पोखरा विमानस्थलबारे भ्रम र यथार्थता

६ महिनाअघि उद्घाटन गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलोपटक अन्तर्राष्ट्रिय उडान भएको छ । १ सय ३० जना यात्रु बोकेर चीनको छेन्दु सहरबाट आएको सिचुआन एयरलान्सको उक्त विमानलाई पानीको फोहरासहित स्वागत गरिएको थियो । यात्रुहरूलाई पनि फूलमाला र खादाका साथ स्वागत गरिएको थियो । पोखरा विमानस्थल सञ्चालनमा आएपछि विदेशी वायुसेवाले गरेको यो पहिलो उडानलाई स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराती स्वयं उपस्थित भएका थिए । उक्त जहाजमा चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली पनि सवार थियो । सञ्चालनमा आएको लामो समयसम्म पनि पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेका कारण हचुवाका भरमा ठूलो लगानी गरिएको भन्दै व्यापक टीकाटिप्पणी भइरहेको छ । झट्ट सुन्दा पोखराको नयाँ विमानस्थलका सन्दर्भमा भएका नकरात्मक टिप्पणी अस्वभाविक छैनन् । किनकी यो विमानस्थलको निर्माण लागत करिव २९ अर्ब रुपैयाँ हो । जसमध्ये २२ अर्ब रुपैयाँ चिनियाँ ऋण हो । यो ऋणको ब्याज निकै चर्को छ । चर्को ब्याजमा ऋण लिएर निर्माण गरिएको विमानस्थल सञ्चालनमा आउने अवस्था नरहेको समाचार प्रवाह भएपछि जनतामा आक्रोश उत्पन्न हुनु स्वभाविकै हो । पोखरामा निर्मित नयाँ विमानस्थलका विषयमा गरिएका नकरात्मक टीकाटिप्पणीमध्ये कतिपय जायज छन्, कतिपय नाजायज छन् । पोखरा विमानस्थल निर्माणको मोडल तथा खर्चको विषयमा गरिएको नकरात्मक टिप्पणी जायज हो, तर पोखरामा नयाँ विमानस्थल निर्माण आवश्यक नै थिएन भन्ने टिप्पणी नाजायज हो ।

पोखरामा नयाँ विमानस्थल निर्माण अपरिहार्य आवश्यकता थियो । मुख्य सहरको बीचमा रहेको साविकको विमानस्थल ५० सिटसम्मका विमान उडान तथा अवतरण क्षमताको हो । यति सानो विमानस्थलले पोखराको हवाई उडान चाप धान्न छाडेको थियो । साविकको विमानस्थल बिस्तार असंभव थियो । पोखरा जस्तो पर्यटकीय सहरमा नयाँ विमानस्थल निर्माण गर्दा कम्तीमा २५ सय मिटर लामो धावन मार्ग जरुरी थियो । आन्तरिक उडानका लागि पनि यत्तिको धावन मार्ग जरुरी थियो । त्यसमा थोरै पूर्वाधार थप्दा अन्तर्राष्ट्रिय उडानसमेत गर्न मिल्छ भने किन नथप्ने ? विश्लेषण गर्दै क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको नाम तथा स्वरूप दिइएको हो ।

पोखरा विमानस्थलको क्षमता भनेकै १ सय ५० जनासम्म यात्रु बोक्ने विमान उडान तथा अवतरण गर्ने हो । नाम अन्तर्राष्ट्रिय दिइए पनि छोटो दुरीमा चल्ने न्यारोबडी विमानका लागि बनाइएको हो । पोखराको भौगोलिक अवस्थितिका कारण पनि यहाँभन्दा ठूला जहाज उडान तथा अवतरण गर्ने संभावना छैन । नयाँ विमानस्थल सञ्चालनमा आएसँगै पोखराबाट देशका विभिन्न सहरहरूमा सिधै उडान सुरु भइसकेको छ । काठमाडौं–पोखरा तथा पोखरा भैरहवाको हकमा त १ सय ५० सिट सम्मका विमानहरू मज्जाले सञ्चालन गर्न सकिन्छ । अहिलेसम्मको तथ्यांक हेर्दा पोखरा घुम्न आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत भारतीयहरू हुन् । पोखराबाट भारतका वाराणसी, गोरखपुर, लखनउ, दिल्ली, बागडोगरा लगायतका विमानस्थलहरू छोटो दुरीमा छन् । पोखराबाट भारतका यी विमानस्थलमा उडान गर्न विभिन्न एयरलाइन्सहरू इच्छुक नभएका होइनन्, तर भारतले अनुमति दिइरहेको छैन । चीनले निर्माण गरेको निहुँमा भारतले अवरोध सिर्जना गरेको हो । भारतले अवरोध मात्रै गरेको छैन भारतीय मिडियाहरूले पोखरा विमानस्थलको विषयमा सुन्नै नसकिने दुष्प्रचार गरिरहेका छन् । भारतीय मिडियाको दुष्प्रचारमा लोली मिलाउँदै स्याल हुँइया मच्चाउने नेपालीहरूको संख्या पनि कम छैन । अनेक थरी भ्रम सिर्जना गरिएको छ । चर्को ब्याजको यो ऋण नेपाल सरकारले तत्काल तिरिदिनु श्रेयकर छ । २२ अर्ब ऋण रकम ठूलो होइन ।

प्रतिक्रिया