शैक्षिक विकासमा फड्को

चैत १७ देखि आरम्भ भएको एसईईको नतिजा गत बिहीबार सार्वजनिक भएको छ । परीक्षमा ४ लाख ८५ हजार विद्यार्थी मध्ये करिव ४ लाख ५० हजारले ११ कक्षा अध्ययन गर्ने हैसियत प्राप्त गरेका छन् । अर्थात यस वर्षको एसईईमा करिव ४ लाख ४० हजार उत्र्रिण भएका छन् । संख्यात्मक आधारमा हेर्दा यस वर्षको एसईईमा विगतको भन्दा राम्रो नतिजा आएको देखिएको छ । माथिल्लो ग्रेड ल्याउनेहरुको संख्या गत वर्षको भन्दा दोब्बर छ । तर प्रश्नपत्र कस्ता थिए ? अंक दिने शैली कस्तो अपनाइएको थियो ? भन्ने कुराले पनि धेरै ठूलो अर्थ राख्छ । एसईईमा सहभागी हुनेहरुले करिव १२ वर्षको समय पढाईमा बिताएका हुन्छन् । उनीहरुको औसत उमेर १५ वर्षको हुन्छ । १६ वर्ष पुगेपछि उनीहरुले नागरिकता प्रमाणपत्र प्राप्त गर्छन् । एसईई उत्र्रिण नागरिकको संख्या हरेक वर्ष करिव ५ लाख थपिँदै जानु भनेको पौने ३ करोड जनसंख्या भएको नेपालका लागि अत्यान्त उज्ज्वल भविष्यको संकेत हो । एक वर्षको अवधीमा जति जनसंख्या वृद्धि हुन्छ, त्यो भन्दा बढीको संख्यामा एसईई उत्र्रिण हुने क्रम नेपालमा विगत ५ वर्षदेखि सुरु भएको छ । अझै कम्तिमा पनि २० वर्ष यो क्रम रहने कुरा जनगणना २०७८ को परिणामले स्पष्ट पारिसकेकै छ ।

शिक्षा भनेको विकासको पूर्वाधारको पनि पूर्वाधार हो । नेपालको आधुनिक शैक्षिक इतिहास ज्यादै छोटो छ । तर प्रगती आशा लाग्दो छ । करिव ३० वर्ष चलेको पंचायती व्यवस्थाको अन्तिम वर्ष अर्थात २०४५ सालको एसएलसी परीक्षा र २०७९ को एसईई लाई तुलना गर्ने हो भने नेपालले शैक्षिक विकासमा लोभ लाग्दो गरी फड्को मारेको देखिन्छ । २०४५ साल माघ ७ गते देखि सुरु भएको एसएलसी परीक्षाको नतिजा साँढे पाँच महिना पछि असार २३ गते प्रकासित भएको थियो । त्यतिबेला ५२ हजार ५ सय जना विद्यार्थी सामेल थिए । नतिजा प्रकासित गर्न साँढे पाँच महिना लाग्यो । यस पटकको एसईईमा पौने पाँच लाख सामेल थिए । तीन महिनमै नतिजा प्रकासित भयो । त्यतिबेला एसएलसी उत्र्रिण हुने कुल परिक्षार्थीको संख्या १८ हजार ४ सय थियो । जसमध्ये छात्राहरुको संख्या ३ हजारको हाराहारीमा थियो । तर अहिले करिव साँढे चार लाख उत्र्रिण भएका छन् , जसमध्ये छात्र भन्दा छात्राहरुको संख्या धेरै छ । त्यो बेला पनि मुलुकको जनसंख्या १ करोड ८० लाख भन्दा माथि नै थियो ।

बार्षिक ५ लाखको हाराहारीमा शैक्षिक जनशक्ति थपिनु भनेको पौने ३ करोड जनसंख्या भएको हाम्रो मुलुकका लागि सुखद भविष्यको संकेत हो । तर भाग्य छ भन्दैमा डोकोमा पानी अडिँदैन । यो जनशक्तिलाई देशको हितमा सदुपयोग गर्न सक्नु पर्छ । एक जना विद्यार्थीलाई एसईई उत्रिर्ण गराउँदा सम्म राज्यको ढुकुटीबाट करिव १० लाख रुपैंया खर्च भइसकेको हुन्छ । अभिभावकद्धारा हुने खर्च अझै बढी हुन्छ । यति ठूलो लगानी गरेर उत्पादन गरिएको जनशक्तिको उपयोग गर्न संयन्त्र निर्माण गर्न हाम्रो देशका नीति निर्माताहरु चुकेका छन् । जसका कारण हाम्रो देशको जनशक्ति अरुकै निम्ति भएको छ । मेधावी विद्यार्थीहरु युरोप , अमेरिका तथा अष्ट्रेलिया पलायन भएका छन् । मध्यम खालका विद्यार्थीहरु खाडी तथा मलेसियामा रोजगारीका लागि जान वाध्य भएका छन् । नेपाली विद्यार्थीहरु शैक्षिक रुपमा विकसित देशका विद्यार्थी सँग प्रतिस्पर्धा गर्न सफल देखिएका छन् । त्यसैले नेपालको शैक्षिक गुणस्तर माथि प्रश्न छैन , तर सीपको मामिलामा भने नेपाली विद्यार्थीहरु कमजोर देखिएका छन् । स्वरोजगार मुलुक शिक्षामा नेपाल पछि परेको छ । यसैगरी गुणस्तरीय शिक्षा देशभर समान रुपमा पुग्न सकेको छैन । उदाहरणका लागि यस वर्षको एसईईमा करिव २२ हजार जनाले माथिल्लो ग्रेड प्राप्त गरे । जसमध्ये ११ हजार बागमती प्रदेशका छन् । कर्णाली प्रदेशका जम्मा २ सय ४० जनाले माथिल्लो ग्रेड प्राप्त गरे ।

प्रतिक्रिया