउने व्यवस्था गर्छांै भने पनि अहिलेसम्म कुनै समस्या समाधान नभएको उनीहरूको भनाइ छ ।

आफू सम्झौताअनुसार काम पाए गर्ने र नपाए सकुशल उद्धार गरी स्वदेश फर्कने वातावरण मिलाइदिन र म्यानपावरका सञ्चालकलाई कारबाही गरी क्षतिपूर्ति दिलाइदिन उनीहरूले नेपाल सरकार, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

पछिल्लो समय कम्पनीको मालिक आएर पालैपालो एक–एक गरेर सबैलाई बिनातलव नेपाल पठाउने धम्की दिएको उनीहरूले बताएका छन् । समस्यामा पर्नेहरूमा इजरयल अन्सारी, महमद अनिश अन्सारी, कर्म सिंह राजबंसी, सुकुरचन राजबंसी, सिद्दिक अली र अन्य तीन जना रहेका छन् ।

यता, उनीहरूलाई पठाउने मेनपावर लिङ्कका प्रतिनिधिसँग कुरा गर्दा कम्पनीले समयमा तलब नदिएको करण समस्या आएको बताए । पीडितहरूले समयमा तलब नपाएको गुनासो मेनपावर आएको भन्दै ती प्रतिनिधिले एक हप्ताभित्र ओमान पुगेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया