प्रधानमन्त्रीको अभिव्यक्ति सीमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार भारतीयमूलका पुराना यातायात व्यवसायी प्रितम सिंहको बारेमा लेखिएको एक पुस्तक विमोचन समारोहमा बोल्दै भने, ‘उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली पनि जानुभयो ।’ प्रधानमन्त्री प्रचण्डको यो अभिव्यक्ति देशको सार्वभौमसत्ताविरुद्ध भएको भन्दै बुधबार नेकपा एमाले, राप्रपा, रास्वपा लगायतका पार्टीहरूले संसद्को दुबै सदनको बैठक अवरुद्ध गरे । प्रधानमन्त्री प्रचण्डले यो अभिव्यक्ति नसच्याएसम्म संसद् चल्नै नदिने अडान विपक्षी दलहरूले लिए ।

प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गरेकै बेला प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टी माओवादी केन्द्रसम्बद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै भने, ‘मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न संसद् अवरुद्ध गरिँदै छ । आजै मिटरब्याज कानुनसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने बाध्यता छ । सरकारले आजै दफाबार छलफलसहित पारित गर्ने तयारी गरेको छ । आज विधेयक पारित नभए स्वतः निष्क्रिय हुनेछ ।’

हाम्रा राजनीतिक दल तथा तिनका नेताहरू कतिसम्म गैरजिम्मेवार छन् र मुलुकको वास्तविक परिस्थितिप्रति कतिसम्म बेखबर छन् ? भन्ने कुरा प्रधानमन्त्री प्रचण्डका यी अभिव्यक्ति तथा प्रतिपक्षीदलहरूका गतिविधिले स्पष्ट पार्छ । प्रधानमन्त्रीले बोलेको कुरा इतिहासको अभिलेखका रूपमा रहन्छन् । भावि पुस्ताले इतिहास पढ्दा ‘कुनै बेला नेपालको प्रधानमन्त्री दिल्लीबाट तय हुने गरेको’ ठान्न सक्छ । मिटरब्याज कानुनसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने अन्तिम दिनमा नै रोजेर प्रतिपक्षीदलहरूले संसद्को बैठक अवरुद्ध गरेका हुन् भने गम्भीर कुरा हो । तर, संसद्मा कुरा उठिसकेपछि स्पष्टीकरण दिनु प्रधानमन्त्रीको पहिलो प्राथमिकता हो । बुधबार प्रधानमन्त्री प्रचण्ड काठमाडौं बाहिर पनि थिएनन् । सानामसिना कार्यक्रममै भाग लिइरहेका थिए । आधा घण्टाका लागि संसद्मा पुगेर स्पष्टीकरण दिन सक्थे । त्यसपछि यो विधेयक पारित गर्ने बाटो खुल्थ्यो । त्यसपछि पनि संसद् अवरुद्ध भइरहेको भए प्रतिपक्षीदलहरूको पनि बदनियत उजागर हुन्थ्यो ।

प्रधानमन्त्री प्रचण्डले नराम्रो नियतले पक्कै पनि यो कुरा बोलेका होइनन् होला, प्रितम सिंहलाई खुसी पार्न मात्रै खोजेका हुन् । तर, उनका सामुन्ने प्रितम सिंह मात्रै थिएनन्, मिडियासमेत थिए, अझ भारतीय मिडियासमेत थिए त्यहाँ । भावि दिनमा भारतीय मिडियाहरूले प्रधानमन्त्री प्रचण्डको त्यही भनाइलाई नजीरको रूपमा प्रचार गर्न सक्छन् । यस्ता उदाहरण धेरै छन् । जनवादी राज्य सत्ता स्थापना गर्ने भन्दै सुरु गरिएको १इ वर्षे सशस्त्र युद्धका बेला माओवादीका अधिकांश नेताहरू भारत निर्वासनमा बस्न बाध्य थिए । त्यतिबेला माओवादीका नेताहरूको एउटा थेगो थियो, ‘सुगौली सन्धीपछि नेपाल अर्धऔपनिवेसिक अवस्थामा छ ।’ नेपालबारे खासै नबुझेका भारतीय मिडियाहरूले माओवादीको त्यति कुरालाई पत्याए ।

अहिले भारतका केही मिडियाहरू नेपालबारे समाचार बनाउँदा एउटा गम्भीर कुरा उल्लेख गर्ने गर्छन् । त्यो हो, ‘सुगौली सन्धी अघिसम्म नेपाल कसैको पनि उपनिवेश थिएन ।’ प्राकृतिले मान्छेलाई सुन्ने कान र हेर्ने आँखा दुई–दुई वटा दिएको छ, तर बोल्ने मुख एउटा मात्रै दिएको छ । यसको अर्थ हो ‘धेरै कुरा सुन, धेरै कुरा देख तर थोरै कुरा मात्रै बोल ।’ धेरै बोलेर मात्रै सफल होइन्छ भन्ने होइन । एउटा भनाइ नै छ, ‘मानिसको मुखबाट निस्कने शब्द भनेको ब्रह्मास्त्र हो, सही ठाउँमा प्रयोग गरिएन भने विनाश मात्रै हुन्छ, आफ्नै विनास छिटो हुन्छ ।’

प्रतिक्रिया