नेपालमा वर्षभरिमा पर्ने आकाशे पानीमध्ये करिब ७० प्रतिशत पानी असारदेखि भदौसम्मका तीन महिनाभित्र पर्छ । जसलाई चलनचल्तीको भाषमा वर्षा सिजन अर्थात मनसुन भन्ने गरिन्छ । यही तीन महिना पर्ने पानीले वर्षदिनभरीको गर्जो टर्ने गर्छ । समान्यतया जेठको अन्तिम सातादेखि असारको दोस्रो साताभित्रमा नेपालमा मनसुन सुरु हुन्छ । मनसुन सुरु हुनुभन्दा अगाडि पनि फाट्टफुट्ट वर्षा हुने गर्छ । जसलाई प्रिमनसुन भनिन्छ । तर, यसपटकको प्रिमनसुन सिजनमा खासै पानी परेन । खडेरी लामै भयो । लामो खडेरीका कारण उत्पन्न गर्मीले तापक्रम ह्वात्तै बढ्यो ।
नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम रेकर्ड भयो । खडेरीले पानीका मूलहरू सुक्दा जनजीवनमा ठूलो समस्या उत्पन्न भयो । कृषकहरू ठूलो मारमा परे । संयोगबस गत वर्ष जस्तै यस वर्ष पनि समयमै मनसुन सुरु भयो । असार लाग्दा नलाग्दै सुरु भएको मनसुनका कारण किसानहरू खुसी भए । तर किसानहरूको यो खुसी धेरै दिन टिकेन । मनसुन सुरु भएको तीन दिनपछि गत शनिबार र आइतबार पूर्वी पहाडी क्षेत्रमा भारी वर्षा भयो । भारी वर्षाका कारण गएको पहिरो तथा पहिरोको कारण उत्पन्न बाढीले निकै नै ठूलो धनजनको क्षति भयो । करिव चार दर्जन मान्छेको ज्यान गयो । करिव दुई दर्जन पक्की पुल तथा झलुंगे पुल बाढीले बगायो । एक दर्जनभन्दा बढी जलविद्युत् आयोजनाहरूमा क्षति पुग्यो । बाढीले सडक तथा पुल भत्काएका कारण पीडितहरूको राहत तथा उद्धारमा निकै ठूलो कठिनाइ उत्पन्न भयो ।
यसपटक मात्रै होइन हरेक वर्षको मनसुनी सिजनमा बाढी तथा पहिरोले ठूलो क्षति पु¥याउ“दै आएको छ । मनसुनी सिजनमा बाढी पहिरोको जोखिम हुन्छ भन्ने कुरा हरेकलाई थाहा छ, तर यस्तो क्षति हरेक वर्ष बढ्दै गएको छ । वर्षका तीन महिना भीषण पानी पर्ने र अरू महिना पानीको समस्या हुने नियती हामीले भोग्दै आएका छौँ ।
बारै महिना ठिक्कसँग पानी परिदिए राम्रै हुन्थ्यो । तर यो कुरा हाम्रो बसमा छैन । प्रकृतिले जस्तो दिएको छ, त्यसैमा आफू पनि समाहित हुँदै जाने हो । हाम्रो क्षेत्रका लागि मनसुन भनेको आकाशे नहर हो । गर्मीका बेला बंगालको खाडीको पानी छिटो तात्छ र वाफ हु“दै माथिमाथि उत्तर पश्चिमतिर मोडिन्छ । जब त्यो जलवाष्प हिमालय क्षेत्रमा पुग्छ, तब अचानक सेलाएर पानीमा परिणत भई जमिनमा खस्छ । त्यो पानी बगेर फेरी बंगालको खाडीमा जान्छ ।
सृष्टिकालदेखि नै यो चक्र चल्दै आएको छ । तर पछिल्ला कालखण्डमा वातावरणीय विनासका कारण कहिले एकैचोटी धेरै पानी पर्ने कहिले लामो समयसम्म पानी नपर्ने अवस्था उत्पन्न भएको छ । वातावरणीय विनासलाई कम गर्दै नलैजाने हो भने मनसुनको यो चक्र बिथोलिन सक्छ । मनसुनको यो चक्र बिथोलियो भने हाम्रो क्षेत्र बस्न लायक हुने छैन ।
मनसुन हाम्रालागि समस्या नभएर ठूलो वरदान हो । हाम्रो कृषि उत्पादन तथा पशुपालन मनसुनमै निर्भर छ । तीन महिनाको मनसुनी वर्षका बेला परेको पानी जमिनमुनि छिर्ने र मूलका रूपमा बाह्रै महिना पानीको आपूर्ति हुने गरेको छ । तर हामीले उचित ढंग पुर्याउन नसकेका कारण मनसुनी सिजन हाम्रालागि अभिशापसमेत बन्ने गरेको छ । पहिलो कुरा त नेपालका पहाडहरू आफै“मा कमजोर तथा भिराला छन् । त्यसमाथि पनि विनाअध्ययन डोजर प्रयोग गरी पहाड खोतलेर सडक बनाउने गरिएको छ । आवश्यकताभन्दा पनि बजेट खर्च गरेर पैसा कमाउनका लागि कतिपय सडक बनाउने गरिएको छ ।
दोस्रो कुरा नदी तथा खोलाको प्राकृतिक बहाव अवरुद्ध हुने बसोबास गर्न थालिएको छ । अन्य भौतिक संरचना निर्माण गर्दा पनि नदी तथा खोलाको परम्परागत प्राकृतिक बहावका विषयमा अध्ययन गर्ने गरिन्न । मुख्य समस्या यही हो । मेरो सीमा मिच्यो भनेर खोला तथा नदीहरूले मुद्दा हाल्न कहीँ पनि जाँदैनन्, अति नै भए पनि उनीहरूले सिधै दण्ड दिन्छन् । जुन कुराको हेक्का हामी मानिसले राख्नु जरुरी छ ।
प्रतिक्रिया