करिब एक वर्षको अन्तरालपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक यही साउन २ गतेदेखि सुरु भएको छ । बैठकलाई कांग्रेसले पारदर्शी बनाएको छ । अहिलेसम्म कांग्रेसले केन्द्रीय समितिको बैठकमा मिडियालाई समेत प्रवेश निषेध गर्दै आएको थियो । तर यसपटक बैठकको श्रव्य–दृश्य संसारभर पुग्ने गरी फेसबुकमार्फत लाइभ गरिएको छ । नेपाली कांग्रेसको यो कदम ऐतिहासिक घटना हो । अहिलेसम्म कुनै पनि राजनीतिक दलले बैठकका श्रृव्य–दृश्य यसरी लाइभ प्रसारण गरेका छैनन् । नेपालको अग्रणी पार्टी कांग्रेस पारदर्शीताको मामिलामा पनि अग्रणी सावित भएको छ । अब कांग्रेसको नीतिगत तहले कसरी कम गर्छ वा गर्दैन ? भन्नेकुरा आममानिसले सहजै थाहा पाउने भए । नेपाली कांग्रेसको यो कदमको अनुशरण गर्न अब अन्य पार्टीहरू पनि वाध्य हुनेछन्, कार्यकर्ता तथा जनताबाट पनि दबाब बढ्दै जानेछ ।
लोकतन्त्र भनेकै पारदर्शी शासन व्यवस्था हो । बहुदलीय लोकतन्त्रमा शासन सत्ता संहाल्ने भनेको पार्टीहरूले हो । त्यसैले पार्टीका गतिविधि पारदर्शी बनाउनु लोकतन्त्रको पहिलो खुड्किलो हो । सिद्धान्तः संसदीय व्यवस्थामा मुलुकका विभिन्न मामिलाहरू तय गर्ने संसद्ले हो, तर व्यवहारतः यो काम संसद्मा प्रतिनिधित्व गर्ने पार्टीहरूले गर्दै आएका छन् । सामान्यतया बहुदलीय व्यवस्था भएका देशहरूमा संसदीयदलभन्दा पार्टीको केन्द्रीय समिति बलियो हुन्छ । केन्द्रीय समितिको निर्णय बेगर संसदीयदल अघि बढ्न सक्दैन ।
नेपाली कांग्रेसका सभापति एवं संसदीयदलका नेता शेरबहादुर देउवामाथि अपारदर्शी ढंगबाट कोठामा बसेर एकल निर्णय गर्दै आएको आरोप अरूले होइन स्वयं महामन्त्री तथा अन्य पदाधिकारीहरूले लगाउँदै आएका छन् । विगत एक वर्षका गतिविधि हेर्ने हो भने यो आरोपको पुष्टि हुने उदाहरणहरू थुप्रै छन् । विधान बमोजिम केन्द्रीय समितिको बैठक बोलाउनसमेत कन्जुस्याइँ गरेर एकल निर्णय गर्दै आएका कांग्रेस सभापति देउवाले केन्द्रीय समितिको बैठकमा मिडियालाई प्रवेश देलान् भन्ने कल्पनासमेत कसैले गरेका थिएनन् । तर एकाएक फेसबुक लाइभ गर्ने प्रबन्ध देउवाले मिलाए । यो प्रबन्धभित्र पार्टीका गतिविधिलाई पारदर्शी बनाई आन्तरिक लोकतन्त्र संस्थागत गराउने अभिप्रायः मात्रै हो भने देउवा धन्यवादका पात्र छन् । तर बैठकको पहलो र दोस्रो दिनका गतिविधि हेर्ने हो भने देउवाको मकसद यति मात्रै होइन कि भन्ने आशंका सिर्जना भएको छ ।
राजनीतिमा चासो राख्ने सबै जनताले नेपाली कांग्रेसको बैठकको लाइभ हेरिरहेका छन् । राजनीतिमा चासो राख्ने सबैलाई थाहा छ कि, २०७४ सालको आमनिर्वाचनका तुलनामा २०७९ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसको भोट निकै धेरै घटेको छ । यो पाँच वर्षको अन्तरालमा १० लाख नयाँ मतदाता थपिँदा नेपाली कांग्रेसको भोट नौ लाख घटेको छ । प्रतिशतका आधारमा भन्नुपर्दा करिव २३ प्रतिशत घटेको छ । पाँच वर्षको अन्तरालमा यति धेरै भोट घट्नु भनेको पार्टी समाप्तीको लक्षण हो । तर केन्द्रीय समितिको बैठकमा अधिकांशले नेपाली कांग्रेसलाई बलियो बनाएको भन्दै सभापति देउवाको प्रशंसा गरिरहेका छन् । निर्वाचित केन्द्रीय समितिमा यसै पनि सभापति देउवाको बहुमत थियो । त्यसमाथि करिब एकतिहाइ केन्द्रीय सदस्य मनोनीत गर्ने क्रममा देउवाले आफ्नो गुटकालाई मात्रै अघि सारेर दुईतिहाइ बहुमत पुर्याएका छन् ।
यी दुईतिहाइ सदस्यमध्ये बैठकमा अहिलेसम्म जे जतिले धारणा राखेका छन्, ति सबैले सभापति देउवाको चरम प्रशंसाबाहेक अरू कुरा बोलेकै छैनन् । केन्द्रीय सदस्यलाई बोल्नका लागि पा“च मिनेटको समय दिइएको छ । त्यो समय सभापति देउवाको प्रशंसामै बित्ने गरेको छ । आमनिर्वाचनको परिणामले मात्रै होइन उपनिर्वाचनको परिणामले पनि कांग्रेसको भोट कहालीलाग्दो रूपमा घटेको छर्लंग पारेको छ । यो कुरा राजनीतिमा चासो राख्ने सबैलाई थाहा छ । तर केन्द्रीय सदस्यहरूको प्रस्तुतीकरण भने बिल्कुल भिन्न ढंगको छ । बैठकका गतिविधि हेर्दा र सुन्दा नेपाली कांग्रेसले कमीकमजोरी सुधार गर्ला भन्ने महसुस स्वयं कार्यकर्ताहरूले पनि गर्न सक्ने अवस्था छैन । यता सार्वजनिक रूपमा सभापति देउवाको जमेर आलोचना गर्ने महामन्त्री गगन थापाले पनि बैठकमा पुच्छर लुकाएको महसुस धेरैले गरेका छन् । शंख–घण्ट बजाउने भनेको मन्दिरमा हो, सडकमा होइन ।
प्रतिक्रिया