युगले जन्माएका नेता बालेन्द्र शाह

२०५२ सालमा माओवादीले ‘जनयुद्ध’ सुरु गर्ने क्रममा सरकार समक्ष पेश गरेको २९ सूत्रिय माग मध्ये एउटा थियो –‘ भारतीय चलचित्रहरु निर्वाध रुपमा नेपालमा चल्न प्रतिवन्ध लगाइनु पर्ने ।’ २०६३ साल यताको १७ वर्षको अवधीमा माओवादीले चार पटक सरकारको नेतृत्व ग¥यो । केही अपवाद बाहेक यो अवधीमा माओवादी निरन्तर सत्तामा रह्यो । यतिबेला माओवादीका नेता तथा कार्यकर्ताहरु काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गरेको एउटा आह्वानको विरुद्धमा समाजिक संजाल मार्फत आगो ओकेलिरहेका छन् । नेपालकी राष्ट्रिय विभूति सीता आफ्नो देशमा जन्मेको भन्दै भारतमा एउटा चलचित्र बन्यो । तर त्यो चलचित्र काठमाडौंमा प्रदर्शन गर्न नदिने उद्घोष मेयर शाहले गरे ।

नेपालमा प्रदर्शन गर्दा सीता भारतमा जन्मेको कुरा हटाउन चलचित्र निर्माता तयार भए , तर मेयर शाहले भारतीय जनतालाई पनि यस्तो कुसुचना दिन नहुने अडान लिइरहेका छन् । आखिर सूचना तथा संचार मन्त्रालयको अनुमति लिएरै उक्त चलचित्र नेपालमा प्रदर्शन हुन लागेको हो । मिलिजुली सरकारको मात्रै होइन संचार मन्त्रालय पनि माओवादीले नै संहालेको छ । कुसुचना प्रदान गर्ने खालका भारतीय चलचित्र प्रदर्शन रोक्नु कुनै ठूलो कुरा रहेनछ भन्ने प्रमाणित मेयर शाहले गरेका छन् । मेयर शाहको यो कदम प्रति मधेसी दल तथा नेपालमा रहेका भारतीयहरु खनिनु कुनै आश्चर्य होइन , तर माओवादीका कार्यकर्ता खनिनु आश्चर्यजनक हो । किनकी हिँजो यही माग राखेर एउटा गरिव नेपालीद्धारा अर्को गरिव नेपाली मराएको माओवादीले नै हो ।

नेपाल माथि लामो समयदेखि भइरहेको भारतीय हस्तक्षेपलाई परास्त गर्न स्थानीय सरकार नै काफी रहेछ भन्ने सन्देश काठमाडौंका मेयर शाहले दिएका छन् । राजनीतिक दलहरुले गाउँ–गाउँमा सिंहदरबार भन्ने नारा मात्रै दिए , व्यवाहरमा ठिक उल्टो गरे । तर स्वतन्त्र रुपमा मेयर बनेका शाहले सिंहदरबारलाई पनि सवक सिकाउने काम गरे । नेपालको विषयमा गलत सूचना दिने भारतीय चलचित्रहरुलाई ठेगान लगाउने मामिलामा मात्रै होइन , नेपालका लुम्बिनी कपिलबस्तु लगायतका केही पौराणिक भूभागलाई समेत भारतले आफ्नो देशको भौगोलिक नक्शा भित्र समेटेको मामिलालाई पनि मेयर शाहले सशक्त प्रतिकार गरे । भारतले २२ सय वर्ष अगाडिको नक्शा बाहिर ल्याएको बदलामा मेयर शाहले २ सय ७ वर्ष अघिको नेपालको नक्शा प्रस्तुत गरे । यतिबेला मेयर शाह विषादी प्रयोग भएका भारतीय तरकारी आयत रोक्ने अभियानमा छन् । चन्दा नपाएकै कारण राजनीतिकदलका भ्रातृ संगठनहरुले विद्यालयमा ताला लगाइ दिने सिलसिलालाई मेयर शाहले चोटिलो प्रहार गरेका छन् । शिक्षाको नाममा व्यापार गर्नेहरुलाई ठाउँको ठाउँ ठिक पारेका छन् । भू–अतिक्रमण मात्रै होइन यातायात व्यवस्थामा देखापरेका विकृति हटाउने अभियान समेत उनले सुरु गरेका छन् ।

संघीय सरकार स्वयं नै खिलापमा लागेका कारण मेयर शाहले बागमती नदी किनारको अतिक्रमण हटाउन सकेनन् । अदालत नै खिलापमा लागेका कारण मेयर शाहले चौधरी ग्रुपको नर्भिक अस्पतालले हडपेको सार्वजनिक जग्गा छुटाउन सकेनन् । टुकुचा खोलाको सौन्दर्यीकरण थाति रहनुको कारक पनि मेयर शाह होइनन् । उनले त भरमग्दुर प्रयास गरेकै हुन् । लोकतन्त्र भनेको देश र जनता शक्तिशाली हुने शासन व्यवस्था हो । जसको प्रत्याभुति दिने भनेको जनताका प्रतिनिधिहरुले हो । तर दल तथा दलमा आवद्ध जनप्रतिनिधिहरुले लोकतन्त्रको औचित्य सावित गर्न नसक्दा जनताले गैरदलीय व्याक्ति बालेन्द्र शाहलाई आफ्नो प्रतिनिधि बनाए ।

उनले जनताको भावना अनुसार लोकतन्त्रको औचित्यलाई थप पुष्टि गरेका छन् । पछिल्लो समयमा भारतीय आम संचारले नेपालको विषयमा धेरै नै दुस्प्रचार गरेको छ । जनकपुर, लुम्विनी र कपिलवस्तुको मात्रै प्रश्न होइन , लिम्पियाधुरा क्षेत्रको मात्रै पनि प्रश्न होइन , भारतीय मिडियाहरुले सुगौली सन्धी मार्फत नेपाल अंग्रेजको उपनिवेश बनेको दुस्प्रचार समेत गरेका छन् । हिँजो ‘जनयुद्ध’ कालमा भारतले यो कुप्रचार माओवादी मार्फत गराएको थियो । आज आफ्नै देशका मिडिया मार्फत गराई रहेको छ । यसको प्रतिकारका लागि काठमाडौंका मेयर शाह अघि सरेका कारण नेपाली जनताको मनोवल बढेको छ ।

प्रतिक्रिया