त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको करिब १ सय ५५ किलो सुन राजस्व अनुसन्धान विभागले फेला पारेपछि सनसनी मच्चिएको छ । गत मंगलबार हङ्कङबाट आएको क्याथे प्यासिफकको विमानमार्फत तस्करहरूले ल्याएको उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बुधबार बेलुका सिनामंगलबाट बरामद गरेको हो । भन्सार जाँचपास भएर सामानको रूपमा सुन बाहिरिएको विशेष सूचनाको आधारमा बरामद गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
त्रिभुवन विभानस्थलमार्फत सुन तस्करी हुनु र बेलाबेलामा पक्राउ पर्नु नयाँ घटना भने होइनन्, तर केही दशक यता यति ठूलो परिमाणको सुन बरामद भएको थिएन । विगतमा नेपाल प्रहरी तथा भन्सार विभागले यदाकदा तस्करीको सुन बरामद गर्दै आएकोमा यसपटक राजस्व अनुसन्धान विभागले बरामद गरेको छ, त्यो पनि विमानस्थलभन्दा बाहिर । त्यसैले त्रिवि भन्सार विभागका कर्मचारी तथा तस्करी नियन्त्रणका लागि विमानस्थलमा खटिएका प्रहरीहरू शंकाको घेराभित्र पर्नु स्वभाविकै हो ।
विमानस्थलमा खटिएका प्रहरी र भन्सार विभागका कर्मचारीहरूको मिलेमतोविना डेढ क्विन्टलभन्दा बढी सुन बाहिरिनु असंभव छ । प्रहरी र भन्सार विभागका कर्मचारीहरूको यो धन्दा विगतदेखि नै फस्टाएको सूचना पाएपछि राजस्व अनुसन्धान विभागको टोली परिचालन गरिएको हुनसक्छ । यसअघि भन्सार विभागका कर्मचारीहरूबाट हुने बद्मासी यदाकदा नेपाल प्रहरीले रोक्ने गरेको थियो । तर यसपटक प्रहरीसमेत बद्नाम भएको छ ।
एकैचोटी यति ठूलो परिमाणमा सुन तस्करी भएको भेटिनुले निकै ठूलो रहस्यको संकेत गरेको छ । भन्सार विभागका कर्मचारीहरू यो मामिलामा यसै पनि बद्नाम छन् । त्यसैले भन्सारका कर्मचारीहरूको यस्तो हर्कत रोक्नका लागि विमानस्थलमा प्रहरीका विभिन्न युनिट खटिन्छन् । मानव बेचबिखन ब्युरो, लागुऔषध ब्युरो, विशेष ब्युरो अनि उपत्यका प्रहरी कार्यालयका सादा पोसाकका प्रहरीसमेत खटिन्छन् विमानस्थलमा । डिआइजीको नेतृत्वमै प्रहरीहरूसमेत खटिएका छन् । तर, प्रहरीका कुनै पनि युनिटले संकेत नपाउनु भनेको सामान्य अवस्था होइन ।
विगतमा यस्ता अप्रेसनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको परिचालन हुने गरेको थियो तर मंगलबार–बुधबारको घटनामा ब्युरो देखिएन । यो तस्करीको भित्री पाटो अनुसन्धान गर्ने, आशंकितहरूलाई पक्राउ गर्ने, मुद्दा चलाउने दायित्व प्रहरीको हो । तर प्रहरीप्रति पनि जनविश्वास रहेन । भूटानी शरणार्थी प्रकरणमार्फत ठूलो साख आर्जन गरेको नेपाल प्रहरी यो घटनामा नराम्रोसँग चुकेको छ ।
अन्तरदेशीय तस्करी नियन्त्रणका लागि सबैभन्दा सहज नाका भनेकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । जहाजमार्फत आउने यात्रु र कार्गोको निगरानी गरे मात्रै पुग्छ । यसका लागि पर्याप्त अत्याधुनिक उपकरण तथा साधन स्रोतको व्यवस्था गरिएको छ । बैदेसिक रोजगारीबाट फर्केका युवाहरूले आधा तोलाको सूनको सिक्री लगाएर आउ“दासमेत सजिलै पक्राउ गर्ने र बरामद गर्ने क्षमता र योग्यता विमानस्थल भन्सार कार्यालयमा तैनाथ कर्मचारी तथा प्रहरीले राख्दै आएका छन् । तर तस्करहरूले ल्याएको १ सय ५० किलो सुन फेला पार्ने क्षमता र योग्यता भने भन्सारका प्रहरी तथा कर्मचारीले राखेनन् ।
मुलुकका लागि यहाँभन्दा ठूलो दुर्भाग्य अरू के हुन सक्छ । छिमेकी मुलुक चीनको तिब्बत तथा भारतमा अबैध सुन पुर्याउन तस्करहरूले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीहरूको प्रयोग गर्ने गरेको कुरा छताछुल्ल भएको छ । सुन मात्रै होइन नक्कली नोट र हतियारसमेत नेपालको बाटो भएको आफ्नो मुलक आइरहेको दावी भारतले हरेक द्वीपक्षीय वार्ताका क्रममा गर्दै आएको छ । यसका लागि नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो सुरक्षा निकाय र कर्मचारीको उपस्थिति हुनुपर्ने डरलाग्दो सर्त भारतले अघि सार्दै आएको छ ।
नवनिर्वित पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भारतले आफ्नो देशमा उडान अनुमति नदिनु पनि हाम्रो देशका कर्मचारी तथा सुरक्षाकर्मीहरूको यस्तै हर्कतका कारणले त होइन ? भन्ने प्रश्न स्वभाविक रूपमा खडा भएको छ । त्यसैले यो घटना तस्करीको मात्रै होइन देशद्रोहसमेत हो । विमानस्थलको भन्सारमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीहरू तस्करभन्दा ठूला अपराधी हुन् भन्ने कुरा यो प्रकरणले छर्लंग पार्छ ।
प्रतिक्रिया