बलि एक विवेचना

आफ्नो मासु बढाउन अरूको मासु खान हुन्न, नखाउ । आफ्ना सबै अंग दुरुस्त र स्वच्छ राख । स्वच्छ बन, सफा बन, तामसी कुरा नखाउ । यसका लागि तिम्रो शरीरको मासु बढाउनु नै पर्दछ भन्ने छैन । शरीरको मासु बढाउन वैकल्पिक उपाय धेरै हुन्छन् । हात्ती, गैंडा आदिलाई हेर सबै रहस्य बुझ्दछौ । मांसाहारी जीवको आयु कम हुन्छ । मांस भक्षणले तिमी त केही समयका लागि बलियो बन्छौ तर तिम्रो आयु बलियो हुन्न

मोहनप्रसाद सापकोटा

बलि शब्दको प्रयोग वेदहरूमा पनि भएको छ । अश्वमेध, गोमेध आदि यज्ञहरू गर्दा यो शब्द पटकपटक प्रयोग भएको देखिन्छ । भाष्यकारहरूले आफू शाकाहारी वा मांसाहारी जे छ त्यस अनुसार यस्को आआफ्नै ढंगले व्याख्या गरेका छन् । हाम्रो विवाहमा प्रयोग हुने मन्त्रमा पनि बलि शब्दको प्रकारान्तरले प्रयोग भएको छ । यहाँ प्रयुक्त गवालम्बन शब्दमा पनि अर्थलाई लिएर मतैक्यता छैन । बलिको प्रचलित अर्थ पशु हिंसा नै हो । यद्यपि नरिवल, कुभिण्डो आदि बलि दिने प्रावधानहरू पनि शास्त्रमा अनेकपटक अनेक प्रसंगमा दिइएका छन् । पशु हिंसाको अभिप्रायः मासु खानु नै हो । मैले अहिलेसम्म मासु खान हुने र नहुने विषयमा जेजति शास्त्रीय वचन संकलन गरेको छु । त्यो सबै यहाँहरूलाई सेयर गर्न सक्दिनँ, धेरै छ । सारका रूपमा केही लेख्न अनुमति चाहेँ ।

आफ्नो मासु बढाउन अरूको मासु खान हुन्न, नखाउ । आफ्ना सबै अंग दुरुस्त र स्वच्छ राख । स्वच्छ बन, सफा बन, तामसी कुरा नखाउ । यसका लागि तिम्रो शरीरको मासु बढाउनु नै पर्दछ भन्ने छैन । शरीरको मासु बढाउन वैकल्पिक उपाय धेरै हुन्छन् । हात्ती, गैंडा आदिलाई हेर सबै रहस्य बुझ्दछौ । मांसाहारी जीवको आयु कम हुन्छ । मांस भक्षणले तिमी त केही समयका लागि बलियो बन्छौ तर तिम्रो आयु बलियो हुन्न ।

मासु नखाइ बस्न सक्दै सक्दैनौ, सपना र जागृत अवस्थामा पनि त्यसैको तलतल लागिरहन्छ भने त्यसबेला मनलाई मारेर व्यवहारिक जीवनमा हठात् शाकाहारी नबन । यसले पनि तिमी रोगी हुन्छौ, तिम्रा सबै इन्द्रियहरू नजानिँदो किसिमले शिथिल हुन थाल्दछन् । तर यसरी खाँदा पनि आफूले मान्ने गरेका कुनै पनि देवीदेउतालाई साक्षी राख र हिंसा गर्नेदेखि खाने सम्मका प्रक्रियामा सकेसम्म धेरै व्यक्तिलाई सहभागी बनाउ । यसले गर्दा तिमीमा हत्याको हीनताबोध कम हुनेछ र तिमी फेरी रोगी हुनबाट जोगिनेछौँ । किनकी दीर्घकालसम्म हीनताबोध हुनु भनेको रोगलाई आश्रय दिनु नै हो ।

बलि प्रथाको वृद्धिको अर्को कारण तन्त्रमन्त्र हो । तन्त्रमन्त्र दुई किसिमका हुन्छन् । हानी गर्ने र लाभ गर्ने । यसका कठोर र निर्मम विधिहरू छन् । जस्ले ठूलो परिश्रम गरेर धेरै वर्ष लगाएर सिद्धि प्राप्त गर्दछ । उसको त्यो मन्त्रशक्ति पनि प्रयोग गर्दै जाँदा घट्दछ । तब त्यो घटेको शक्तिलाई पुनः प्राप्त गर्न (रिचार्ज गर्न) त्यहाँ दिने र लिनेका बीचमा सम्झौता भएको हुन्छ (गिभ एन्ड टेकको थ्योरी) । लेनदेनको सम्झौता कुनै द्रव्य वा वस्तुमा नभई बलिमा भएको हुन्छ । समयले यो तन्त्रमन्त्रको विधिलाई समाजमा त्यत्तिकै फैलाइदियो र जो पनि भाकल गर्ने हुन थाले । ‘मेरो यो काम बनोस् म हजुरलाई यसो गर्दछु, यो यतिवटा चढाउँछु’ भनेर निर्दोष जीवको जीवनलाई बुद्धिमानहरूले अदृश्य शक्तिसँगको लेनदेनको माध्यम बनाउन थाले ।

दुर्गाको आराधना गरिरहेका छौँ, बलि चढाइरहेका छौँ । यसको एउटा अचम्मको पक्ष छ । हरेक पशुपंक्षीको पुरुष जातिलाई मात्र प्रायः हरेकतिर बलि दिइन्छ र त्यो पनि प्रायः स्त्रीका लागि । यसबाट के प्रष्ट हुन्छ भने हरेक पुरुष जीवले आआफ्ना प्रजनन इन्द्रीय नियन्त्रण गर्नु (बलि दिनु) नत्र प्रकृति (देवी) ले अनियन्त्रित इन्द्रीय भएका जीवको संहार गरिदिन्छिन् । हामी बलि चढाउँ वा नचढाउँ तर बलिको वास्तविक रहस्य बुझेर बलि चढाउनुपर्ने मुख्य कुरा बलि चढाउन भने नबिर्सौ (इन्द्रिय दमन) । हामी जसरी बलि दिइरहेका हुन्छौँ, प्रकृतिले हामीलाई त्यसै गरी बलि नदेओस् ।

कुलायन पूजा र बली

समान गोत्र र थर भएका जातिबन्धुहरूको विन्द्रालो वा खानदानलाई कुल भनिन्छ । कुलले मान्दै आएका प्रमुख देवीदेवता, स्थानीय देवीदेवता र कुलमा जन्मिएका देवत्व प्राप्त (देवेदेवी समान शक्तिशाली वा मानव मात्रको विशेष कल्याण गरी सबैले देवी वा देवता समान मानेका) व्यक्ति विशेषको पूजा गर्ने चलनलाई कुलदेवता पूजा वा कुलायन पूजा भनिन्छ ।

कुनै देवी देवतालाई कुल विशेषका कुनै पुर्खाले कठोर तप गरी खुसी पारी आफ्नो कुलको सुरक्षार्थ राजी बनाई ती देवीदेवताको नियमित वा वार्षिक रूपमा पूजा आजाआजा गर्ने गरी चलाइएको परम्परागत पूजा पहिलो खालको कुलायन पूजा हो । यसमा देवीका कुनै रूप, भैरवका कुनै रूप अथवा अरू कुनै प्रमुख देवदेवी वा तिनको कुनै रूपको पूजा हुन्छ । सामान्यतः यस्ता कुलायन देवदेवीलाई त्यो कुल बसाइँसराइ गरेर जता जान्छ उतै लिएर गइन्छ । नगए पनि आफू गएर बसेको नयाँ ठाउँमा त्यही नामका देवीदेवताको विधिपूर्वक मन्दिर स्थापना गर्ने गरिन्छ ।

उपत्यकाका तीनै जिल्लामा तथा अन्यत्र स्थापना भएका तुलजा भवानीका मन्दिर, नेवार जातिको बसोबास भएका प्रमुख स्थानमा हुने भैरवका मन्दिर आदि यसका उदाहरण हुन् । आफू गएर बसोबास गरेको स्थानमा आफ्नो कुलमा कुनै संकट आउँदा कुलका सबै सदस्य बसी कुनै स्थानीय देवीदेवताको स्थानीय प्रभुत्व पहिचान गरी ती स्थानीय देवीदेवतालाई आवाहन गर्दै विधिपूर्वक स्थापना गरिएको हुन्छ । यस्ता स्थानीय देवीदेवताको स्थापना गर्दा तन्त्रमन्त्रमार्फत कुल र ती देवीदेवताका बीचमा प्रायः ससर्त सम्झौता गरिएको हुन्छ । ‘हामी हजुरलाई यसो गर्दछौं हजुरले हाम्रो कुललाई रक्षा, वृद्धि गर्नु पर्दछ….आदि) ।

तेस्रो थरी कुलायन पूजा कुलमा जन्मेको विशेष शक्तिशाली वा तपस्वी व्यक्तिलाई देवी वा देवता मानेर हुने गर्दछ । समयको कुनै खण्डमा कुलको कसैले गरेको कठोर साधनास्वरूप, सतमा बसेका कसैलाई अन्याय हुँदा निजले दिएको श्राप मत्थर गर्नका लागि अथवा कुलमा कसैले महापाप गरी त्यसको असरले कुल दग्ध हुन लाग्दा उसले गरेको पाप बाँडेर लिने गरी जुन कुलायन पूजा गरिन्छ त्यो तेस्रो थरी कुलायन पूजा हो ।

कुलायन पूजा कुलपूजा होइन । कुनै लहरोमा जन्मेका वा जन्मने कुनै पण्डित आदिका लागि कुलायन पूजा गरिन्न । त्यसको पितृकर्मका बेग्लै विधान छन् । गलत अर्थ नलगाइयोस् ।

बलि

बलि शब्द अहिले जीव हिंसाको अर्थ प्रधान भएर निस्केको छ । हेरौँ केही अर्थहरू :–

(क) आफूले दैनिक उपभोग गर्ने चिज अरू मानिस वा जीवलाई समेत श्रद्धापूर्वक दिनु । जस्तैः पञ्चबलि वा बलिकर्म ।

(ख) पूजामा केही कुरा आराध्यलाई अर्पण गर्नु । चण्डीको १३औँ अध्यायमा भनिएको छ ‘ती दुबैले आफ्ना शरीरको रगतले सिंचित बलि दिँदै लगातार तीन वर्षसम्म संयमतापूर्वक (देवीको) आराधना गरिरहे’ ।

(ग) धेरैका हीतका लागि मर्नु वा मारिनु । जस्तै ः ‘देशले रगत मागे मलाई बलि चढाऊ’ ।

(घ) एक दानवराज जो अति दानी भएका कारण पाताल भास्सिन बाध्य भए । जस्तैः (अति दानात् बलिर्बध्धो) ।

(ङ) पेटभित्र रहेको एक अवयव । आदि ।

प्रतिक्रिया