‘कलाकार बन्न संघर्षसँगै मौलिकतालाई चिन्नुपर्छ’

नवराज बस्नेत

गायक नवराज बस्नेत नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम हो । यस क्षेत्रमा संघर्ष र लगावसँगै पछिल्लो समय हुने गरेको सांगीतिक माहोलको छाडापन र मौलिकतामाथिको प्रहारलाई लिएर गुनासो र चिन्तन गर्छन् नवराज । २०५५ साल बैशाख ३ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा बुवा सुरतबहादुर बस्नेत र आमा चित्रकुमारी बस्नेतको जेठो सन्तानको रुपमा जन्मिएका नवराज गीत संगीत भनेपछि सानैदेखि हुरुक्कै हुन्थे । रेडियो र टेलिभिजनमा नेपाली लोकगीतका कार्यक्रम बज्नेबित्तिकै पढ्न र अरु सबै काम नै छाडेर टेलिभिजन छेउमा गएर ध्यान दिएर सुन्ने गरेको उनी बताउँछन् । बस्नेतको बाल्यकाल सोलुखुम्बुमै बित्यो ।

उनी पढाइमा एसएलसी सकेपछि २०७० सालमा काठमाडौं छिरे । आफ्नो बालापनदेखिको कलाकार बन्ने सपना पूरा गर्न उनले संघर्ष गर्न थाले । उनलाई सुरुमा कलाकार बन्ने सपना पूरा गर्न भने सहज थिएन र धेरै कष्ट गर्नुपर्यो । २०७० सालको मंसिरमा उनको पहिलो गीत ‘सम्झिए मन दुख्छ’ रेकर्ड भयो र उनलाई दोहोरी साँझमा पनि काम गर्ने अवसर मिल्यो । त्यसपछि यस्तै दोहोरी साँझदेखि संघर्ष गर्दै आएका बस्नेत अहिले धेरै दर्शकस्रोताको मन जित्न सक्ने गायक बनेका छन् । रेकर्डका गीतमात्र नभएर उनी प्रत्यक्ष लाइभ दोहोरीमा पनि उत्तिकै राम्रा कलाकारका रुपमा परिचित छन् ।

यसैगरी गायक बस्नेतले ‘सम्झिए मन दुख्छ’ लगायत ‘हुरी चल्यो;’, ‘धन पैसा,’ ‘प्रदेशको झलमल्ल,’ ‘दशैँ तिहार मान्न,’ ‘आँशुको तलाउ,’ ‘हे बरै जिन्दगी’, ‘चुनाव चिन्ह,’ ‘भ्रष्टाचारीलाई गोली ठोक्नुपर्छ’ लगायतका दर्जनौँ गीत गाएका छन् । उनी गीतमात्र गाउने होइनन् आफै संगीत भर्नेदेखि शब्दसमेत लेख्ने गर्छन् । प्रस्तुत छ उनै गायक बस्नेतसँग सौर्य दैनिकका लागि बाबुराम सिग्देलले गरेको कुराकानीको सम्पादित अंशः

गीत संगीत भनेको के हो ? यसले समाजमा कस्तो सन्देश दिनुपर्छ ?

गीत संगीत भनेको समाजको ऐना हो । यसको माध्ययमले समाज परिवर्तन पनि गर्न सकिन्छ । संगीतले पर्यटन प्रवद्र्धनमा पनि भूमिका खेल्नुपर्छ । स्वदेशका कलाकार विदेशका कार्यक्रममा गएर विदेशी पर्यटकलाई आफ्नो देशको विकास र पर्यटनबारे गीतमार्फत सन्देश दिन सकिन्छ ।

तपाईं अहिले केमा व्यस्त हुनुहुन्छ ?

म अहिले गीत संगीतमा नै व्यस्त छु । स्टुडियोमा गीत गाउनेदेखि अन्य स्टेज कार्यक्रम र गीतहरु सिर्जना गर्नमा व्यस्त छु ।

यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

गीत संगीत भनेपछि सानैदेखि हुरुक्कै हुन्थेँ । सानैदेखि रेडियो र टेलिभिजनमा नेपाली लोकगीतका कार्यक्रम बज्नेबित्तिकै पढ्नेदेखि अन्य काम नै छाडेर टेलिभिजन छेउमा गएर ध्यान दिएर सुन्थेँ । यत्तिकैमा मलाई पनि गीत गाउने रहर जाग्यो र मेरै एउटा गाउँको साथी पहिल्यै देखि नै मोडल हुनुहुन्थ्यो उहाँकै साथ सपोर्ट लिएँ । यतिकैमा एउटा गीत निकाल्न २०७० सालमा एसएलसी दिएपछि म नेपाली लोकदोहोरी गीत संगीतमा प्रवेश गरेको हुँ ।

हालसम्म कति गीत गाउनु र सिर्जना गर्नुभयो ?

झण्डै २०७० सालदेखि म नेपाली गीत संगीत क्षेत्रमा निरन्तर खटिइरहेको छु । मैले अहिलेसम्म ‘सम्झिए मन दुख्छ,’ ‘हुरी चल्यो’, ‘धन पैसा,’ प्रदेशको झलमल्ल,’ ‘दशैँ तिहार मान्न,’ ‘आँशुको तलाउ,’ ‘हे बरै जिन्दगी,’ ‘चुनाव चिन्ह,’ ‘भ्रष्टाचारीलाई गोली ठोक्नुपर्छ’ लागायत दर्जनौँ गीतहरु बजारमा आफै गाउदै आफै सिर्जना पनि गर्दै दर्शकसामु ल्याइसकेकको छु । कतिपय गीत दर्शकले पनि मन पराउनुभएको छ भने केही गीत सोचेजस्तो भएको छैन र पनि मैले हार खाएको छैन ।

तपाइँले आफूलाई कसरी चिनाउनुहुन्छ ?

म आफूले आफैँलाई भन्दै गर्दा मसँग धैर्य गर्न सक्ने क्षमता छ । दुःखमा आत्तिने र सुखमा मात्तिने गर्नुहुन्न । एक दिन अवश्य पनि आफ्नो कर्म गर्दै गएपछि जोकोही पनि सफल हुनेछ भन्नेमा विश्वास गर्छु र म तत्कालको चर्चा बटुल्नभन्दा दीर्घकालीन रुपमा एउटा गायक हो भनेर चिनाउन चाहन्छु ।

नेपाली गीत संगीतको वर्तमान अवस्था कस्तो पाउनुभएको छ ?

अहिले हाम्रो गीत संगीतमा सबै लागिपर्नुभएको छ । सबैले सोचेजस्तो सफल पाउन पनि सक्नुभएको छैन । यो क्षेत्र भनेको एकदमै धेरै मिहिनेत गर्नेहरुका लागि मात्र हो त्यसैले सफल नभए पनि नआत्तिनको लागि अनुरोध पनि गर्न चाहन्छु ।

पछिल्लो समय यस क्षेत्रमा कलाकारबाटै नेपाली गीत संगीतको मौलिकताको धज्जी उडेको र संस्कृति बचाउमा ध्यान नदिएको भन्ने छ नि ?

यो अवश्य हो, तर सबै कलाकारबाट भने होइन । त्यस्ता केही छन् जो नेपाली मौलिक लोकसंस्कृतिलाई आफ्नो कमाइको भाँडो मात्रै बनाएका छन् । जसले मौलिकता चिन्दैन र चिनेर पनि धज्जी उडाउँछ त्यस्तालाई कलाकार भन्नु पनि बेकार छ । यस्ताखाले प्रवृत्तिले मलाई चिन्ता र दुःख लागेर आउँछ । कलाकार बन्न संघर्ष गरेर मात्रै हुँदैन । संघर्षसँगै मौलिकतालाई पनि चिन्नुपर्छ तव यो क्षेत्रमा सुधार आउँछ ।

तपाईंले अहिलेसम्म अवार्ड र सम्मान कति वटा पाउनुभएको छ ?

अवार्ड सम्मान भनेको आफ्नो कर्मको फल हो । तयसैले मैले राम्रै काम गरेको छु जस्तो लाग्छ कहिलेकाहीँ खुसी र गर्व लाग्छ बेला बेलामा सम्मानित हुन पाउँदा अवार्ड लिन पाउँदा अहिलेसम्म चार–पाँच वटा अवार्ड पाएको छु र झण्डै १२–१५ पटक सम्मानित भइसकेको छु ।

तपाईं अफिसियल गीत मात्र गाउनुहुन्छ कि प्रत्यक्ष लाइभ दोहोरी पनि गाउनुहुन्छ ?

विशेष गरेर मेरो आफ्नो विधा भनेको नै प्रत्यक्ष लाइभ दोहोरी नै हो अफिसियल गीतहरु त बेलामौका गरिरहन्छु । म त लाइभ दोहोरी गाउनमा धेरैभन्दा धेरै व्यस्त छु । म गाउँबाट सहर छिरेपछि दोहोरी साँझमा काम गर्ने मौका मिल्यो २०७० सालमा । त्यही दोहोरी साँझबाट नै दोहोरी गाउँदै गाउँदै अहिलेसम्म धेरै लाइभ दोहोरीलागायत स्टेज कार्यक्रमसमेत गरेको युट्युब च्यानलमा हेर्न सक्नुहुनेछ । मैले चर्चित कार्यक्रम इन्द्रेणीमा पनि गएर प्रत्यक्ष लाइभ दोहोरी गाइसकेको छु ।

अझै भन्नुपर्दा प्रत्यक्ष लाइभ दोहोरीमा सवालको जवाफ उतिखेरै दिनुपर्छ, छोटो अवधिमै मौलिकका शब्द चयन गर्न सकिएला ?

त्यो गायक गायिका आफैमा भर पर्छ । कुन शब्दको जवाफ कति बेला दिने र कुन शब्दले मौलिकता कायम गर्छ भन्नेमा गीत प्रस्तुत गर्दा नै ध्यान दिनुपर्छ । गीत भनेको माया प्रेमकै प्रसंगमा हुन्छ र अझै लाइभ दोहोरी त झनै माया प्रेमका भाव प्रकट गरेर गाइने गीत हो । तर, माया प्रेमका गीतमा पनि मौलिकता हुन्छ । विशेष ध्यान भनेकै प्रस्तुति मौलिकतामा आधारित हुनुपर्छ । त्यसो भयो भने लाइभ दोहोरीमा मौलिकता चयन गर्न सकिन्छ ।

यही क्षेत्रबाट कमाई कत्तिको लिनुभएको छ ?

अब कमाई पनि ठिकै छ । राम्रै छ जति आफू खट्न सक्यो त्यति नै हुने हो यो कमाई भन्ने चिज । अहिलेसम्म आफ्नै कमाईबाट बाँचेको छु काठमाडौंमा टिकेको छु । खुसी नै छु भन्नुपर्छ ।

प्रतिक्रिया