
जेठ महिनाको व्यस्तता अलि बढी नै थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को तयारी सन्दर्भमा गरिएको पत्रकार सम्मेलनमा पनि उपस्थित हुन नसक्दा खल्लो महसुस भइरहेको थियो । २०८०÷०२÷१५ अर्थात् गणतन्त्र दिवसको दिन प्रदर्शनीको उद्घाटन भयो । पुग्न सकिनँ । १६ गते बित्यो, १७ गते बित्यो समय व्यवस्थापन गर्नै सकिएन । आयोजक मित्रको अनुरोध नमानेको जस्तो भइरहेको थियो । १८ गते बिहान मित्र पुरुषोत्तम रिजालको फोन आयो । थप एक÷दुई काम पनि भएकाले भेट गर्ने सल्लाह भयो । झण्डै दिउँसो १ बजेतिर हामी नक्सालमा रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको भवनतर्फ लाग्यौँ । हामी व्यक्ति भेट्न भएका थिएनौँ । देशभरिका कलाकारले तयार गरेका कलाकृतितर्फ हाम्रो चासो थियो । हामी सरासर अरनिको प्रदर्शनी कक्षतर्फ लाग्यौँ । पुग्नेबित्तिकै कार्यालयको तर्फबाट प्रदर्शनी कक्षमा खटेका कर्मचारीको साथमा रहेका कलाकार रामकृष्ण भण्डारीसँग भेट भयो । झोला बोकेर भित्र छिर्न हुने वा नहुने अलमलमा परियो । केही फरक नपर्ने भनेपछि हामी प्रदर्शनी कक्ष छिर्यौं ।
प्रदर्शनी कक्षमा प्रवेश गर्नेबित्तिकै हामीलाई स्वागत गर्न दुई हात जोडेर बसेकी युवतीको चित्र देखेर हामी मोहित भयौँ । कलाकार आलोक गुरुङद्वारा निर्मित चित्रको शीर्षक ‘नमस्ते’ थियो । जति हामी आँखा पर लैजान खोज्थ्यौँ प्रत्येक चित्रले मलाई हेरिराख भन्ने गरेको भाव हुन्थ्यो । अच्युत महर्जनको ‘दैनिक जीवन’ चित्रले हामीलाई फेरि धेरैबेर रोक्यो । मित्र पुरुषोत्तम रिजाल अमूर्त कला मनपराउने कलापारखी, मलाई भने अमूर्तले बरालिदिने । कता–कता मलाई नेपालको कृषि र कृषिसँग पर्यटन अनि पर्यटन आदिलाई जोड्ने माध्यम हुने कलाको महत्वको याद आयो । हामीले हेर्नु पर्ने धेरै कला त्यहाँ राखिएको थियो । समय दिउँसो भएर होला भीडभाड भने थिएन । शान्त प्रदर्शनीकक्षमा केही जोडी र केही छुट्टाछुट्टै कलापारखीहरू चुपचाप कलाकृति हेर्दै थिए । हामी दुई मिल्ने साथी त्यसमा पनि परिचित र अपरिचित कलाकारका बारेमा र कलाको गहिराइका बारेमा छलफलसमेत गर्दै अगाडि बढ्यौं । मित्र पुरुषोत्तम रिजाल भन्दै हुनुहुन्थ्यो कला कलामात्र होइन सभ्यता, सोच र कर्मको सङ्गम पनि हो । म कलाकृतिमै रमाइरहेको थिएँ । कहिले महाकालको चित्रले त कहिले ‘चित्कार’ शीर्षक दिइएको नारीको पोशाकले सर्वोच्च अदालतलाई घेरिएको कलाकृति रक्तरञ्जित चित्रले ध्यान खिच्यो । कलाकार सोचका धनी त हुन्छन् नै उनीहरूको कल्पनाले वर्तमानको यथार्थ अवस्थालाई कत्ति नडराई प्रस्तुति दिइएको हुन्छ । कतिपय कलाकृति बुझ्न धेरैबेर लाग्ने मात्र होइन बुझेर पनि बुझाउन नसकिने खालको हुँदोरहेछ । त्यसो त मान्छे आफ्नो ज्ञान, सीप र योग्यताअनुसार नै विषयलाई ग्रहण गर्दोरहेछ ।

मेरो ध्यान लोकजीवनसँग सम्बन्धित कलाकृतितर्फ आकृष्ट भई नै रह्यो । अश्विन काफ्लेको ‘नेवारी संस्कृतिको उत्सव’, विगन राईको ‘साकेला सिली’, विश्वनाथ रिजालको ‘लाखे’, दलबहादुर राईको ‘आदिवासी आमा र प्रकृति’, दुर्गा थापा मगरको ‘मारुनी नाच’, गौतमरत्न बज्राचार्यको ‘जंक्व’, गोपाल चित्रकारको ‘गफगाफ’, जस्मिन राजभण्डारीको ‘भ्रुणहत्या’, जीतबहादुर रायमाझीको ‘मनोसङ्घर्ष’, के.के. कर्माचार्यको ‘मोसन’, कृष्णप्रसाद शाहको ‘स्टेट अफ माइन्ड’, कुन्द्रसिंह घर्तीमगरको ‘नेपाली जीवनयापन’, मधु अधिकारीको ‘खरानीको मुकुट’, प्रतिमा पंज्ञानीको ‘आमाको माया’, प्रकाश थापा (प्रथा)को ‘विभेद’, प्रकाश मिजारको ‘समय’, राजन लामिछानेको ‘प्रकृति र मानव’, रोजन शाक्यको ‘प्रकृति आमा’, रोजन राईको ‘उनको महसुस’, रोशन खत्रीको ‘एक्लोपन’, सञ्जीव लामिछानेको ‘शक्ति’, शरद भण्डारीको ‘अक्षरको खेती’, सिकेन्दर चौधरीको ‘धर्तीपुत्र’, सुनिता रानाको ‘गहिराई’, सुरेशकुमार धौलाको ‘उत्सुकता’, सौरगंगा दर्शनधारीको ‘सम्बन्ध’, सुजिता चौधरीको ‘नेवा नृत्य’ आदि मन छुने कलाकृतिको आस्वादनले मनलाई हलुङ्गो बनायो । कलाकार गहना मात्र होइनन्, कलाकार विचारका संवाहक हुन् । उनीहरू परम्परामा रहेको विज्ञान र विज्ञानसँग मेल खाने जीवनशैलीको खोजी आफ्ना कलाकृतिमार्फत् गर्ने गर्दछन् ।
चाहे केशवराज खनालको ‘प्रवृत्ति’, रविन्द्र मानन्धरको ‘देश हाँक्नेहरू’, सुदर्शन सिग्देलको ‘नयाँ पुस्ता–पुरानो पुस्ता’, पल्पसा मानन्धरको ‘भ्रष्टाचारको माछा’, सुजिता महर्जनको ‘निर्माण कार्य हुँदैछ’, जस्ता कार्टुनहरू किन नहुन । यस्तो लाग्छ यस्ता राम्रा कलाकृति बनाउने कलाकार पनि नेपालमा छन् ? मनमा अनेकौँ प्रश्नहरू सलबलाउँछन् । झण्डै ३ घण्टाको निरन्तर हेराइपछि एकैछिन ‘कलामा लैङ्गिक चेतना’ सम्बन्धी बहस सुन्ने अवसर पनि मिल्यो । बोल्ने विषय केही पनि थिएन । शास्त्रीय कलाका कुरा र परम्परागत कलाका धेरै सन्दर्भहरू नबुझिए पनि चित्र, मूर्ति, फोटो, कार्टुन, हस्तकलाका नमूनाबाट नेपाली कलाकार नेपालको परम्परा, नेपालको सांस्कृतिक विविधता अनि नेपाल र नेपालीको आगामी यात्राप्रति कति धेरै गहिरो भाव प्रकट गर्न सफल छन् भन्ने जान्न सकिन्छ । नेपाली कलाको प्रयोग र प्रदर्शनीमा अन्य क्षेत्रमा जस्तै नारी प्रतिभाको सङ्ख्या कम रहेता पनि लोककला र सिर्जनात्मक कलाअन्तर्गत पर्फमेन्स आर्टमा भने पुरुष कलाकारलाई सङ्ख्यात्मक रूपमा पनि धेरै पछाडि पार्दै सुन्दर कलाकृतिको हकदार हुन सफल भएको पाइयो ।
गणतन्त्र दिवसदेखि जेठ ३० गतेसम्म चलेको नेपाल कला परिषद् बबरमहल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा रहेको प्रदर्शनी कक्षमा पुगेर नेपाली सभ्यता र सम्पदाको परिचायक निर्मित कलाकृतिको अवलोकन गरी ६०९ जना कलाकारको मनोहारी कलाकृतिले ललितकलाको ज्ञानमा अभिवृद्धि गर्ने कार्य मात्र होइन ललितकलाका धेरै विभाग के–के गतिविधि गरिरहेका छन् भन्ने सम्पूर्ण जानकारी लिन पाइयो ।
हुनत म कला गर्दिन तथापि कलाको रसपान गर्न भने साह्रै इच्छुक छु । त्यसैले बेला बेला भइरहेका कला प्रदर्शनी र कलाका बहसहरुमा सामेल हुने गरेको छु । नेपााली कलालाई धरातलीय गहिराईमा मात्र हेरिदाँ हामी कतै सुगन्ध खोज्दै हिँडेको कस्तुरीको नियति त भोगिरहेका छैनौ भन्ने भान राष्ट्रिय कला प्रदर्शनीका कलाकृतिले गराइरहेका थिए । विश्वमा नै आफ्नो महत्वपूर्ण छाप छोड्न सफल नेपाली परम्परागत चित्र (पौभा/थाङ्का) मूर्ति (धातु, प्रस्तर, काष्ठ) कलाको उज्यालो अनुहार देखेपछि नेपाली कलाको ओजलाई पश्चिमा कलाभन्दा कुन स्थान तल राखेर हेरिने गरिएको रहेछ भन्ने प्रश्न गर्न मन लाग्दछ । यी कलाले नेपाली मौलिकता मात्र पस्केका छैनन्, नेपालको गरिमामय सांस्कृतिक ओज र परम्परागत ज्ञानलाई पनि उघारिरहेका छन् । समसामयिक विधाका कलाले नेपालको स्तर अन्तर्राष्ट्रिय स्तरमा कुनै पनि अवस्थामा तल नभएको हुँकार गरिरहेका छन् । होला हाम्रो व्यवस्थापकीय कमजोरीले हिजोका दिनसम्म हाम्रा कला कँहिकतै देखिने र प्रशंसित हुने अवसर पाएका थिएनन् तर यस्ता प्रदर्शनीमा आएर अवलोकन गर्ने जोकोही पनि नेपाल र नेपालीको कलाबाट मोहित नभइ रहन सक्दैन ।
आगामी दिनमा नेपाली कलालाई अझ बढी हेरिनुपर्दछ । कलाका बारेमा बहस अझ बढी गरिनुपर्दछ । नेपाली कलाले नेपालमा सांस्कृतिक योगदान मात्र नभई आर्थिक योगदानका विषयमा पनि चर्चा परिचर्चा गर्दै जान जरुरी छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यो प्रदर्शनीकै सन्दर्भ पारेर विभिन्न विषयमा छलफल चलाएको थियो । यो कर्म अत्यन्त प्रशंशनीय छ । आगामी दिनमा नेपाली कलाको अनेकाँै पाटो केलाउने प्रयासमा प्रतिष्ठान सफल हुने नै छ ।
प्रतिक्रिया